क्षतिपूर्तिको मागसहित महराविरुद्ध जबर्जस्ती करणी उद्योगको मुद्दा

80

काठमाडौं / यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ।

अनुसन्धान सकिएपछि प्रहरीले बुझाएको प्रतिवेदन अनुसार सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता  गरेको हो। अभियोगपत्रमा महरालाई पाँच वर्षसम्म कैदको माग गरिएको छ।  महरालाई  पदीय मर्यादा विपरित कार्य गरेकाले थप सजायको माग भएको छ। अभियोगपत्रमा क्षतिपूर्तिकोसमेत माग गरिएको छ ।

महराको मूल कसुर मुलुकी अपराध संहिता ०७४ को दफा २१९ को  जबरजस्ती करणीसम्बन्धि दफा आकर्षित हुने गरि अभियोगपत्र तयार गरिएको छ । जसमा १८ वर्षमाथिको महिलालाई बलात्कार गरेमा ७ देखि १० वर्ष जेल सजाय हुने व्यवस्था छ । बलात्कार प्रयासको हकमा भने अधिकतम १० वर्षको आधा ५ वर्ष जेल सजाय माग गरिने जिल्ला सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ। त्यसमा थप फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको दफा १५ पनि आकिर्षत हुने गरि अभियोगपत्र तयार भएको छ ।

दफा १५ (ङ) मा ‘ कुनै सरकारी कार्यालय वा सार्वजनिक वा सङ्गठित संस्थाको पद वा ओहदामा बहाल रही त्यस्तो पद वा ओहोदाको दुरुपयोग गरी कसूर गर्ने कसूरदारलाई त्यस्तो कसूरमा हुने सजायको डेढी सजाय ,’ को व्यवस्था छ ।

संसद् सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका महरा असोज १९ गते पक्राउ परेका हुन्। असोज २८ गते जिल्ला अदालत काठमाडौंले महरालाई पहिलो पटक (पक्राउ परेदेखि १३ दिन) थुनामा राख्न म्याद दिएको थियो। त्यस्तै प्रहरीको अनुसन्धान नसकिएपछि कार्तिक ३ गते फेरि पाँच दिनको लागि म्याद थपिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here