काठमाडौं/ राष्ट्रपति भवन शीतल निवासमा राजतन्त्रकालमा जस्तै सुरक्षा घेराभित्र प्रेस काउन्सिल नेपालको ४७औं वार्षिकोत्सव मनाइयो । सो अवसरमा कार्यक्रममा पत्रकारहरूलाई नै प्रवेशमा निकै कडाइ गरिएको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई द्रुत गतिमा अघि बढाउन सञ्चारमाध्यमहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकारिता पेशालाई मर्यादित र उत्तरदायी बनाउनुपर्ने आवश्यकता रहेकामा राष्ट्रपति भण्डारीको जोड थियो । कार्यक्रममा सञ्चामन्त्री सुरेन्द्र कार्कीले निडरतासहितको आलोचना तर सकारात्मक सोचको पत्रकारिता गर्न उपस्थित पत्रकारहरूलाई सुझाव दिनुभयो । प्रेस काउन्सिलका अध्यक्ष वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टलगायतले काउन्सिलको वार्षिकोत्सवमा पत्रकारहरूले खेल्नुपर्ने भूमिकाका बारेमा गन्तव्य दिएका थिए ।
सोही अवसरमा संशोधन गरिएको पत्रकार आचारसंहिता सार्वजनिक गरिएको थियो । काउन्सिलको वार्षिकोत्सवमा गोपालदास पत्रकारिता पुरस्कारबाट गोविन्द आचार्य सम्मानित हुनुभएको छ । यो पुरस्कारको राशी १ लाख ५ हजार रूपैयाा रहेको छ ।
यसैगरी १ लाख ५ हजार रूर्पयाा राशीकै सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट तरुण साप्ताहिकका सम्पादक परशु घिमिरे (ललितपुर) सम्मानित हुनुभएको छ । काउन्सिलको वार्षिकोत्सवमा बुटवल टुडेलाई आचारसंहिता पुरस्कार, साहित्यिक पत्रकारिता पुरस्कार विवश वस्तीलाई, स्तम्भलेखन पुरस्कार कृष्णमुरारी ढुंगेल, गोविन्दप्रसाद भट्टराई र दयाराम डाागीले पाएका छन् ।
त्यस्तै भाषागत पत्रकारिता पुरस्कार गोपाल छाड्छाले पाएका छन् भने महिला सशक्तीकरण पुरस्कार कविता थापा, मनीषा श्रेष्ठ महरा र दुर्गा भण्डारीले पाएका छन् ।
सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कार चार जनालाई दिइएको छ । यो विधाको पुरस्कार पाउनेहरूमा महेश दास, डा. राजेश अहिराज र देवराज (डीआर) पन्त र पवन आचार्य रहेका छन् ।
समावेशी पत्रकारिता पुरस्कार पाउने पत्रकारहरू ६ जना छन् । शीतल महतो, विष्णुलाल बुढा, माधवप्रसाद चम्लागाईं, रोशन सावाा, सुशील दर्नाल र लक्ष्मीकुमारी चौधरीलाई यो पुरस्कार दिइएको छ । युवा सशक्तीकरण पुरस्कारबाट उपेन्द्र केसी, हेमन्तकुमार पौडेल, लेखनाथ न्यौपाने, भुवन शर्मा र श्यामसुन्दर यादवले पाएका छन् । लेखन पत्रकारिता पुरस्कारबाट गणेश लम्साल, प्रकाशकुमार खतिवडा, मोतीराम तिमल्सिना र रिशव गौतमले पाएका छन् ।
त्यस्तै क्रियाशील पत्रकारिता पुरस्कारबाट शेखर अधिकारी, प्रदीपराज वन्त र विनोद शाहीलाई सम्मान गरिएको छ । महिला सशक्तीकरण, सशक्त सञ्चारकर्मी, समावेशी, युवा सशक्तीकरण, लेखन र क्रियाशील पत्रकारिता पुरस्कारको राशी जनही १०/१० हजार रूपैयाा रहेको छ ।
काउन्सिलले दुई जना कर्मचारीलाई सम्मान गरेको छ । सूचना प्रविधि अधिकृत रामशरण बोहोरा र कार्यालय सहयोगी श्यामबाबु महर्जनलाई वर्षको उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको हो ।
बोहोराले २० हजार र महर्जनले १५ हजार रूपैयाा पाएका छन् ।


















