प्यूठानको माण्डवी र रोल्पाको थवाङले उठाएको मूलभूत प्रश्न

204

हुकुमबहादुर सिंह

प्यूठानको माण्डवी र रोल्पाको थवाङ अहिले चर्चाको शिखरमा छन् । यसरी चर्चामा हुनुको पछाडि यी ठाउँका स्थानीय निर्वाचनमा दुई जना चर्चित विक्रमहरू–मोहनविक्रम सिंह र नेत्रविक्रम चन्द जसले आफूलाई नेपालका क्रान्तिकारी कम्युनिष्ट भन्ने गर्दछन् र संसदीय प्रणाली अन्ततः लोकतान्त्रिक प्रणाली होइन, त्यसअन्तर्गत हुने (गरिने) निर्वाचनको परिणामले जनमतको वास्तविक प्रतिनिधित्व गर्दैन, संसदीय प्रणालीअन्तर्गत जनताका समस्या समाधान हुन सक्दैन । र नेपालजस्तो देशका लागि यसको विद्यमान अर्धऔपनिवेशिक (नवऔपनिवेशिक) र अर्धसामन्ती व्यवस्थाको अन्त्यद्वारा स्थापित जनवादी गणतन्त्रात्मक शासनव्यवस्थाको स्थापना अनिवार्य छ, जो जनताको शसस्त्र विद्रोहबाट मात्रै सम्भव छ । जनताको सशस्त्र विद्रोह दीर्घकालीन जनयुद्धका तीन जादुगरी हतियार–पार्टी, मोर्चा र जनसेनाले सर्वहारावर्गको पार्टी सुसज्जित हुनै पर्दछ भन्ने मान्यता राख्दछन्, तिनीहरूले सिद्धान्त, विचार र राजनीतिलाई तिलाञ्जली दिंदै कांग्रेससित चुनावी एकता गरेका छन् । प्यूठानको माण्डवीमा आठ दशक पार गरेका ८३ वर्षीय जेठा कम्युनिष्ट नेता तथा नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम सिंह कांग्रेसका निम्ति रुख चिह्नमा भोट माग्दै प्यूठानमा जोश र जाँगरका साथमा चुनावमा खटिरहेका छन् भने अर्का तुलनात्मक रूपले युवा कम्युनिष्ट नेता नेकपा महामन्त्री नेत्रविक्रम चन्द जसले निर्वाचनको खारेजीको नारामा बहिष्कार गरेका छन् । तर, अहिले उनी पनि रोल्पाको थवाङमा कांग्रेसका उम्मेदवारका लागि रुख चिह्नमा भोट माग्दै हिँड्न कार्यकर्तालाई रहस्यमयी तरिकाले उर्दी जारी गरेका छन् ।
माक्र्सवादी–लेनीनवादी–माओवादी पार्टीको लागि संसदीय निर्वाचनको बहिष्कार वा उपयोगद्वारा उक्त संसदीय प्रणालीको भण्डाफोर गर्ने र त्यसरी जनताको चेतना उठाएर नयाँ जनवादी क्रान्ति तथा दीर्घकालीन सशस्त्र संघर्षका लागि आधार तयार पार्ने नीति नै सही हो । तर अचम्म त के भएको छ भने नेकपा (विप्लव समूह)ले र नेकपा(मसाल)ले सिद्धान्त, विचार र राजनीतिविपरीत क्रमशः रोल्पाको थवाङ र प्यूठानको माण्डवीमा नेपाली कांग्रेससित चुनावी गठबन्धन गर्न पुगेका छन् ।
सिद्धान्ततः नेकपा (मसाल)का महामन्त्री मोहनविक्रमले पनि नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव समूह)ले जस्तै एउटा माक्र्सवादी–लेनिनवादी–माओवादी पार्टीले संसदीय निर्वाचनमा भाग लिनु हुँदैन र बढीमा त्यसको उपयोगसम्म हो भन्ने मान्यता राख्छन् तर व्यवहारमा उनले २०४९ सालदेखि एमालेले जस्तै हरेक निर्वाचनमा भाग लिँदै आएका छन् । तैपनि विगतमा वामपन्थी तथा देशभक्तहरूबाहेक अरु प्रतिक्रियावादी र दलालसित एकता गर्न हुँदैन भन्ने मान्यता राख्दै आएका थिए । नेपाली कांग्रेस उनको दृष्टिकोणमा नेपालमा प्रतिक्रियावादी र दलालहरूको प्रतिनिधित्व गर्ने एउटा राजनीतिक दल थियो । नेपालमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध संयुक्त जनआन्दोलनको लागि प्रस्ताव गर्ने पुष्पलाललाई त्यसैका आधारमा नेपाली कांग्रेसको पुच्छर र गद्दार समेत भनेका तिनै मोहनविक्रमले अहिले प्यूठानको माण्डवी गाउँपालिका जित्नका लागि नेपाली कांग्रेससित चुनावी गठबन्धन गरेका छन् । यसलाई सही ठहराउँदै उनी भन्दछन्, ‘गाउँ तहमा विकासको नेतृत्व गर्न चुनाव जित्नै पर्ने भएको हो ।’ यसमा थप्दै उनी भन्दछन्, ‘एउटा वडा जित्न सक्ने खालको छ भने पनि त्यहाँ केन्द्रीय नेताहरू खटेर लाग्ने गरेका छौं । जसरी पनि चुनाव जित्नै पर्ने छ ।’ चुनावसम्बन्धी उनको उनकै पुरानो शब्दमा यही गैरमाक्र्सवादी चिन्तनकै कारण उनले आफै भन्दै आएको प्रतिक्रियावादी तथा दलाल राजनीतिक दल नेपाली कांग्रेससित गठबन्धन गर्ने ठूलो गल्ती गरेका छन् । यसरी ८३ वर्षसम्म उनले जोगाएको सैद्धान्तिक धरातलबाट स्खलित हुन पुगेको छ । लामो समयदेखि संसद्मा नेपाली कांग्रेस र एमालेसित सहकार्य गर्दै आएका मोहनविक्रमका लागि सिद्धान्त, विचार र राजनीतिभन्दा स्थानीय स्तरको सहकार्यले महत्व राख्न थाल्यो । सर्वहारा वर्गीय क्रान्ति केबल ओठमा मात्रै रहन गयो । मोहनविक्रम मात्रै कहाँ हो र, संसदीय निर्वाचन खारेजीको लागि बहिष्कार गर्दै आएको नेकपा (विप्लव समूह)ले पनि थवाङमा माओवादी केन्द्रलाई हराउने नीतिअन्तर्गत हिजोको वर्गदुश्मनको प्रतिनिधित्व गर्ने नेपाली कांग्रेससित गठबन्धन गर्ने ठूलो गल्ती गरेको छ र यसरी एउटा प्रतिक्रियावादी तथा दलालवर्गसित जो नेपालमा नयाँ जनवादी क्रान्तिको लागि दुश्मन शक्ति हो, त्यसकै लागि जनतामा भोट माग्दै हिँडेपछि अब जनताको नजरमा क्रान्ति कोसित र कसविरुद्ध, अन्योलमा पर्न गएको छ ।
गाउँपालिका र नगरपालिकामा प्राप्त ठूलो रकममाथिको आँखाले गर्दा मोहनविक्रममा सिद्धान्त र क्रान्तिप्रति रतन्धो लाग्न पुग्यो भने प्रचण्डप्रतिको निरपेक्ष विरोधका कारण नेकपाले पनि वर्गीय दुश्मनसित हातेमालो गर्न पुग्यो । स्थानीय निर्वाचन जसरी पनि जित्ने नाममा वर्ग दुश्मनको प्रतिनिधित्व गर्ने राजनीतिक दलसित तालमेल गर्न पुगेका कम्युनिष्टहरू निर्वाचनपछि कसरी जनताका र कार्यकर्ताका बीचमा प्रस्तुत हुने हुन् ? केही समय पर्खनै पर्ने भएको छ ।
संसदीय प्रणालीको भण्डाफोर गर्ने र त्यसरी जनताको चेतना उठाएर नयाँ जनवादी क्रान्ति तथा दीर्घकालीन सशस्त्र संघर्षका लागि आधार तयार पार्ने नीति कार्यान्वयन गर्ने कि त निर्वाचन बहिष्कार हो वा उपयोग ? सही कम्युनिष्टको लागि स्थानीय निर्वाचनमा भाग लिएर यो काम गर्न सम्भव नै छैन । स्थानीय विकासबाट क्रान्तिको सपना कत्तिको पूरा हुन्छ ?
नेकपाले थवाङमा नेपाली कांग्रेससित तालमेल गरेर निर्वाचनमा भाग लिँदा वा नेकपा (मसाल)ले प्यूठानमा नेकासित तालमेल गरेर भाग लिएका उनीहरूले भन्ने गरेको सिद्धान्त, विचार र कार्यदिशा सबै हिसाबले गलत छ । जसरी पनि निर्वाचन जित्ने नीति भनेको पूर्णतः प्रतिक्रियावादी नीति हो र यसले अन्ततः गाउँपालिका वा नगरपालिकामा पदीय हिसाबले जित त होला, तर सर्वहारा वर्गको हार नै हो । मोहनविक्रम र नेत्रविक्रमले रुख चिह्नमा मत माग्दै हिँड्ने भनेको प्यूठानी र थवाङी क्रान्तिकारी कम्युनिष्टहरूको हार हो । सारमा यो ती पार्टीभित्रका क्रान्तिकारीहरूका लागि विजयभित्रको एउटा पराजय हो । कांग्रेससित मिलेर स्थानीय निर्वाचनमा कम्युनिष्टहरूले विजय मात्रै नगर्लान्, मोहनजीले भनेझैं विकासको नेतृत्व गरेर गाउँलाई विकासमा आकाशतिर लैजालान्, तर कम्युनिष्टको हसियाँ–हथौडा झण्डा झन्–झन् जमीनतर्फ बिलाउँदै जानेछ । माओले चीनको अनुभवमा भनेझैं हामीले विकास गरेर आकाशमा रकेट त प्रक्षेपण ग¥यौं, तर हाम्रो रातो झण्डा झन्–झन् जमिनतर्फ लतारिँदै गएको छ । यही प्यूठानको माण्डवी र रोल्पाको थवाङबारे पनि सत्य हो । -जनधारणा साप्ताहिक

 [email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here