राजनीतिक इच्छाशक्ति र उज्यालो सपना

142

डा. दीपेन्द्र रोकाया
हिजोआज शहरबजारमा लोडसेडिङ मुक्त भएकोमा ऊर्जा मन्त्रालयको हाईहाई छ । यसभन्दा अघिका सरकार तथा तिनका ऊर्जामन्त्रीहरु कस्ता र कसका मतियार हुँदा रहेछन् ? अनि त्यहाँ काम गर्ने जिम्मेवार अधिकारीहरु कति गैरजिम्मेवार हुँदा रहेछन् भनी चिन्न सजिलो बनाउने कार्य यसपटक ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले गरिदिएका छन् । वास्तवमा ऊर्जामन्त्री शर्माको राजनीतिक इच्छाशक्ति र नेपाली जनताको उज्यालो सपनाले मेल खाएकैले सफलता प्राप्त गर्ने आधार मिलेको हो ।

मान्छेहरु राजनीतिक पूर्वाग्रहका आधारमा प्रचण्ड नेतृत्वको सरकार र ऊर्जामन्त्री जनार्दन शर्माको नाम उल्लेख गर्न चाहन्नन् तर उनीहरुले कुलमान घिसिङको नाम लिन बाध्य भएको पाइन्छ । यो भनेको एउटा मेसिनको नाम नलिई त्यसभित्रको एउटा पाटपूर्जाको नाम लिने कार्य हो । यसभित्रको राजनीति पनि नेपाली जनहरुले बुझ्न जरुरी छ । अब रह्यो, नेपालको पानी र जवानीलाई देशभित्रै लगानी गर्ने आधार बनाउनतिर केन्द्रित हुने कुरा ।
आजकल जता पनि चुनावी माहौल न छ, सबैले आ–आफ्नो स्तरको राजनैतिक विश्लेषण गरिरहेका हुन्छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा म सिन्धुपाल्चोकको मांखा गाउँमा पुगेको थिएँ । स्थानीय माओवादी नेता कृष्णप्रसाद चौलागाई ‘प्रकाश’ सँग खेतको छेउमा भेटभयो । भेट हुने बित्तिकै घाँसको डोको बिसाउँदै उनले भने, ‘हिजो हामीले सत्ता बाहेक भ्रम हो भन्दै जनतालाई विद्रोहमा उतारेका थियौं ।

अहिले हाम्रै पार्टीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार छ । तर जनतालाई राहत दिने कुरामा भनेजस्तो नभएको देख्दा बोल्न गाह्रो परेको छ । सरकार र सत्ताको परिभाषा जनतालाई बुझाउन सकिरहेका छैनौं ।’ यो उनको लागि मात्र समस्या होइन, देशभरका माओवादीलाई चिर्न गाह्रो परेको विषय हो । तर माओवादीको पहिलो, दोस्रो र तेस्रो तहका केही नेताहरुको नजानिँदो तरिकाले कार्यशैली बदलिँदै जानु र तलकै भए पनि केही विभिन्न तहका चिप्लाहरु ठेकेदार तथा व्यापारीजस्ता देखिनुले यो अवस्था आएको हो । तर सैद्धान्तिक रुपमा यदि माओवादीहरु प्रतिबद्ध हुने हुन् भने यस्ता झिनामसिना कुरालाई जनता आँखा चिम्लेर माफ दिने अवस्थामा पनि छन् । यसमा माओवादीले आफ्ना मूल एजेण्डा नबिर्सी आम जनताको बीचमा गए पुग्नेवाला छ ।
माओवादीले जनयुद्धको नेतृत्व गरिरहँदा उनीहरुले खान र बस्नका लागि त्यति धेरै खर्च गर्न परेको थिएन । किनकि जनता नै उनीहरुका आधार थिए । उनीहरु खान र बस्नकै लागि भए पनि कुनै पनि हैसियत नभएका जनताकहाँ पुग्दा नमस्कार टक्य्राउँथे । दुःख–सुख सोध्थे । राज्यसत्ताले गरेको अन्यायको बारेमा भन्थे । देश–विदेशका घटनाक्रम सुनाउथे । नयाँ जनसत्ताको परिकल्पना सुनाउँदै अभ्यासमा पनि लागेका थिए । आफ्ना साथीहरुको वीरताको कथा बाँड्दथे । यही नै जनतालाई निरन्तर प्रशिक्षित हुने आधार बनेको थियो ।

मानौं, उनीहरु यस युगका नारदहरु हुन्जस्तै लाग्दथ्यो । तर शान्ति प्रक्रियामा आएपछि माओवादीहरु जनताको बीचमा जान कम हुँदै गयो । यतिबेला विगतका दिनहरु यस्ता थिए भन्दा पनि कथा जस्तै लाग्ने भइसकेको छ । यसैले माओवादी केन्द्रले जनताको बीचमा जाँदा आफ्ना कमी कमजोरी स्वीकार्न तयार हुन पर्दछ । पैसा र दलालीका आधारमा टिकट दिनु हुँदैन । अब त जो जनताको असल नोकर हुन तयार हुन्छ, उसले मात्र माओवादी केन्द्रको टिकट पाउँछ भन्ने मान्यता स्थापित गर्न सकेमात्र माओवादी केन्द्रको भविष्य सुनिश्चित हुनेवाला छ ।
यति नै बेला सर्वोच्च अदालतले सत्य निरुपणको कार्यमा सघाउने भन्दा पनि बल्झाउने गरी पूर्वसांसद बालकृष्ण ढुङ्गेललाई सात दिनभित्र पक्रेर कैद गर्ने आदेश दिएको छ । यसलाई एकथरीले च्याँखे थापेजस्तो गरी मौन बसेका छन् । अर्कोथरी गम्भीर बनेको छ, तर बोलेको छैन । केही–केहीले त सर्वोच्चको आदेशलाई हावामा उडाउन थालेका छन् । प्रकारान्तरले सर्वोच्च अदालतलाई जनस्तरबाट प्रश्न उठाउने र आलोचनाको केन्द्र बन्दै जाने अवस्था निर्माण हुँदै छ । यसैगरी मैना सुनारका हत्यारा भनिएका सैनिक अधिकारीहरुलाई काभ्रे जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । यी फैसलाहरुबाट नयाँ तरंगहरु फैलिँदै छन् ।
हो, सबै आ–आफ्ना कथा भन्नमा व्यस्त छन् । बोल्नेको पिठो बिक्ने जमाना छ । मधेशका केही प्रतिनिधिले नागरिकता, भाषा, सीमा तथा निर्वाचन क्षेत्रको बारेमा उठान गरेको बहसलाई सबैले ध्यान दिने बेला आएको छ । यस समस्यालाई समस्याको रुपमा मात्र नबुझी समाधानको आधार बुझेर हेर्न सकियो भने नयाँ एकताको आधार बन्न पनि सक्तछ । यसैले सिंहदरबारको अधिकार गाउँ–गाउँमा पु¥याउन सफल माओवादी केन्द्रका नेता कार्यकर्ताले हरेस खाने अवस्था छैन । जति काँग्रेस–एमाले र राप्रपाजस्ता पार्टीले संघीयताका बारेमा आफ्ना योगदान सुनाउँछन् । किनकि जसले जुन कुराको लागि रगत बगायो, आफ्नो एकबारको जीवनलाई हत्केलामा राखी क्रान्तिमा होमियो, उसले यसको कार्यान्वयनमा जाँदा दीर्घकालीन महत्वका योगदान दिने खाका दिन सक्नु पर्दछ ।
इतिहास बदल्दै जाने कुरा हो । नेपाल विश्वकै पुरानो मुलुक हो । यसको महत्व बुझ्न नसक्नाले हामी पछि परेका छौं । यो सबै आफैले आफूलाई नचिन्दाको परिणाम हो । यही वैशाख २ गतेका दिन नेपाल आर्ट काउन्सिल बबरमहलमा नेपाल र बेलायतको दौत्य सम्बन्ध स्थापित भएको दुई सय वर्ष पुगेको अवसरमा फोटो प्रदर्शनी भएको थियो । त्यस अवसरमा नेपालका परराष्ट्रमन्त्री प्रकाशशरण महतले बेलायती राजदूतलाई ग्रेटर नेपालको नक्सा देखाउँदै बेलायतसँग सुगौली सन्धि गर्न बाध्य हुँदा नेपालको एक तिहाइ भू–भाग गुम्न पुगेको बताउँदै सेल्फी खिच्दै थिए ।

त्यसै अवसरमा संस्कृतिविद् सत्यमोहन जोशीले भने, ‘बेलायतले कहिले हाम्रो खुकुरीको र कहिले गोर्खाको बहादुरीको चर्चा गर्दै गयो, नेपालमा संरक्षित ज्ञानगुनका सामग्रीहरु लिएर गयो, त्यसको उपयोगबाट बेलायतले विश्व नियाली रह्यो, तर यो कुरा नेपालको आजको पुस्ताले समेत हेक्का राख्न सकेको छैन ।’ जोशीको गहकिलो भनाइबाट हामी बुद्ध भईकन पनि बुद्धु र बहादुर भईकन पनि भाडाको सिपाही त्यतिकै बनेको होइन भन्ने कुरा गहिरो गरी बोध भयो । यसैले इतिहासको रचना गर्ने बेला आएको छ । राजनीतिक इच्छाशक्ति भएका र उज्यालो सपना देख्ने योद्धाहरुको छनोटमा लाग्यौं भने नयाँ वर्ष हाम्रो लागि बहार बनेर आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here