काठमाडौंको सरकारी र सार्वजनिक जग्गा कहाँ कहाँ कति मिचियो ?

293

काठमाडौं /  पैसा र शक्तिको प्रयोग गर्दै काठमाडौंको सरकारी र सार्वजनिक जग्गा अतिक्रमण गर्नेको बिगबिगि बढ्दै गएको पाइएको छ । हालै मात्र काठमाडौंमा १८ सय रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको छ। पैसा र शक्तिको प्रयोग गर्दै पाँच हजार जनाले पोखरी, मन्दिर, गुम्बा, खोला, कुवा, ढुंगेधारा, गुठीको जग्गा र घर, पेटी, बाटो मिचेका छन्। त्यति धेरै जग्गा मिचेको प्रतिवेदन सरकारले २५ वर्षअघि नै पाए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन। अतिक्रमणमा मुलुकका ठूलठूला मानिस जोडिएकाले कार्यान्वयन हुन नसकेको जिम्मेवार अधिकारी नै स्वीकार्छन्।

सूचनाको हक प्रयोग गरेर लिइएको १३५० पेज लामो रावल आयोग प्रतिवेदनमा सरकारी र सार्वजनिक जग्गा मिच्ने भनेर आयोगले किटान गरेका पाँच हजारको नाम, ठेगाना, मिचिएको क्षेत्रफल र कित्ता नम्बर उल्लेख छ।

मिचिएको गुनासो बढेपछि २०४९ पुस १६ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग’ गठन गरेको थियो। पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा गठित आयोगले दुई वर्ष लगाएर प्रतिवेदन बुझायो। तर सरकारी निकायले २५ वर्षसम्म प्रतिवेदनमाथि प्रभावकारी कदम चालेनन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका एक अधिकारीका भनाइमा ‘करिब १८ सय रोपनी सरकारी जग्गा मिचिएको आयोगको प्रतिवेदनबारे मौन बस्नु मन्त्रालयका अधिकारीको हितमा थियो। किनकि यसमा मुलुकका ठूलठूला मानिस जोडिएका थिए।’

प्रतिवेदन लामो समयसम्म गोप्य राखियो। यसबारे प्रश्न गर्नेलाई मन्त्रालयले संक्षिप्त विवरण दिने गरेको छ। जसमा आयोग गठनको सन्दर्भ र १८ सय रोपनी जग्गा मिचिएको भन्ने मोटो सूचना समावेश छ।

कहाँ कहाँ जग्गा मिचियो ? प्रतिवेदन :

पोखरी र धारा पनि छोडेनन प्रतिवेदनले काठमाडौं जिल्लाभित्र कुल १८ सय ५९ रोपनी १४ आना जग्गा मिचिएको खुलासा गरेको छ। सहरी क्षेत्रका बहुमूल्य सार्वजनिक र सरकारी जग्गा मिचिएको छ। चाबहिल, बौद्ध, बत्तीसपुतली, थापाथली, बानेश्वर, कोटेश्वर, हाँडीगाउँ, बूढानीलकण्ठ क्षेत्रमा धेरै जग्गा मिचिएको छ। पोखरी, मन्दिर, खोला, कुवा, ढुंगेधारा, गुठीको जग्गा र घर, सार्वजनिक पेटी, बाटो धेरै मिचिएको छ।

कमलपोखरी मिचिएको विवरण प्रतिवेदनमा उल्लेख छ। मालपोत कार्यालय काठमाडौंका अनुसार कित्ता नं ४०४१ को १५ आना १ पैसा ३ दाम पदमकुमारी गुरुङ र कित्ता नं ४०४ को २ रोपनी १० आना १ पैसा १ दाम जग्गा मणिरत्न गुरुङको नाममा देखियो। यो कमलपोखरी भएको जग्गा हो।

कित्ता नं १३४० को ४ आना सीता तामाङको नाममा र कित्ता नं १८५१ को जग्गा कृष्ण मायाको नाममा दर्ता छ। यो पनि कमलपोखरीको जग्गा हो। त्यस्तै कमलपोखरीकै कित्ता नम्बर १८५० र ३६८ मा १२ आना जग्गा मिचिएको छ। तर, मिच्ने व्यक्तिको नाम थाहा नभएको प्रतिवेदनमा उल्लेख छ।

नागपोखरी कसरी मिचियो भनेर पनि प्रतिवेदन बोलेको छ। प्रतिवेदनअनुसार नागपोखरीमा पर्ने कित्ता नम्बर ४५२ को १० आना १ पैसा जग्गा श्यामकुमार गिरी र श्याम श्रेष्ठका नाममा कायम भएको छ।

सेतो दरबारको मूलढोका पनि अतिक्रमणमा परेको छ। प्रतिवेदनअनुसार कित्ता नं ७६२ को २ पैसा २ दाम जग्गा देवेन्द्रशमशेर जबराले र कित्ता नं १०२ को १ आना ३ दाम भिक्षु रत्न शाक्यले आफ्नो नाममा दर्ता गरेको देखिन्छ।

जग्गा अतिक्रमण गर्नेमा सांग्रिला होटल नाम छ। कित्ता नं १४४ को १ रोपनी १४ आना १ पैसा जग्गा बाटोमा परिणत भएको छ। सांग्रिला होटलले कम्पाउन्ड लगाएर यहीमध्ये ७ आना जग्गा मिचेको छ।

होटल काठमाडौंले पनि ८ आना जग्गा मिचेको छ। कित्ता नं १ को ३ रोपनी ९ आना सार्वजनिक जग्गामा होटल काठमाडौंले ८ आना जग्गा मिचेर होटल सञ्चालन गरेको र बाँकी जग्गामा कान्ति संस्कृति केन्द्र महाराजगन्जले भवन निर्माण गरी भाडामा दिएको प्रतिवेदनमा उल्लेख छ। च्यान्पिएन फुट वेयर नामक कम्पनीले पनि सार्वजनिक जग्गा मिचेको देखिन्छ। प्रतिवेदनअनुसार कम्पनीले ११ रोपनी १३ आना जग्गा मिचेको छ।

स्वयम्भू डल्लुको देवस्थल पनि मिचिएको छ। प्रतिवेदनअनुसार त्यहाँको कित्ता नं। १ को चौरमा कान्छी, भाइकाजी र सिद्धिमान महर्जनले ५ आना १ पैसा १ दाम जग्गामा तीनवटा पक्की घर बनाएको र अर्को ३ आना जग्गामा टहरा बनाएर भाडामा लगाएको देखिन्छ। सँगैको सार्वजनिक जग्गामध्ये १ रोपनी ८ आनामा दोर्जे लामा र चुन्दरी लामाले पक्की घर बनाएको प्रतिवेदनमा उल्लेख छ।

स्वयम्भूमा झन् ठूलो उदाहरण भेटिएको छ। यहाँको कित्ता नं ७२६ को २५२ रोपनी ४ आना जग्गामा कसैले घ्याङ, कसैले घर, कसैले कम्पाउन्ड, कसैले करेसा बारी, कसैले पानीट्यांकी बनाएर अतिक्रमण गरेका छन्। स्वयम्भूको कित्ता नं १८ को ११ रोपनी ७ आना जग्गामा दुईवटा पक्की घर बनाएर भोगचलन भइरहेको छ।

पुतलीसडकबाट कुमारी हलतिर जाँदा बाटोमा पर्ने धोबीधारा मिचिएको छ। प्रतिवेदन उल्लेख छ, ‘परापूर्वकालदेखि सार्वजनिक रुपमा प्रयोग भइरहेको कित्ता नं  ११५ को १ आना १ पैसा १ दाम जग्गामा रहेको पुतलीसडकबाट कुमारी हलतिर जाँदा बाटोको दायाँतिर पर्ने प्रचलित धोबीधारा ३ मंसिर २०३७ को निर्णयअनुसार लोकबहादुर धोबी, भोला धोबी, बुद्धिबहादुर धोबीको नाममा दर्ता भएको देखिन्छ।’- अन्नपूर्ण पोष्टमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here