भारतको सहयोग : घोषणा मात्रै कि कार्यान्वयन पनि ?

3

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपेको छ । नयाँ दिल्लीको हैदराबाद हाउसमा लगभग डेढ घण्टा चलेको दुई प्रधानमन्त्रीबीचको वार्तापछि आठ बुँदे समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ, छ वटा आयोजनाको उद्घाटन तथा शिलान्यास गरिएको छ र २४ बुँदे संयुक्त विज्ञप्ति जारी भएको छ ।
भारतले २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहयोग प्याकेज घोषणा गरेको छ । यी उपलब्धिहरूलाई हेर्दा भ्रमण सफल देखिए पनि गहिरो विश्लेषण गर्दा नेपालले तत्काल ठोस फाइदा पाएको अवस्था छैन । बरु, विगतका अनुभव र भारतको नीतिगत दृष्टिकोणले कार्यान्वयन र दीर्घकालीन लाभमाथि गम्भीर प्रश्नहरू खडा गरेका छन् । भारत भ्रमणका क्रममा भएका आठ एमओयूमध्ये पहिलो गुजरातको गान्धीनगरस्थित नेशनल फोरेन्सिक साइन्सेज युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्य हो । दोस्रोमा भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको नेशनल पुलिस एकेडेमीबीच सहकार्य छ । तेस्रोमा नेपालका निजामती कर्मचारीको क्षमता विकासका लागि भारतको नेशनल सेन्टर फर गुड गभर्नेन्स र नेपालको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच समझदारी भएको छ ।
चौथोमा आयुर्वेद तथा परम्परागत चिकित्सा प्रणालीमा सहकार्य, पाँचौंमा साउथ एसिया स्याटेलाइट उपयोगका लागि स्याटकम नेटवर्क स्थापना (भारतीय अन्तरिक्ष अनुसन्धान संगठन र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच), छैटौंमा दिगो शहरी विकासमा प्राविधिक सहयोग, सातौंमा स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सहकार्य र आठौंमा पशुपालन तथा मत्स्य विकासमा सहयोग रहेका छन् । यी समझदारीहरू क्षमता विकास, प्रविधि र क्षेत्रीय सहकार्यका दृष्टिले सकारात्मक छन् । तर यिनीहरूको वास्तविक प्रभाव कार्यान्वयनमा निर्भर गर्छ ।
उद्घाटन तथा शिलान्यास गरिएका छ वटा आयोजनामा अयोध्या–जनकपुर सरयू–कमला एक्सप्रेस रेल सेवा, बनवासा एकीकृत जाँच चौकीको शिलान्यास, धार्चुला क्रस–बोर्डर मोटरेबल पुल, ६७९ मेगावाट तल्लो अरुण जलविद्युत आयोजना शिलान्यास, अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन दोस्रो चरणको हस्तान्तरण र झापामा प्रस्तावित पेट्रोलियम टर्मिनलको शिलान्यास समावेश छन् । यी आयोजनाले व्यापार, ऊर्जा र सीमापार आवागमन सहज बनाउने अपेक्षा गरिएको छ । विशेष गरी रेल र पाइपलाइनले नेपालको आपूर्ति श्रृंखला सुधार गर्न सक्छ । तर यी अधिकांश परियोजना भारतको व्यापार विस्तार र ऊर्जा खरिद नीतिसँग जोडिएका छन् ।
वित्तीय पक्षमा भारतले २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग घोषणा गरेको छ । यसमध्ये ५६ अर्ब अनुदान र बाँकी १ खर्ब ८४ अर्ब ऋण सहायता हो । अनुदान विपद्पछिको पुनर्निर्माण र पूर्वाधारमा प्रयोग हुने भनिएको छ भने ऋण ऊर्जा परियोजनाका लागि उपलब्ध गराइने छ । ऋणको ब्याजदर अझै स्पष्ट छैन । यो प्याकेज सुन्दा आकर्षक लाग्छ । तर भारतको ऊर्जा नीतिले यसको लाभ कसले लिनेछ भन्ने प्रश्न उठाउँछ । भारतले आफ्ना कम्पनी वा सरकारको लगानीबाट उत्पादित विद्युत मात्र खरिद गर्ने नीति अपनाएको छ । अन्य मुलुक वा स्वदेशी लगानीबाट उत्पादित विद्युत खरिद नगर्ने यो रणनीतिले नेपालमा भारतीय लगानी बढाउन मद्दत गर्छ तर नेपालको स्वतन्त्र ऊर्जा विकास र व्यापार घाटा न्यूनीकरणमा सीमित योगदान मात्र पु¥याउन सक्छ ।
हवाई रूटको विषयमा केही प्रगति देखिएको छ । काठमाडौं–भैरहवा–लखनऊ रूटलाई द्वितर्फी बनाउन दुवै पक्ष सहमत भएका छन् । तर यो तत्काल लागू हुने होइन । प्राविधिक परामर्श र प्रक्रिया पूरा गर्नुपर्ने छ । भैरहवा इन्ट्री रूटमा भारतले गोरखपुर एयरबेसका कारण सुरक्षा चिन्ता देखाउँदै आएको छ । सन् २०१६ मा महेन्द्रनगर रूट द्वितर्फी बनाउन सहमति भए पनि भारतको आन्तरिक परामर्शको बहानामा सेलाएको थियो । यसपटक पनि प्राविधिक परामर्शको शब्द बलियो राखिएकाले भारतको नियतमाथि शंका कायम छ । महेन्द्रनगर रूटले २९१ नटिकल माइल नेपाली आकाश प्रयोग हुने भएकाले नेपालले ठूलो आम्दानी गर्न सक्थ्यो भने भैरहवा रूटमा जम्मा १०० नटिकल माइल मात्र प्रयोग हुन्छ । यस अर्थमा नेपालको प्राथमिकता पूरा भएको देखिँदैन ।
सीमा र ऐतिहासिक मुद्दाहरूमा ठोस प्रगति भएन । कालापानी र सुस्ता विवादमा कुनै ठोस निष्कर्ष निस्किएन । सीमा स्तम्भ पुनःस्थापनामा प्रगति भइरहेको र बाँकी समस्या समाधानका लागि परराष्ट्र सचिवहरूलाई निर्देशन दिइएको उल्लेख छ । तर मूल समस्या जस्ताको तस्तै छ । पञ्चेश्वर बहुदेशीय परियोजनाको डीपीआर छिटो टुंग्याउन र सप्तकोशी तथा सुनकोशी आयोजनाको जीपीआर अगाडि बढाउन निर्देशन दिइएको छ । यी सकारात्मक कदम हुन् तर कार्यान्वयनको इतिहास कमजोर छ । ईपीजी प्रतिवेदनको विषय यसपटक पनि उठेन । २०७५ सालमा तयार भएको यो प्रतिवेदन प्रत्येक भ्रमणमा सतहमा आउने तर छलफल नहुने परम्परा यसपटक पनि दोहोरियो । १९५० को शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन गर्न सकिने कुरा भिजन पेपरमा उल्लेख भएको छ । मोदीले यसलाई विकसित भारत र समुन्नत नेपालको ब्लूप्रिन्ट भनेका छन् । तर सन्धिको धारा ८ ले सुगौली सन्धिपछिका सबै सन्धि, समझौता र लिखत खारेज गर्ने व्यवस्था गरेको छ । यसले टिस्टादेखि काँगडासम्मको भूभागसम्बन्धी प्रश्न उठाउँछ । यस मुद्दालाई गम्भीर छलफलबिना अगाडि बढाउन सकिँदैन । विगतका अनुभवले आशावादी बन्न दिँदैन ।
२०१४ मा एक अर्ब अमेरिकी डलरको प्याकेज, २०१६ मा ७५० मिलियन डलर ऋण, २०१७ मा पुराना ऋण र पुनर्निर्माण प्रतिबद्धता, २०१८ मा जनकपुर विकासका लागि एक सय करोड भारतीय रुपैयाँ र २०२३ मा १० हजार मेगावाट विद्युत व्यापार समझदारी घोषणा भएका थिए । तर धेरै प्रतिबद्धता कार्यान्वयन नभएर फिर्तासमेत भएका छन् । यस पृष्ठभूमिमा २४० अर्बको नयाँ प्याकेज पनि कार्यान्वयनमा आउँदा मात्र अर्थपूर्ण हुनेछ । समग्रमा, प्रधानमन्त्री शाहको भ्रमणबाट नेपालले क्षमता विकास, केही पूर्वाधार र ऊर्जा क्षेत्रमा सहकार्यका समझदारी पाएको छ । रेल, पाइपलाइन र सीमापार कनेक्टिभिटीका परियोजनाले दीर्घकालीन फाइदा दिन सक्छन् । तर तत्काल रोजगारी सिर्जना, व्यापार घाटा न्यूनीकरण वा सीमा विवाद समाधानजस्ता ठोस उपलब्धि देखिएका छैनन् ।
भारतको ऊर्जा नीति र विगतका अधुरो प्रतिबद्धताले यी समझदारीहरूको वास्तविक लाभ नेपालभन्दा भारतलाई बढी हुन सक्ने संकेत गर्छ । नेपालको हितका लागि भारतले सकारात्मक सोच बनाउनु आवश्यक छ । सीमा विवाद, हवाई रूट र १९५० सन्धिको पुनरावलोकनजस्ता जड मुद्दालाई बेवास्ता गरेर केवल परियोजना र प्याकेजमा सीमित रहँदा सम्बन्ध सुमधुर बन्न सक्दैन । अर्थमन्त्रीले भनेजस्तै भारत विरोध गरेर राष्ट्रवादी बन्ने युग सकिएको छ । तर नेपालको वैध हित रक्षा गर्दा भारतले विरोध ठानेर अवरोध सिर्जना गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । कालापानी, सुस्ता, लिम्पियाधुरा र हवाई रूटजस्ता मुद्दा इतिहास र तथ्यमा आधारित छन् । यिनलाई स्वीकार गरेर समाधान खोज्नु नै साँचो समुन्नत नेपालको बाटो हो । जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here