नेपाल १ सय ४१ रनमा अल आउट

22

काठमाडौं । यु १९ एसिया कपमा बंगलादेशविरुद्धको खेलमा नेपाल १ सय ४१ रनमा अल आउट भएको छ।

आइतवार युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १ सय ४१ रन बनाउँदै अल आउट भयो। नेपालका लागि ओपनर आकाश त्रिपाठीले ७७ बलमा ४३ तथा उत्तम थापा र अभिषेक तिवारीले समान २९ रन जोडे। नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बंगलादेशका लागि मोहम्मद अल फहदा, मोहम्मद इकवाल र मोहम्मद होसैनले समान २ विकेट लिए। पहिलो खेलमा श्रीलंकासँग पराजित नेपाल पहिलो जितको खोजीमा रहेको छ। उता, पहिलो खेलमा अफगानिस्तानमाथि पहिलो खेलमा जित हात पारेको बंगलादेशले सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउन नेपाललाई हराउन हरसम्भव प्रयास गर्नेछ।

क्यानले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक जिम्मेवारी दिएको छ।

एसिया कपमा नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ। खेल ५० ओभरको हुनेछ।एसिसीको आयोजनामा जारी प्रतियोगितामा एसियाका ८ देश सहभागी छन्। प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए।

नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए। गत बर्षको अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो। सहभागीटोलीलाई २ समूहमा विभाजन गरिएको छ। समूह ‘बी’ मा नेपाल श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।

समूह ए मा भारत, पाकिस्तान, जापान र युएई छन्। समूहका शीर्ष २ टोलीले सेमिफाइनल पुग्नेछन्। फाइनल मंसिर २३ गते हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here