वागमतीमा जस्तै नेपाली राजनीतिको पनि सफाइ गर्न जरुरी

118

राज्यलक्ष्मी शाक्य
काठमाडौंमा रहेको बाग्मती नदीको सरसफाइ अभियानले भर्खरै २००औं हप्ता पार गरेको छ । ऐतिहासिक महत्व बोकेको बाग्मती नदी सहरी सभ्यताको हिसाबले सफा हुनुपर्ने अति नै आवश्यक थियो । त्यसकारण पनि विभिन्न उच्चपदस्थ व्यक्तिहरूको सहभागितामा बाग्मती सफाइ अभियान सुरु भएको थियो । कुनै पनि सहरमा नदीको पनि आफ्नै महत्व हुन्छ । नदीको सौन्दर्यले सहरको वातावरणलाई अझ उत्साहमय बनाइदिन्छ । त्यसकारण फोहोर बाग्मतीलाई सफा गर्ने अभियान सुरु भएसँगै बाग्मतीमा पनि थुप्रै परिवर्तन देखिएको छ । अभियानका कारण बाग्मती विस्तारै सफा र प्रयोगयोग्य बन्दै गइरहेको छ ।
बाग्मती जस्तै फोहोर बनाइएको नेपालमा कुनै कुरा छ भने त्यो हो राजनीति । जसरी बाग्मती पहिले फोहोर थिएन र यसलाई फोहोर र ढलयुक्त बनाइएको थियो, त्यसरी नै राजनीति आफैमा फोहोरी खेल होइन । तर अहिले नेपालको राजनीतिलाई फोहोरी खेल बनाइएको छ । नेपालको राजनीतिमा फोहोर गर्ने श्रृंखला धेरै पहिलेदेखि नै सुरु भएको हो । नेपालमा दशकौँ अघि प्रजातन्त्र स्थापनापश्चात् नेपाली राजनीतिमा फोहोरी खेलहरू सुरु भए । नेपालको राजनीतिको केन्द्रमा रहेकाहरूको गल्तीहरूका कारण नेपाली राजनीति दूषित बन्दै गयो । प्रजातन्त्रपश्चात् पञ्चायत, बहुदलीय प्रजातन्त्र र हाल आएर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बहाली हुँदा समेत नेपालको राजनीतिमा सफाइ हुन सकेको छैन । अझ दिन प्रतिदिन यसलाई फोहोर गर्ने र दूषित पार्ने कामहरू हुँदै आएका छन् । राजनीतिलाई व्यक्तिगत स्वार्थपूर्तिको साधन ठान्ने जमातका कारण पनि नेपालको राजनीति जनताहरूले सहनै नसक्ने गरी दुर्गन्धित भएका छन् । यसै कारण अहिले नेपालका युवापुस्ता नेपालको राजनीतिबाट विरक्त भएका छन् । राजनीति फोहोरी खेल हो, यहाँ संलग्नहरूले जनताको कुनै हित गर्दैनन्, गर्छन् केवल आफ्नो स्वार्थपूर्ति भन्ने जस्ता सन्देश युवा पुस्तामा गएको छ । यसरी एउटा ठूलो शक्ति युवापुस्ता राजनीतिबाट विरक्त हुनुले देशको भविष्य झन् अन्धकारतर्फ धकेलिएको छ ।
नेपालमा हाल करिब २ सयको हाराहारीमा राजनीतिक दलहरू छन् । संसद्मा नै ३० भन्दा बढी दलहरू सहभागी छन् । राजनीतिक दलहरू वर्षाकालमा च्याउन उम्रेसरि उम्रिरहेका छन् । तर पनि नेपाली जनताको अवस्था भने ज्यूँका त्यूँ नै छ । अहिले देशमा बाह्य हस्तक्षेप बढिरहेको छ भने देश अस्तिरता र संक्रमणकालमा फसेको छ । राजनीतिक दलहरूको अक्षमताका कारण देशमा विखण्डनवादीहरू सल्बलाइरहेका छन् । दलहरूले राजनीतिलाई फोहोर पार्नाले जातीय, क्षेत्रीय, लैंगिक, भाषागत द्वन्द्व मौलाएको छ । नेपालको सहिष्णुता, राष्ट्रियता, सार्वभौमसत्ता र स्वाधीनताबाट निरन्तर प्रहार भइरहेको छ । सीमा क्षेत्रका नेपाली नागरिकले विदेशी सुरक्षाकर्मीबाट मारिँदा समेत सरकार मौन छ । वास्तविक रूपमा भन्नुपर्दा मुलुकको अवस्था इतिहासकै सबैभन्दा कमजोर देखिएको छ ।
माथि उल्लेखित अवस्थाले कुन नेपालीको मन नरोला । त्यसकारणले नेपाली राजनीतिको सफाइ गर्नुपर्ने दिन आइसकेको छ । त्यसका लागि हामी जनता नै जागरुक हुन आवश्यक छ । जसरी बाग्मती सफाइ अभियानमा सबैले हातमा हातमा मिलाएर अघि बढ्यौं, जसरी कुनै जात, वर्ण, भाषा, भेष, भूगोल र लिंग नहेरी समझदारी कायम ग¥यौं र अनि मात्र सफलता हासिल ग¥यौं । त्यस्तै समन्वय, समझदारी र सुझबुझको आवश्कता अहिले हामी नेपाली जनताले देखाउनुपर्ने अवस्था आएको छ । मुलुकको भविष्यलाई समृद्धि वा विपन्नतातर्फ, कुन मार्गमा डो¥याउने भन्ने हाम्रै काँधमा जिम्मेवारी आएको छ । हाल सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरेको छ, त्यस्तै चाँडै प्रदेश र केन्द्रको पनि चुनाव गर्ने भएको छ । लोकतान्त्रिक व्यवस्थामा चुनाव नै जनताको अभिमत व्यक्त गर्ने माध्यम हो । यही माध्यमलाई नै प्रयोग गरेर हामीले हाम्रो राजनीतिलाई फोहोरमुक्त पार्नसक्छौं । हाम्रो भविष्य कस्तो बनाउने निर्धारण गर्न सक्छौं । यो क्रममा हामीले कसैको प्रलोभनमा फस्नुहुँदैन । पटकपटक हामीले गलत व्यक्तिहरूलाई चुन्यौं र त्यसले मुलुकलाई अधोगतितर्फ धकेल्न सहयोग मिलिरह्यो । त्यसैले मुलुकप्रति बफादार र इमानदार जनप्रतिनिधि छान्न आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here