हुकुमबहादुर सिंह
केपी ओलीको विस्थापनसागै नेपालको संसद्मा र सडकमा पनि नेपालको राष्ट्रवाद के हो र राष्ट्रवादी को हो ? भन्ने विषयमा गहन बहस चल्यो र ओलीले आफ्नो विस्थापनमा दक्षिणको संलग्नतामाथि प्रश्नमात्रै उठाएनन्, त्यसलाई लिएर भारतका लागि नेपाली राजदूत दिपकुमारलाई समेत फिर्ता बोलाए । हुन त नेपालको सरकार परिवर्तनमा वैदेशिक हस्तक्षेप मूलत: भारतीय हस्तक्षेप भएका प्रशस्त उदाहरणहरू छन् । वैदेशिक हस्तक्षेप मूलत: भारतीय हस्तक्षेप केलाई भन्नेमा काफि विवाद नभएका होइनन् । २००७, २०४७, २०६३ का परिवर्तनमा सबैमा भारतको संलग्नता निकै छ र त्यसलाई हस्तक्षेप भन्ने र सहयोग सदासयता भन्ने दुवै जनमत नेपालमा छ । अहिले पनि ओलीको विस्थापन गरेर प्रचण्ड र देउवा प्रधानमन्त्री बन्ने प्रक्रियामा दिल्लीको हस्तक्षेप देख्न र यसैलाई मद्दत सम्झने स्पष्ट दुईथरि जनमत अहिले पनि सडक र सदनमा देखिएको छ । कसैले यसलाई प्रगतिशील राष्ट्रवाद देख्ने त त्यसैलाई अर्कोले राष्ट्रघात र मण्डले राष्ट्रवाद देख्नेहरू अगाडि आएका छन् ।
ओलीलाई नेपालको ठूलो राष्ट्रवादी देख्ने र प्रचण्ड, देउवा वा अन्य कुनै ठूलो राष्टघाती देख्नेहरू छन् । ओलीको विगत र वर्तमान आफै बोल्छ कि उनी कत्तिको रााष्ट्रवादी थिए र भए ? त्यसैगरी प्रचण्ड र देउवाको विगत र वर्तमान पनि नेपाल र नेपाली जनताका लागि स्पष्ट नभएको होइन कि उनीहरूका कार्यहरू कत्तिको नेपाल र नेपाली जनताका लागि फाइदाजनक थिए र छन् ?
हामी के मा स्पष्ट हुनै पर्दछ कि राष्ट्रवादलाई प्रगतिशील, अप्रगतिशील वा मण्डले वा अन्य भनेर नामाकरण गरिनु यो केवल नेपालका राजनीतिक दलहरू र तिनका नेताको राजनीतिक दरिद्रता मात्रै हो । र, नेपालका राजनीतिक दलका नेताहरूले राष्ट्रवादको परिभाषालाई पनि आफ्नो व्यक्तिगत फाइदा बेफाइदासित प्रयोग गर्ने गरेका छन् । उनीहरूले राष्ट्रवादको सामान्य सिद्धान्त, जसलाई सामान्य जनताको भाषामा– नेपाल र नेपाली जनताप्रति भावनात्मक रूपमा नजिक भएर नेपाल र नेपाली जनताको हित हुने काम गर्नु नै राष्ट्रवाद वा देशप्रेम हो । विगतमा ओलीले के गरे ? त्यो आफैमा प्रश्नवाचक होलान् तर अहिले उनले जे गरेका छन्, त्यसलाई राष्ट्रवाद वा देशप्रेमको नाममा आलोचना गर्नुपर्ने आवश्यकता छैन । साथै हतारमा प्रचण्डले ओलीलाई सरकारबाट हटाएर देउवासित घााटी जोड्न हतारिनु आवश्यक थिएन । यो सही हो उनी अहिले ९ महिनाका निम्ति फेरि नेपालको प्रधानमन्त्री बन्ने पक्का भएको छ र यसमा भारतीय केही नेता र विगत र वर्तमानका राजदूतहरू समेतले खुशी व्यक्त गरेको पाइयो । अब नेकपा माओवादी केन्द्रले र नेपाली कांग्रेसले एकअर्कालाई पालै पिलो कांघ थाप्ने भएका छन्, जसमा मधेसी मोर्चा साक्षी बस्न आएको छ । मधेसी मोर्चा, नेपाली कांग्रेस र माओवादी केन्द्रको त्रिशंकु सरकार बन्दै, जसका खुट्टाको आधार दिल्ली हो कि काठमाडौं हेर्न बााकी छ किनभने ओलीले यसलाई भनिसकेका छन् कि यसको खुट्टाको आधार नेपाल नभई बाह्य शक्ति हो ।
ओलीले आफूले चीनसित सम्बन्ध सुमधुर बनाएकोमा त्यसलाई आफू खााटी राष्ट्रवादी भएको प्रमाण जनाएका छन् । उनलाई थाहा छ नेपाल भारत र चीनका बीचमा भौगोलिक रूपले अवस्थित छ । भारत एउटा यस्तो देश हो जसको आफ्ना छिमेकीसित राम्रो सम्बन्ध मात्रै छैन र उसले ती देशहरूसित आफ्नो हैकम कायम गर्न चाहन्छ । हुन त चीन पनि हिजोको माओ–चाओको चीन होइन, देङको चीन हो, जसको नीति विश्व व्यापारिक साम्राज्यवाद हो । उसले विश्वभर आफ्नो सम्बन्धको मापदण्ड उसको व्यापारिक नाफा–घाटासित हेर्ने गर्दछ । यसलाई पुष्टि गर्न घेरै टाढा जानु पर्दैन, केबल नेपालको लिपुलेकको भारत र चीनबीचको सम्झौता गर्दा उसले नेपाललाई सोध्ने सोचसमेत गरेन । भारतसित मिलेर उसले नेपालको अखण्डतामाथि सिधै नकारात्मक असर पार्ने काम गर्यो । यदि उसको विदेश नीति विश्व व्यापारिक साम्राज्यवाद नभएको भए, कम्तिमा एकपटक नेपाललाई सहभागी बनाउनु पर्ने आवश्यकता ठान्दथ्यो । उसले त्यसो गर्ने आवश्यकता देखेन् ।
भारत सधैंभरि चीनको विरोधी रहादै आएको छ । नेपाल उसको एजेण्डामा रहदै आएको छ । प्रथम भारतले नेपालको भूमि कब्जा गरिरहेको छ । दोस्रो नेपालको जलस्रोतमाथिको उसको गिद्देदृष्टि रहादै आएको छ र तेस्रो नेपालको हरेक पक्षमा उसले विभिन्न दलालहरूमार्फत आफ्नो हस्तक्षेपकारी भूमिका बढाउादै लगेको छ । विगतमा पनि नेपालको राजतन्त्रलाई आधार बनाएर उसले नेपालमाथि अप्रत्यक्ष शासन गर्दै आयो तर अहिले नेपालमा काम गरिरहेका उसका दलाल तथा नोकरशाहमार्फत नांगो रूपमा सबै काम गर्दै छ । अब बन्ने प्रचण्ड–देउवा सरकारले ओलीले जत्तिकै पनि नेपालको राष्ट्रियतालाई जोगाएर राख्ने छ वा प्रचण्डको बााकी रहेको राष्ट्रवादको पनि अवशान हुने छ ? हेर्न बााकी छ । आशा गरौं प्रचण्डले विगतका गल्ती, कमजोरीबाट सिक्ने छन् र नेपाल र नेपालीप्रतिका मायालाई व्यवहारमा उतार्न सफल हुने छन् । प्रचण्डका लागि यो काम एमालेसितभन्दा नेपाली कांग्ेरससित मिलेर प्राप्त गर्न निकै चुनौती पूर्ण छ । प्रचण्ड अनकौ चुनौतीमा खेल्न रमाउने नेता हुन् तर ती सबैको परिणाम नेपाल र नेपाली जनताप्रति हुने छ वा उनको व्यक्तिगत सुरक्षा प्राप्तिका लागि भविष्यले स्पष्ट पार्ने छ ।
नेपालको सन्दर्भमा प्रमुख सवाल त राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र देशभक्तिपूर्ण लोकतन्त्रको स्थायित्वको सवाल हो । आत्मसमर्पणवादी लोकतन्त्र त जनताले अहिले नै पनि देखिरहेका छन्, भोगिरहेकै छन् । हामीलाई चाहिएको राष्ट्रिय स्वतन्त्रता, स्वाधीनताका निम्ति प्रतिरोधपूर्ण लोकतन्त्र हो । साम्राज्यवादी तथा विस्तारवादी उत्पीडन र सामन्तवादी उत्पीडनको अन्त्यको लोकतन्त्र हो । सार्वभौमसत्ता सम्पन्न जनताको लोकतन्त्र हो । यसो भएमा मात्रै नेपाल–भारत सम्बन्धमा सधैंभरि पेचिलो रहादै आएको नेपालको राष्ट्रियताको सवालको समाधान सम्भव छ ।

















