केपी ओली नेतृत्वको सरकारलाई हटाएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन भएपछि प्रचण्ड नेपालको ३९औं प्रधानमन्त्री बन्नुभएको छ । यसपटक प्रधानमन्त्री बन्ने क्रममा उहाँसग कसैले प्रतिस्पर्धा गरेनन् । प्रचण्डले प्रधानमन्त्रीमा निर्वाचित हुनका लागि रामचन्द्र पौडेलले जस्तै १७औं पटक पराजित भइरहनु पर्ने अवस्था रहेन । सरकार बन्नु र ढल्नु स्वाभाविक प्रक्रिया भए पनि प्रचण्डको दोस्रोपटकको आगमनलाई सबै क्षेत्रबाट आशंकाका साथ हेरिएको थियो । व्यवस्थापिका संसदमा आफ्नो पूर्ण बहुमत नभएको अवस्थामा अरुसँग सहकार्य गरेर सबैभन्दा ठुलो पार्टीले सरकार बनाउने परम्परा हुँदाहुँदै तेस्रो राजनीतिक दल भएर पनि प्रचण्डले प्रधानमन्त्री बन्न पाउनुमा प्रचण्डको राजनीतिक चतुरताले पनि काम गरेको मान्नु पर्दछ भन्ने यो पंक्तिकारलाई लाग्दछ ।
प्रचण्डको नेतृत्वमा सरकार बनाउन जति सजिलो भएको थियो, यो सरकारलाई टिकाउन भने त्यत्ति सजिलो भएको देखिंदैन । सत्ता साझेदार दल नेपाली कांग्रेसलाई विश्वासमा लिएर हिँड्नु भनेको ठूलो चुनौती नै हो । प्रचण्डले नेपाली कांग्रेसजस्तो राजनीतिक दलसँग सहकार्य गरेर सत्ता सञ्चालन गर्नु त्यति सहज होइन, तर पनि प्रचण्डको सफलता देखिएको छ । नेपाली कांग्रेसले सम्हालेका मन्त्रालयहरूमा समेत भ्रष्टाचारको दुर्गन्ध नदेखिनु यसैको उदाहरण हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव पेश गर्दा नै प्रचण्डले आफ्ना योजनाहरू सार्वजनिक गर्नुभएको थियो । त्यो बेला सार्वजनिक नगरिएका कतिपय विषयहरू प्रचण्डका सफलताका रूपमा देखिएका छन् । सबैभन्दा महत्वपूर्ण सफलता भनेको लोडसेडिङमुक्त नेपाल बनाउनु नै रहेको छ । यस कार्यमा प्रचण्ड नेतृत्वको सरकारले प्राप्त गरेको सफलताका कारण भन्ने हो भने यो सरकारले निरन्तरता पाए हुन्थ्यो भन्ने आम जनसाधारणमा हुनुु स्वाभाविक हो । ओलीसँगको गठबन्धनप्रति असन्तुष्टि जनाउँदै आउनुभएका प्रचण्डले ओलीबाट केही विकल्प नआएपछि नचाहँदा–नचाहँदै पनि सरकारबाट बाहिरिनुपरेको प्रष्ट पार्नुभएको थियो । एमाले सरकारले मीठा कुरा ग¥यो, तर काम राम्रो गर्न सकेन भन्ने प्रचण्डको निष्कर्ष थियो ।
प्रचण्ड नेतृत्वको सरकार बन्नेबित्तिकै फास्टट्र्याक निर्माणबारे केपी ओलीले प्रश्न उठाएका थिए, त्यसको जवाफ प्रधानमन्त्री प्रचण्डले व्यवहारबाटै दिन सफल भएका छन् । व्यापक चर्चाका बीच भारतले निर्माण गर्ने दावी गरिरहेको र सत्तासाझेदारी दलसमेत भारतलाई नै निर्माणको जिम्मा दिने भनिरहेको सो सडकको निर्माणको जिम्ममा नेपाली सेनालाई लगाइएपछि प्रचण्डमाथि यो विषयको आशंका समाप्त भएको छ । यसरी प्रचण्डले एकपछि अर्काे गर्दै चर्काे हल्ला नगरेर कामबाटै लोकप्रियता हासिल गर्ने काममा सफलता प्राप्त गरेका छन् । तथापि यात्रा त्यति सहज देखिएको छैन । छिमेकी देश प्रचण्डलाई असफल गराउन वा बद्नाम गराउन कुन कसर बाँकी नरहने गरी लागिरहेको देखिन्छ ।

















