भारतका लागि मर्नु नेपाली गोर्खाहरुको बाध्यता

313

गोर्खा सैनिकको मृत्युमा थप पीडक बन्दै भारत,शवको प्रतीक्षामा रहेका आफन्त खरानीमै चित्त बुझाउँछन्
वसन्त खड्का
गत कात्तिक १५ गते अर्थात् तिहारको भाइटीकाको अघिल्लो दिन भारतीय सेनाको ७÷११ गोर्खा राइफल्समा कार्यरत धरान–११ का विमल तामाङको भारतको जम्मुकश्मीरस्थित रजौरीमा गस्तीमा रहेका बेला पाकिस्तानी सेनाको गोलीप्रहारबाट मृत्यु भयो । केही वर्ष पहिले मात्र भारतीय सेनामा भर्ती भएका २० वर्षीय तामाङको मृत्युले महत्वपूर्ण पर्व तिहारका बेला सम्पूर्ण नेपालीलाई शोकमा डुबायो । भारत र पाकिस्तानको सीमाक्षेत्र कश्मीरमा तनाव बढिरहेका बेला तामाङले आफू तनावग्रस्त क्षेत्रमा पोस्टिङ भएको जानकारी परिवारलाई गराएका थिए ।

जम्मुकश्मीरस्थित रजौरीमा पाकिस्तानी सेनाको गोलीप्रहारबाट मृत्यु भएका विमल तामाङ
जम्मुकश्मीरस्थित रजौरीमा पाकिस्तानी सेनाको गोलीप्रहारबाट मृत्यु भएका विमल तामाङ

छोराको चिन्ताले तनावमा रहेको तामाङ परिवारले जे नहोस् भनेर प्रार्थना गरेको थियो त्यही भोग्नुप¥यो अर्थात् विमलका बाबु बलबहादुर तथा आमा नरमायाले भाइटीकाको अघिल्लो दिन भारतीय सेनामा कार्यरत आफ्ना छोराको मृत्युको खबर सुन्नुप¥यो । छोराको निधनले शोकाकुल बनेको तामाङ परिवार त्यतिबेला थप पीडामा प¥यो जब मृतक छोराको शवको अन्त्येष्टि भइसकेको र उनको लासको खरानी केही दिनमा आउने खबर पाए । भारतीय सेनामै कार्यरत उनका अर्का छोरा किशोर तामाङले उनीहरुलाई त्यो खबर दिएका थिए ।
३ अगष्ट २०१३ मा जम्मुकश्मीरकै भारत पाकिस्तान सीमा जोडिएको कपुवा जिल्लामा पाकिस्तानी सेनाको गोली प्रहारबाट पोखरा घर भई भारतीय सेनाको गोर्खा राइफल्समा कार्यरत रणबहादुर गुरुङको मृत्यु भयो । झण्डै नौ वर्षसम्म भारतीय सेनामा काम गरिसकेका उनले मृत्यु हुनुभन्दा केही दिन पहिले आफ्नी छोरीको जन्मदिन मनाउन घर आउने जनाएका थिए । आफूलाई भारत पाकिस्तानको विवादित तथा जोखिमयुक्त क्षेत्रमा खटाइएको जानकारी परिवारलाई दिएका उनले केही दिनमै ज्यान गुमाउनुप¥यो । परिवारका एक मात्र छोरा रणबहादुरमाथि सम्पूर्ण परिवारको जिम्मेवारी थियो । परिवारको जिम्मेवारी पूरा गर्न जन्मथलो छाडेर कर्मथलो भारतीय सेनामा छिरेका गुरुङको छोरीको जन्मदिन मनाउन नेपाल आउने सपना यत्तिकै तुहियो । बरु उनको आगमनको बाटो हेरेर बसिरहेको परिवारले मृत्युको खबर सुन्नुप¥यो । भारतीय भूमिको रक्षार्थ बलिदानी गरेका रणबहादुरको परिवारले आफ्ना परिवारका सदस्यको शव पाउन सकेन । गुरुङको शव परिवारलाई हस्तान्तरण नगरी भारतमै अन्त्येष्टी गरियो । रणबहादुरको अन्तिम संस्कारका लागि शव कुरेर बसेको परिवारले शव पाएन बरु उनको अन्तिम संस्कार गरिरहेको दृश्य कैद भएको एकप्रति सिडी भारतीय सेनाका तर्फबाट पठाइयो । परिवारका सदस्यले भारतीय भूमि रक्षाका क्रममा ज्यान गुमाए पनि शवसमेत नभएपछि रणबहादुरका परिवारले गोर्खा भर्तीको बहानामा नेपालीहरुलाई बेच्ने काम भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
सन् १९६५मा भारत र पाकिस्तानका बीचमा भएको युद्धमा लमजुङका खड्ग बहादुर गुरुङले पनि ज्यान गुमाएका थिए । भारतीय भूमि रक्षार्थ लड्दा लड्दै ज्यान गुमाएको गुरुङको परिवारले पनि खड्ग बहादुरको लास पाउन सकेन । यसरी युद्ध तथा विभिन्न कारणले भारतीय सेनामा कार्यरत नेपालीहरुले ज्यान गुमाए पनि परिवारले भने शव पाउने गरेका छैन् । पूर्वभारतीय सैनिक तथा मृतक खड्ग गुरुङका भाइ इन्द्रप्रसाद गुरुङ आफ्नो दाजुको शव परिवारलाई हस्तान्तरण नगरी भारतमै अन्तिम संस्कार गरिएको जनाए । उनले दाजुको शव परिवारले नपाएपछि त्यति बेलादेखि नै नेपाली गोर्खाहरुको शव हस्तान्तरण हुनुपर्ने भन्दै आवाज उठाउँदै आएका छन् तर हालसम्म पनि कुनै सुनुवाइ नभएको उनको गुनासो छ ।
विमल, रणबहादुर र खड्गबहादुर त प्रतिनिधि पात्र मात्र हुन् । भारतीय सेनामा कार्यरत नेपाली गोर्खाहरुले भारतीय भूमिको रक्षाका लागि आफ्नो ज्यानको बलिदान गरिरहे पनि भारतले विभिन्न कारण देखाउँदै नेपालीहरुको शव हस्तान्तरण नगरी भारतमै अन्तिम संस्कार गर्दै आएको छ ।
किन गरिँदैन नेपाली गोर्खाहरुको शव हस्तान्तरण ?

जम्मुकश्मीरकै कपुवा जिल्लामा गल्तीका क्रममा गोली लागि मृत्यु भएका रणबहादुर गुरुङको भारतीय सेनाले अन्तिम संस्कार गर्दै
जम्मुकश्मीरकै कपुवा जिल्लामा गल्तीका क्रममा गोली लागि मृत्यु भएका रणबहादुर गुरुङको भारतीय सेनाले अन्तिम संस्कार गर्दै

सन् १९४७ भन्दा पहिले ब्रिटिश भारतको मातहतमा रहेर काम गरेका नेपाली गोर्खाहरुका विषयमा भारत स्वतन्त्र भएपछि बेलायत सरकार, भारत सरकार र नेपाल सरकारका बीचमा त्रिपक्षीय सम्झौता भएको थियो । उक्त सम्झौतामा ब्रिटिश इन्डियाको मातहतमा रहेका नेपाली गोर्खाहरु स्वतन्त्र भारतमा पनि रहने गरी सम्झौता भएको थियो । सम्झौताअनुसार भारतीय सेनामा कार्यरत नेपाली गोर्खाहरुले त्यहाँका नागरिकसरह नै सेवासुविधा तथा अवसर पाउने व्यवस्था रहेको छ । भारतीय सेनामा कार्यरत भारतीयमूलका नागरिकहरुको शव परिवारलाई नै हस्तान्तरण गर्दै आएको भारत सरकारले भारतीय सेनामा कार्यरत नेपालीहरुको मृत्यु हुँदा भने परिवारलाई शव हस्तान्तरण गर्दैन । पहिले पहिले नेपालको विकट भौगोलिक अवस्थालाई देखाउँदै मृत्यु भएका नेपालीहरुको शव हन्तान्तरण नगरेको भारतले हाल सुगम र सहज वातावरण हुँदाहुँदै पनि नेपाली गोर्खाहरुको शव हस्तान्तरण गर्ने गरेको छैन । यसका पछाडि आर्थिक कारण मुख्य रहेको पूर्वभारतीय सैनिक तथा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य खेमजोङ गुरुङको तर्क छ । फोरमको पूर्वसैनिक तथा प्रहरी महासंघका केन्द्रीय अध्यक्ष समेत रहेका गुरुङ नेपाली गोर्खाहरुको शव नेपालमा परिवारसम्म पु¥याउँदा ठूलो रकम खर्च हुने भएकाले भारतले शव हस्तान्तरणमा बेवास्ता गरेको जनाउँछन् । आफूहरुले नेपाली गोर्खाहरुको शव हस्तान्तरणका लागि भारत सरकार तथा नेपाल सरकारसँग पहलका लागि पटकपटक आग्रह गरे पनि कुनै सुनुवाइ नभएको गुरुङको गुनासो छ ।
लामो समयदेखि गोर्खा भर्ती केन्द्र बन्द गर्नुपर्ने र नेपालीहरुलाई भाडाका सिपाहीका रुपमा प्रयोग गर्न नहुने माग गर्दै आएका नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह भने भारतले नेपाली सैनिकहरुको शव हस्तान्तरण नगर्नुको मुख्य कारण नेपाल सरकार हो भन्छन् । नेपाली शासकहरुमा भारतको चाकडी गर्ने सोचका कारण गोर्खा सैनिकहरुको शव हस्तान्तरणमा पनि समस्या आएको उनको तर्क छ । नेपालमा सरकारको नेतृत्व गर्नेहरुमा रहेको दलाली सोचका कारण निहत्था गोर्खा सैनिकहरुले ज्यान गुमाइरहेको र उनीहरुको शवमाथि पनि राजनीति भइरहेको सिंहको भनाइ छ । सिंह गोर्खा सैनिकका नाममा नेपाली युवाहरुलाई विदेशी सेनामा भर्ती गर्ने काम नेपालको स्वाभिमानको विरुद्धमा रहेको भन्दै भाडाका सेनाको रुपमा नेपाली युवाहरुलाई प्रयोग गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिन्छन् ।
सन् १९४७मा नेपाल सरकार, बेलायत सरकार र भारत सरकारबीच भएको त्रिपक्षीय सन्धिको बुँदा नम्बर २ मा सबै धर्म र संस्कृतिको पालना हिन्दू धर्मको मागअनुसार गर्नुपर्नेछ भनी उल्लेख गरिएको छ । हिन्दू धर्मको परम्पराअनुसार परिवारको शव परिवारकै सदस्यद्वारा अन्तिम संस्कार गर्ने प्रचलन रहेको छ । तर सम्झौतामा उल्लेख भएअनुसार भारतले भने मृतक सैनिकको शव परिवारलाई हस्तान्तरण नगरी आफँैले अन्तिम संस्कार गर्ने गरेको छ । सहमतिमै उल्लेख गरिएको विषयलाई समेत पालना नगरी भारतले नेपाली गोर्खाहरुलाई भाडाका सिपाहीका रुपमा मात्र प्रयोग गर्न खोजेको नेपाली गोर्खाहरुका विषयमा जानकार तथा अधिवक्ता डा. गोपाल सिवाकोटीको तर्क छ । यसका लागि नेपाल सरकारका तर्फबाट पहल हुनुपर्ने उनी जनाउँछन् ।
नेपाल सरकारको बेवास्ता

मृतक गोर्खा सैनिक विमल तामाङका शोकाकुल बाबु आमा
मृतक गोर्खा सैनिक विमल तामाङका शोकाकुल बाबु आमा

तिहारको भाइटीकाको अघिल्लो दिन भारतीय सेनामा कार्यरत धरानका विमल तामाङको मृत्युको खबरले देश शोकमा डुबिरहेका बेला नेपाल सरकार भने भारतका महामहिमको स्वागतमा व्यस्त थियो । तामाङको परिवार छोराको श्वाससँगै लास पनि नपाएर विलाप गरिरहँदा सरकार भने प्रतिक्रियाविहीन र मौन देखिन्थ्यो । मृतक सैनिकका परिवारलाई सान्त्वना दिने तथा मृतकको शव नेपाल ल्याउन पहल गर्नुपर्ने सरकार त्यस विषयमा मौन हुँदै भारतीय राष्ट्रपतिको सत्कारमा मात्र केन्द्रित देखिनु आश्चर्यजनक लाग्थ्यो । तर सरकारले भने त्यो मौनतालाई निरन्तरता दिइरह्यो ।
नेपाल सरकारले भारतीय सेनामा कार्यरत नेपाली नागरिक विमल तामाङको मृत्युमा कुनै प्रतिक्रिया नजनाएको विषयमा परराष्ट्र मन्त्रालयमा बुझ्न खोज्दा मन्त्रालयले मृत्युको विषयमा जानकार रहे पनि प्रतिक्रिया जनाउने विषयमा अज्ञानता प्रकट गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले यस विषयमा आफूलाई जानकारी नरहेको जनाए । उनले यस विषयमा मन्त्रालयअन्तर्गतको दक्षिण एसिया महाशाखाबाट जानकारी लिन आग्रह गरे पनि उक्त महाशाखाका प्रमुख भृगु ढुंगानाले पनि विमल तामाङका विषयमा सरकारी निकायबाट कुनै प्रतिक्रिया नआएको विषयमा आफूलाई भन्दा प्रवक्तालाई नै बढी जानकारी हुने जनाए । उनले सरकारले दूतावासमार्फत बुझ्ने काम गरिरहेको भने पनि मृत्यु भएको लामो समयसम्म सरकारी मौनताका विषयमा भने आफूलाई पनि जानकारी नरहेको जनाए । बरु यस विषयमा थप बुझ्ने उनको प्रतिक्रिया थियो ।
भारतीय सेनामा कार्यरत नेपालीहरुको मृत्युपश्चात् शव हस्तान्तरणको विषयमा भारतीय सेनामा कार्यरत पूर्वगोर्खा सैनिक तथा बहालवाल सैनिकहरुले लामो समयदेखि आवाज उठाउँदै आएका छन् । पूर्वभारतीय सैनिक इन्द्रप्रसाद गुरुङ नेपाली गोर्खाको शव परिवारलाई नै हस्तान्तरण गर्ने विषयमा भारत सरकार तथा नेपाल सरकारलाई पटकपटक खबरदारी गरेको जनाउँछन् । तर यस विषयमा कतैबाट सुनुवाइ नभएको उनको गुनासो छ । नेपाल सरकारले त भारतीय सेनामा कार्यरत नेपालीहरुले भोग्नुपरेका समस्याका बारेमा चासो नै नदिने तर्क गर्छन् ।
त्यस्तै, पूर्वसैनिक तथा प्रहरी महासंघका केन्द्रीय अध्यक्ष खेमजोङ गुरुङ नेपाल सरकार लाहुरेहरुप्रति निकै गैरजिम्मेवार रहेको तर्क गर्छन् । नेपालका तर्फबाट कूटनीतिक प्रयास गरेको खण्डमा शव हस्तान्तरणका लागि भारत दबाबमा पर्ने भए पनि नेपालका सरकारबाट कुनै किसिमको पहल नभएको उनको तर्क छ । उनी सरकारले लाहुरेहरुलाई कूटनीतिक पुलका रुपमा मात्र प्रयोग गर्न खोजेको तर उनीहरुले भोगेका समस्या समाधानका लागि लाचार रहेको गुनासो गर्छन् । मृतकको शव हस्तान्तरण नहुँदा परिवारले निकै पीडा सहनुपर्ने भए पनि आफ्नै नागरिकले सहनुपरेको पीडालाई सरकारले बेवास्ता गरिरहेको गुरुङको तर्क छ । उनी भन्छन्, ‘हाम्रो आवाज भारत सरकारको उच्च तहसम्म पुग्दैन, नेपाल सरकारले पहल नै गर्दैन । यसको पीडा भारतीय सेनामा कार्यरत नेपालीहरुका परिवारले सहन बाध्य बनिरहेका छन् ।’
गुरुङ गोर्खा सैनिकको समस्या समाधानका लागि तथा परिवारलाई शव हस्तान्तरणको वातावरण मिलाइदिन आग्रह गर्दै अधिकांश सरकार प्रमुख तथा सम्बन्धित निकायमा पुगे पनि कुनै पनि सरकारले आफ्ना मागलाई सम्बोधन नगरेको गुनासो गरे । गुरुङले कामको सिलसिलामा विभिन्न मुलुकमा गएका नेपालीहरुको मृत्युमा चासो देखाउने नेपाल सरकार भारतीय सेनामा कार्यरत नेपालीहरुको मृत्युमा भने मौन रहेको भन्दै आक्रोश व्यक्त गरे । उनले भारतीय सेनामा कार्यरत नेपालीहरुप्रति सरकारको व्यवहार अशोभनीय र आश्चर्यजनक रहेको जनाए ।
अवसर र सुविधाबाट पनि भेदभाव
भारतले स्वतन्त्रता, स्वाधीनता र आफ्नो माटोको रक्षाका लागि लडेका कुनै त्यस्ता युद्ध छैनन्, जसमा नेपाली गोर्खाहरुले रगत नबगाएको होस् । भारतले जितेका हरेक युद्धमा नेपाली गोर्खा सैनिकले रगत बगाएको विषयमा भारतीय उच्च नेतृत्व पनि जानकार छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक नेपाल भ्रमणका बेला नेपालको संविधानसभामा सम्बोधन गर्दै भनेका थिए, ‘भारतले त्यस्तो कुनै युद्ध जितेको छैन, जहाँ नेपालीको रगत नबगेको होस्, कुनै नेपालीको सहादत नभएको होस् । भारतको स्वाभिमान र रक्षाका लागि नेपालका बहादुर मर्न मार्नका लागि कहिल्यै पछि परेको छैन ।’ मोदीको यो भनाइले पनि भारतीय भूमिको रक्षाका लागि नेपाली गोर्खाहरुको योगदान अतुलनीय छ भन्ने पुष्टि हुन्छ । तर भारतका लागि मर्न÷मार्न तयार हुने नेपाली गोर्खाहरुलाई भारतले सेवासुविधा तथा अवसरमा भने विभेद गर्दै आएको छ । भारतीय सेनामा कार्यरत पूर्वगोर्खा सैनिकहरुका अनुसार भारतीय सेनामा कार्यरत नेपालीहरुलाई कहिल्यै पनि उच्च पदसम्म पु¥याइँदैन । जीवनभर भारतीय सेनामा कार्यरत नेपालीहरुलाई सामान्य जिम्मेवारीमै अवकाश दिने गरेको गरेको एक पूर्वभारतीय गोर्खा सैनिकले स्वाभिमान नेपाललाई जानकारी दिए । भारतीय मुलुका सैनिकहरुको तुलनामा नेपाली गोर्खा सैनिकहरुलाई दिने अन्य सेवासुविधाहरुमा समेत भिन्नता रहेको उनको भनाइ छ । हालै मात्र नेपालको भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग पनि पूर्वभारतीय सैनिकहरुले समान सुविधाको माग राखेका थिए । आफूहरुमाथि सेवासुविधा तथा अवसरमा विभेद गरिएको भन्दै पूर्वभारतीय सैनिकहरुले पटकपटक आवाज उठाउँदै आएका छन् । तर समाजवादी फोरमका नेता तथा पूर्वभारतीय सैनिक खेमजोङ भने सेवासुविधामा विभेद नरहेको दाबी गर्छन् । बरु नेपाली गोर्खाहरुलाई दिने सेवासुविधा नेपाल सरकारका कारण कटौती भइरहेको उनको भनाइ छ । पूर्वभारतीय सैनिकलाई भारत सरकारले दिने गरेको सेवासुविधामाथि पनि नेपाल सरकारले भन्सार लगाउने गरेकाले अवकाशपछिको सुविधा पाउनबाट वञ्चित हुनुपरेको उनको गुनासो छ ।
विवादित र जोखिमयुक्त क्षेत्रमा गोर्खा सैनिकको प्रयोग

भारतीय सेनामा कार्यरत नेपाली गोर्खा सैनिक
भारतीय सेनामा कार्यरत नेपाली गोर्खा सैनिक

हाल सात गोर्खा रेजिमेन्टमा ३९ बटालीयनमार्फत झण्डै ४० हजार गोर्खा सैनिकहरुले भारतीय सेनामा सेवा गरिरहेका छन् । असाम राइफल्समा पनि कैयाँै नेपालीहरुले सेवा गरिरहेको विभिन्न तथ्यांकहरुले देखाएको छ । भारतीय सेनामा लडाकू र शक्तिशाली छवि बनाएका गोर्खा सैनिकहरुलाई भारतले विवादित, दंगाग्रस्त तथा विवादित अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा खटाउने गरेको छ । ‘कायर हुनुभन्दा मर्नु राम्रो’ भन्ने मोटो नै राखेर नेपाली गोर्खाहरुलाई युद्धका लागि उक्साउने गरेको भारतले नेपाली गोर्खाहरुको लडाकू स्वभावको भरपूर प्रयोग गर्दै आएको छ । भारतले आफ्ना प्रतिद्वन्द्वी मुलुक पाकिस्तान र चीनलाई समेत गोर्खा सैनिकहरु देखाउँदै तर्साउने प्रयास गर्दै आएको छ । यस स्टोरीमा उल्लेख गरिएका प्रतिनिधि पात्रहरु गुरुङद्वय तथा तामाङ पनि जोखिम र विवादित भारत पाकिस्तान सीमा क्षेत्रमै मारिएका हुन् । अहिले पनि भारतले संवेदनशील क्षेत्र तथा विवादित र अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा नेपाली गोर्खाहरुलाई नै खटाउने गरेको त्यहाँ कार्यरत नेपाली गोर्खाहरुले जनाउने गरेका छन् । पूर्वभारतीय सैनिक इन्द्रप्रसाद गुरुङ विगतदेखि नै भारतले नेपाली गोर्खाहरुलाई जोखिम मोल्न बाध्य पार्ने गरेको जनाउँछन् । ७४ वर्षीय गुरुङ विगतदेखि हालसम्म भारतले नेपाली गोर्खाहरुलाई जोखिम मोल्न बाध्य पारिरहेको र नियन्त्रणभन्दा बाहिरको परिस्थितिमा जबर्जस्ती नेपाली गोर्खाहरु खटाउने गरेको दाबी गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here