जनधारणा साप्ताहिक यो अंकदेखि २६ वर्षमा प्रवेश गरेको छ । विभिन्न उतारचढाव र समस्याहरुसँग लड्दै पत्रकारितालाई जीवन्त राख्न सक्नु नै ठूलो विजय हो जस्तो हामीलाई अनुभूति भएको छ । २६ वर्ष प्रवेशलाई परिपक्वताको रूपमा पनि लिइन्छ । पत्रकारितामा २६ वर्षसम्म निरन्तरता दिनु भनेको सामान्य कुरा होइन भन्ने यो पेशामा लाग्नेहरुलाई बढी जानकारी हुन सक्दछ ।
पत्रकारिताको माध्यमबाट विश्वसनीय सूचना प्रदान गर्नु निकै कठिन कार्य हो । यस कार्यलाई जनधारणाले विगत २५ वर्षसम्म निकै कठिन संघर्षका साथ सम्पन्न गर्दै आएको छ । आदरणीय पाठक तथा विज्ञापनदाताहरूको सहयोग र सद्भाव नभइदिएको भए यसको निरन्तरता सम्भावना पनि थिएन । जनधारणाले आफ्ना सुरुवातका दिनहरूदेखि नै राष्ट्रिय स्वाधीनता र राष्ट्रिय स्वाभिमानको सवालमा सशक्त कलम चलाउँदै आएको छ ।
राष्ट्रघातीहरुलाई निर्ममताका साथ प्रहार गर्ने अभियानलाई जनधारणाले आफ्नो मिसन नै बनाएको छ । यस अभियानमा लाग्दा भोग्नुपर्ने असहजताहरुलाई हामीले सामान्य रुपमा लिने अभ्यास गरिसकेका छौं । जनधारणाले अर्काे एउटा मासिक प्रकाशन पनि प्रारम्भ गरेको दुई वर्ष पुग्नै लागेको छ । जस्तो नाम त्यस्तै काम भनेझैं देशको स्वाभिमानका निम्ति जनतालाई जागरुक गराउन ‘स्वाभिमान नेपाल’ नाम गरेको मासिक प्रकाशन गरिरहेको छौं । विश्वास आदरणीय पाठकहरुबाट सदाझैं सहयोग र सद्भावले निरन्तरता पाइरहने छ ।
देशले नयाँ संविधान पाएर पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । संविधान निर्माणसँगै देशमा राष्ट्रिय स्वाधीनताविरोधी आवाजहरू मुखरित भएका छन् । यस्तो अवस्थामा पनि जनधारणाले आफ्नो अभियानलाई निरन्तरता दिएको छ । राष्ट्रिय स्वाधीनतामा देखिएको संकटसँगै देशमा भ्रष्टाचार पनि अत्यन्त अनियन्त्रित बन्न पुगेको छ । सरकारमा रहेका राजनीतिक दलका नेताहरु देश र जनताको लागि भन्दा आफ्नो नाता कुटुम्बहरुका लागि राज्यको ढुकुटीको दुरुपयोग गरिरहका छन् । उनीहरुलाई लगाम कस्ने कुनै भरपर्दाे निकाय देशमा विद्यमान छैन ।
वित्तीय संस्थाहरु सूदखोरीको हैसियतमा प्रस्तुत भइरहेका छन् । जनताका छोराछोरीहरुलाई पठनपाठनमा समेत ज्यादै ठूलो आर्थिक भार थोपरिएको छ । उपचारका लागि साधारण जनताले पहुँच पाउने अवस्था छैन । सरकारमा बस्ने राजनीति नेताहरुले यो अवथालाई सुधार गर्नेतर्पm सोचाइ बनाएको पाइँदैन । यसले गर्दा देशको अर्थतन्त्र पनि नाजुक बन्दै गएको छ भने युवा जनशक्ति विदेशतिर पलायन भइरहेका छन् ।
नेपालको आर्थिक समुन्नतिका निम्ति सहयोगी बन्नसक्ने छिमेकी देशहरु आ–आफ्ना स्वार्थ नेपालबाट कसरी हासिल गर्ने भन्ने संकुचित सोचाइमा लाग्न थालेपछि नेपाली जनता मर्माहत हुनुपरेको छ । नेपाल आफ्नाविरुद्ध प्रयोग हुन्छ कि भन्ने त्रासपूर्ण मानसिकता छिमेकीहरूले बनाइरहेका छन् । यो अवस्था आउनमा नेपालका राजनीतिक दलका नेताहरुको कमजोरी नै जिम्मेवार देखिन्छ ।
यथार्थमा देशले अग्रगमनको परिवर्तन खोजेको छ । तर हामी पश्चगमनको परिवर्तन भोग्न बाध्य भइरहेका छौं । राजनीतिक दलका नेताहरुले यो अवस्थालाई बुझ्न सकेनन् र जनचाहना अनुकूलका परिवर्तनतर्पm देशलाई रुपान्तरित गर्न सकेनन् भने कुनै पनि किसिमको विकल्पमा लाग्न जनता बाध्य हुनेछन् भन्ने बुझ्नु जरुरी छ भन्ने हामीलाई लाग्दछ ।
यसैबीच हामीसमक्ष २०७४ सालले प्रवेश गरेको छ । यो वर्षभित्र तीनवटा निर्वाचन सम्पन्न गरी परिवर्तित राजनीतिलाई संस्थागत गर्नुपर्न कार्यभार नेपाली जनताको काँधमा थपिएको छ । यो हामका लागि जनतालाई जनतालाई सफलता मिलोस्, राम्रा उम्मेदवार चयन गरेर देशको विकासमा लाग्न नयाँ वर्षले सबैलाई प्रेरणा प्रदान गरोस् हाम्रो शुभकामना छ ।

















