प्रचण्डले पाउने सलाम केपी ओलीलाई

226

–निमकान्त पाण्डे–

दशवर्षे जनयुद्धका विरोधी हुन् एमाले नेता केपी ओली । तर म समर्थक थिएँ । जनयुद्धले देशव्यापी प्रभाव विस्तार गरिरहेका बेला पनि केपी ओली जनयुद्धका विरोधी नै रहेका थिए । मैले त झन् त्यसको विरोध गर्ने कुरै भएन । केपी ओलीले महाकाली सन्धि संसद्बाट पारित गर्दा म त्यसको विरुद्धमा थिएँ । केपी ओलीले महाकाली सन्धिबाट नेपाललाई एक खर्ब बीस अर्ब रूपैयाँ वार्षिक रूपमा फाइदा हुने दाबी गरिरहेका बेला मैले नेपाललाई ठूलो नोक्सानी हुने दाबी गरिरहेको थिएँ । महाकाली सन्धि गरेर केपी ओलीहरूबाट गम्भीर राष्ट्रघात भएको ठहर मैले गरिरहेको थिएँ । महाकाली सन्धिले महाकाली नदीको ९० प्रतिशत पानी भारतले उपयोग गर्न पाउने प्रावधान भएको र त्यसबापतमा नेपालले केही नपाउने शर्तमा सन्धि भएकाले त्यो सन्धिबाट नेपाल ठगिएको मेरो निष्कर्ष हो । परन्तु महाकाली सन्धिबारे तत्कालीन युद्धकालका कमाण्डर प्रचण्ड र मेरो विचार मिल्दथ्यो त्यो बेला ।
राष्ट्रिय स्वाधीनताका लागि भन्दै भारतीय विस्तारवादको विरोधमा सीमाक्षेत्रमा सुरुङ निर्माण गर्ने तयारीमा प्रचण्डहरू लागिरहेका बेला त्यसको विरोधमा कहिल्यै लेख्न सकिएन । त्यसको समर्थनमा कलम चलाउनु जोखिम नै भए पनि त्यो जोखिम मोल्न तयार भएरै कलम चलाइएको थियो त्यो बेला ।
केपी ओलीहरू महाकाली सन्धि पारित गरेपछि प्रहरी घेराबन्दीमा घरभित्रै लुकेर बस्नु परेको थियो । त्यही कारणबाट एमाले पार्टी विभाजितसमेत भएको हो । एमालेबाट विभाजित नेकपा (माले)सँग प्रचण्डको सामीप्यता पनि थियो र म पनि त्यही पार्टीमा क्रियाशील थिएँ । केपी ओलीहरूले भारतीय नागरिकहरूलाई नेपाली नागरिकता दिलाउन अर्थ विधेयकका नाममा नागरिकता विधेयक पारित गर्ने प्रयास गरेका थिए । त्यसलाई मैले राष्ट्रघात भनेको थिएँ । प्रचण्डले पनि त्यसलाई राष्ट्रघात भनेरै विरोध गर्नुभएको थियो ।
केपी ओलीहरूले भारतमा पुगेर प्रचण्डहरूसँग १२ बुँदे सहमति गरी आउनुभयो, त्यो सहमतिलाई पनि मैले राष्ट्रघातको प्रस्थानबिन्दु भनेर आलोचना गरेको थिएँ । त्यो १२ बुँदे सहमतिमा प्रचण्डका सहयात्री डा.बाबुराम भट्टराईले समेत आज आएर पश्चाताप गरिरहेका छन् ।
त्यही १२ बुँदे सहमतिको सहयात्रामा रहेका प्रचण्ड र केपी ओलीहरू आज फरक कित्तामा उभिएर एकले अर्कालाई आरोप प्रत्यारोप गरिरहेका छन् । ओलीले पहिले गरेकै निर्णयलाई कार्यान्वयन गर्न आपूmले ५ नम्बर प्रदेशको आकार परिवर्तन गर्न चाहेको भनेर प्रचण्डले सफाइ पेश गर्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था देखापरेको छ । प्रचण्डलाई आजको राजनीतिक उचाइमा पु¥याउने त्यही क्षेत्रका जनतालाई समस्या भए पनि देशको एकताका लागि आपूmले संविधानमा संशोधन प्रस्ताव गरेको भनेर गरिरहेको हास्यास्पद तर्कले जनतालाई सडकमा प्रचण्डकै विरुद्धमा झनै उत्तेजित बनाइरहेको छ । यो अवस्थाले प्रचण्डको आधार इलाका नै खल्बलिन पुगेको छ ।
प्रचण्डले गरेको संशोधनको प्रस्तावलाई छिमेकी देश भारतले स्वागत गर्नुका साथै मधेश केन्द्रित राजनीति गरिरहेका नेताहरूलाई आफ्ना राजदूतमार्फत उर्दी जारी गर्न लगाएर प्रचण्डको राष्ट्रिय एकताको लंगौटी फुस्काइदिएको छ । भारतलाई अत्यधिक मन परेको प्रचण्डको संशोधन प्रस्तावले नेपाली जनतालाई सडकमा उत्रिन बाध्य बनाइरहेका बेला पनि त्यो प्रस्ताव फिर्ता हुँदैन भनेर प्रचण्डले अडान सार्वजनिक गरिरहँदा पश्चिम नेपालमा प्रचण्डका पुत्ला जलिरहेको अवस्था छ ।
देशलाई अस्तव्यस्त बनाएर छिमेकी राष्ट्रको आडमा शासन गर्न खोज्नु कति जनपक्षीय काम हुन जाला ? यस विषयमा प्रचण्डले नबुझ्नु भएको कसरी भन्नु ? बुझ्नु भएको नै छ भने किन यस्तो विश्वासै गर्न नसकिने काम प्रचण्डबाट भएको हो ? विगतकालमा केपी ओलीहरूबाट भएका राष्ट्रघाती क्रियाकलापहरूलाई सच्याएर राष्ट्रिय स्वाधीनताको सवालमा प्रचण्डले दह्रो अडान लिनु हुनेछ भन्ने आशा र विश्वास गरेका सबैलाई स्तब्ध तुल्याउने गरी प्रचण्ड किन प्रस्तुत भइरहनुभएको छ ? प्रचण्डका क्रियाकलापहरूको विरोधमा कलम चलाउन नचाहने यो पंक्तिकारलाई समेत प्रचण्डको पक्षमा लेख्नै नपाउने गरी किन यस्ता विवादास्पद कामहरू भइरहेका छन् ?
छिमेकी देश भारतका शासकहरूले नेपालको तराई भू–भागलाई अलग गराएर ‘एक मधेश, स्वायत्त प्रदेश’ बनाउने चाहना धेरै पहिलेदेखि सार्वजनिक गर्दै आएका हुन् । भारतको संरक्षणमा मधेश केन्द्रित नेताहरू परिचालित छन् भन्ने कुरा पनि पटकपटक पुष्टि हुँदै आएको नै हो । भारतकै संरक्षणमा सिके राउतजस्ता पात्रहरूले ‘मधेश स्वतन्त्र देश’को नारा लगाइरहेका छन् । यस्तो अवस्थाबीच दश वर्षसम्म नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको जनजीविकाका लागि भन्दै सशस्त्र युद्धको नेतृत्व गरेका प्रचण्डले भारतीय सत्तापक्षकै स्वार्थमा नेपाललाई विखण्डन गर्ने आधार निर्माण गर्ने अभियानमा सक्रियता देखाउनु दुर्भाग्यपूर्ण हो । प्रचण्डलाई सलाम गर्न चाहने मेरा हातहरू अब केपी ओलीलाई नतमस्तक भएर सलाम गर्नुपर्ने अवस्था सृजना भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here