उम्मेदवारका कान काटिने ३० गते नेपाल बन्दको घोषणा

171

काठमाडौं / दशवर्षे सशस्त्र युद्धको क्रमभंग गर्दै शान्तिप्रक्रियामा फड्को मारेको नेकपा (माओवादी)को एउटा हिस्सा फेरि हिंसात्मक विद्रोहमा उत्रिने संकेत भएको छ । माओवादीबाटै विभाजित भएर आफ्नो छुट्टै अस्तित्व बनाएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तहको चुनाव बिथोल्न विभिन्न हत्कण्डा अपनाएको सार्वजनिक भएको छ । चुनावका नाममा जनता भ्रमित गर्ने र देश लुट्ने काम भइरहेको भन्दै राष्ट्रघातलाई वैधानिकता दिनका लागि गरिन लागेको चुनाव कुनै हालतमा हुन नदिने चेतावनी सो पार्टीले दिएको छ । पार्टीले चुनाव बिथोल्नका लागि चुनावका नाममा मत माग्न गाउँमा पुग्ने उम्मेदवारहरूलाई समातेर उनीहरूका कान काटिदिनेसम्मका गोप्य योजनाहरू तयार गरेको बुझिएको छ ।
नेकपाका महासचिव विप्लवले ‘प्रचण्डदेखि किरणसम्मको विद्रोहको औचित्य संसदीय चुनावका विरुद्ध चुनाव खारेज अभियानमा व्यक्त भएको छ । यसलाई क्रान्तिसँग जोड्नुपर्दछ’ भन्दै विज्ञप्ति जारी गरेका छन् । नेकपाले स्थानीय तहको चुनावलाई प्रभावित तुल्याउन वैशाख २९ गते देशव्यापी मशाल जुलुसको आयोजना गर्दैछ भने वैशाख ३० गते नेपाल बन्दको घोषणा गरेको छ ।
यसैबीच नेपाल प्रहरीले चुनावी सुरक्षाको सूक्ष्म निगरानी थाल्ने क्रममा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरू चुनाव असफल तुल्याउन सक्रियतापूर्वक लागेको जानकारी प्राप्त गरेको जनाएको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आउँदो स्थानीय चुनावका लागि सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न आदेश दिएसँगै प्रहरीले सूक्ष्म निगरानी बढाएको जनाइएको छ । निगरानी गर्ने क्रममा ललितपुर प्रहरीले ललितपुरका विभिन्न दक्षिणी भेगका विकट गाउँहरूमा पुगेर सुरक्षा अवस्थाका बारेमा जानकारी लिने क्रममा विप्लव नेतृत्वको पार्टी गतिविधि आक्रामक पाइएको समाचार प्राप्त भएको छ ।
प्रहरीले विप्लव नेतृत्वको नेकपाबाट प्रहरी चौकीमाथिसमेत कारबाही गर्ने तयारी भएको जानकारी प्राप्त गरेको छ । जीर्ण अवस्थामा रहेका प्रहरी चौकीमा थोरै संख्यामा प्रहरी खटिएका र थोरै हतियारसमेत भएकाले त्यस्ता प्रहरी चौकीहरू नेकपाको निशानामा रहेको प्रहरी टोली अनुसन्धानका क्रममा जानकारी प्राप्त गरेको छ ।
प्रहरी चौकीका प्रमुखले केही दिनयता नेकपाको चुनावविरोधी गतिविधि बढेको जनाएका छन् । विप्लव नेतृत्वका ललितपुर कार्यकर्ता चुनाव असफल तुल्याउन दाङ खटिएको र दाङका कार्यकर्ता ललितपुर आइपुगेको खबरसमेत ललितपुर प्रहरीले पाएको जनाएको छ ।
यसैबीच नेकपा (माओवादी केन्द्र) र नेकपा (क्रान्तिकारी माओवादी)को नेतृत्वपंक्तिमा रहेका केही व्यक्तिहरूले आ–आफ्नो पार्टी परित्याग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको घोषणा गरेका छन् । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य श्यामबहादुर बोहरा ‘अटल’ले आपूmले माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका छन् । अटलले माओवादी केन्द्रलाई पुरानो संसदीय व्यवस्थालाई सुदृढ गर्ने दिशामा अगाडि बढेको, इमान्दार नेता–कार्यकर्ताभन्दा ठेकेदारहरूको हालिमुहाली बढाएको आरोप लगाउँदै माओवादी केन्द्र परित्याग गरेको जनाएका छन् । गत मंगलबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोलिट्ब्युरो सदस्य अटलले माओवादी केन्द्रका नेताहरूमाथि गम्भीर आरोप लगाए ।
माओवादी केन्द्रको आन्तरिक जीवनलाई हेर्दा कम्युनिष्ट पार्टी नरहेको भन्दै ‘आफूजस्ता इमान्दार नेता–कार्यकर्ताको माओवादी केन्द्रमा भविष्य नभएका कारण पार्टीबाट विद्रोह गर्न बाध्य भएँ,’ अटलले भनेका छन् ।
त्यसैगरी नेकपा (क्रान्तिकारी माओवादी) दाङका सहसेक्रेटरी खम्बु चन्द ‘समीर यात्री’को नेतृत्वमा आधा दर्जन नेता–कार्यकर्ताले पनि विद्रोह गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टी नेतृत्व विचारको संरक्षण गर्ने नाममा मोहनविक्रमको बाटोमा लागेको उनीहरूको आरोप छ ।
क्रान्तिकारी माओवादीको नेतृत्वमा अब कुनै पनि क्रान्ति नहुने भन्दै त्यहाँ बसिरहनु समय बर्बाद गर्नु मात्र भएको निष्कर्ष समिरको छ । समिरले क्रान्तिकारी माओवादीले चुनाव उपयोग गर्ने नीति अकर्मण्यताको उपज भएको जनाएका छन् । विद्रोह गर्ने नेताहरूले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशाले मात्र अबको क्रान्ति पूरा गर्ने विश्वास पत्रकार सम्मेलनमा व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here