एमालेका नेताहरु वाल्मिकीमा रुपान्तरित हुन लागेकै हुन त ? !

262

–चन्द्रप्रकाश बानियाँ
फेसबुक वार्ताको सन्दर्भमा मेरा खान्दानी गुरुखलकका एकजना विद्वान, भद्र र वौद्धिक मित्र दयासागरजीले “ओलीको खोइरो खन्ने खगेन्द्र संग्रौलाबाहेक अर्को एकजना पनि छ । नाम पछि भनौला !” भनेर मतिर इशारा गर्नुभएको थियो । हो, व्यवहारमा सेतोलाई सेतै र रातोलाई रातै भन्नु गल्ती हुन्छ । किनकि त्यस्तो टिप्पणी सम्बन्धितलाई रुच्दैन । “सत्यं बु्रयात्, प्रियं ब्रुयात्, नबु्रयात सत्यंंऽप्रियम्” भनेर नीतिमा उसै भनिएको होइन । कल्साउँदो रुपरङ्गको मान्छेलाई कालेको सम्बोधन अपमानजनक लाग्छ । कुइरे भनीदियो भने आफूलाई गोरोचिट्टो ठान्ने मान्छे रिसाउँछ । हो, मेरो अनमोल पनि स्वेत सिंगमरमरबाट कुदिएको देवमूर्तिजस्तो थियो ।

स्वाभाविक हो, सबैको आँखामा राम्रो देखिने लोभ संवरण गर्न नसकिने हो भने “हजुरले भनेपछि बाङ्गो रुखलाई मैले पनि सोझै देखिदिन्छु, सरकार !” भन्ने अभ्यास गर्नुपर्छ । विवेक ढोक्नुपर्छ । आत्मसम्मान मार्नुपर्छ । प्रशंसा र प्रशस्तीमा चिल्ला गुलिया शब्दहरु खर्चन जान्नुपर्छ । होइन, विकेक ढोक्नु हुदैन भन्ने हो र तितो भए पनि यथार्थ लुकाउनु हुदैन भन्ने हो भने जतिनै विराट आकृति भए पनि त्यसलाई ऐना देखाइदिने हिम्मत गर्नुपर्छ । कालोलाई कालो र सेतोलाई सेतो भन्न हिच्किचाउनु हुदैन । स्वाभाविक हो, त्यस्तो कुरा सम्वन्धितहरु सबैलाई रुचिकर लाग्दैन ।

नेपाली समाजमा आफ्नो सशक्त उपस्थिति स्थापित गरीसकेको एउटा विशालकाय राजनीतिक दल एमालेले राष्ट्रिय राजनीतिमा जुनखालको भूमिका निर्वाह गरिरहेको छ त्यो नितान्त हानिकारक छ । मेरो एकजना सानो भतिजले मेरी दुलहीले ओढेको घुम्टो उघारेर हेरेपछि “वेहुली होला भनेको त मान्छे पो रहेछ !” भनेर दिएको बालसुलभ अभिव्यक्ति वर्तमान सन्दर्भमा उदाहरणीय हुन्छजस्तो लाग्छ ।

राष्ट्रवादको नौरङ्गी जामा पहिराइएको एमालेको अडान र मधेसानीति वास्तवमा घनघोर राष्ट्रघाती छ । एमालेको तागत पुगेछ भने त्यसबाट निम्तने परिणति किमार्थ प्रिय हुनेछैन । ढुक्क हुन सकिने कुरा के मात्रै हो भने देशको राजनैतिक मैदानमा एमाले एक्लो खेलाडी होइन । अनेक रुपरङ्गका अनेकौ दलहरु मैदानमा छन । एमालेसंगको प्रश्पिर्धामा टिक्नका लागि पनि उनीहरु फरक कित्तामा उभिने छन । अर्थात त्यसो गर्नुु उनीहरुको अस्तित्व रक्षाको लागि अनिवार्य हुनेछ । त्यसले उनीहरु स्वयमलाई घाटानाफा जे भएपनि मुलुकको राजनीतिमा नियन्त्रण र सन्तुलनको स्थिति बन्ने छ ।

“विहान घरबाट निस्केको मानिस बेलुका घर फर्कियो भने त्यसलाई हराएको मिल्दैन” भन्ने हिन्दी भाषाको एउटा लाकोक्ति व्यवहारमा प्रचलित छ । नेपालको सन्दर्भमा विपी कोइरालाको राजनीतिक उचाई सबभन्दा अग्लो मानिन्छ । उनको समकक्षमा पुग्ने अर्को नेता आजका मितिसम्म नेपालमा जन्मेको छैन भन्दा कसैले लघुताभास गर्नुपर्छजस्तो लाग्दैन तर तन्नेरी वयमा उनमा कैयौं आलोच्य गुणदोषहरु रहेका थिए । उनले कहिले “नेपालले राष्ट्रसंघको सदस्यता लिनु आवश्यक छैन” भनीदिन्थे, कहिले “नेपाल भारतभन्दा भिन्न देश होइन” भनिदिन्थे । त्यो उनको आलोकाँचो उमेरको अभिव्यक्ति थियो । देशको प्रधानमन्त्रीको कुर्चीमा आसिन हुनेबेलासम्म उनमा परिपक्वता आइसकेको थियो ।

स्वतन्त्र मुलुकको गौरवानुभूति उनलाई भैसकेको थियो । सार्वभौम मुलुकको प्रधानमन्त्री हुनुको महत्वबोध भैसकेको थियो । त्यसैले उनले भारतलाई गुरु मान्न छोडिसकेका थिए । उनमा आफू भारतका तत्कालीन प्रधानमन्त्री नेहरुको बराबर ठान्न थालेका थिए । अर्थात उनमा आउन थालेको व्यवहारिक प्रौढताले भारतीय सत्ताबाट विस्तारै विस्तारै टाढा बनाउदै लगेको थियो । वास्तमा उनको असमयमै भएको सत्याच्युतिको एउटा महत्वपूण कारण त्यो पनि थियो भन्नु बढता हुदैन ।

समयले मानिसलाई परिवर्तन गरिदिन्छ । अनुभवले मानिसको चिन्तन बदलिदिन्छ । शिक्षा र अनुभवविहीन मान्छेको तालु खुइलियो र दारी जुङघा सेताम्मे भए भन्दैमा पाको भयो भन्न मिल्दैन । त्यस्तालाई “घामले पाकेको बुढो” को रुपमा परिहासको पात्र बनाइन्छ । आजसम्ममा संसरका धेरै देशहरुबाट ज्यान साजायको परम्परा हटिसकेको छ । ज्यानको सट्टा आजीवन कारवासको सजाय दिने व्यवस्था गर्नुको कारण मान्छेलाई सुध्रने अवसर दिुनपर्छ भन्ने कोरा सैद्धान्तिक मान्यता मात्र होइन । समयले मानिसलाई परिवर्तन गरिदिन्छ भन्ने विश्वास पनि हो ।

जीवनव्यवहारमा आइलाग्ने हण्डर र ठक्करहरुले मानिसमा रहेको उदण्डता र एकोहोपनजस्ता दुर्गुणहरु समाप्त पारिदिन्छ । अर्थात समयले मानिसलाई नयाँ गोरेटा देखाउँछ । समयक्रममा मानिसले आफ्नो गल्तीको बोध गर्न थाल्दछ । आफुलाई सुधार्नुपर्ने आवश्यकताबोध गर्न थाल्छ । हाकाहाकी गल्ती स्वीकार्ने, पश्चाताप गर्ने र क्षमा याचना गरिहाल्ने हिम्मत नजुटाए पनि सुध्रने अवसरको व्यग्र प्रतीक्षा गर्न थालिसेकको हुन्छ ।

यही चैत्र १५ गते सोमबारका दिन एमालेले एउटा विद्वतभेलाको अयोजना गरेर मुलुकलाई समृद्धितिर डो¥याउने पच्चिसवर्षे कार्ययोजना निर्माणको सन्दर्भमा सुझाव संकलन गरेछ । त्यसलाई सकारात्मक चेष्टा हो भनेर मान्नै पर्छ । खासगरेर, ओली नेतृत्वको वर्तमान एमालेले त्यस खालको चेष्टा गर्नु आश्चर्यको विषय हो । तिनै ओली हुन, जसले एकवर्ष अगाडि त्यही एकेडेमी हलको रोष्टममा उभिएर राम्रो काम गर्न लागि शैक्षिक योग्यताको आवश्यकता छैन भनेर कुर्लेथे ।

संसारलाई शान्तिको मार्गमा डो¥याउने गौतम बुद्धले विश्वविद्यालयको डिग्री लिएका थिएनन भनेर आफ्नो अज्ञानता सार्वजनिक गर्न लाज मानेनथे । बुद्ध तत्काली नालन्दा विश्वविद्यालयका विशारद थिए भन्ने कुराको जानकारी नराख्नु स्वयं ओलीको अल्पज्ञान र दम्भको नाङ्गो प्रदर्शनी थियो । अध्यात्मिक चिन्तनको उचाई छोएको तत्कालीन वैदिक साहित्यको गहिरो अध्ययन र ज्ञानविना त्यसको विपक्षमा सशक्त वैज्ञानिक दर्शनको प्रणयन गर्नु कुनै अनपढ गँवारको बुताको कुरा होइन भन्ने कुरा जान्नका लागि ती दुबै विषयको गहिरो अध्ययनको आवश्यकता पर्छ भन्ने बुझाईको नितान्त अभावको परिणाम थियो ।
ज्ञान र विद्याको कुरा परै रहोस्, छैटोैं महाधिवेशनको सन्दर्भमा देशविकासको २० वर्षे कार्ययोजना पार्टीको तत्कालीक कार्यनीतिको रुपमा अघिसार्ने वामदेवप्रस्तावको विरुद्धमा अर्को प्रस्ताव तयार गर्ने उनै ओली थिए । पाचौं महाधिवेशनबाट पारित उही खिया लागिसकेको “शक्ति सञ्चय” को कार्यनीतिलाई अलिकता लिपपोत गरेर माधव नेपालबाट पाठ गराउने प्रपञ्च रच्ने उनै थिए । पछिल्लो कालखण्डमा प्रधानमन्त्रीको कुर्चीमा विराजमान भएपछि दिनको तीनपटक उपटयाङ्ग योजनाहरु तिथिमिति नै तोकेर सम्पन्न गरिसक्ने बहुलठ्ठी प्रदर्शन गर्ने पनि उनै थिए ।

हावाबाट विद्युत उत्पादन गरेर एक वर्षभित्र देश झलमल्ल गराउने देखि घरघरका चुलासम्म ग्यासपाइलाइन विछयाउने हवाई गफ चुटेथे । चुच्चे रेल देखि पानीजहाजसम्मका हवाई किस्सा सुनाएथे । हो, उनले भनेका कुराहरु गर्न नसिकने थिएनन । संसारमा अन्त कतै अभ्यासमा नभएका नयाँ नौला योजना थिएनन । तर विना योजना, विना साधनश्रोत, पुराणणका विश्वकर्माले झै कल्पनाका भरमा राताराता गगनचुम्वी भव्य महलसहितका ठूलठूला शहरहरु एकैरातमा सिर्जना गरेका कथाजस्तै रुमानी गफ गरेरै नौमहिने कार्यकाल विताएथे । सत्ताबाट गलहत्याउने हतारो प्रचण्ड र देउवाले नगरिदिएका भए आजसम्म उनको हालत शिकारु जादुगरको जस्तो हुन्थ्यो होला ।

देशको विकास जादु टुनाबाट हुने होइ । देशको समृद्धि गफ गर्ने विषय पनि होइन । अथक लगन र इमान्दार प्रयत्नबाट प्राप्त गर्न सकिने विषय हुन । दूरगामी चिन्तन, र चिन्तनलाई व्यवहारमा रुपान्तरिगर्ने दूरदृष्टिको र त्यसलाई कार्यन्वयन गर्ने दीकालीन लक्ष र तदनुरुपको कार्ययोजनाबाट गर्न सकिने विषय हो । सपनालाई व्यवहारमा उतार्न साधन, श्रोत र चाहना भएर मात्र पुग्दैन । विज्ञता चाहिन्छ । विज्ञता अध्ययन नुसान्धानबाट आर्जित हुने विषय हो । विद्वतसभाको आयोजना गरेर एमाले नेताहरुले आफूमा चेत पलाएको संकेत गरेका छन । शब्दमा नभए पनि व्यवहारबाट आफूले विगतमा गरेको गल्तीप्रति पशचातापको भाव प्रदर्शन गरेका छन । त्यस्तो चेष्टा रत्नाकर वाल्मिकीमा रुपान्तरित हुने प्रयत्न हो भने स्वागयोग्य कुरा हो भन्नै पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here