मधेस आन्दोलन विखण्डनतर्फ मधेस आन्दोलनसँगै ‘स्वतन्त्र मधेस’ अभियानको तीव्रता

137

काठमाडौं, मंसिर २४ । मधेसमा चार महिनादेखि सञ्चालन भइरहेको आन्दोनल मधेसी नेताहरूको नियन्त्रण बाहिर गएको अनुमान सर्वत्र गरिएकै बेला मधेस आन्दोलन विखण्डनतर्फ उन्मुख भइरहेका केही तथ्यहरू सार्वजनिक भएका छन् । मधेसलाई छुट्टै देश बनाउने योजनासहित पश्चिमाबाट परिचालित र विखण्डनकारीका रूपमा आरोपित डा.सिके राउतका नामले आपूmलाई परिचित गराउँदै आएका विवादास्पद व्यक्तिले मधेस आन्दोलनको फाइदा उठाउँदै स्वतन्त्र मधेस अभियानलाई तीव्रता दिएको प्रमाण पाइएको छ । विखण्डनकारी गतिविधि सञ्चालन गरेकै कारण पटक–पटक प्रहरीको नियन्त्रणमा पुग्ने गरेका राउतले चार महिनादेखि अशान्त मधेसलाई टुक्र्याउनका लागि आन्दोलनकारीहरूलाई भड्काउनेदेखि स्वतन्त्र मधेस अभियानलाई पनि तीव्रता दिएको पर्चाबाजी तराई क्षेत्रमा गरेका छन् । स्रोतका अनुसार राउतले मधेसवादी दलका कार्यकर्ताहरूलाई स्वतन्त्र मधेसका लागि प्रयोग गर्नेदेखि त्यसको प्रचारप्रसारका लागि पर्चा पम्प्लेटहरू छपाउने लगायतका गतिविधिहरूलाई तीव्रता दिएका छन् । पछिल्लो समय कैयाँै मधेसवादी दलका नेतादेखि कार्यकर्ताहरूले मधेसवादी दलहरूले जनतालाई धोका दिएको भन्दै दलबाट अलग हुँदै मधेस आन्दोलनमा लागेको घोषणा गरेका थिए । ती नेता तथा कार्यकर्ताहरूले सिके राउतकै निर्देशनमा स्वतन्त्र मधेस अभियानका लागि आफ्नो दलको सदस्यता त्यागेकोसमेत पाइएको छ ।

जनधारणा साप्ताहिकलाई इमेलबाट सिके राउतको अभियानको बारेमा तयार पारिएको घोषणापत्र प्राप्त भएको थियो । उक्त पर्चामा राउतले मधेसलाई नेपालबाट छुट्याएर स्वतन्त्र मधेस बनाउनेलगायतका विखण्डनकारी योजनाहरू उल्लेख गरिएको छ । मधेसको छुट्टै झण्डा र राष्ट्रियगान समेत उल्लेख गरिएको उक्त पर्चामा स्वतन्त्र मधेस बनाउनेदेखि मधेसको छुट्टै सरकार, सेनालगायतका निकाय तयार पार्ने, मधेसबाट नेपाल सरकारको भूमिकालाई विस्थापित गर्नेखालका विवादास्पद र विखण्डनकारी सोचहरू उल्लेख गरिएको छ ।

राउतले मधेसमा नेपाल सरकारको उपस्थितिलाई विस्थापित गर्ने जनाइरहँदा पछिल्लो समय आन्दोलनका क्रममा प्रहरीहरूमाथि हमला गर्ने, प्रहरी चौकी जलाउने र पहाडीयाहरूमाथि समेत अपमान गर्ने किसिमका गतिविधिहरूले तीव्रता पाइरहेका छन् । त्यति मात्र होइन, आन्दोलनकारीले तराईमा रहेका सरकारी कार्यालयहरूमा नेपाल सरकार हटाएर मधेस सरकार लेख्ने, तराईका नागरिकलाई कर नतिर्न उर्दी जारी गर्ने लगायतका गतिविधिले पनि आन्दोलनमा विखण्डनकारीहरूले टाउको उठाउँदै गरेको पुष्टि भएको छ । त्यसमाथि मधेसवादी दलका नेताहरूले समेत सरकारसमक्ष राखेका नेपालको स्वाधीनतामा दीर्घकालीन असर पर्ने किसिमका मागहरू उल्लेख गरिएको छ । त्यही मौकालाई सदुपयोग गर्दै छुट्टै मधेसको माग लिएर अभियान सुरु गरेका राउतले समेत नेपालको सार्वभौमसत्ता, स्वाधीनता र स्वाभिमानमा समेत आँच आउने किसिमका गतिविधिलाई तीव्रता दिनुले मधेस आन्दोलनलाई विखण्डनतर्फ लैजाने अभियान सुरु भइसकेको पुष्टि भएको छ । नेपालका राजनीतिक दलहरू समयमै मधेस आन्दोलनको गाम्भीर्यतालाई मध्यनजर गरी उचित कदम चाल्न सकेनन् भने देश ठूलो संकटमा फस्ने सम्भावना बढेर गएको विश्लेषकहरूको ठहर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here