स्याङ्जामा ‘क्रस–कन्ट्री’ दौड प्रतियोगिता–२०७५ हुने

183

काठमाडौं / यही माघ २६ गते स्याङ्जा पुतलीबजार–९ मा ‘स्वास्थ्यका लागि दौड, राष्ट्रको लागि दौड’ मूल नाराका साथ ‘क्रस–कन्ट्री दौड प्रतियोगिता–२०७५’ हुने भएको छ।

सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संस्थाका प्रमुख सल्लाहकार एवम् गैरआवासीय नेपाली संघ (एनआरएनए) यु.के.का युथ को–अर्डिनेटर लालबहादुर गुरुङ (LBZ) ले जानकारी दिए ।

उनले ग्रामिण क्षेत्रमा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने सूचना प्रवाह गर्नु उक्त प्रतियोगिताको मुख्य उद्देश्य रहेको सुनाए । उनले भने,‘यसका साथै ग्रामिण क्षेत्रमा पर्यटन विकास र प्रर्वद्धनको लागि पनि यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्न सक्ने हामीले विश्वास लिएका छौं ।’

गुरुङले अघि थपे,‘नयाँ पुस्ता आफ्नै गाउँदेखि बेखबरमात्रै भएनन्, इतिहास र आफ्नो धरातल बिर्सिँदै जाने क्रम बढेकाले सबैको ध्यान तान्न हामीले यो प्रतियोगिता गर्न लागेका छौं ।’ उनका अनुसार उक्त प्रतियोगिता सम्पन्न भएसँगै भविष्यमा साईकल रुट निर्माण गरी साईकिलिङ गर्ने, स्विमिङ पुल निर्माण गरी प्रतियोगिताहरु आयोजना गर्ने र प्याराग्लाईडिङको सम्भाव्यतासमेत अध्ययन गर्न सकिने छ ।

गुरुङले उक्त प्रतियोगिताको उद्धघाट्न नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले गर्ने जनाए । त्यस्तै, प्रतियोगिताको उद्धघाट्न सत्रमा संघीय तथा प्रदेश सभाका सदस्यहरुको समेत अतिथिको रुपमा उपस्थिति रहने आयोजकले जनाएको छ ।

त्यस्तै, प्रतियोगिताको उद्धघाट्न सत्रमा स्थानीय सोरठी, घाँटु, कौडा, चुड्का, सालैजोलगायतका स्थानीय झाँकीहरु प्रर्दशन हुने आयोजक संस्थाका महासचिव मनबहादुर थापाले जनाए ।

थापाले दिएको जानकारी अनुसार क्रस कन्ट्री दौड १४ कि.मी (२१ वर्ष मुनिका) र ३१ कि.मी. (खुल्ला) दुई समूह विहान ९ः०० बजे सुरु हुनेछ । पुतलीबजार–९ कोल्मा बराहचौरबाट सुरु भई पुतलीबजार–८, शुक्लागण्डकी–९ तनहुँ र बिरुवा गाउँपालिका–४ बाट पुतलीबजार–९ मा पुगी समापन हुने आयोजकले जानकारी दिएको छ ।

त्यस्तै प्रतियोगितामा प्रथम हुने पहिलो समूहको प्रथम हुनेलाई २० हजार, द्धितियलाई १५ हजार, तृतियलाई १० हजार पुरस्कार दिईनेछ । त्यस्तै, दोस्रो समूहको पहिलो हुनेलाई ५० हजार, द्धितियलाई ४० हजार, तृतियलाई ३० हजारको पुरस्कार दिईनेछ ।

दुवै समूहको प्रथम, द्धितिय र तृतिय हुनेलाई ट्रफी र मेडलसहित प्रमाणपत्रपनि प्रदान गरिनेछ । त्यस्तै, प्रतियोगितामा दश जना सम्मलाई मेडल र प्रमाणपत्र प्रदान पनि गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा देशका ख्याँतिप्राप्त कलाकारहरुको पनि उल्लेख्य सहभागी रहनेछ । प्रतियोगितामा नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत राष्ट्रिय खेलकुद परिषदमार्फत खेलाडीहरु सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

महासचिव थापाले उक्त प्रतियोगिता सम्पन्न भएसँगै चार थुम र ७ सय कोल्मालाई जगाउन, गाउँमा पर्यटक बोलाउन र नयाँ पुस्तालाई आफ्नो गाउँठाउँ चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफूहरु विश्वस्त रहेको सुनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here