-डा. दीपेन्द्र रोकाया
नेकपा (माओवादी केन्द्र) का अध्यक्षले केही दिनअघि दुई छुट्टाछुट्टै कार्यक्रमबाट महत्वपूर्ण सन्देश दिन खोजेको पाइन्छ । एक, हाम्रा एजेण्डा चामल भए पनि विक्री गर्न सकेनौं । दुई, नेपालका कम्युनिष्टहरुलाई गोलबन्द गर्न कम्युनिष्ट केन्द्र निर्माण गर्नतिर लाग्नै पर्दछ । प्रायःले यतिबेला प्रचण्डले यसो गरे र उसो गरेको चर्चा गर्दछन्, तर उनले पार्टी निर्माणका लागि दिइरहेका सन्देशहरुले भारी अर्थ बोकेको छ भन्ने लाग्दछ । यद्यपि अहिले एकताको नाममा ठूलो पार्टी संरचना निर्माण भएको छ । यसले गर्दा तलबाट रिपोर्टिङ हुने ठाउँमा नेतृत्वको रिपोर्टिङ सुनेर बैठकमा आफ्नै बुझाइले संश्लेषण गर्नुपर्ने अवस्था आएको छ । मानौं, क्याडर वेशबाट मास वेश पार्टी निर्माण हुँदै छ ।
आखिर यसो किन भइरहेको छ ? कि नयाँ बनाउँदा यस्तो हुन्छ, कि विघटनमा पुगेका बखत यस्तो हुने गर्दछ । इतिहासका तथ्यहरुले यही बोध गराउँदछ । यहाँ चर्चा प्रचण्डले पहिलो चरणको स्थानीय तहको निर्वाचनको परिणामलाई लिएर आफ्नै दलको कार्यालयमा आफ्ना सांसदहरुलाई हाम्रा एजेण्डा चामल भए पनि विक्री गर्न सकेनौं, तर अरुले पिठो लिएर चामलको भाउमा विक्री गर्न भ्याए भनी पीडा ओकलेको सुनियो । हो, माओवादीकै कारण कहिल्यै यसरी हटाउन सकिएला भनी नसोचिएको राजतन्त्र हट्यो । सिंहदरबारको अधिकार पहिलोपटक गाउँगाउँमा पुग्यो । यसको व्यावहारिक अभ्यास गर्ने विन्दुमा पुग्दा एकातिर पार्टीका केही नेता कार्यकर्ता स्वार्थी भइदिँदा भनेजस्तो परिणाम आउन सकेन । अर्कोतिर पार्टी केन्द्रले स्थानीय नेता कार्यकर्ताको मर्मस्पर्शी मागलाई सम्बोधन समेत गर्न सकेन । हेर्दा आफ्नै पार्टी नेतृत्व सरकारमा थियो । यसैको परिणाम करिब ५२ स्थानमा माओवादी केन्द्र दोस्रो स्थानमा आएको देखियो । यस जनमतलाई माओवादीका केही टाठाबाठा नेताहरु सिद्धान्तविहीनजस्ता देखिए पनि जनताले क्रान्तिकारी स्प्रीड भुलेको देखिएन ।
एकछिन स्मरण गर्दा पनि हुन्छ कि केन्द्रमा बहुमत हुनेले सरकार चलाउँछ, नहुनेले प्रमुख प्रतिपक्षी भएर हरेक कुरामा वाच गर्दछ । तर, स्थानीय तहमा काम गर्दा सबै दलको समन्वय त होला, तर प्रतिपक्षको स्थान छैन । यहाँ इच्छाशक्ति भएका मान्छेले जितेको खण्डमा आफ्नो नगरपालिका वा गाउँपालिकालाई नमुना कम्युन बनाएर देखाउन सक्ने वातावरण निर्माण भएको छ । कैयौं नेता कार्यकर्ताले आफ्नो सपनालाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न सक्ने ठाउँमा पुगेका छन् वा पुग्दै छन् । अहिले सिंहदरबारमा बाँडफाँट हुने जम्मै योजनाहरु गाउँमा पुगेको छ । यसको व्यावहारिक प्रयोग यसै आ.व.बाट हुने गरी बजेट विनियोजन पनि भइसकेको छ । यसबाट गाउँका मान्छेहरुमा नयाँ खालको जागरण आउनेवाला छ । यसपछि राम्रो गर्नेले क्रान्ति गरेर देखाउनेछन्, नराम्रो गर्नेले प्रतिक्रान्ति निम्त्याउनेछन् । यहीँनेर ‘हामी’ र ‘म’ को फरक छुट्टिनेछ ।
अझै पनि केही बिग्रेको छैन । देशको करिब ६० प्रतिशत जनमत परीक्षण गर्न बाँकी नै छ । जनताको बीचमा माओवादी केन्द्रले आफ्ना चामलजस्तो एजेण्डा लिई हिमाल, पहाड र तराईलाई एकताको सूत्रमा बाँध्न सक्ने इच्छाशक्ति देखाउन सकेमा क्रान्तिकारीहरुको पहलकदमी बढ्न सक्छ । मान्छेहरु निर्वाचन भनेको पैसाको आधारमा मात्र जितिन्छ भन्ने भ्रममा छन् । हुन सक्छ, विकृति आएको छ । तर यस पंक्तिकारले भोट हालेको निर्वाचन क्षेत्रमा माओवादी केन्द्रबाहेक अरु दलहरुले प्रतिभोट एक हजारको नोट बाँडेका थिए । तर उनीहरुका बीचमा माओवादी केन्द्रले इज्जतका साथ आफ्नो प्यानललाई एक पैसो खर्च नगरी जिताएको थियो । बरु जितेपछि उम्मेदार आफै खुशी भई भोज खुवाउने तथा जनताको सल्लाह लिएर मात्र काम गर्ने थप प्रतिबद्धताहरु सार्वजनिक भएका थिए । जनता एक छाक पनि नपुग्ने पैसामा बिक्नेछन् कि एक युग फेर्ने कुरामा विचार गर्ने खालका छन् भन्ने कुराले पनि परिस्थितिको निर्धारण हुने हुन्छ । यसैले जनताले अवसरवादीहरुको कित्ताबाट होइन, क्रान्तिकारी कित्ताबाट विजयी हुने आधार निर्माण गर्न माओवादी केन्द्रले मसक्कै लाग्न जरुरी छ ।
यस्तै अर्को प्रसंग छ, अब माओवादी केन्द्र मात्र होइन, कम्युनिष्ट केन्द्र निर्माणतर्फ लाग्ने कुरा । केही साथीहरुले यही सुइँको पाएर पार्टीको नामसमेत कम्युनिष्ट केन्द्र राखी घोषणासमेत गरी सकेका छन् । नेपाली जनमत कम्युनिष्ट पार्टीप्रति आस्था र विश्वास बढेको तर कम्युनिष्ट पार्टीका केही नेता तथा कार्यकर्ता बिग्रिँदा कुहिएको अण्डाजस्तै गन्हाउने गरी समाजमा देखिएकाले दर्जनौं झुण्डमा देखिएका छन् । यी झुण्डहरु एक्लैले न क्रान्ति गर्न सक्छन्, न कुनै निकास निकाल्न सक्तछन् । यही भएर एमालेलाई अधिकांशले संशोधनवादी पार्टी भन्दछन्, तर भोट हाल्दा जित्ने पार्टी यही हो भनेर आफ्नो भोट खेर नफाली जिताउने गरेको दृष्टान्त पनि छ । जे होस् मान्छेले सकभर आफ्नो प्रतिनिधित्व भएको देख्न चाहन्छ, त्यही भएन भने पनि कभरमा भए पनि सुरक्षित रहन चाहँदो रहेछ ।
यही पृष्ठभूमिमा सचेत नागरिकहरुको तर्फबाट माओवादी एकता अभियान चलाउँदा सबै शीर्ष नेताहरुलाई अब पार्टीको नाम नेकपा (माओवादी केन्द्र) बनाउन आग्रह गरेझैं अबको दिशा नेपाल कम्युनिष्ट केन्द्र बनाउनेतिर केन्द्रित हुनुपर्ने देखिएको छ । जनमत तथा विभिन्न वाम अभ्यासले यही बोध गराए पनि केही नेताहरुमा देखिएको बालहठका कारण वामपन्थी एकतामा भाँजो हाल्ने काम भइरहेका थिए र छन् । हुन त निर्वाचनका बेला सहकार्य जोसँग गरेर फाइदा हुन्छ, त्यसै गर्ने नीति अख्तियार हुने गर्दछ । यो स्थानीय परिवेशले निर्धारण गर्ने कुरा हो । जनमतको कदर गर्ने कुरा प्रधान बन्न जान्छ ।
यतिबेला नेकपा (माओवादी केन्द्र) का सामु स्थानीय तहको निर्वाचनको परिणामले राम्रो र नराम्रो दुवै सम्भावना देखिएका छन् । राम्रो हुन सकेमा देशको भविश्य सुनिश्चित हुँदै जाने र त्यसो नभएमा डामाडोल हुने तथा माओवादी आन्दोलन पनि समाप्त हुने अवस्था छ । माओवादी आन्दोलन, यसको विभाजन तथा एकता प्रक्रियालाई नजिकबाट देख्दै आएकाले के भन्न सकिन्छ भने यो समाजविज्ञानकै नियममा अगाडि बढेको छ । देश, काल, परिस्थितिअनुसार घटनाक्रम देखा पर्दै छन् । जसको नमुना माओवादी आन्दोलन देखापर्नु अनौठो कुरा हुँदै होइन । जो आन्दोलन समाजको प्रवक्ता बनेको हुन्छ, त्यसको उतारचढावलाई स्वाभाविक मान्न पर्ने हुन्छ । हाम्रोजस्तो भूराजनीति भएको देशमा संसारको आँखा लागेकै हुन्छ । तर प्रचण्डले जे कुराको महत्वबोध गरेर भन्छन्, त्यसअनुसार नीति अख्तियार गर्ने र कार्यक्रम दिएर अघि बढ्ने कुरामा अलमल नभएको भए यत्रो विधि पार्टी बेरोजगार भएको देखिने थिएन । सिद्धान्तको प्रतिरुप व्यवहार हो, यसैले अग्रगामी सोचहरुको व्यवस्थापन पनि त्यही स्प्रीडमा सम्बोधन गर्नुपर्ने हुन्छ ।
–जनधारणा साप्ताहिक


















