राजनीतिक रिक्ततालाई पूरा गर्ने बाटोमा विप्लव

315

काठमाडौं÷ तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा प्रवेश गरेसँगै नेतृत्वले धोका दिएको आरोप लगाउँदै छुट्टै पार्टी गठन गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीको आठौं महाधिवेशनमार्फत जनयुद्धका बाँकी कार्यभार पूरा गर्ने तथा जनवादी क्रान्तिलाई नयाँ ढंगबाट अघि बढाउने गरी नयाँ बाटो तय गरेका छन् । विप्लवले महाधिबवेशनको उद्घाटन सत्रमा चिनियाँ क्रान्तिकारी नेता माओकै शैली पछ्याउँदै खैरो रंगको कोटमा मञ्चमा उभिएर नेपालको क्रान्तिलाई नयाँ ढंगले अघि बढाउने र शोषित पीडितहरूका पक्षमा निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गरेका थिए । खुल्लामञ्चमा हजारौं जनमानसको बीचमा विप्लवको प्रस्तुति तथा उनको हाउभाउले उनी नेपालमा खड्किएको जनवादी क्रान्तिको अभावलाई पूरा गर्ने उत्साहमा देखिन्थे । महाधिवेशनको बन्दसत्रमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनले उनको क्रान्तिप्रतिको उत्साहलाई झनै बलियो ढंगले अघि बढाउन खोजेको पुष्टि गरेको छ ।
पार्टी फुटेपछि केही समयसम्म अलमलको अवस्थामा देखिएका विप्लव पछिल्लो समय जनवादी क्रान्तिका पक्षमा र वर्तमान शासन व्यवस्थाविरुद्ध प्रष्ट ढंगले खुलेका छन् । नेपालको माओवादी आन्दोलन तथा समग्र कम्युनिष्ट आन्दोलनको लक्ष्य नै प्राप्त नगरी बिसर्जनको अवस्थामा पुगेको निष्कर्षमा पुगेका विप्लवले त्यसले जनतामा निराशा ल्याएको भन्दै नयाँ कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने निधो गरेका छन् । पार्टीको महाधिवेशनबाट पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्नुको उद्देश्य पनि यही देखिन्छ । पछिल्लो समय माओवादी पार्टीबाट विभक्त भएका विभिन्न समूहका कामकारबाही र व्यवहारका कारण समग्र माओवादी आन्दोलनमाथि नै प्रश्नचिह्न उठ्ने अवस्था आएको र माओवादी आन्दोलनप्रति जनताको विश्वास गुमेको भन्दै विप्लवले पार्टीको नाममात्र परिवर्तन गरेनन्, समग्र कम्युनिष्ट आन्दोलनलाई नै प्रतिनिधित्व गर्ने गरी नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणको अभियान सुरु गरेका छन् । माओवादी नामकै कम्युनिष्ट आन्दोलनलाई हेर्ने आम मानिसहरूको धारणा नै परिवर्तन हुने अवस्था सिर्जना भएपछि विप्लवले नयाँ अवधारणासहितको क्रान्तिकारी पार्टीको विकासलाई जोड दिएको बुझ्न कठिन छैन ।
पार्टीलाई नयाँ ढंगले विकास गर्ने योजना बनाएका विप्लवले पछिल्लो समय अवलम्बन गरेको व्यावहारिक पाटोले पनि उनी पुनः क्रान्तिकारी बाटोमा जाँदै छन् भन्ने कुरा देखाउँछ । जस्तो युद्धकालकै शैलीमा विप्लवले भ्रष्टाचारी तथा सामन्तहरूमाथि जनकारबाही सुरु गरेका छन् । पछिल्लो समय माओवादी आन्दोलनका कारण समस्याको रूपमा उत्पन्न जातीय तथा क्षेत्रीय मुद्दामा समेत विप्लवले सबैको प्रतिनिधित्वलाई जोड दिएका छन् । साथै माओवादी आन्दोलनका कारण मुलुक साम्प्रदायिकतातर्फ गएको आरोप लागिरहेका बेला विप्लवले सबैलाई मिलाउने तथा राष्ट्रिय एकतालाई जोड दिएको पाइन्छ ।
मुलुकमा पछिल्लो समय विकास भइरहेको राजनीतिक ध्रुवीकरणलाई सम्बोधन गर्ने गरी विप्लवले मुलुक पनि जोगिने र जनता पनि खुशी हुने किसिमको व्यवस्थाको वकालत गरिरहेका छन् । अझ अनौठो त के छ भने कम्युनिष्टहरू पुँजीको विरोध गर्छन् भन्ने आम धारणालाई चिर्दै विप्लवले राष्ट्रिय हितका लागि विदेशी लगानीलाई पनि प्रोत्साहन गर्ने र स्वदेशभित्रै पनि आन्तरिक र निजी लगानीलाई प्रोत्साहन गर्ने तथा आवश्यकताअनुसार सशस्त्र क्रान्तिलाई पनि अंगीकार गर्ने उनको विचारधाराले उनी कम्युनिष्टहरूप्रतिको आम धारणालाई चिरेर नयाँ किसिमको र सबैको प्रतिनिधित्व हुने राष्ट्रवादी कम्युनिष्ट पार्टीको निर्माणमा जुटेको सन्देश दिएका छन् ।
पछिल्लो समय माओवादीहरूप्रतिको जनविश्वास घट्दै गइरहेका बेला विप्लवले आठौं महाधिवेशनका बेला खुल्लामञ्चमा गरेको जनप्रदर्शनले मूलधारमा रहेर सबैभन्दा ठूलो दल दाबी गर्नेहरूलाई समेत चुनौती दिएका छन् । अर्काेतर्फ सबैले अब विप्लवले पुरानै हिंसाको बाटोलाई नै निरन्तरता दिँदैछन् भन्ने आम अनुमानलाई गलत सावित गराउँदै उनले सशस्त्र क्रान्तिसँगै विकास र राष्ट्रनिर्माणलाई पनि जोड दिएका छन । नेपालको परम्परागत राजनीतिमा या क्रान्तिलाई मात्र जोड दिने या त पुँजीवादलाई मात्र प्रश्रय दिने प्रवृत्तिलाई फ्युजन गरेर विप्लवले नयाँ किसिमको राजनीतिक व्यवस्थाको सुरुवात गर्ने दिशातर्फ अघि बढिरहेको सहजै बुझ्न सकिन्छ । यसले गरिब, दलित, उत्पीडित वर्गसँगै मध्यम वर्ग र सहरलाई समेत सँगै जोड्न सहज हुने अनुमान विप्लवको रहेको छ । जसलाई उनले नयाँ ढंगले प्रयोग गर्न खोजेको देख्न सकिन्छ । विप्लवले अवलम्बन गरेको नयाँ राजनीतिक कार्यदिशाले नेपालमा लामो समयदेखि खड्किँदै आएको राजनीतिक रिक्ततालाई पूरा गर्ने हो वा अरु माओवादी समूहहरूकै गन्तव्यमा विप्लवको राजनीति अल्मलिने हो ? केही समयको प्रतिक्षा गर्नैपर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here