नयाँ गठबन्धनको तयारी यस्तो छ

168

कांग्रेससँगको सहकार्यले आदर्शविहीन बन्दै वामशक्ति

काठमाडौं÷ कम्युनिष्ट भन्नेबित्तिकै सर्वहारा वर्गको पक्षमा लड्ने र राष्ट्रवादी हुन्छन् भन्ने आम मान्यता हुन्छ । २०२८ सालको झापा आन्दोलन होस् या २०५२ सालको माओवादी जनयुद्ध, नेपालमा कम्युनिष्ट आन्दोलनका मुख्य घटनाहरूलाई नियाल्दा र उनीहरूले उठाएका एजेण्डाहरूको अध्ययन गर्दा कम्युनिष्टहरू जनता र मुलुकप्रति प्रतिबद्ध रहेको आशय नै देखिन्छ । कम्युनिष्ट आन्दोलनका नाममा नेपालले धेरै ठूलो क्षति व्यहोर्नु परे पनि आन्दोलनबाट मूलधारमा आएका कम्युनिष्टहरू भने विस्तारै दक्षिणपन्थी धारमा भासिँदै गएको देख्न सकिन्छ । नेपालमा अहिले पनि झण्डै ६० प्रतिशत जनमत कम्युनिष्टहरूकै पक्षमा रहेको छ । तर आफ्नो स्वार्थका लागि आफैँले गरेका प्रतिबद्धता र आदर्शलाई बिर्सने नेपाली कम्युनिष्टहरूको रोगका कारण रानो आकारमा रहेर पनि गैर कम्युनिष्टहरू निर्णायक बनिरहेका छन् भने आफ्ना एजेण्डा लागू गर्न पनि सफल बनिरहेका छन् । विशेष गरी आफ्नो वर्ग दुस्मन ठान्ने नेपाली कांग्रेसलगायत राजनीतिक दलका पछि लाग्दा नेपालका कम्युनिष्टहरू आफ्नो लक्ष्यबाट विमुख हुने गरेका छन् ।
वर्तमान सत्ता गठबन्धनकै उदाहरण दिने हो भने पनि सत्ताको नेतृत्व माओवादी केन्द्रले गरिरहेको छ । तर पछिल्लो समय जे जस्ता कामहरू भएका छन्, त्यसमा अधिकांश नेपाली कांग्रेसको स्वार्थ अनुकूल भइरहेका छन् । जस्तो तत्काल निकै चर्चामा रहेको सुजाता कोइरालालाई ठूलो धनराशी सहयोग गर्ने होस् वा सांसदहरूको सेवा सुविधा बढाउने विषय होस् । यो माओवादी केन्द्रको आदर्शभित्र पर्ने विषय होइन । त्यस्तै सीमांकन, भाषा विवाद, नागरिकता तथा चिनियाँ राष्ट्रपतिको भ्रमणका विषयमा अन्योलता सिर्जना हुनुका पछाडि पनि नेपाली कांग्रेसकै कहीँ न कतै हात रहेकोमा दुईमत छैन । तर माओवादी केन्द्र आफ्नो आदर्शलाई ख्यालै नगरी कांग्रेसको एजेण्डामा हिँडिरहेको छ । कांग्रेससँगको सहकार्यका लागि आफँैले उठान गरेका एजेण्डा समेत त्याग्न तयार हुने माओवादी केन्द्रको प्रवृत्तिले उसैलाई नोक्सानी भइरहेको छ । वर्तमान राजनीतिक घटना क्रममा मात्र होइन विगतदेखि नै नेपाली कांग्रेसले कम्युनिष्टहरूलाई आफ्ना एजेण्डा र निर्णयहरूमा सहमति गराउँदै आएको छ । जस्तो पजेरो काण्ड, पुरुषलाई सुत्केरी भत्ता, अर्थ विधेयक भन्दै नागरिकता विधेयक पास गराउने होस् वा महाकाली सन्धि काण्ड, यी घटनाहरूमा नेकपा एमाले नेपाली कांग्रेसको साक्षी र साझेदार बनेको छ । जब कि एउटा कम्युनिष्ट पार्टीको एजेण्डा वा आदर्शमा यस्ता कुराहरू सोच्न समेत नहुने कुरा हो । तर नेपाली कांग्रेसको दबाबमा वा लालशामा परेर कम्युनिष्टहरूले यस्तै यस्तै गतिविधिहरू गर्दै आइरहेका छन् । जसले गर्दा उनीहरू आफ्ना आदर्शबाट विमुख हुनुपर्ने अवस्था सिर्जना हुँदै गइरहेको छ ।
नेपाली कांग्रेसले कम्युनिष्टहरूलाई जसरी प्रयोग गर्दै आएको छ त्यसरी नै एक अर्कालाई लडाउँदै पनि आएको छ । नेपाली कांग्रेसको यही चलाखीका कारण वामपन्थीहरूको प्रतिनिधित्व ठूलो संख्यामा हुँदा हुँदै पनि कांग्रेसले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सकिरहेको छ । अघिल्लो सरकारकै उदाहरण लिनेहो भने पनि वाम गठबन्धनको लोकप्रिय सरकारका रूपमा स्थापित हुँदै गरेको एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार एकाएक ढल्यो र नेपाली कांग्रेससहितको गठबन्धनमा नयाँ सरकार बन्यो । अहिले फेरि बामहरूका बीचमा केही निकटता र सहमति हुनसक्ने ठानेर कांग्रेसले सीमांकन, नागरिकता लगायतका विषयमा सत्तासाझेदार माओवादी र एमालेबीचमा विमति सिर्जना गर्ने र वामहरूका बीचमा विवाद सिर्जना गरेर राष्ट्रिय राजनीतिमा आफू हावी हुने रणनीति अपनाइरहेको छ । लोकमानसिंह कार्की प्रकरणमा वाम दलहरू नजिक हुँदै गएको चाल पाएको कांग्रेसले एकातर्फ कम्युनिष्टहरूलाई लडाउने खेल सुरु गरेको छ भने अर्काेतर्फ गैर वाम नेतृत्वको सरकार निर्माणको वातावरण पनि सिर्जना गरिरहेको छ । हालै एकता प्रक्रियामा गएको राप्रपा नेपाल, मधेशवादी दल तथा अन्य साना दलहरूलाई समेत समेटेर नयाँ सरकारको नेतृत्व आफैले गर्ने दाउमा नेपाली कांग्रेस रहेको छ । पछिल्लो समय सानो भएर पनि निर्णायक अवस्थामा रहेको राप्रपा नेपाललाई राप्रपामा गाभ्ने रणनीति पनि नेपाली कांग्रेसकै भएको जनाइन्छ । यसले गैर वाम दलहरूका पक्षमा पनि बहुमत पुग्ने निश्चित देखिएको छ । एकातर्फ गैर वाम गठबन्धनका लागि पहल गरिरहेको कांग्रेसले कम्युनिष्टहरूलाई पनि एकै ठाउँमा हुन नदिने रणनीति अवलम्बन गरिरहेको छ । त्यसका लागि प्रमुख वामदलहरूमा तिक्तताको वातावरण बनाउन कांग्रेस लागिपरेको छ । तर कम्युनिष्टहरूले भने यो सत्यलाई बिर्सेर आफ्ना आदर्शहरूलाई समेत तिलाञ्जली दिँदै एकआपसमा तानातान गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here