मदन भण्डारीको बहुदलीय जनवादले नै एमालेलाई पतन गरायो सीपी मैनाली, महासचिव नेकपा माले

318

आजको दिन मदन भण्डारी र जीवराज आश्रितलाई कसरी सम्झिनहुन्छ ?

जननेता मदन भण्डारीको जिप दुर्घटना भएको ठीक २४ वर्ष भयो । उहाँलाई वामपन्थी नेताको रूपमा सम्झिनु पर्छ । उहाँसँगै देहावसान हुनुभएका जीवराज आश्रितलाई पनि भुलेको छैन ।

तपाईं र नेता भण्डारीबीच विचारको लडाइँ थियो नि हैन ?

पक्कै पनि । भण्डारीको विचार पछ्याउनेहरूसँग अझै पनि लडाइँ जारी नै छ । भण्डारीले जीवनको आखिर बेलामा राष्ट्रियताको लागि जुन अडान लिनुभयो त्यो सराहनीय हो । अहिले पनि उहाँको त्यो अडान स्मरण गरिन्छ । उहाँले जनतामा जुन छाप छोडेर जानुभयो, त्यो मूल्याङ्कनयोग्य छ ।

मदन भण्डारी र पुष्पलालाई कसरी तुलना गर्नुहुन्छ ?

पुष्पलालले २००६ सालदेखि संगठित रूपमा आन्दोलन चलाउनुभएको थियो । जुन श्रमजीवी वर्गको जीवनमा आधारित थियो । त्यो आन्दोलनलाई भण्डारीले डाइभर्सन गर्नुभयो । र पुँजीवादतिर डोराउन सफल हुनुभयो ।

संसदीय व्यवस्था त उहाँको योगदानले आएको सत्य हो नि ?

स्वाभाविक छ । धेरै राजनीतिक परिवर्तनपछिको कुरालाई सम्झिने हो भने नीति बनाएर काम गर्नुपर्ने बाध्यात्मक स्थिति सिर्जना भएको पनि सत्य हो ।

वैचारिक बहसमा उहाँको योगदान उच्च छ र उहाँले नै नेपालको कम्युनिष्ट आन्दोलनलाई सुधार्नु भएको तपार्इं स्वीकार गर्नुहुन्छ ?

यो वाहियात हो । मदन भण्डारीको विचारले नेपालको कम्युनिष्ट आन्दोलनलाई सुधारेको होइन बरु विकृत तुल्याएको छ । माक्र्सवादी चिन्तनमा बहुदलीय व्यवस्था पुँजीवादको एउटा रूप हो । मैले पहिलेदेखि नै भन्दै आएको हो । आज नेकपा एमाले जुन वैचारिक स्खलनबाट गुज्रिरहेको छ । यसैबाट पनि हामीले मदन भण्डारीको बहुदलीय जनवादको चिन्तन गलत भएको निष्कर्ष निकाल्न सक्दछौं । बहुदलीय जनवादलाई त कांग्रेसले पनि आफ्नो विचार बनाएको छ ।

बहुदलीय जनवादकै नाराले नेकपा एमाले आज जनताको बीचमा लोकप्रिय बनेको छ नि ?

लोकप्रिय त कांगे्रस पनि जनताको बीचमा छ नि ! कांग्रेस नेकपा एमालेभन्दा ठूलो राजनीतिक शक्तिको रूपमा संसदमा रहेको अवस्थाले एमालेभन्दा कांग्रेस नै लोकप्रिय भएको मान्नुपर्ने अवस्था छ । त्यसैले एमालेभन्दा कांग्रेस बहुदलीय जनवादी हो भन्ने पुष्टि हुन्छ । बहुदलीय जनवादी व्यवस्थाकै आधारमा एमाले लोकप्रिय भएको ठान्ने हो भने एमालेले राप्रपासँग चुनावी गठबन्धन गर्नुपर्ने अवस्था किन आउँथ्यो र ! यो अवस्था आउनुमा बहुदलीय जनवादले एमाले पार्टीमा विकास गरेको वैचारिक स्खलन नै प्रमुख कारण हो । फेरि बहुदलीय जनवादी व्यवस्थामा पनि त भिन्नता छ ।

मदनले बहुदलीय जनवादलाई अँगाल्नुभयो । मैलै नौलो जनवाद भनेँ । आज पनि उहाँले देखाएको बाटोमा हिंडिरहेको नेपाली कम्युनिष्टले बाह्य हस्तक्षेप खेपिरहेकै छ । हो, हाम्रोबीचमा भएको अन्तरद्वन्द्व भनेकै यही थियो । हामीले कसैको थिचोमिचो र हस्तक्षेप नभएको नौलो जनवाद खोजेका हौं । तर एमाले पार्टीलाई त्यो ग्राह्य भएन । एमाले पार्टीले राष्ट्रिय स्वाधीनताको सवालमा धेरैपटक गल्ती गरेको छ, ती गल्ती हुनुका पछाडि जनताको बहुदलीय जनवाद भनिएको चिन्तन नै जिम्मेवार हो ।

तपाई वर्तमान राजनीतिक परिवर्तनलाई कुन रूपमा हेर्नुहुन्छ ?

वर्तमान राजनीतिक परिवर्तनलाई अग्रगामी परिवर्तन नै भन्नु पर्दछ । तर यसले पुँजीवादी समावादी लक्ष्यमा समाजलाई धकेल्छ । यो नै परिवर्तनको विचलन हो । आज हामीले देख्न सक्छौँ, नेपालमा मैले भनेको जस्तै अभ्यास भइरहेको छ । यसैलाई नै रणनीति बनाउनु गल्ती हो । मैले नौलो जनवादको वकालत यसै कारणबाट गरेको हो ।

त्यसो भए एमालेको रणनीतिक विचलन हो त ?

कार्यनीतितर्फ गएर हेर्ने हो भने ठीक होला तर यस सिद्धान्तलाई माक्र्सवादी सिद्धान्तले त एमालेले भनेजस्तै त भन्दैन । माक्र्सवादीले श्रमजीवी जनता र उत्पीडित जनताको पक्षको वकालत गर्छ । हाम्रो नेपालमा धेरै अभ्यास हुन बाँकी छ ।

एमालेले आपूmलाई माक्र्सवादी भनेर दावी गर्ने हो भने श्रमजीवी जनता र उत्पीडित जनताको पक्षमा वकालत गर्न सक्नुप¥यो । होइन भने माक्र्सवादी राजनीति गरेको ठहर्दैन । माक्र्सवादी राजनीतिको आवरणमा जनतालाई केही समय ठग्न सकिएला, झुक्याउन सकिएला तर सधैंभरि यस्तो ठगी कार्य टिक्दैन । एक दिन उदाङ्गो हुनैपर्छ ।

आज भण्डारीको निधन भएको २४ वर्ष भयो, उहाँकी धर्मपत्नी विद्यादेवी भण्डारी राष्ट्रपति हुनुहुन्छ तर अहिलेसम्म उहाँको हत्याको रहस्य पत्ता लागेन नि ?

हत्याको रहस्य पत्ता लगाउने प्रयास भएन र नै रहस्य पनि पत्ता लागेन । प्रयास त कुरै छोडौं सामान्य प्रयत्न पनि भएन । पछिल्लो समयमा एमाले सरकारमा भएको बेला चाहेको भए म त हत्या नै भन्छु त्यसको नालिबेली बाहिर आएको हुने थियो । षड्यन्त्रपूर्वक रूपमा हत्या भएको थियो । उहाँको जीवनमाथि गरिएको षड्यन्त्र रहस्यकै पर्दाभित्र रह्यो । चाहेको खण्डमा पत्ता लाग्छ होला । सत्ताले चाहने हो भने त्यो घटना अवश्य पनि पर्दाफास हुन सक्छ भन्ने मलाई विश्वास छ ।

–प्रस्तुति ऋषि धमला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here