चन्द्रप्रकाश बानियाँ
पोखरेली नेवारबन्धुहरुको गाईजात्रे जुलुस अवलोकन गर्दैगर्दा एकजना पुराना मित्रसँग सडकमै जम्काभेट हुने सुखद संयोग जु¥यो । उनको दर्शनले मात्र पनि मेरा लागि जात्राको ‘राम’ गौण बनाइदियो । कुशलक्षेम आदानप्रदानको औपचारिकता ठाडठाडै सम्पन्न गरियो । हाम्रा मनहरु कतै छेउ लागेर गफल्लिन लालायित थिए । अनौपचारिक भलाकुसारीको लोभ संवरण गर्न गाह्रो परेको अनुभूति हुँदै थियो । मुख खोलेर बोल्नै परेन ! स्वभावतः विल्कुल स्वचालितरुपमा हाम्रा गोडाहरुले थोरैबेर सुस्ताएर गफ गर्ने सुविधायुक्त ठाउँतिर डो¥याए । गफगाफले अपेक्षाकृत अलिकता बढी समय लिँदा पनि मालिकले अन्यथा नठान्ने उही चीरपरिचित अलि बेचल्तीको कफीसप अन्तिम गन्तव्य बन्यो ।
आफ्नो तर्फबाट सुनाउनुपर्ने केही थिएन । उसो त त्यस्तो अवसर पाउन पनि मुश्किल थियो । किनकि मेरा मित्र कुशल गफाडी हुन् । अर्थात् प्राकृतितः उनलाई ‘वाचाल‘ भन्दा वात लाग्दैनथ्यो । कुनाको टेबुलमा आमनेसामने भएर बसिसक्दा नसक्दै साथीको वाणी प्रस्फुरण हुन थालिहाल्यो । तर अचम्म यसपटक गफको प्रारम्भ भने विल्कुल अनपेक्षित विषयबाट हुन गयो । ‘राप्रपा त फेरि टुक्रियो नि !’ साथीको वाणीमा उत्साह थियो, अनुहार प्रफुल्ल देखिन्थ्यो । सारमा उनको ‘बडीलयाङ्ग्वेज’ अनपेक्षित थियो । राप्रपाको विभाजनबाट मेरा मित्रले प्राप्त गरेको आनन्दानुभूतिको रहस्य मेरा लागि बुझीनसक्नु थियो । मेरा मित्रको राप्रपासँग कुनै साइनो सम्बन्ध रहेको कुराको जानकारी थिएन । ‘केजाति व्याए पो के, तुहिए पो कै’ ! स्वभावतः मेरा मित्र एउटा राजनीतिक प्राणी हुन् । त्यसको मतलब राप्रपासँग उनको व्यक्तिगत उन्नति अवनतिको संगति थियो भन्न मिल्दैनथ्यो । एकीकृत भएर राप्रपा बलियो हुँदा न उनको कुनै खती हुन्थ्यो न राप्रपा टुक्रिएर लथालिङ्ग हुँदा फाइदा पुग्थ्यो । राप्रपाको विभाजनका कारणले मेरा मित्रको अनुहारमा झल्किएको चमकको अर्थबोध गर्न कमसेकम मेरो बोधो मस्तिष्कका लागि पहरो फोर्नुभन्दा कम गाह्रो कुरा थिएन । गाईजात्रा र राप्रपा विभाजनबीचको असंगत संयोग, त्यसमाथि थप मित्रको अनपेक्षित आन्दविभोर भावभङ्गिमाले ‘कुहिरोको काग’ बनायो ।
जिज्ञासा र कौतुहलले धेरै बेर प्रतीक्षा गर्ने धैर्य धारण गर्नु परेन । साथी गफिँदै गए, रहस्य पनि स्वतः उद्घाटित हँुदै गयो । ‘खोदा पहाड, निकला चुहा’ भनेजस्तो रहस्योद्घाटन भैसक्दा मन पनि भरङ्ग भैसकको थियो भन्दा फरक पर्दैन । मेरा मित्रको उत्साहमा कुनै तुक दृष्टिगोचर भएन । कमसेकम त्यसमा कुनै तात्विक अर्थ फेला पार्ने उद्यममा दाल गलेन । अर्थात् त्यो कोणबाट विषयलाई ग्रहण गर्न स्वविवेकले अनुमति दिएन । विषयनिरपेक्ष रहेर साथीलाई ‘कानदिनु’ ठीक लाग्यो । एउटा अन्तरङ्ग मित्रको उपेक्षा गर्ने अनुमति संस्कारले दिदैनथ्यो । कफीभन्दा तीतो नै भए पनि उनका वाणीहरु उदरस्थ गर्नु उचित ठानियो । मित्र भन्दै हुनुहुन्थ्यो– सिद्धान्तविहीन राजनीतिको अर्थ र औचित्य हुदैन । सिद्धान्तविनाको राजनीति गन्तव्यविनाको यात्राजस्तो हो । राप्रपाको राणागुटले पार्टी विभाजन गरेर विल्कुल ठीक ग¥यो । ‘हलो राप्रपा’ अलिकता समयसन्दर्भ पहिचान गरेर हिँड्न खोज्ने पञ्चसमूह हो । हिन्दू धर्मसापेक्ष राज्यको मान्यता नछोेडेको भए पनि गणतन्त्रलाई आत्मसात् गरेर आफूलाई प्रगतिशाील सावित गरिसकेको हो । ‘गाई राप्रापा’ सँग पार्टी एकीकरण गर्दा उसको त्यो पहिचान मेटिएको थियो । वास्तवमा दुई राप्रपाबीचको एकीकरण प्रतिगामीे पाइलो थियो । ढिलो नगरी आफूलाई सच्याउने निर्णय लिएर हलो राप्रांपाले सराहनीय काम गरेको छ । कहिलेकाहीँ पछि फर्कनुु पनि प्रगतिशीलता ठहरिन्छ । सकारात्मक कदम मानिन्छ !
राप्रपाको विभाजनले मेरा साथीमा प्रस्फुटित उत्साह र प्रफुल्लताको अर्थ बल्ल खुल्यो । उनी तत्कालीन माओवादी विभाजनमा सक्रिय योगदान पु¥याउने स्थानीय नेता हुन् । यतिबेलासम्म पनि उनको संलग्नता ‘मझधार‘ सँग निरन्तर छ । उमेरले तन्नेरी भन्न मिल्ने भए पनि विप्लवको पछि लाग्ने हिम्मत जुटाएनन् । स्वभावतः जोखिम मोल्नु पनि नपर्ने र क्रान्तिकारी पनि भनाउन पाइने सरल मार्गको अवलम्बन गरेका हुन् भन्नु बढ्ता हुन्छ जस्तो लाग्दैन । कहिलेकाहीँ जम्काभेट हुँदा विभाजनको चेष्टा ‘गलत भयो’ भन्ने तर्कसामु नाजवाफ हुने गरेको अनुभूति संगालेका हुँदा हुन् सायद ! हरेकपटक त्यो विषयको उठान हुनासाथ उनी नतमस्तक हुनेगर्थे । पराजयभाव र अपराधबोध उनमा स्पष्ट दृष्टिगोचर हुन्थ्यो । अर्थात् भाव लुकाउने अभ्यास उनमा थिएन । मनको प्रतिच्छाया अनुहारमा प्रकट भइहाल्थ्यो । यसपटक राप्रपाको विभाजन उनको लागि आफ्नो हिजोको गल्तीलाई ठीक ठहराउने उदाहरण बनेको रहेछ । फुटेर बाहिरिएको राप्रपाको हाँगोले नेपाली माटोमा जरा गाड्ला नगाड्ला अथवा उन्नति प्रगति गर्ला वा नगर्ला भन्ने कुरासँग उनको कुनै सरोकार थिएन । बस, सिद्धान्तको नाममा, पार्टी पथविचलित भयो भन्ने नाममा, अध्यक्ष निरंकुश भयो भन्ने झोकमा देश, समाज र आन्दोलनलाई नोक्सान पुग्नेगरी पार्टीविभाजन गर्ने हिजोको चेष्टा ठीक थियो भन्ने कुराको पुष्टि त्यसको परिणामको आधारमा होइन, राप्रपामा आएको विभाजन र त्यसका निमित्त देखाइएको फर्जी सिद्धान्तलाई बनाएको देख्दा मनभित्र ‘कठै चिन्तन’ भन्ने भाव उत्पन्न भएको नमीठो अनुभूतिले भयोे ।
मनको लड्डु खानमै रमाउने बानी लागेपछि खुशी हुनका लागि विषय चाहिंदो रहेनछ । परिणाममा कतै नदेखिए पनि यसपटकको स्थानीय निर्वाचनमा क्रान्तिकारीले सहभागिता जनायो भनेको सुनिएको हो । निर्वाचनपरिणामको समीक्षा गर्ने सन्दर्भमा निर्वाचनमा भाग लिनु ‘सही निर्णय’ ठह¥याइयो रे भन्ने पनि सुनिएको हो । निर्वाचन परिणामले क्रान्तिकारी पार्टी ‘कहाँ छ’ भन्ने प्रश्नको नाङ्गो उत्तर दिएको छ । अर्थात् निर्मम भएर घत नराखीकन भन्नुपर्दा ‘कहीँ छैन’ भन्ने यथार्थबोध समाजलाई गराइदिएको छ । तैपनि कामरेडहरु खुशी रहेछन् ! संविधानसभाको दोस्रो निर्वाचनमा प्रचण्ड माओवादीलाई हराउन आफ्नो तर्फबाट ‘गर्नु नगर्नु’ सबै गर्ने नीतिलाई जायज ठहराइएको थियो रे ! बहिष्कारको नीति प्रभावकारी नभएपछि कतै काँग्रेसलाई, कतै एमाले र कतै राप्रपालाई समेत, त्यो पनि सःशुल्क मत दिनुलाई उन्नत राजनीतिक नैतिकता मानिएको थियो रे ! प्रचण्डलाई लज्जास्पद हारको मजा चखाउन पाउँदा कमरेडहरुले पाथीभात खाएजस्तो सन्तुष्टि र तृप्ति प्राप्त गरेका थिए रे ! प्रचण्डको हारलाई आफ्नो विजय ठानेर मखलेल भएका थिए रे ! पार्टीप्रतिको विश्वास जनताले मतद्वारा प्रकट गर्छन् । यसपटक स्थानीय निर्वाचनमा नेपाली जनताले क्रान्तिकारी पार्टीप्रति देखाएको विश्वास टिठलाग्दो मात्र होइन विरक्तलाग्दो पनि रह्यो भन्नैपर्छ । नेतृत्वमा लाज नभए पनि संकोच भाव उत्पन्न हुनुपर्ने हो । निर्वाचनको पराजय अवश्य लज्जाको विषय मानिँदैन । तर भविष्यको लागि ‘ऐना’ देखाउने काम भने गरिदिन्छ भन्ने तथ्य नबिर्सेका भए जाति हुँदो हो ।
माओवादी केन्द्र एकपछि अर्को गर्दै निर्वाचनमा पराजयको कीर्तिमान बनाउने उद्यममा लिप्त छ । यसपटक दोस्रो संविधानसभाको कीर्तिमान तोडियो कि तोडिएन कुन्नी ? ‘ओरालो लागेको मृगलाई गाईको बाच्छोले पनि खेद्छ’ भनेजस्तो हिजो आफ्नो कारणले प्रचण्ड माओवादीको लज्जाजनक पराजय भयो भनेर उत्सव मनाएको क्रान्तिकारी पार्टीले यसपटकको उस्तै पराजयमा हर्षबढाइँ गर्ने अवसर पनि गुमायो । ‘जेठा मामाको त भाङ्ग्राको धोती, कान्छा मामाको कुन गति’ ?! भनेजस्तो यसपटक अरुको पराजयमा खुच्चिङ्ग समेत भन्न नपाउने गरी मुखभरी पिंडालु ठोसिएजस्तो भयो । हार्न त प्रचण्ड माओवादीले दोश्रोपटक पनि लज्जास्पद हार व्यहोरकै हो तर उसको हारमा ताली बजाएर हर्ष मनाउने अवसर क्रान्तिकारी माओवादीलाई मिलेन । जसले जे भने पनि निर्वाचन जित्नैका लागि लडिने हो । हार्नका लागि कसैले चुनाव लड्दैन । आफ्नो शक्ति सामथ्र्यको परीक्षण गर्न निर्वाचनमा सहभागि हुने हो । यसपटकको निर्वाचनमा क्रान्तिकारी माओवादीको सहभागिताले विजयलाभ त गराएन नै नेपाली क्यानभासबाट उसको भविष्य ‘डिलिट‘ हुने दिशोन्मुख रहेको लक्षण देखाइदिएको छ । त्यसर्थमा निर्वाचन लड्ने निर्णयलाई सही ठह¥याइएको हो भने ठीकै हो भन्नुपर्ला ।
जनधारणा साप्ताहिक
















