जलेश्वर – महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा रहेको नेपाली सेनाको रणभीम गणले आज कोरोना भाइरससम्बन्धी प्रदर्शनी गरेको छ । मध्यपूर्वी पृतनाको आयोजनामा रणभीम गणले आज जिल्लाका सम्पूर्ण सरोकार पक्षलाई बोलाएर संक्रमण फैलिएमा रोकथाम, नियन्त्रण, यसबाट बच्न र बचाउने उपायबारे गणको परिसरमा प्रदर्शनी भएको हो ।
३३ थान पिपिई प्रदान
जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरीलाई आज एक समाजसेवीले ३३ थान पिपिई प्रदान गरेका छन् । कोभिड –१९ को जोखिमबाट बच्न, बचाउन तथा रोकथामका लागि जिल्लाको गौशाला नगरपालिका –११ निवासी योगनारायण महतोले समितिलाई पिपिई प्रदान गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जनाए ।
महतोले आजै नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमले मण्डललाई महासंघको भवनमै पुगेर पत्रकारका लागि स्यानिटाइजर र पञ्जासमेत प्रदान गरेका हुन् । रासस


















