काठमाडाैं । विवेकशील साझाको यात्रा त्यति सहज रहेन। सोचे जस्तो र विश्वास गरे जस्तो भएन। पहिलो एकीकरण कार्यशैली फरक पर्नाले टिक्न सकेन। दोस्रो एकीकरण गर्दा विचार र कार्यशैलीमा करिब ८ महिना वार्ता गरेर, संवाद गरेर एकीकरण गर्यौँ। तर, एकीकरण पत्रमा हस्ताक्षर गरिएको मसी सुक्न नपाउँदै स्वयं पार्टी अध्यक्षले सहमतिको ठिक विपरीत पार्टी विरोधी विचार ल्याए। पार्टीलाई गिजोले। फलस्वरूप, पार्टीमा भाँडभैलो भयो। वैचारिक विवादले पार्टी कमजोर भयो। हामीले पार्टीको विधान विपरीत गरिएको जालसांजी र किर्ते विरुद्ध अदालतसम्म सङ्घर्ष जारी राख्यौँ।
तर हामीले लामो समय कुर्दा पनि अदालतको फैसला आएन। गत भाद्र २० गतेको पेशी समेत स्थगन भयो र अर्को पेशी समेत अनिश्चित बन्दै गर्दा अब न्यायका निम्ति अदालतको पेशी कुरेर बस्नु हामीले वकालत गर्दै गरेको राजनीतिका निम्ति अन्यायपूर्ण हुने हाम्रो ठहर रह्यो।
भनिन्छ, ढिलो न्याय दिनु न्याय न्याय नदिनु बराबर हो। लगनपछिको पोतेको काम छैन। यो अर्थमा अदालतको ढिलाइले समग्र न्याय प्रणालीलाईनै प्रश्नहरूको घेरामा पारेको छ। निश्चय नै यो दुःखद कुरा हो।
विवेकशील साझा पार्टीले गत भाद्र २ गते आफ्नो स्थापनाको ५ वर्ष पूरा गर्यो। नेपालको संविधान बमोजिम ५ वर्ष भित्रमा महाधिवेशन गरिसक्नुपर्ने आधारभूत सर्त पूरा गर्न नसकेपछि उक्त पार्टीको वैधानिक र नैतिक अस्तित्व सकिएको छ। राजनैतिक अस्तित्वमा ठुलो प्रश्न छँदै छ। यद्यपि एकीकरण अघि २०७६ सालमा विवेकशील नेपालीले भने महाधिवेशन गरेको कुरा यहाँ हामीले उल्लेख गर्न जरुरी छ। विवेकशील अभियानको यात्रामा विवेकशील साझा पार्टी निर्माणमा हामी धेरैले करिब १० वर्ष खर्चेका छौँ। नेतृत्व गरेको छौँ। नाम, चुनाव चिन्हको माया अन्य सदस्य सरह हामी सबैलाई छ। तर, पार्टी भनेको विचार र मूल्यमान्यता हो।
त्यो विचार र मूल्यमान्यतामा कुनै कम्प्रोमाइज नगरी हामीले यहाँसम्म पुगेका छौँ।
विगत १० वर्षमा वैकल्पिक राजनीति अभियान र विवेकशील साझा पार्टी निर्माणमा हामीले धेरै राम्रा काम गर्यो। केहि गल्तीहरू पनि गर्यो। यो सबै सिकाइ र भोगाइलाई सङाल्दै अब फेरी यो अभियानलाई नयाँ शिराबाट उठाउने बेला आएको छ। सर्वोच्चमा विचाराधीन मुद्दाबारे कानुन व्यवसायीहरूसँग छलफल गर्दै अब नयाँ राजनैतिक यात्राको थालनी गर्न जरुरी छ।


















