सुन आयात कोटा बढाउन व्यवसायीहरूको माग

239

काठमाडौं÷ सुनचाँदी व्यवसायीले सुन आयात कोटा नबढाउदा बजारमा कालोबजारी बढेको दावी गरेका छन् । पर्याप्त सुन आयात नहुँदा अनौपचारिक बाटोबाट सुन भित्रिएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । काठमाडौंमा आयोजित नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो वार्षिक साधारणसभा तथा दोस्रो महाधिवेशनमा सहभागी व्यवसायीले सुन आयात कोटा बढाउन सरकारलाई दबाब दिएका छन् ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघ अध्यक्ष पशुपति मुरारकाले अवैध आयात रोक्न सुन आयातको कोटा बढाउनैपर्नेमा जोड दिए । सुनमा कोटा निर्धारण गर्ने तथा बैंकबाट मात्रै भित्र्याउनेलगायतका काम गरेर सरकारले उदार अर्थव्यवस्था भएको मुलुकमा नियन्त्रणको व्यवहार गरेको दाबी गर्दै उनले बजारको कालोबजारी हटाउन तथा गैरकानुनी आयात रोक्न सुन आयातमा कोटा बढाउन तथा व्यवसायीले नै सुन आयात गर्न पाउने व्यवस्था गर्नसपर्नेमा जोड दिए ।
मुरारकाले सुनचाँदीसम्बन्धी निर्देशिका नल्याएसम्म सुन पसलको अनुगमन गर्न नमिल्ने जिकिर गरे । सुन व्यवसायलाई निर्देशन गर्ने निर्देशिका नै छैन भने अनुगमन कसरी गर्ने ? उनको प्रश्न थियो ।
सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले सुनको कोटा बढाउन अत्यावश्यक रहेको जनाए । पर्याप्त सुन नआउँदा बजारमा अस्थिरता मात्रै भएको छैन राज्यले राजस्वसमेत गुमाइरहेको छ, भन्दै उनले सुनको कोटा बढाउनै पर्नेमा जोड दिए ।
व्यवसायीले सुनको कोटा बढाउन दबाब दिए पनि राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले त्यसलाई अस्वीकार गरे । सुन आयातमा कोटा बढाए तस्करी बढ्ने भन्दै उनले तत्काललाई अहिलेकै व्यवस्था ठीक हुने मा जोड दिए ।
सुन आयात कोटा बढाउँदा विभिन्न विकृति निम्तन्छ, खुला सीमा भएका कारण तस्करी बढ्न सक्छ अहिलेकै कोटाअनुसार आयात भएको सुन बैंकमा थन्किएर बसिरहेको अवस्थामा कोटा बढाउन आवश्यक नभएको जिकिर गरे ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सुन व्यवसायको समस्या सरकार र निजी क्षेत्र मिलेर हल गर्नुपर्ने मा जोड दिए । सुन व्यवसायमा विभिन्न समस्या रहेकाले समाधानका लागि सम्बन्धित मन्त्रालय, निकाय, संघसंस्था र व्यवसायी एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ । सुनचादी व्यवसायमा नीतिगत, प्रशासनिक तथा व्यावसायिक समस्या रहेको र यस्ता समस्या हटाउन सबै सम्बन्धित मन्त्रालय, राष्ट्र बैंक, व्यवसायी र महासंघ एकै ठाउँमा बस्नुपर्नेमा उपप्रधानमन्त्री निधिको जोड थियो ।
यसैबीच नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा मोहन सुनार निर्विरोध निर्वाचित भएका छन् । महासंघको चौंथो साधारणसभा तथा दोस्रो महाधिवेशनले अध्यक्षमा सुनारसहित नयाँ कार्यसमितिको सर्वसम्मत चयन गरेको हो ।
यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष रहेका सुनार महासंघको दोस्रो अध्यक्ष बनेका छन् । उनी पशुपति सुनचादी पसल दमौलीका सञ्चालक पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघको कार्यकारिणी सदस्य र नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उद्योग वाणिज्य परिषदका सदस्यसमेत हुन् । आगामी तीन वर्षका लागि महासंघको नेतृत्व सम्हाल्ने जिम्मा पाएका नवनिर्वाचित अध्यक्ष सुनारले व्यवसायीको हकहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
महासंघको वरिष्ठ उपाध्यक्षमा माणिकरत्न शाक्य निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षहरूमा ज्ञानुराज शाक्य, अर्जुन रसाइली, प्रेमकुमार सुनार, डिएस रत्न शाक्य र मोहनकाजी शाक्य निर्वाचित भएका छन् । साधारणसभाले महासंघको महासचिवमा धर्मसुन्दर बज्राचार्य, सचिवमा किरणभाइ बज्राचार्य, कोषाध्यक्षमा महेन्द्ररत्न शाक्य र सहकोषाध्यक्षमा सिन मास्के निर्वाचित भएका छन् । नयाँ कार्यसमितिका पदाधिकारीसहित ३० जना सदस्य सहमतिमै निर्वाचित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here