संकटका बेला चीन सहयोग गर्न तयार

104

काठमाडौं÷ बितेको साता चीनको दश दिने भ्रमणमा रहेका नेपाली पत्रकारहरूसँगको भेटमा चीनका उपविदेशमन्त्री र पुनर्निर्माण विभागका सरोकारवालाहरू सबैले भूकम्पबाट क्षतिग्रस्त भएका नेपालका सबै क्षेत्रमा पुनर्निर्माण गर्न सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् ।

सात वर्ष अघि सन् २००८ मा चीनको सिञ्चुवान प्राप्तका विभिन्न क्षेत्रमा गएको भूकम्पले ध्वस्त गराएका वस्तीहरू, सडक, पुल र अन्य ऐतिहासिक संरचनाहरूको पुनर्निर्माण गरी ती क्षेत्रहरूलाई ऐतिहासिक पर्यटकीय स्थलका रूपमा रूपान्तरण गर्न सफल भएका पुनर्निर्माण विभागका अनुभवी जिम्मेवार पदाधिकारीहरूले नेपाली सञ्चारकर्मीहरूसँगको भेटमा नेपालप्रति निकै सद्भाव व्यक्त गरे । उनीहरूले चीनमा जस्तै नेपालमा आएर पुनर्निर्माण गर्ने इच्छा खुलेरै व्यक्त गरे । चीनको सिन्चुवान प्रान्तको बेन्थ्वान जिल्लाको अत्यन्त विकट र चारैतिर पहाडले घेरिएको सानो आकारको यिङ्ज्यू गाउँ भूकम्पले क्षतिग्रस्त भएको रहेछ । उक्त क्षेत्रमा पुनर्निर्माण गरी पर्यटकीय आकर्षक केन्द्र बनाइएको रहेछ ।

क्षतिग्रस्त वस्तीहरूमा सबै घरहरू समान खालका बनाइएका छन् । ती घरहरूमा भूईंतलामा व्यापार गर्ने र माथिका तलामा बसोबास गर्ने व्यवस्था मिलाइएको छ । पूर्णरूपले पर्यटकीय क्षेत्रका रूपमा विकसित गराइएका भूकम्पग्रस्त क्षेत्रमा पर्यटकहरूको आवागमन पनि बाक्लो रहेको स्थानीयवासीहरूको भनाइ पाइयो । चीनका आदिवासी छाङ जातिको बसोबास भएको योगाउँलाई केन्द्रबिन्दु बनाएर गएको ८ रेक्टरको भूकम्पबाट यो गाउँमा मात्र ६ हजारको मृत्यु भएको रहेछ । सिञ्चुवान प्रान्तभरि लगभग ८० हजार जनताको ज्यान लिएको यो भूकम्पलाई सम्झना गर्न क्षतिग्रस्त संरचनाहरूलाई जस्ताको तस्तै राखिएको पनि पाइयो । त्यो भूकम्पले क्षतिग्रस्त बनाएको एउटा माध्यामिक विद्यालयमा परेर ज्यान गुमाएका ४३ जना विद्यार्थी र ८ जना शिक्षकहरूको शव निकालिएको रहेनछ ।

भग्नावशेषमा रूपान्तरित भएको सो स्कूललाई दिवंगत विद्यार्थी र शिक्षकहरूको समाधीस्थल जस्तै बनाएर सजाइएको छ । पर्यटकहरूलाई अत्यन्त भावुक बनाउने सो विद्यालय परिसरमा पुग्नेहरूले सर्वप्रथम एक मिनेटको मौनधारण गर्ने गर्दछन् । नेपाली सञ्चारकर्मीहरूको टोली पनि एक मिनेट मौनधारणमा गम्भीर बन्नुपरेको थियो । त्यस विद्यालयको पठनपाठनका लागि चिनियाँ कम्युनिष्ट पार्टीको आर्थिक लगानीमा सोही गाउँको अर्काे ठाउँमा भूकम्प प्रतिरोधात्मक भव्य भवन बनाइएको रहेछ । चीन सरकारले सो क्षेत्रमा ६ रेक्टरसम्मको भूकम्पको कम्पन (भाइब्रेसन) अनुभव गर्न सकिने एउटा भूकम्प केन्द्र निर्माण गरेको छ । नेपाली पत्रकारहरूको टोलीले त्यो कम्पन केन्द्रमा उभिएर एक मिनेट कम्पनको अनुभव पनि गरेको थियो । चीनको राष्ट्रिय योजना आयोगका पदाधिकारीहरूले पनि नेपालमा भूकम्पबाट क्षतिग्रस्त भएका वस्ती र संरचनाहरूमा पुनर्निर्माण गर्न इच्छा व्यक्त गरेका थिए । पुनर्निर्माणका लागि नेपाल सरकारसमक्ष अनुरोधसमेत गरिएको जानकारी चीन पक्षले नेपाली पत्रकारहरूलाई गराएको थियो ।
वैशाख १२, १३ र २९ गते नेपालमा गएको भूकम्पले क्षतिग्रस्त तुल्याइएका वस्ती र संरचनाहरूको पुनर्निर्माण गर्नतिर नेपाल सरकारले कुनै पहल देखाएको छैन । परन्तु सिन्धुपाल्चोक जिल्लासँग जोडिएको चीनको खासा व्यापारिक क्षेत्रका भूकम्प प्रभावितलाई चीन सरकारले चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्से भन्ने ठाउँमा स्थानान्तरण गरी बसोबास, व्यापार, उपचार, खानपान र पठनपाठनसमेतको व्यवस्था मिलाइएको रहेछ । खासाबाटै लगिएका लगभग डेढ सय जति विद्यार्थीहरूलाई छात्रावासको समेत व्यवस्था मिलाएर पठनपाठनमा लगाइएको विद्यालयमा नेपाली पत्रकारहरूको टोलीलाई अवलोकन भ्रमण गराइएको थियो । खासाका भूकम्प प्रभावितहरूलाई राखिएको वस्तीमा पनि पत्रकारहरूलाई अवलोकन गराइएको थियो । वस्तीमा बसोबास गरेका खासाका व्यापारीहरूले नेपाली पत्रकारहरूसँग नेपाली भाषामै कुरा गरेका थिए । उनीहरूले काठमाडौंबाट खासासम्मको ३० किलोमिटर सडक खुलाउन नेपाल सरकारले पहल नगरेकोमा निकै आक्रोश पोखेका थिए ।

खासाबाट उठाइएका व्यापारीहरूले नेपालमै निर्माण गरिएका धातुमिश्रित भाँडा र नेपाली बजारमा पाइने सबै खालका सामानहरूको बजार थापेर बसेको ठाउँमा पनि नेपाली पत्रकारहरूलाई अवलोकन भ्रमण गराइएको थियो । स्थायी रूपमै घरभाडा नतिरेर व्यापार गर्न पाउने सुविधा हुँदा पनि खासाका व्यापारीहरू भने खासामै फर्केर व्यापार गर्न इच्छुक देखिन्थे । काठमाडौंबाट खासासम्म पुग्नका लागि अबरुद्ध भएको ३० किलोमिटर सडक पनि नेपालले आग्रह गर्ने हो भने चीन सरकारले नै निर्माण गरिदिने खासाका व्यापारीहरूमा आशा र विश्वास पाइएको थियो । दक्षिणतिरबाट भारतले नाका बन्द गर्ने चेतावनी दिइरहेको वर्तमान अवस्थामा उत्तरतिरको नाकालाई व्यापार र पेट्रोलियम पदार्थको आपूर्तिका निम्ति सहज बनाएर दीर्घकालीन रूपमै समस्या समाधानको विकल्प खोज्ने यतिबेला राम्रो अवसर भएको छ । चीनमा गएको भूकम्पले क्षतिग्रस्त तुल्याएपछि पुनर्निर्माण गरिएका स्थलहरूसहितका तस्बिरहरू र विशेष विवरण छिट्टै प्रकाशन हुन गइरहेको स्वाभिमान नेपाल म्यागेजिनमा समावेश गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here