सञ्चालन भइरहेका ६५ साना सिँचाइका काम सम्पन्न

185

भरतपुर – चितवन जिल्लामा सञ्चालन भएका ६५ साना सिँचाइका काम सम्पन्न भएका छन् । एक सय ३५ योजनामध्ये ६५ वटा सम्पन्न भइसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले जानकारी दिएको छ । एकाइले आफ्नो कार्यक्षेत्रमा चालु आर्थिक वर्षमा स्यालो ट्युबवेल, बोरिङ, थोपा सिँचाइलगायतका कार्यक्रम सञ्चालन गरेको हो ।

nepalireporter.com

सञ्चालन भएका योजनामध्ये ६५ सिँचाइका कार्यक्रम सम्पन्न भइसकेको र बाँकी सम्पन्न हुने चरणमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका सूचना अधिकारी माधव पौडेलले जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षमा धान जोनअन्तर्गत ७५, तरकारी जोनमा ४०, केरा जोनमा १५ र परियोजनाअन्तर्गत पाँचवटा सिँचाइका कार्यक्रम सञ्चालन भएका छन् । कार्यक्रम सम्पन्न भएसँगै ५४० बिघामा सिँचाइ हुने अपेक्षा गरिएको छ । एउटा स्यालो ट्युबवेलले चार बिघासम्म सिँचाइ गर्न सकिने उनले बताए ।

साना सिँचाइ कार्यक्रम सञ्चालनका लागि कार्यालयले चालु आर्थिक वर्ष रु एक करोड ४० लाख विनियोजन गरेको थियो । त्यसमध्ये सबैभन्दा धेरै तरकारी जोनले रु ६० लाख बजेट विनियोजना गरेको सूचना अधिकारी पौडेलले जानकारी दिए । त्यस्तै केरा जोनअन्तर्गत रु ४५ लाख, धान जोनअन्तर्गत रु ३० लाख र परियोजनाअन्तर्गत रु पाँच लाख बजेट विनियोजन भएको थियो ।

प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित साना सिँचाइ कार्यक्रममा ५० प्रतिशत उपभोक्तको लगानी रहेको छ । यस कार्यक्रमअन्तर्गत माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाबाहेक जिल्लाका सबै तहमा साना सिँचाइका कार्यक्रम सञ्चालित छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here