काठमाडौं ÷ मदन भण्डारीको हत्या भएको दिन हिजो बल्खुस्थित पार्टी कार्यालय भत्किएको प्राङ्गणमा नेकपा एमालेले मदन भण्डारीलाई सम्झना ग¥यो । सो अवसरमा अध्यक्ष केपी शर्मा ओलीले एमालेका विरुद्धमा भ्रम फिजाइएको बारे चर्चा गर्नुभयो । मदन भण्डारीको हत्या भएको २४ वर्ष बितिसकेको छ । २४ वर्ष बितिसक्दा पनि मदनको हत्या कसरी र कसले ग¥यो भन्ने बारे स्पष्ट जानकारी हुन सकेको छैन । मदन पत्नी विद्यादेवी भण्डारी देशको राष्ट्रपति पदमा आसिन छिन् भने भण्डारीका अत्यन्त निकट रहेर काम गरेका सहयात्री केपी शर्मा ओली एमाले पार्टीको अध्यक्ष पदमा आसिन मात्र नभई प्रधानमन्त्रीको रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन् । तैपनि मदन भण्डारीको हत्या रहस्यको गर्भमै छ ।
मदन–आश्रित स्मृति दिवसमा एमालेले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेका विरुद्ध षड्यन्त्र भए पनि दोस्रो चरणको निर्वाचनमा अझ राम्रो परिणाम आउने दावी गर्नुभयो । उहाँले मदनको हत्याबारे कुनै चर्चा गर्न आवश्यक ठान्नु भएन । केवल निर्वाचनमा केन्द्रित भएर उहाँले मदन–जीवराजप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
ओलीले सम्बोधनका क्रममा दोस्रो चरणको निर्वाचनसँग कोही डराए पनि निर्वाचन रोकिने छैन भन्दै दोस्रो निर्वाचनमा अहिलेको भन्दा राम्रो परिणामसहित अघि बढ्ने ठोकुवा गर्नुभयो । ओलीले त्यसपछि हुने प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमालेले स्पष्ट बहुमत ल्याउने दावी पनि गर्नुभयो । प्रतिनिधिसभाको चुनावमा बहुमत प्राप्त गर्ने हैसियत एमालेले प्राप्त गर्छ । अहिले पनि यस्तो कांग्रेस र यति तल झरेको कांग्रेससँग पनि जनता अलमलिएकाले परिणाम अपेक्षित नआएको पनि उहाँले जनाउनुभयो ।
आफूहरूका एजेण्डा जनतालाई बुझाउन नसक्दा पनि केही समस्या भएको भन्दै ओलीले अहिले पनि एमालेलाई भोट दिनुनपर्ने कारण के ?, एमालेबाहेकलाई अहिले भोट दिनुपर्ने कारण के ? भनेर हामी टिभीमा बहस गर्न तयार रहेको स्पष्ट पार्नुभयो । एमालेका विरुद्धमा जनतामा भ्रम फिँजाइएको र राष्ट्रियताका सवालमा एमालेले लिएको नीति अझै पूर्ण हुन नसकेको विचार व्यक्त गर्दै ओलीले भन्नुभयो– ‘देशभक्तिको सवालमा एमालेको भूमिका अझै पुगेको छैन भन्ने स्पष्ट भएको छ ।’
‘हामी केही ठाउँमा हारेका हौंला तर हामी विपक्षमा रहेर पनि शान्ति कायम हुनुपर्छ भन्यौं । सत्तापक्षले धाँधली गर्दा पनि हामी शान्तिपूर्ण हुनुपर्छ भन्नेमा रह्यौं । सरकारले नै आतंक सिर्जना गर्दा पनि हामी धैर्य भएर बस्यौ । २८१ स्थानीय तहमध्ये कहीं पनि नेकपा एमालेले आक्रमण गरेन, कहीं पनि हिंसात्मक क्रियाकलाप एमालेले गरेन’ भन्दै ओलीले हामीले चाहेको लोकतान्त्रिक विधि र विचार भएकाले यो संयमता अपनाइएको पनि स्पष्ट पार्नुभयो ।


















