काठमाडौं/ २२ वर्षअघि तत्कालीन नेकपा (माओवादी)ले आमूल रूपान्तरणका लागि भन्दै सुरु गरेको दीर्घकालीन जनयुद्ध भएको दुई वर्षपछि २०५४ सालमा नेपालमा स्थानीय निकायको चुनाव सम्पन्न भएको थियो । त्यो बेला युद्धरत माओवादी पक्षले चुनाव बहिष्कार गरेको थियो । बहिष्कारको प्रभाव एक किसिमले देशव्यापी रूपमा कतै पनि देखिएको थिएन । सामान्य घटनाहरूबाहेक चुनावलाई प्रभावित तुल्याउने खालका कुनै पनि घटनाहरू हुन सकेनन् । त्यो चुनाव सम्पन्न भएको लगभग २० वर्षपछि यसपटक स्थानीय तहको दोस्रो चरणको निर्वाचन हिजो सम्पन्न भएको छ । पहिलो चरणको निर्वाचनको तुलनामा अलि बढी त्रासपूर्ण अनुमान गरिएको दोस्रो चरणको निर्वाचन अपेक्षित दुर्घटना भएको पाइएन । केही निर्वाचन बुथहरूमा आगजनी र मतपेटिका एसिड खन्याउनेजस्ता घटनाहरू भए पनि निर्वाचनलाई बिथोल्ने खालको गतिविधि कतै भएको पाइएन । यो स्थितिले स्थानीय तहको दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण रूपमै सम्पन्न भयो भनेर भन्न सकिने भएको छ । चुनावमा सहभागी भएको सबै राजनीतिक दलहरूले यस्तै भाषा बोलिरहेका पनि छन् । परन्तु स्थानीय तहको दोस्रो चरणको चुनावको परिणाम जस्तोसुकै आए पनि यो चुनावलाई बहिष्कार गर्ने पक्षहरूले दिइरहेको चेतावनी भने सामान्य खालको छैन ।
मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले संयुक्त मोर्चाका रूपमा सार्वजनिक गरेको राजपा नेपालले चुनावलाई उपयोग गर्न नपाएकोमा पश्चाताप गरिरहेको छ । स्वतन्त्र उम्मेदवारका रूपमा राजपाका केही व्यक्तिहरू उम्मेदवार भएका पनि छन् । उनीहरूको विजय वा पराजय जेसुकै भए पनि राजपाले चुनाव सम्पन्न भइसकेपछि लिने रणनीतिले देशको राजनीतिलाई दूरगामी प्रभाव पार्ने निश्चित छ । राजपाले तराई क्षेत्रमा अपनाउने रणनीतिले नेपालको राजनीतिलाई अवश्य पनि तरंगित बनाउने अनुमान गर्न सकिन्छ ।
यसैबीच स्थानीय तहको चुनावलाई असफल तुल्याउने लक्ष्यसहित चुनाव खारेजी अभियानमा लागेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यमा दर्जनौं ठाउँमा बम विस्फोट गराएको छ भने आफ्ना सयौं कार्यकर्ताहरू पक्राउ परेको दावी गरेको छ । कपिलवस्तुलगायतका विभिन्न ठाउँहरूमा भएका बम विस्फोटहरूमा नेकपाले आफ्नो स्वामित्व लिएको छ । यसैक्रममा नेकपाका महासचिव विप्लवले स्थानीय तहको चुनावबारे आफ्नो पार्टीको धारणा स्पष्ट गर्दै ‘क्रान्तिमाथि प्रतिक्रान्ति हावी हुँदै आएको प्रतिक्रिया संसदीय व्यवस्थाको चुनावलाई खारेज गर्नुपर्छ भनेरै पार्टी खारेज अभियानमा बढिरहेको’ उल्लेख गरेका छन् । पार्टीको आम र सर्वत्र एकरूपतामा लागू हुने नीति भएको भन्दै विप्लवले पार्टीले चुनाव खारेजबारे द्वैध नीति नपनाएको पनि स्पष्ट पारेका छन् । विप्लवले भनेका छन् ः– ‘राजनीति बुझ्ने जोसुकै जानेको विषय हो कि कम्तिमा प्रचण्ड, बाबुरामहरूले गरेको आत्मसमर्पण, बिसर्जन र प्रतिक्रियावादीहरूले कांग्रेसको नेतृत्वमा लादेको संसदीय व्यवस्थालाई अस्वीकार गर्ने शक्तिले यो चुनावलाई स्वीकार्ने सवाल नै छैन, ऊ आफ्नो जनवादी र वैज्ञानिक समाजवादी सत्ता निर्माणको लक्ष्यमा अगाडि बढ्ने छ ।’ नेकपाले चुनावलाई बार्गेनिङ, दवाव, नाफाघाटा, भोट हाल्ने, नहाल्ने विषय बनाएको छैन भन्दै यो दलालसँगको लडाइँ हो, यो राज्यसत्तासँगको लडाइँ हो र नयाँ–नयाँ पक्रियासहित यो अगाडि बढ्नेछ भनी उल्लेख गरेका छन् । लडाइँमा को नेता आउँछ को आउँदैन, को पार्टी आउँछ, कसले भोट हाल्यो, कसले हालेन, कसले जित्छ र कसले हार्छ भन्ने विषयसँग मात्र सम्बन्धित छैन भन्दै विप्लवले भनेका छन्– ‘नबुझेकालाई बुझाउने हो, नजानेकोलाई सिकाउने हो, जान चाहनेलाई लिएर जाने हो, दलाल संसदीय व्यवस्था जनताको हितमा छैन भन्ने सच्चाइ पकडेर यसलाई मिल्काउने र जनताको सत्ता निर्माण गर्ने क्रान्तिमा अगाडि बढ्ने हो, यो क्रान्तिकारीको आफ्नो सोच र दृष्टिकोण हो, जब हाम्रो यो विचार जनता, श्रमिक वर्ग र देशको हितमा छ भने यसले एक दिन आफ्नो गन्तव्यमा सबैलाई लिएर छाड्ने छ ।’ विप्लवले अगाडि भनेका छन् ः– ‘हामीले सञ्चालन गरेको चुनाव खारेजी अभियानमा पार्टी एकमनका साथ डटेको छ । नेता र कार्यकर्ताहरू दिलोज्यानले खटेका छन् । गिरफ्तार परेका छन्, यातना पाएका छन्, जेल परेका छन्, तर बडो खुशी र उत्साहका कुरा कुनै पनि कमरेडमा द्विविधा, शंका र अविश्वास छैन ।’
विप्लवको यो खालको वक्तव्यबाजी र स्थानीय तहको चुनावमा भएका बम विस्फाटलगायतका घटनाहरूले देशको राजनीति शान्तिपूर्ण गन्तव्यतर्पm गइरहेको छैन भन्ने सन्देश प्रवाह गरेको छ । ०५२ साल फागुन १ देखि सुरु भएको जनयुद्धबाट चोइटिएको विप्लव नेतृत्वको नेकपाले गरिरहेका गतिविधि र उसले निरन्तरता दिन खोजेका एजेण्डाहरूप्रति चुनावमा सहभागी भएका राजनीतिक दलहरू संवेदनशील हुन सकेनन् भने स्थिति विस्फोटक बन्दै जाने आधार आजै आँकलन गर्न सकिन्छ । -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here