किन अगाडि बढ्न सकेन कम्युनिष्ट आन्दोलन ?
नेपालमा ७० प्रतिशत कम्युनिष्ट छन्, तर एक भई जनताको सपना पूरा गर्ने दिशामा लागेका छैनन् । या ेभन्दा ठूलो विडम्बना के हुन सक्छ ?
नेपालको राजनीतिमा कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुमा यदि इमानदारी भएको भए यतिबेला नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको ठाउँमा नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्रीको कुर्सीमा देख्न पाइएको हुन्थ्यो । यसको अवरोधक भनेकै एमालेका अध्यक्ष केपी शर्मा ओली हुन्, उनले प्रचण्डसँग सत्ता साझेदारी गर्दाको सहमति पालना गरेनन् भन्ने बुझाइ स्वयम् एमालेभित्रै परेको छ । शीर्ष नेताहरुमा भित्री दाउपेच जे जस्तो भए पनि उनीहरुले आफ्नो वृत्तमा एकताको आह्वान गरिरहेको पाइन्छ । त्यसको अन्तर्यमा सबभन्दा पहिले आफ्नो प्रवृत्ति मिल्नेहरुबीच र त्यसपछि सिंगो कम्युनिष्ट आन्दोलनको एकताको विषयलाई अगाडि प्रस्तुत गरेको देखिन्छ ।
हालै नेकपा माओवादी केन्द्रको सचिवालय बैठकले स्थानीय तहको समीक्षा गर्ने क्रममा सम्पूर्ण माओवादी र सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकताबद्ध गर्ने पहलको जिम्मेवारी पनि माओवादी केन्द्रकै काँधमा आएको जनाएको छ । उसको साउन २ गतेदेखि ७ गतेसम्मको बैठक र केन्द्रीय कार्यालयको साउन ९, १० र १३ गतेको बैठकले उक्त स्पिरिटमा अगाडि बढ्ने निर्णय ग¥यो । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको सहकार्य वाम एकतामा केन्द्रित हुने जनाए । उनले माओवादी केन्द्रलाई काँग्रेससँग सहकार्य गर्न छोडेर एमालेसँग सहकार्य गर्न सार्वजनिक रुपमा आग्रहसमेत गरे । ओलीले विगतमा आफूले गरेको बालहठको गल्ती सम्झेर भने वा भविष्यमा आफूलाई राजनीतिको मियो बनाउन खोजेर प्रस्तुत हुन खोजे भन्ने कुरा आउँदा दिनका कदमले स्पस्ट हुने नै छ । तर इतिहासका आवश्यकता पूरा गर्ने सन्दर्भमा माओवादी केन्द्रले ‘बुर्जुवा यथास्थितिवादी र संशोधनवादको बढ्दो प्रभावलाई रोक्न तथा जनयुद्धका महान् सहिद, बेपत्ता योद्धाहरुको ऐतिहासिक बलिदानलाई सम्मान गर्दै, उनीहरुका परिवारका आँशु, वेदना र आकांक्षालाई स्मरण गर्दै, सम्पूर्ण घाइते, अपाङ्ग योद्धाहरुको पीडालाई मलहम लगाउन तथा परिवर्तनकारी जनसमुदायको आकांक्षालाई सम्मान गर्दै अब ढिलो नगरी सम्पूर्ण माओवादी घटकहरु मुख्यतः मोहन वैद्य ‘किरण’, डा. बाबुराम भट्टराई र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका दलहरुलाई माओवादीको यो सचिवालय बैठक एकताका निमित्त हार्दिक अपिल’ गरेको पाइन्छ । उसको भनाइ छ, ‘सँगै बसेर विगतका अनुभवहरुको खुल्ला मनले समीक्षा गर्न तथा नयाँ अभियानको खाका कोर्न इतिहास र जनताले हामी सबैलाई घच्घच्याएको तथ्यलाई आत्मसात् गर्दै विना कुनै पूर्वाग्रह अगाडि बढौं, एकतामा नै हाम्रो विजयको सुनिश्चितता छ ।’
पुनर्भाष्य नगरिएको समाजवाद
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबै माओवादी र कम्युनिष्टहरुलाई नअल्मलिएर एकै ठाउँमा आह्वान गरेपछि नेपालको साम्यवादी धारमा विभिन्न खालका टीकाटिप्पणी सुरु भएका छन् । उनले कम्युनिष्ट एजेन्डालाई गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्याय, समानुपातिक, समावेशी, विकास, समृद्धि, राष्ट्रिय एकता, छिमेकीसँगको सन्तुलित सम्बन्ध, हिमाल, पहाड र तराईलाई जोडेर राष्ट्रिय एकतामा ल्याउनुलाई वर्तमान नेपालको कम्युनिष्ट सिद्धान्त रहेको दावा गरेका छन् । प्रचण्डले निर्वाचनमा एक्लाएक्लै जाँदा कम्युनिष्टहरुको चामल नबिकेको र अन्यको पिठो पनि बिकेको भनी चामलजस्ता एजेण्डा माओवादी केन्द्रका कुरा भन्ने समेत टिप्पणी गरेका थिए । नेपालमा बहुसंख्यक जनता कम्युनिष्टतर्फ आकर्षण भए पनि अन्य प्रतिगामी शक्तिहरुले निर्वाचनमा जित्नुले यही बोध हुने गर्दछ ।
प्रचण्डले वैद्य माओवादी र विप्लवको कम्युनिष्ट पार्टीलाई भुलभुलैयामा परी छुट्टाछुट्टै बस्नु जरुरी नभएको भने । सबै कमरेडलाई एकतामा आउन आह्वान गरेपछि क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले यो एकताको आह्वानलाई षड्यन्त्र र क्रान्तिकारीहरुलाई ध्वस्त पार्नका लागि वैदेशिक प्रतिक्रियावादीहरुबाट निर्देशित दक्षिणपन्थी संशोधनवादीहरुको षड्यन्त्रको रुपमा व्याख्या गरे । स्थानीय तहको निर्वाचनमा क्रान्तिकारी माओवादीले ९६ स्थानमा उम्मेदवार छान्ने घोषणा गरेर निर्वाचमा भाग लियो । यता नेकपा विप्लव समूहले यो स्थानीय तहको निर्वाचनलाई सक्रिय बहिष्कार भने पनि थवाङलगायत केही स्थानमा स्वतन्त्र रुपमा उम्मेदवारी उठाएको पाइयो । माओत्सेतुङको सिद्धान्तलाई आफ्नो मार्गनिर्देशन मान्ने माओवादी कम्युनिष्टहरु नै विभिन्न घटक र धारमा देखिनुले स्वयम् माओवादी आन्दोलन अन्योलमा परेको छ भन्दा हुने भएको छ ।
नेकपा एमालेले बहुदलीय जनवादको नाममा प्रतिस्पर्धात्मक पुँजीवादी लोकतन्त्र र संसदवादलाई नै आफ्नो कार्यनीति र रणनीति बनाएको छ । उसले वर्ग संघर्षलाई विस्थापित गर्न संसद्वादीहरुले विकसित गरेको राष्ट्रियतालाई प्रमुख मुद्दा बनाएको छ । नेकपा संयुक्तले आफ्नो राष्ट्रिय लोकतन्त्रलाई आफ्नो कार्यक्रम बनाएको छ भने नेकपा मालेले नयाँ जनवादलाई आफ्नो सिद्धान्त स्वीकार गरेको छ । नेमकिपाले पनि जनवादी कार्यक्रमलाई आफ्नो नीति बनाएको छ । यसरी विभिन्न दलहरुले विभिन्न किसिमका सिद्धान्त राख्नुले कम्युनिष्ट आन्दोलन विभाजन र विखण्डन हुन पुग्दा समाजवादी क्रान्ति र क्रान्तिका चरणहरुमा समेत मतभेद देखापरेको छ ।
नेपालमा राजतन्त्रको अन्त्य भएपछि प्रधान शत्रु र मित्र तथा समाजवाद प्राप्त गर्ने साधनमा समेत अन्योल रहेको छ । यसैले गर्दा लगभग २०० वर्ष अगाडि सुरु भएको वैज्ञानिक समाजवादको माक्र्सवादी दर्शनमा यसरी मतभेद र अन्योल देखिन गएको छ । मानव समाजको विकाससँगै दुईवटा दृष्टिकोणहरु अगाडि आएको पाइन्छ । यसमा व्यक्तिलाई प्रमुखता दिने व्यक्तिवादी र समाजलाई प्रमुखता दिने समाजवादी सिद्धान्त विकसित भएको हो । यो लोक मिथ्या हो, योभन्दा छुट्टै लोक मात्र सत्य हो भनी ईश्वर र पारलौकिक शक्तिलाई एक मात्र सत्य ठान्ने आध्यात्मवाद र वस्तु नै सबै चिज हो, योभन्दा अरु कुनै संसार छैन भन्ने भौतिकवादी सिद्धान्त गरी दुई किसिमका सिद्धान्त आएकोमा कम्युनिष्टहरु भौतिकवादीहरु हुन् तर अहिले यही भौतिकवादी दर्शनमा समेत विभिन्न विचलनहरु आएको देखिएको छ । यसको मूल कारण १९औँ शताब्दीमा स्थापित भएको कम्युनिष्ट क्रान्तिको सिद्धान्त २१औँ शताब्दीको समाजवादी क्रान्तिको रुपमा पुनव्र्याख्या र पुनर्भाष्य गर्न आवश्यक भएको छ ।
बहस समाजवादको
एउटै दर्शन, एउटै सिद्धान्त, एकै खालका कार्यनीति, एकै खालका रणनीति र लक्ष्य रहेको कम्युनिष्ट सिद्धान्तमा किन अन्तरविरोध आयो ? एउटै कुरालाई हेर्ने दृष्टिकोणमा किन भिन्नता आयो भन्ने कुराको पनि हेर्नुपर्नेतर्फ कम्युनिष्ट जानकारहरुको ध्यान आकर्षण पाईन्छ । नेपालमा समाजवाद र साम्यवादबारेमा बारम्बार चर्चा र छलफल हुने गरेका छन् । माक्र्सको २ सय वर्षको जन्मदिवसको अवसरमा पनि यस बारेमा चर्चाहरु भएका थिए । विभिन्न पार्टीका टुटफुटका बेला आफूलाई सच्चा कम्युनिष्ट र अरुलाई कि उग्रपन्थी वा दक्षिणपन्थी संशोधनवादी भन्ने आरोप लागाइने गरिन्छ । यसैले गर्दा एउटै जनयुद्धबाट संगठित भएको माओवादीमा समेत दर्जनौं टुक्राहरु भए । वैद्य माओवादी तथा विप्लव माओवादीजस्ता प्रवृत्ति पनि देखापरे र बाबुराम भट्टराईको नयाँ शक्ति पनि देखियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूले मात्र समाजवादी क्रान्तिको नेतृत्व गर्न सक्ने र वर्तमान अवस्थामा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भैसकेको तथा लोकतान्त्रिक समावेशी गणतन्त्र, धर्मनरिपेक्षता, समावेशी, संघीयता जस्ता कुरा नै साम्यवादका मुख्य तत्व भएको दावा गर्दै आएका छन् । यसमा नेपाली कांग्रेस पुँजीवादी उदारवादी भए पनि बेलामौकामा लोकतान्त्रिक समाजवादको कुरा गर्दै आएको पनि ५० वर्ष भइसकेको छ । उसको समाजवादको आफ्नै व्याख्या छ । एमालेभित्र वर्तमान पुँजीवाद बारेमा गम्भीर बहसहरु चलेका छन् । माओवादी घटकहरुबीच समाजवादी वा पुँजीवादी कुन क्रान्ति गर्ने हो भन्ने मतभेद रहेको छ ।
वर्तमानको समाजवाद औद्योगिक समाजवादले ल्याएको उदार व्यक्तिवादको प्रतिक्रियाको रुपमा उत्पन्न भएको औद्योगिक क्रान्तिको सुरुदेखि रवर्ट ओभनको इटुपिया, सन्तसाइमन, चाल्र्स फोरियर, डा. हल, सिसमन्डी, लुइस ब्लेक, पु्रधो, क्रिश्चियन समाजवाददेखि काल्पनिक समाजवादको स्थापनापछि बेलायतमा भएको मेनचेस्टर औद्योगिक क्रान्तिको साथै चार्टिस्ट आन्दोलन र वर्ग संघर्षमा आधारित माक्र्सको वैज्ञानिक समाजवादको समेत लगभग २ सय वर्षसम्म विभिन्न चरणहरु पार गरिसकेको अवस्था छ । यी प्रत्येक अवस्थामा वास्तविक समाजवाद के हो भनी छलफल गरिएका र आफूले लिएका विचारलाई नै माक्र्सवाद भनेको देखिन्छ । अहिले नेपालको कम्युनिष्ट पार्टीको स्थापना सन् १९४९ मा भएको लगभग ७० वर्ष पुगिसक्दा पनि नेपालमा कम्युनिष्ट सिद्धान्त बारेमा अन्योल रहेको छ । यस क्षेत्रका अध्येताहरु भन्छन्, ‘राजतन्त्रको अन्त्यपछि प्रमुख अन्तरविरोध कोसँग छ र पुँजीवाद कुन अवस्थामा छ भन्ने बारेमा समेत सबै कम्युनिष्ट घटकहरुबीच अन्योल रहेको देखिनु नै कम्युनिष्ट आन्दोलन विभिन्न चिरामा विभाजित भइरहनु हो ।’
राजनीतिशास्त्री प्रा.डा. गोपाल शिवाकोटीले नेपालका कम्युनिष्ट र कांग्रेसको समाजवाद उस्तै हुन् ? युरो समाजवाद र क्यारोबियन समाजवाद उस्तै हो ? भन्ने सैद्धान्तिक प्रश्न बजारमा देखा परेको तर यसको सैद्धान्तिक निराकरण भइ नसकेको जनाए । यसैले गर्दा नेपालमा लामो समयदेखि समाजवादका बारेमा अलमल देखापरेको छ । समाजवादको कुरा सबैले गर्ने गर्दछन् तर वास्तविक समाजवाद नेपालको समाजको चरित्र, अन्तरविरोध तथा समाजवादी क्रान्तिको बारेमा कसैसँग पनि स्पष्ट धारणा देखिँदैन । एमालेले बहुदलीय जनवादबाट सुधारवादको कार्यक्रमले समाजवाद प्राप्त हुन्छ भन्ने देख्दछ भने विप्लव माओवादीले एकीकृत क्रान्तिको नाराले मात्र समाजवाद प्राप्त हुन्छ भन्ने विश्वास गर्दछ । वैद्य माओवादी अरु सबैलाई दक्षिणपन्थी विसर्जनवाद देख्दछ ।
अहिले समाजवादी आन्दोलनमा माक्र्सवादी वैज्ञानिक समाजवाद, लोकतान्त्रिक समाजवादी धार र वामपन्थी समाजवादी धार देखापरेका छन् । माक्र्सवादी वैज्ञानिक समाजवादी धारमा माओवादीका विभिन्न घटकहरु रहेका छन् । विश्वमा लेनिनवादसम्म आइपुग्दा यो धारले विशेष प्रभाव पारेको थियो । त्यसबेला पनि रोजा र एडवार्ड बर्नस्टाइनले संशोधनवादी क्रान्तिविरोधी संघर्ष गर्नु परेको थियो । सयौँ वर्षसम्म प्रभाव पारेको यो माक्र्सवादी धार अहिले शास्त्रीय कम्युनिष्टको धारको रुपमा रहेको छ । यो वैज्ञानिक समाजवादको धार सोभियत संघको पतनपछि संकटमा परेको छ । यसले आर्थिक क्षेत्रमा नाफालाई निषेध गर्दछ, निजी सम्पत्तिको विरोध गर्छ । राजनीतिक क्षेत्रमा यसले सर्वहारा अधिनायकत्वलाई स्वीकार्दछ । तर वर्तमानको लोकतान्त्रिकरणको अवस्थामा अधिनायत्वलाई जनताले पचाउन सकिरहेको देखिँदैन । सामाजिक क्षेत्रमा व्यक्तिको स्वतन्त्रता स्वीकार गर्दैन । सामाजिक सर्वाेच्चतालाई मान्दछ । समकालीन विश्वमा सर्वहारा अधिनायकत्व, निजी सम्पत्तिको अन्त्य र सम्पूर्ण रुपमा व्यक्तिमाथि सामाजिक नियन्त्रण जस्ता कुराले यो धारमा संकट उत्पन्न भएको हो ।
लोकतान्त्रिक समाजवादमा लोकतन्त्र र समाजवाद दुवैका उग्रतालाई कम भुत्ते गरेर समन्वय गरेको धार हो । यो बुर्जुवा समाजवादी धार हो । यसलाई नेपाली कांग्रेसलगायत उदार पुँजीवादीका समर्थकहरुले अपनाएका छन् । नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइरालाले भने झैं साम्यवादमा लोकतन्त्र थपिदियो भने समाजवाद हुन्छ भन्ने नै यसको सार हो । यसको दर्शन, मूल्य र मान्यतालाई सुविधाअनुसार व्याख्या गर्ने गरिएकाले संकटमा नै छ । यस्तै वामपन्थी समाजवादी धारको विकास भएको छ । नेपालमा वैकल्पिक र नयाँ शक्ति यसै श्रेणीमा पर्दछ । तर स्वयम् यो नयाँ शक्ति अलमलमा परेर संकटमा पुगेर विघटनको स्थितिमा छ । यो धारले माक्र्सवादलाई समाजवादबाट हटाउन चाहन्छ । यो माक्र्सवाद र बुर्जुवाको लोकतन्त्र दुवैको विरोधमा रहेर आफूलाई विकसित गर्न चाहेको छ, तर स्वयम् दर्शन र सिद्धान्त नभएकोले यसको विघटन हुन लागेको हो ।
यसका साथै एमालेले बहुदलीय जनवाद भनी युरो साम्यवादको संसदभित्रको कम्युनिष्ट पार्टीको सिद्धान्तलाई अगाडि सारेको छ । यसले संसदभित्र बहुदलीय प्रतिस्पर्धा गर्ने र उदार पुँजीवादलाई सुधार गरेर पुँजीवादमा फेर्ने नीति लिएको छ । यो टिटोवादी धारलाई एमालेले अपनाएको छ । यसले मध्यम वर्गको समाजवादको परिकल्पना गरी उच्च वर्ग र तल्लो वर्ग सबै मिलाएर समन्वयात्मक रुपमा बुर्जुवा लोकतन्त्रका मूल्य र मान्यतालाई दरोसँग लागू गर्ने नीति लिएकाले आवश्यकताअनुसार कहिले लोकतन्त्रवादी त कहिले समाजवादी देखाउने गर्दै आएको छ । यो उसको वैचारिक संकट नै हो ।
अन्तर्राष्ट्रिय अनुभव
माक्र्सले वैज्ञानिक समाजवादको सिद्धान्त १९औँ शताब्दीको परिप्रेक्ष्यमा प्रतिपादन गरेका हुन् । उनका सिद्धान्तहरुमा युवा माक्र्सले बढी मानवतावादलाई जोड दिएको र पछि आर्थिक र वर्गवादी दृष्टिकोणलाई अघि सारेको पाइन्छ । युवा माक्र्सवादले मानवतालाई लिए पनि पछि यो ओझेलमा पर्न पुगेको थियो । मानव मनोविज्ञानलाई नबुझ्दा सोभियत संघमा राज्य समाजवाद विघटन भयो, चीन नयाँ तरिकाले अगाडि बढ्यो । उत्तर कोरिया माक्र्सवादमा अडिग रहेको छ, तर उसले पनि जुछे विचारधारा अपनाएको छ । जुछे विचारधारा मानवलाई केन्द्रमा राखेर विकसित गरिएको समाजवाद हो भन्ने दाबी उत्तर कोरियाको छ ।
अहिलेको विश्वमा निजी सम्पत्तिको कारणले नै मानिस क्रियाशील हुन प्रेरित हुन्छ । निजी सम्पत्तिलाई निषेध गर्दा सिर्जनात्मकता, लालसा, तृष्णा, जाँगर रहँदैन भन्ने पनि रहेका छन् । मानिस सम्पत्ति जोड्न चाहन्छ तर सम्पत्ति निषेध गर्दा उसको सिर्जनशीलता समाप्त हुन्छ भनी व्यक्तिलाई निजी सम्पत्तिको उत्प्रेरक शक्तिको विकल्प दिन नसक्नु यसको कमजोरी हो भन्ने आलोचनासमेत भएका छन् । १७औँ शताब्दीमा युरोपमा भएको औद्योगिकीकरण र अनियन्त्रित व्यक्तिवादले पुँजीवादमा देखिएको विकृतिको विरुद्धमा काल्पनिक समाजवाद आएको हो । यो व्यक्तिवादी र उग्र उदारवादमाथि १९औँ शताब्दीमा पुँजीवादले गरेको सुधार र औद्योगिकीकरणमा भएका वर्गसंघर्षले पुँजीवाद र सर्वहारा वर्गलाई आमनेसामने खडा गरिदिएपछि माक्र्सले वैज्ञानिक समाजवाद प्रतिपादन गरेका थिए ।
तर लामो समयमा समाजमा आएको परिवर्तनले मानिसको सोचमा समेत केही परिवर्तन आएको छ । सम्पूर्ण रुपमा व्यक्तिको स्वतन्त्रता र सामाजिक दायित्वलाई सन्तुलित गर्ने खालका समाजवाद आवश्यक भएको भन्ने धारणा पनि प्रबल हुँदै आएको छ । नेपालमा रोवट ओभनले सुरु गरेको सहकारीको माध्यमबाट र निजी सार्वजनिक स्वामित्वको पीपीपीको अवधारणाबाट समाजवादको निर्माण गर्न सकिन्छ भनी यसैतर्फ कदम चालिएका छन् । चीनले आधा पुँजीवादी र आधा समाजवादी मिश्रित अर्थतन्त्रबाट समुन्नत व्यवस्थाको स्थापना गर्ने बजार समाजवादको सिद्धान्त अघि सारेको देखिन्छ । १९औँ शताब्दीको अन्त्यमा बर्नस्टाइनले पनि यस्तै किसिमका अवधारणाहरु प्रस्तुत गरेका थिए । पँुजीवादको विकल्पको रुपमा समाजवाद नभएर समाजवाद पुँजीवादभित्रैबाट अनुकूल परिस्थितिको निर्माण गर्नुपर्छ भन्ने विचार अघि सारेका थिए । उनी सामाजिक सुधार, मजदुरहरुको सुविधामा वृद्धि, राज्यको न्यायपूर्ण रुपान्तरण, राज्यमाथि सामाजिक नियन्त्रण, क्षतिपूर्ति, लोकतन्त्र निर्माण र संसदीय संघर्षका कुराको पक्षमा थिए ।
यही कुरालाई बहुदलीय जनवादको सिद्धान्तलाई एमालेले समाजवादको सिद्धान्त मानेको छ । लेलिनले पुँजीवाद ध्वस्त पार्नका लािग सर्वहारा अधिनायकत्व र राज्यको नियन्त्रणमा अर्थतन्त्र राख्नुपर्छ र क्रान्ति क्रान्तिकारी पेशेवरहरुबाट सञ्चालन गरेर साम्यवाद प्राप्त गर्न सकिन्छ भन्ने धारणा राखेका थिए । लेलिनले बर्नस्टाइनको विचारलाई पुँजीवादको खोल हालेर रंगीन स्वरुपमा प्रस्तुत गरेको मान्थे । बर्नस्टाइनले सहरीकरण, सामूहिकीकरण र लोककल्याणकारी जस्ता विधिबाट पुँजीवादको चरित्र फेर्न सकिन्छ भन्ने धारणा राखेका थिए । बर्नस्टाइनले प्रतिपादन गरेको माक्र्सवादको स्वरुप नै समकालीन विश्वमा प्रकट भएको हुँदा समाजवादमा संकट उत्पन्न भएको रुपमा लिनेहरु पनि छन् । माक्र्सवादलाई धर्मसूत्रको रुपमा लिने काम पनि गर्नु हुँदैन भन्ने मत समेत बढेको पाइन्छ ।
यो माक्र्सको समय रहेन
माक्र्सवादको दर्शन सुरु भएको १८औँ शताब्दीपछि विश्वमा गम्भीर परिवर्तनहरु भएका छन् । माक्र्सवाद स्वयम् पनि तत्कालीन विश्व परिस्थिति र युरोपको विश्व परिस्थितिको परिप्रेक्ष्यमा विकसित भएको वैज्ञानिक सिद्धान्त हो । विज्ञानमा सबै कुरा यथावत् रहेमा मात्र यसको सिद्धान्त पनि बनिरहन्छ र परिवर्तनसँगै परिवर्तन हुन्छ भन्ने मान्दछ । १९औँ शताब्दीको विश्व परिस्थितिमा सामाजिक व्यवस्थामा प्रादुर्भाव भएको वैज्ञानिक माक्र्सवादको सिद्धान्तपछि अनेक परिवर्तन भएकोले समाजवादले पनि अनेक मोडमा परिवर्तन भई २१औँ शताब्दीमा आइपुगेको छ । माक्र्सले युरोपमा भएको औद्योगिक क्रान्ति र मेन्चेस्टरमा भएको आन्दोलनको निचोडको रुपमा यो सिद्धान्त प्रतिपादन गरेका हुन् । तर, विश्वमा औद्योगिक क्रान्ति दोस्रो चरणको विकास थियो । पुँजीवादको पहिलो चरण १६औँ शताब्दीसम्मको महाजनी पुँजीवाद, दोस्रो चरणको रुपमा औद्योगिक पुँजीवाद, तेस्रो चरणको रुपमा एकाधिकार पुँजीवाद, चौथो चरणको रुपमा अर्धउपनिवेशिक पुँजीवाद, पाँचौँ चरणको रुपमा नवउदारवादी पुँजीवाद र विश्वव्यापीकरणको चरण हो ।
माक्र्सको समयको औद्योगिक पुँजीवादले पुँजीवाद र मजदुरहरुबीचको संघर्षलाई तीव्र पारेको थियो । पुँजीवादीहरुको उद्देश्य पनि मजदुरहरुलाई शोषण गरेर धन कमाउनु र उत्पादित वस्तुहरु विदेशमा विक्री गर्नु रहेको थियो । तेस्रो चरणको एकाधिकार पुँजीवादमा बंैकहरुको प्रवेश र पुँजीवादीले भौगोलिक क्षेत्र कब्जा गर्ने प्रतिस्पर्धाबाट एकाधिकार पुँजीको विकास भई साम्राज्यवादको रुप लिएर पहिलो तथा दोस्रो विश्व युद्ध हुन पुग्यो । यसै एकाधिकारी पुँजीवादी साम्राज्यवादीकालमा लेलिनले क्रान्तिकारी पुँजीवादको विकास गरेका थिए । दोस्रो विश्वयुद्धले युरोपेली उपनिवेशवादलाई विघटन गरेपछि उपनिवेशहरु स्वतन्त्र भए र नवउपनिवेशवादी पुँजीको जन्म भयो । यसमा प्रत्यक्ष सैनिक वा राजनीतिक हस्तक्षेप नगरी प्रभाव विस्तार गरेर यी मुलुकमा कब्जा गर्ने नीति लिएका थिए । यसैको विरोधमा माओत्सेतुङले अर्धउपनिवेशवाद र अर्धसामन्तवादको विरुद्धमा जनवादी क्रान्ति सम्पन्न गरेका थिए । यो क्रान्ति बुर्जुवा लोकतान्त्रिक क्रान्ति थियो । यो क्रान्तिपछि आफ्नो नेतृत्वमा चीनले पुँजीको विकास गरी पुँजीवादी चरणलाई पार गर्न पुग्यो ।
चीनमा माओत्सेतुङको मृत्युपछि समाजवाद मुखिया अर्थव्यवस्थाको ठाउँमा बजार समाजवादी र वाणिज्य उपनिवेशवादको विकास भएको छ । वान वेल्ट एन्ड वान रोडले विकासोन्मुख देशहरुलाई आफ्नै पहलमा विकास गरेर केन्द्रीय शक्तिको रुपमा चीनले विकास गर्ने लक्ष्य लिएको छ भने भारतले पनि सिल्करोडको नवसंस्करण जापानको सहयोगमा विकास गरी विश्वलाई अर्काे ध्रुवको नेतृत्व गर्ने लक्ष्य लिएको छ । माक्र्सवादको समयमा पुँजीवादको चरित्र मजदुरहरुलाई शोषण गर्ने र उत्पादनमा कम भुक्तानी गरी अतिरिक्त मूल्य कमाउनु थियो, अहिले औद्योगिक पुँजीको सट्टा दलाल पुँजी र कालोपुँजीले ठाँउ लिन पुगेको छ । लेनिनले सिद्धान्त निर्माण गर्दा गरिएको श्रम र वस्तुको परिभाषा अहिले फेरिन पुगेको छ । त्यसबेला श्रमिक भनेका दिनभरि कारखानामा काम गर्ने र श्रम बाहेक बेच्नका लागि अरु केही नभएकाहरुमाथि पुँजीपतिको चरम शोषणको अवस्था थियो । श्रमलाई शोषण गरेर पुँजीपतिहरुले वस्तुको उत्पादन सस्तोमा निर्माण गरी अतिरिक्त मूल्यसमेत जोडेर बजारमा बेची पुँजी कमाउने गर्दथे । तर वर्तमान अवस्थामा यो श्रम र श्रमिकको परिभाषा फेरिएको छ । १९औँ शताब्दीमा कारखानामा श्रम गर्नेलाई मात्र श्रमिकको रुपमा लिने गरिन्थ्यो तर वर्तमानमा कुशल व्यवस्थापक र प्राविधिक व्यक्तिहरुलाई पनि श्रमिकको रुपमा लिइएको छ । सेतो कलरका श्रमिकहरु पढेलेखेका मध्यम वर्गीय व्यक्तिहरु हुन् । श्रमको परिभाषा ठीकसँग गर्न नसक्दा बौद्धिक श्रमिकहरुको विद्रोहले सोभियत संघ पतन हुन पुग्यो । माक्र्सका समयका श्रमिकको ठाउँ विस्तारै रोबर्टहरुले लिन लागेको छ र उत्पादनको प्रक्रिया पनि बदलिएको छ ।
श्रम र श्रमिकको परिभाषा मात्र होइन, उत्पादन र वस्तुको परिभाषा पनि बदलिएको छ । माक्र्सको समयमा हार्डवेयरलाई मात्र वस्तुको रुपमा लिइन्थ्यो र बजारमा विक्री गरिन्थ्यो, यिनीहरुलाई वस्तु भनिन्थ्यो । पदार्थमा श्रम जोडिएपछि सो कुरालाई वस्तुको रुपमा परिभाषा गरिन्थ्यो । तर २१औँ शताब्दीमा वस्तु ज्ञानलाई मानिएको छ । २१औँ शताब्दीमा ज्ञान पदार्थको रुपमा विक्री हुन्छ । त्यसैले ज्ञानको उत्पादन, वस्तुको मूल्यको चरित्र, पुँजीवादी उत्पादनको चरित्रसमेत फेरिएको छ । यसको व्यापार ई–बिजेनेसबाट हुने गर्दछ । यसलाई वर्तमान समाजवादीहरुले परिभाषित गराउन र यसको अनुकूल बनाउन सकेको देखिँदैन । वस्तुको उत्पादन, वितरण र उपभोगमा समेत परिवर्तन भएको छ ।
सबभन्दा ठूलो परिवर्तन ऊर्जा क्षेत्रमा भएको छ । ऊर्जामा तीन किसिमका परिवर्तनहरु देखिएका छन् । पहिलो चरणको १६औँ शताब्दीसम्मको ऊर्जा शारीरिक वा पशुको क्षमता नै ऊर्जाको रुपमा रहेको थियो । काठबाट आगो बाल्नु र पानी तताएर बाफ उत्पन्न गरी कारखानाहरु चलाउने गरिन्थे । घोडा, गोरुहरु यातायातका साधन थिए । १९औँ शताब्दीमा आइपुग्दा यो ऊर्जा फोसिल आयलको रुपमा परिणत भयो । यसबाट इन्जिनहरु सञ्चालन गर्ने र उत्पादन हुन थालेपछि उत्पादनमा तीव्र वृद्धि भयो र यही औद्योगिक सामानको विक्रीको लागि बजारको खोजी हुन थाल्यो र युरोपमा उपनिवेशवादको नयाँ प्रक्रिया सुरु भएको थियो । उपनिवेशवादको खोजीले नयाँ बजार प्राप्त भयो , त्यसपछि उत्पादित वस्तुबाट तीव्र मुनाफा कमाउन थालेपछि श्रमिकहरुको शोषणमा कमी आयो । त्यसैले माक्र्सले भनेजस्तै श्रमिकहरुमा हुने तीव्र शोषणमा कमी आएर मजदुरहरुले राम्रो जीवनयापन गर्न थाले र वर्गसंघर्षको रुपमा समेत परिवर्तन हुन पुग्यो ।
यसै क्रममा ऊर्जाको नयाँ रुप चुम्बकीय विद्युत् ऊर्जाको रुपमा विकसित भयो । यसले फलामलाई चुम्बकका विद्युतले परिवर्तन गरी उत्पादन पद्धति तथा सञ्चार लगायतका क्षेत्रमा आमूल परिवर्तन सुरु भयो । यसै अवस्थामा लेनिनले माक्र्सवादलाई विकसित गरेर क्रान्ति सम्पन्न गरे । यो पद्धति दोस्रो विश्वयुद्धसम्म रह्यो भने यातायातमा हवाईजहाजको तीव्र विकास भयो । पानीजहाजको शक्ति हवाईजहाजको शक्तिको रुपमा फेरियो । यो चुम्बकीय ऊर्जाले रेडियो, टेलिभिजन, क्यामेरा र ठूलो मात्रामा उत्पादन गर्न क्षमता विकास भई आम उत्पादन पद्धतिको विकास भयो । ऊर्जाको यो चरणबाट सन् १९४५ देखि इलेक्ट्रोनिक शक्तिमा फेरियो । सन् १९५५ देखि सम्पूर्ण क्षेत्रमा इलेक्ट्रोन र शक्तिको प्रयोगले कुनै पनि उत्पादनलाई जस्तो र जहाँ पनि गर्न सकिने बनायो । यही इलेक्ट्रोनिक शक्तिले कम्प्युटर साइवर प्रवृत्तिको विकासले विश्वमा परिवर्तन गरिदियो । सूचना र प्रविधिको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्यायो । अबको युद्ध र संघर्ष सञ्चार प्रविधिबाट हुँदै छ । इलेक्ट्रोनिक सरकार, इलेक्ट्रोनिक उत्पादन, इलेक्ट्रोनिक व्यापार जस्ता कार्यले यही संकेत गर्दछ ।
माक्र्सवादलाई लेनिनले नयाँ व्याख्या र सिर्जनात्मक विकास गरी सोभियत संघमा लागू गरे तर उनका उत्तराधिकारीहरुले यो सुधार गर्न नसकेपछि यो विघटन भयो । माओले सय वर्षपछि चीनको परिस्थितिमा लागू गरेका थिए । चे ग्वेभाराले क्यारिवियन क्षेत्रमा नव वामपन्थको रुपमा व्याख्या गरी क्युवामा लागू गरेका थिए । पेरुको साइनिङ पाथ र भारतको चारुमजमदारहरुले गरेका वर्ग शत्रु सफायाको रुपमा स्थापित क्रान्ति असफल भए । अहिले यो माओवादी धार आदिवासी आन्दोलनको रुपमा विकास भएको छ । नेपालमा माओवादी नेतृत्वको जनयुद्धबाट सामन्तवादको अन्त्य गरी नयाँ समाजवादी क्रान्तिको क्रममा रहेको छ ।
१९औँ शताब्दीमा उत्पन्न भएको माक्र्सवादी दर्शनलाई २१औँ शताब्दीमा जस्ताको त्यस्तै लागू गर्ने कुराले समाजवादका बारेमा अनेक किसिमका संकट उत्पन्न भएका छन् । अहिलेको विश्व परिस्थिति, आर्थिक अवस्था, सामाजिक, सांस्कृतिक अवस्था, सञ्चार क्षेत्रमा भएको अभूतपूर्व क्रान्ति, यातायात क्षेत्रमा भएको तीव्रता, श्रम, उत्पादन तथा वस्तुको परिभाषामा आएको परिवर्तनको आधारमा विद्यमान अवस्थामा यसको गहन अध्ययन र अनुसन्धान गरी नेपालको परिस्थितिअनुसार माक्र्सवाद लागू गर्नुपर्ने धारणा विकास भएको देखिन्छ ।
माक्र्सको समयमा भौतिक विज्ञानको त्यति विकास नभइसकेकोले दुईवटा तत्व मात्र फेला परेको थियो तर अहिले ६० वर्षको खोजले द्वन्द्वात्मक चरित्रमा नै परिवर्तन भएको छ । वैज्ञानिक समाजवादले एकैचोटी सम्पूर्ण क्रान्ति हुन्छ भनी एउटा वर्गले अर्काे वर्गमाथि प्रभुत्व कायम गरेकोलाई क्रान्तिको रुपमा हेरेका थिए तर समाजमा दुई वर्गबीचमा मात्र संघर्ष रहँदैन, यो समाजमा ठूलो वर्ग तटस्थ रहन्छ र यो ९६ प्रतिशत हुने भएकोले एउटा समाजको सम्पूर्ण क्रान्ति सम्पन्न हुनका लागि कमसेकम २४ चोटी क्रान्ति हुनुपर्छ भनी एकैचोटी सम्पूर्ण क्रान्ति हुने कुरालाई परिमार्जन गरिदिएको छ । यस्तो स्थितिमा पनि क्रान्ति एकैचोटी र एकै किसिमले सम्पन्न हुन्छ भन्ने जुन शास्त्रीय मान्यता छ, त्यसमा परिवर्तन आएको छ ।
विश्वका ठूल्ठूला परिवर्तनहरु
अहिले बसिरहेको विश्व फेडेरल क्रास्टो र चे ग्वेभाराले नवक्रान्ति गरेकोभन्दा पूर्णतः भिन्न व्यवस्थामा विश्व रहेको छ । अझ चीनले गरेको जनवादी क्रान्तिको भन्दा अलग किसिमको विश्व परिस्थितिमा रहेको छ । यो पेरुको क्रान्ति र भारतमा नक्सलवादी क्रान्तिको समयभन्दा पनि भिन्न रहेको छ । यसको कारण सोभियत संघ र पूर्वी युरोपको राज्य संरचनाको पतनले मात्र समाजवादी क्रान्तिमा धक्का लागेर प्रतिरक्षात्मक स्थितिमा पुगेको होइन । वैज्ञानिक प्राविधिक, सञ्चारको बढ्दो भूमिका, इलेक्ट्रोन ऊर्जाले सम्पूर्ण क्षेत्रमा ल्याएको प्रभाव तथा संसारीकरणको प्रवृत्तिसमेत रहेका छन् । यद्यपि चीनले यो आर्थिक र राजनीति विश्वव्यापीकरणलाई नयाँ मोड दिन प्रयास गरेकोले नयाँ खालका क्रान्तिको सम्भावना खुलेको देखिएको छ । उत्पादनको पद्धति, प्रक्रिया र वितरणमा समेत परिवर्तन भएको छ । संसारमाथिको अति दोहन, पर्यावरण र जलवायु परिवर्तनको समस्या, नयाँ रोगव्याधिको समस्याले गर्दा आपसी सहयोग र सहकार्य अनिवार्य गरिदिएको छ ।
इलेक्ट्रोनिक ऊर्जाबाट विकास गरिएको साइबरनेटिक प्रविधिको विकासले वास्तविक समय भौगोलिक स्तरमा एक इकाइ भई विश्व नै सानो गाउँमा परिणत भएको छ । उत्पादन प्रक्रियामा पनि अन्तर्राष्ट्रियकरण भएको छ । ई–विजिनेस सुरु भइसकेको छ । बहुर्राष्ट्रिय कम्पनीको अन्तर्राष्ट्रियकरण भएको छ । यिनै अन्तर्राष्ट्रिय कम्पनीले विश्वव्यापी शोषण र नियन्त्रण गरेका छन् । राजनीति यिनकै छायाँमा परेका छन् । बहुर्राष्ट्रिय कम्पनीहरुले कुनै प्रतिवन्धबिना आफ्नो राष्ट्रको स्वार्थअनुसार काम गर्ने गरेका छन् । तर, सन् २००७ देखिको विश्वमन्दीले पुँजीवादी मुलुकहरु संकटमा परेका छन् । सन् १९९७ पछि जापानलगायत एसियाका पुँजीवादी राष्ट्रहरु संकटबाट केही मुक्त भएपछि उनीहरु हतियारको दौडमा लागेकोले अर्काे संकट पैदा भएको छ । वास्तविक अन्तर्राष्ट्रिय व्यापारको प्रवृत्ति फेरिएको छ । अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा परिवर्तन भएको छ ।
शक्तिकेन्द्र एसिया स¥यो
बीसौँ शताब्दीमा युरोपबाट अमेरिका र रुसमा केन्द्रित भएको शक्ति सन्तुलन सोभियत संघको पतनपछि एक ध्रुवीय शक्तिको नेतृत्व अमेरिकाले गरेकोमा अहिले यो शक्ति केन्द्र एसियामा सरेको छ । एसिया अहिले आर्थिक र राजनीतिको केन्द्र बनेको छ । यद्यपि शक्ति सन्तुलनमा परिवर्तन भए पनि पुँजीवादी साम्राज्यवादको नाइके अमेरिकाले पुनः आफ्नो सर्वाेच्चता स्थापना गर्ने उद्घोषसहित राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आक्रामक नीति अगाडि सारेका छन् । उनले साउदी अरेबियामा पुगेर खाडी राज्यलाई विभाजित गरेका छन् भने भारतलाई चीनका विरुद्धमा उचालेर नयाँ शक्ति दौड सुरु गराई जापान लगायतका पुँजीवादी मुलुकहरुलाई चीनविरुद्ध उतारेका छन् । चीनलाई घेर्ने प्रयास अझै जारी छ । तर चीन, सोभियत संघजस्ता देशहरुले आफ्नो विगतको सिद्धान्तअनुसार सहयोग र समृद्धिको नयाँ अवधारणा लिई अमेरिकामाथि दबाब सुरु गरेका छन् ।
अहिले विश्वमा लोकतन्त्रको चौथो लहर सुरु भए पनि यो पहिलाको तेस्रो लहरभन्दा भिन्न रहेको छ । बाहिर लोकतान्त्रिक देखिए पनि अधिनायकवादको संस्कृतिबाट नै उनीहरु पोषित रहेका छन् । पुरानो लोकतन्त्रले सामाजिक र आर्थिक विकासको स्तर जनताको बीचमा समर्थन जुटाएको र यसबाट लोकप्रियता हासिल गरी बुर्जुवा प्रतिनिधिहरुको हातमा सत्ता हस्तान्तरण गरेको थियो । तर वर्तमानमा लोकतन्त्र निष्क्रिय भएको छ र जनता विकास आदिका नाममा ऋणमा डुबेका छन् ।
जनतामा व्यापक असन्तुष्टि
विश्वमा भएका विज्ञान र प्रविधिको विकास तथा भएका परिवर्तनले मानिसहरुलाई सन्तुष्ट पार्न सकेको छैन । सबैमा असन्तुष्टि, निराशा र आक्रोश देखिन्छ । यो सामाजिक सञ्जालबाट थाहा हुन्छ कि नेपालमा भएको परिवर्तनबाट पनि कोही सन्तुष्ट देखिँदैनन् । पूर्वराजादेखि पूर्वकमलरीसम्म असन्तुष्ट र आक्रोशित देखिएका छन् । प्रधानमन्त्रीदेखि र कार्यालय सहयोगीसम्म असन्तुष्ट छन् । व्यापारी, श्रमिक वर्ग सबै असन्तुष्ट रहेकोले आम असन्तुष्टि अहिलेको चरित्र भएको छ । अझ पढेलेखेका शहरी बुद्धिजीवीहरु सबैभन्दा असन्तुष्ट रहेका देखिन्छन् । आफँैसँग मानिस आक्रोशित र असन्तुष्ट रहेको छ । मानिसको जीवनस्तरमा समेत ह्रास आएको छ ।
मान्छेहरुले विश्वव्यापीकरणमा आएको जीवनस्तरको ह्रासलाई गरिबको भूमण्डलीकरण भन्ने गरेका छन् । समृद्धि होइन, गरिबी, भोक, रोग र शोक विश्वव्यापीकरण भएको छ । सन् १९९० को भूमण्डलीकरणसँग नयाँ भूमण्डलीकरणको चक्रले सार्वभौमिक कष्ट, दुःख, असन्तुष्टि बढीभन्दा बढी सार्वभौमिक प्रतिक्रिया उत्पन्न भएको छ । आजको क्रूर पुँजीवादको विकृतिले सामाजिक जनतालाई जन्माएको छ ।
अर्थतन्त्रको जगमा राजनीति, क्रान्तिका साथै परिवर्तन हुने गर्दछ । माक्र्सको समयमा औद्योगिक पुँजीवादको समस्याको प्रतिक्रिया स्वरुप समाजवाद सिद्धान्त प्रतिपादन भएको हो । यसको उद्देश्य समाजलाई बुझ्नु नभएर परिवर्तन गर्नु रहेको थियो । लेनिनले एकाधिकार पँुजीवादको साम्राज्यवादको समाजवादलाई व्यवहारमा उतारेका थिए । माओले अर्धसामन्ती र अर्धउपनिवेशिक आर्थिक व्यवस्थामा क्रान्ति गरी नयाँ जनवादको सिद्धान्त प्रतिपादन गरेका थिए । यसको उद्देश्य अर्ध सामान्तवाद र अर्ध उपनिवेशबाट चीनलाई मुक्त गरी समाजवादमा फेर्नु रहेको थियो ।
नेपालमा वर्तमानको वामपन्थ आफ्नो समाजवादी क्रान्तिको कार्यभारलाई सम्पन्न गर्न सक्ने अवस्थामा रहेको देखिँदैन । यो वामपन्थ संकटमा छ, वामपन्थी शक्तिहरु विखण्डनमा छन् । यस्ता संकटहरु कार्यनीतिक संकट, सिद्धान्तको संकट, विश्वासको संकट गरी तीनवटा प्रमुख संकटहरु रहेका छन् । नेपालमा वामपन्थमा यो सैद्धान्तिक संकट आउनुमा सिद्धान्तको प्रणाली निर्माण गर्ने ऐतिहासिक अक्षमता नै हो । संघर्षको परम्परा र परिवर्तनको लागि क्षमतालाई पहिचान गरेर नेपालको वास्तविक अवस्थाको विश्लेषण गर्न नसक्नु नै संकटको मूल कारण हो ।
नेपालको वस्तुगत आवश्यकताको विश्लेषण गर्नुभन्दा विदेशको सिद्धान्तलाई नेपालमा जस्ताको त्यस्तै उतार्न खोज्नु सबैभन्दा ठूलो कमजोरी हो । अहिले कम्युनिष्टहरु चीनको नौलो जनवादलाई जस्ताको त्यस्तै उतार्नुलाई आफ्नो सिद्धान्त मान्दछन् । अहिलेका विश्लेषणहरु अमेरिकी, चिनियाँ, भारतीय, युरोपेली विश्लेषणको आधारमा हुने गरेकोले यो अवास्तविक विश्लेषणले संकट उत्पन्न गरेको हो । समाजवाद वा पुँजीवादको विरुद्धमा वैकल्पिक योजनाको अभाव हुनुले कार्यक्रमिक संकट र विश्वासको संकट उत्पन्न भएको छ । यसैले गर्दा राजनीतिज्ञ र रानीतिक दलहरुमा समेत विश्वसनीयतामा संकट उत्पन्न भएको छ । दक्षिणपन्थीहरुले वामपन्थीहरुको भाषालाई अपनाउनु र वामपन्थीहरु दक्षिणपन्थीतिर सर्नु पनि अहिलेको संकटको कारण बन्न गएको छ ।
नयाँ चुनौतीहरुलाई सामना गर्ने राजनीतिककर्ताहरु र दलहरु कम छन् । बोल्सेभिक र चिनियाँ क्रान्तिको अन्धानुकरण गर्दा अनेक किसिमको विचलनहरु आएका छन् । जातीय र सांस्कृतिक तत्वहरुलाई बेवास्ता गर्ने काम माओवादीबाहेक अन्य वामपन्थी पार्टीहरुले गरेका छन् । राज्य सत्ताका सुरक्षाकर्मीहरुमाथिको आक्रमणलाई क्रान्ति ठान्ने काम भइरहेको छ । लोकतन्त्रलाई कम महत्व दिने काम पनि कम्युनिष्ट पार्टीहरुले बेला मौकामा गरिरहेका छन् । नेपालका वामपन्थी पार्टीहरुमा अनेक गल्तीहरु हुँदै आएका छन् । सिद्धान्त र दर्शनमा संकट छ । दर्शन र व्यवहारमा अन्तर रहेको छ । वामपन्थी पार्टीहरु लेनिनवादी संरचना सिद्धान्तमा आधारित हुनुपर्नेमा विस्तारै उदारवादी दक्षिणपन्थीहरुजस्तै उदारवादी र सुधारवादी भएका छन् ।
अहिले नेपालमा रहेका वामपन्थी पार्टीहरु, राजावादी पार्टीहरु, उदारवादी पुुँजीवादी पार्टीहरु, मधेशवादी पार्टीहरु र यसका नेता र कार्यकर्ताबीच वैचारिक रुपमा भिन्नता छुट्याउनै नसकिने भएको छ । कम्युनिष्टहरुको आचरण र व्यवहारमा बुर्जुवा कार्यशैली, चिन्तन र व्यवहार रहेको छ । कार्यकर्ताहरुको जिम्मेवारी तथा नेतृत्व वर्गको दायित्वको कुनै टुंगो छैन । सिद्धान्त र व्यवहारबाट भन्दा नातागोता, कुलकुटुम्बले प्राथमिकता पाएको देखिन्छ । यसो हुनुमा शासक विचारधारा र सत्तामा पुग्ने सुविधाको विचारधाराले शक्तिशाली भूमिका खेल्नु नै विभाजन र विकृतिको मूल कारण बनेका छन् । पार्टी र नेताहरु गुठी जस्तै भएका छन् र नेताहरु गुठियारजस्तै मालिक भएका छन् । क्रान्तिको योजना बनाएर जनताबीच जानुभन्दा क्रान्तिकारी गफ गर्ने बुर्जुवा चिन्तन नै हाबी भएको छ ।
किन खुले यति धेरै कम्युनिष्ट पसलहरु ?
नेपालमा वामपन्थी आन्दोलन विस्तारै सुधारवादमा रुपान्तरण हुँदै गएको छ । सुधारहरु क्रान्ति टार्नका लागि गरिँदैन र क्रान्ति पनि सधैँ हिंसात्मक हुन आवश्यक छैन । तर नेपालका कम्युनिष्टहरुले यी सुधार र क्रान्तिबीचको भिन्नतालाई गजाङमजाङ गरिदिएकोले अन्योल उत्पन्न भएको हो । सुधार क्रान्ति टार्न मात्र गरिने दक्षिणपन्थी संशोधनवादको रुपमा लिने र क्रान्ति हतियार वा हिसांत्मक मात्र हुनुपर्छ भन्ने जुन दृष्टिकोण नेपालमा मुखरित भएका छन्, यो सैद्धान्तिक कुरा गलत ढंगबाट प्रयोगमा आएको छ । अहिले बामपन्थीहरुले सामना गरेका चुनौतीहरुमा परम्परागत राजनीतिक व्यवहार, आचरण तथा संस्कारहरुले गर्दा भएको हो । को वास्तविक र को नक्कली कम्युनिष्ट हो भन्ने पनि छुट्याउन कठिन भएको छ । नेपालका सबै कम्युनिष्ट पार्टीहरु एउटै मध्यमवर्गीय बुर्जुवाबाट आएको हुँदा उनीहरुको चिन्तन र व्यवहारमा सर्वहारावादीकरण नहुनु नै अहिलेको प्रमुख समस्याको रुपमा रहेको छ ।
नेपाली जनतामा कम्युनिष्ट पार्टीहरुप्रति बढ्दो जनमत देखिए पनि परिणाममा कम्युनिष्ट पार्टीहरु कमजोर अवस्थामा रहेका छन् । नेपालमा कम्युनिष्ट भनेका माओवादीहरु नै हुन् भन्ने मान्यता जबरजस्त परेको छ । माओवादीले जनयुद्धपछि संविधानसभामा पहिलो स्थान ल्याउन सक्यो तर पछि घटेर तेस्रो स्थानमा पुगेको छ । यसको मूल कारण पार्टीभित्र व्यक्तिवादी प्रवृत्ति बढ्दै गयो । नेतृत्वमा भ्रष्टीकरण भयो । इमान्दार नेता कार्यकर्ता निराश भई पाखा लागेका छन् । माओवादीको केही कमजोरी र संसदवादीहरुको अतिवादी सोचले संविधान निर्माणमा अनेक समस्या भोग्नुप¥यो । यसै विन्दुबाट पार्टी विभाजित भयो । नेपालमा माओवादीकै एजेण्डाले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीसहितको सामाजिक न्याय जस्ता उपलब्धिले कम्युनिष्ट आन्दोलनलाई एक चरण अगाडि बढाएको छ । माओवादीले शान्ति सम्झौताको उपलब्धिको भरपुर उपयोग गरे पनि त्यही रुपमा उत्पादनको व्यवस्थापन गर्न नसक्दा विभिन्न संकटहरु भोग्नु परेको छ । जनयुद्ध पूर्णरुपमा विजय नभएकाले यो स्थिति आएको हो ।
सामाजिक परिवेश कम्युनिष्टहरुले भनेजस्तो नहुँदा, सर्वहारा संस्कृतिको निर्माण गर्न नसक्दा, अनुशासन कायम गर्न नसक्दा पद र प्रतिष्ठाको महत्वाकांक्षाले पार्टीलाई नै तहसनहस पारिदिएको छ । गुटबन्दी, पद र पैसाको लागि मरिमेट्ने बुर्जुवा प्रवृत्तिले ग्रस्त रहेको छ । यसैले गर्दा माओवादीले बाहिरबाट समस्याभन्दा पनि पार्टीभित्रैबाट समस्या भोग्नु परेको छ । पार्टी केन्द्रमा कार्यकर्ता नीति नहुनु र कार्यकर्ताले पार्टी आन्दोलनमा आफ्नो भविष्य नदेख्नु अथवा पार्टीको कामलाई दोस्रो र आफ्नो निजी कामलाई पहिलो प्राथमिकतामा राख्नु नै माओवादी आन्दोलनको मुख्य समस्याको रुपमा रहेको छ । पार्टीभित्र लोकतान्त्रिक केन्द्रीयकरणको अभाव छ । नेतृत्वको केन्द्रीयकरण छ तर लोकतन्त्र नभएकोले यो नेतृत्व तानाशाही र कार्यकर्ताहरु छाडा भएका छन् । परिणामस्वरुप जनतासँगको सम्बन्ध टुटेको छ । निर्णय प्रक्रियालाई कार्यकर्ता र जनतासँग गाँस्न सकिएको छैन ।
सैद्धान्तिक अन्योलता
कम्युनिष्ट पार्टीहरुबीच कार्यनीति नै छैन । आफ्नै कार्यकर्ताको क्षमताको पहिचान गरी क्षमताअनुसार काम दिइएको छैन । आफू वरिपरि घुम्नेहरुलाई नै कार्यकर्ता ठान्ने प्रवृत्ति रहेको छ । पार्टी हेडक्वार्टर दरबार बनेको छ । कार्यकर्तालाई नेतासँगको पहुँचभन्दा टाढा राखिएको छ । नेताहरु छोटे राजामा परिणत भएका छन् । कार्यकर्तामा समेत द्विविधा उत्पन्न भएको छ । लामो समयसम्म काम गरेको कार्यकर्ताले समेत आफ्नो समस्या प्रत्यक्ष आफ्नो पार्टीसँग राख्न नसक्दा पार्टीभित्र रहँदा आफ्नो उन्नति छ वा पार्टी छाडेर निजी कार्यमा लाग्दा आफ्नो भलाइ छ भन्ने निर्णय गर्न सकेका छैनन् । यो क्रान्तिका लागि सबैभन्दा ठूलो समस्या हो ।
वर्तमान अवस्थामा माओवादी आन्दोलनमा लागेकाहरु समेत पद, पैसा र शक्ति तथा सत्ताको पछि लागेका छन् । पार्टीले पनि ठूला पुँजीपति, भ्रष्ट कर्मचारी र तस्कर व्यापारीहरुसँग घनिष्टता जोड्दै गएकोले पनि माओवादी आन्दोलन आलोचित भएको छ । जनतामा विस्तारै निराशा र आक्रोशसमेत देखिएको छ । कम्युनिष्ट आन्दोलनलाई पुनःजीवित गर्नका लागि कार्यकर्ता नीतिलाई व्यवहारमा उतार्नु जरुरी छ । यसअन्तर्गत क्षमता विकास गर्ने अवसर दिई क्रान्तिको काममा लगाउनु हो, दोस्रो कुरा नेपालको समकालीन परिस्थिति र विश्व परिस्थितिअनुसार नै सिद्धान्त, दर्शन, रणनीति र कार्यनीतिको पुनर्भाष्य गरी नेपालको साम्यवादी आन्दोलनमा तालमेल मिलाउनु नै रहेको छ । तेस्रो कुरा गुटमा विभाजित आन्दोलनलाई मूलधारमा ल्याउनु, भ्रममा परेका, द्विविधामा परेका र अलमलिएकालाई पुनःस्थापित गर्नु रहेको छ ।
नेपाल कम्युनिष्ट पार्टीको निर्माण भएको पनि ६५ वर्ष पुगिसकेको छ तर यसले अझै पनि निश्चित मार्गमा अगाडि बढ्न नसकी अन्योलमा रहेको छ । यो राणाकालको अन्त्यमा स्थापना भएको पार्टी हो । यसले मुख्य शत्रुको रुपमा राणाशाही र राजतन्त्रलाई लिएको थियो । अहिले राणाशाही र राजतन्त्रको अन्त्य भइसकेको छ, यो अवस्थामा प्रमुख मित्र र प्रमुख शत्रु शक्ति को हो भन्ने छुट्याउन सकेको देखिँदैन । नेपाल बहुराष्ट्रिय र अल्पसंख्यक र बहुसंस्कृति, बहुधर्म र बहुभाषा भएको र हजारौँ वर्षदेखि हिन्दू वर्णाश्रम धर्म, बुद्धको निष्क्रियतावादी सिद्धान्त, किरातहरुको प्रकृतितर्पmको मोहको सिद्धान्त, थारु, खस, मधेशी समुदायमा देखिएको विभाजित चरित्र नै अहिलेका प्रमुख चुनौती रहेका छन् । जाति जनजाति, आदिवासी, अल्पसंख्यक र मूलधारबाट बहिस्कृत भएका जनतालाई एउटै मूलधारमा ल्याउनु र उनीहरुमा रहेको सामाजिक अन्तरविरोधलाई हल गर्नु अहिलेको प्रमुख चुनौती हो । यसैलाई समावेशीकरण माध्यमबाट हल गर्न खोजिए पनि यो सफलतापूर्वक सम्पन्न हुन सकेको देखिँदैन । यसले सैद्धान्तिक र दार्शनिक समस्यासमेत पैदा गरिदिएको छ । दलित, महिला, आदिवासी तथा विभिन्न जनजातिहरु तथा पछाडि पारिएका क्षेत्रहरुलाई अहिले उनीहरु समाजवादी क्रान्ति गरी सबैलाई समान र स्वतन्त्र बनाउनका सट्टा आ–आफ्ना भागबन्डा र सबै क्षेत्रमा अंशबन्डा खोजिरहनु पनि अर्काे गम्भीर चुनौती भएको छ ।
विज्ञहरु भन्छन्, कम्युनिष्ट सिद्धान्त औद्योगिक पुँजीवादको समयमा युरोपेली संस्कृति र परम्परामा विकसित भई हुर्केको सिद्धान्त हो । यो रुस, चीन, बेलायतबाट विभिन्न चरणमा विकसित भएको सिद्धान्त हो । १९औँ शताब्दीमा औद्योगिकीकरणको प्रतिक्रियाको रुपमा सुरु भएको यो कम्युनिष्ट विचारधारा माक्र्सवाद हो । तर दुई शदाब्दीबीचमा विश्वमा सबै क्षेत्रमा परिवर्तन भइसकेको छ । उत्पादन, उत्पादन पद्धति, वितरण पद्धति, श्रम र श्रमको परिभाषामा समेत परिवर्तन भएको छ । हिजोका निलो कलरको श्रमिकको ठाउँ रोबर्टले लिँदै छ भने नयाँ इन्टेलिजिन्सीया वर्ग नयाँ सुविधा सम्पन्न श्रमिक वर्गको रुपमा विकसित भएको छ । सुरुमा विस्तारै कम हुँदै गएको मध्यम वर्ग अहिलेको अवस्थामा निर्णायक स्थितिमा पुगेको छ । पुँजी र पुँजीको परिभाषा परिवर्तित भएको छ । औद्योगिक पुँजीवाद, एकाधिकार पुँजीवादको स्थान दलाल पुँजीवाद र तस्कर पुँजीवादले लिएको छ, यसले नयाँ समस्या खडा गरिदिएको छ । भ्रष्टाचार दलाल पुँजीवादको काखमा हुर्केको छ । ऊर्जाशक्ति समेत पशु र शारीरिक ऊर्जाबाट कम्बरसर्न इन्जिन, फोर्सिल इन्धनबाट विद्युतीय उर्जा, विद्युतीय चुम्बकीय ऊर्जाबाट नयाँ इलेक्ट्रोनिक ऊर्जामा फेरिएको छ । यो इलेक्ट्रोनबाट उत्पन्न भएको ऊर्जाले विश्वलाई परिवर्तित गरिदिएको छ ।
नेताहरुमा चेतना आउन पर्ने हो
नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको पनि ६८ वर्ष पूरा भई सकेको छ । जहानियाँ राणा शासनको सामन्तवादलाई समाप्त गरी पुँजीवादी जनतन्त्रको स्थापना गर्ने उद्देश्यले स्थापना भएको तत्कालीन कम्युनिष्ट पार्टी अहिले संविधानसभाबाट समाजवाद उन्मुख संविधान घोषणा गरेपछि समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको छ । नेपाल कम्युनिष्ट पार्टीले विभिन्न आरोह अवरोह पूरा गरी यो ६८ वर्षको उमेरमा विभिन्न गुट, उपगुटमा सिद्धान्तमा विभाजित भई नेपाली जनताको घरआँगनमा पुग्न सकेको अवस्था रहेको देखिएको छ । नेपालमा कम्युनिष्ट पार्टीको स्थापना २००६ साल वैशाख ९ गते लेनिन जयन्ती २२ अप्रिल १९४९ मा कोलकातामा स्थापना भएको थियो । नेपालको कम्युनिष्ट आन्दोलनका जानकार प्रा.डा. सुरेन्द्र के.सी.को विचारमा पुष्पलालको नेतृत्वमा स्थापना हुँदादेखिको संकीर्णता र विवाद भए पनि नेपालमा ७० प्रतिशतभन्दा बढी जनतामा कम्युनिष्ट विचार पुगिसकेको छ ।
नेपालमा कम्युनिष्ट पार्टीले विभिन्न चरण पूरा गरेको छ । यसले कहिले दक्षिणपन्थी, कहिले वामपन्थी उग्र लाइनलाई समेत अपनाएर अघि बढेको देखिन्छ । २००८ सालमा केआई सिंहको काण्डलाई लिएर समर्थन गरी सशस्त्र विद्रोहको समर्थन गरेकोले पाँच वर्षसम्म भूमिगत हुनु परेको थियो । यो प्रतिबन्धित अवस्थामा कम्युनिष्ट पार्टीले किसान आन्दोलन, विद्यार्थी आन्दोलन, मजदुर आन्दोलन लगायतका विभिन्न आन्दोलन गरेको थियो भने यसबेलादेखि नै नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रियताको आन्दोलनलाई चर्काएर कम्युनिष्ट पार्टी मात्र वास्तवमा राष्ट्रवादी शक्ति हुन् भन्ने कुरा स्थापित गर्न सकेको थियो । सशस्त्र विद्रोहलाई समर्थन गरी प्रतिबन्धित हुनु परेको वामपन्थी उग्रवादी धारबाट एकाएक वि.सं.२०१३ सालमा वैधानिक राजतन्त्रको नेतृत्वलाई स्वीकार गरी प्रतिबन्धबाट खुल्ला भयो । यस कालमा दोस्रो महाधिवेशनमा फ्लोरा दरबारमा माग गरी दरबारको निकट हुन पुगेकोले तीन धार प्रष्ट रुपमा देखिन पुग्यो । पहिला गणतन्त्रवादी धार, दोस्रोमा राजतन्त्रवादी धार र तेस्रोमा मध्यपन्थी धार देखिएका थिए ।
कम्युनिष्ट पार्टीले २ वटा पक्षलाई आफ्नो सिद्धान्तको रुपमा अघि सारेको थियो । पहिलो साम्यवादी विचारधाराअन्तर्गत गणतन्त्रवादी र दोस्रोमा राष्ट्रवादी शक्तिको रुपमा राजतन्त्रवादीको रुपमा परिचय बनाउन सकेको थियो । वि.सं. २०१७ सालमा संसदको हत्या गरी पञ्चायती व्यवस्थाको स्थापना गरेपछि नेपाल कम्युनिष्ट पार्टीको पनि दोस्रो चरण सुरु भएको थियो । यो चरणमा सैद्धान्तिक रुपमा विभाजित भएको कम्युनिष्ट पार्टीमा नै गुट, उपगुट र फुट सुरु भयो । यसका महामन्त्री केशरजंग रायमाझीले राजतन्त्रलाई स्वीकार गरी राजसभाको सदस्य भएर बसे । अर्काे गणतन्त्रवादी समूहको नेतृत्व पुष्पलालले लिन पुगेका थिए र छुट्टै तेस्रो अधिवेशन गरी कम्युनिष्ट पार्टीको समान्तर पार्टीे स्थापना गरे । यस अवस्थामा नेपालमा ३९ वटा भन्दा बढी कम्युनिष्ट घटकहरु बनेका थिए । यसैबेला पूर्वका युवाहरुले वर्ग शत्रु सफाया आन्दोलन भनी झापा किसान क्रान्तिको सुरुवात समेत गरे । यो आन्दोलनलाई ‘टाउको काटुवा आन्दोलन’को रुपमा समेत चिनिन्छ । यसपछि नै चौथो आन्दोलन गरी मोहन विक्रम सिंहको नेतृत्वमा नयाँ आन्दोलन सुरु भयो । यी दुवै धार पञ्चायतविरोधी धारका रुपमा रहेका थिए । २०४६ मा कांग्रेससँग एकता गरी आन्दोलन गरेर पञ्चायत व्यवस्थालाई समाप्त गरी संवैधानिक राजतन्त्रअन्तर्गतको लोकतान्त्रिक व्यवस्थासमेत सुरु भएको थियो । यो आन्दोलनलाई पुष्पलालको एकीकृत आन्दोेलन सिद्धान्तको विजयको रुपमा समेत लिइन्छ । यसरी गुट फुट एकताको दोस्रो चरण २०४७ सालमा कम्युनिष्ट पार्टीले पार ग¥यो । तर २०४७ साल सम्ममा पनि एक दर्जनभन्दा बढी कम्युनिष्ट घटकहरु रहेका थिए ।
२०४७ पछि कम्युनिष्ट पार्टीले तेस्रो चरण सुरु ग¥यो । त्यसबेला विभिन्न घटकमा विभाजन भएका एकिकृत माक्र्सवादी, लेलिनवादीको जन्म भयो । निर्वाचनबाट संसदमा दोस्रो ठूलो पार्टीको रुपमा विपक्ष दलको हैसियत प्राप्त ग¥यो । दोस्रो निर्वाचनबाट पहिलो ठूलो पार्टीको रुपमा नेपालमा पहिलो चोटी शासनमा पुगेको थियो । तर त्यसबेला नेपाल कम्युनिष्ट एमालेले सैद्धान्तिक रुपमा युरो कम्युनिज्मको सिद्धान्तलाई स्वीकार गरेर संसदबाट नै समाजवाद ल्याउन सकिन्छ भन्ने दक्षिणपन्थी संसद्वादीतर्फ फस्न पुग्यो भने सबैखालका संसदीय विकृति र फोहोरी खेलमा संलग्न हुन पुगेपछि यो दल घोर दक्षिणपन्थी दलको रुपमा परिणत भयो ।
२०४० पछि विभिन्न विभाजन हुन पुगेको मशाल समूहले अन्ततः माओवादी पार्टीको रुपमा विकसित भई दश वर्षे जनयुद्ध गरेको थियो । यो वास्तवमा नववामपन्थी धारको रुपमा चे ग्वभाराको दक्षिण अमेरिकाबाट ग्रहण भएको भएपनि माओको विचारबाट लेस भएको भनी दीर्घकालीन जनयुद्धको सिद्धान्तमा आधारित थियो । यसको लक्ष्य, जनवादी गणतन्त्रको स्थापना गर्ने थियो तर क्रान्तिको उतारचढावमा संसद्वादी सात दलसँग दिल्लीमा बाह्रबुँदे सम्झौता गरी २०६२÷०६३ को संयुक्त जनआन्दोलनमा अवतरित भई ज्ञानेन्द्र शाहको सत्तालाई घुँडा टेकाउन सफल भयो । यसरी जनयुद्धदेखि शान्तिपूर्ण एकीकृत आन्दोलनमा अवतरण भयो ।
एकता र क्रान्ति नै मार्गचित्र हुनु पर्छ
दश वर्षको जनयुद्धपछि स्थापित भएको संविधानसभाबाट आठ वर्ष लगाएर संविधान निर्माण भयो । कतिपयले संविधान कार्यान्वयन निर्वाचपछि मात्र हुन्छ भन्ने गरेको पाइन्छ । तर संविधानसभाबाट संविधान घोषणा भएकै दिनदेखि संविधानको कार्यान्वयन शुरु भैसकेको छ, खाली केही संरचनाको गठन र सुदृढीकरण मात्र बाँकी रहेको छ । यो निर्वाचन पूरा हुने क्रममा छ । संविधानबाट गणतन्त्रको स्थापना, धर्मनिरपेक्षता, समावेशीकरण, संघीयताको व्यवस्था जस्ता कम्युनिष्टहरुका एजेन्डाहरु कार्यान्वयनको क्रममा रहेका छन् । संविधानसभाबाट समाजवादउन्मुख संविधान निर्माण भैसकेको छ । स्थानीय तहको निर्वाचनले सिंहदरबारको अधिकार गाउँमा पु¥याउँदै छ । आफ्नो शासन आफैँले गर्ने र आत्मनिर्णय र स्वशासनको अधिकार निर्वाचनबाट स्थापित भएपछि यो समाजवाद क्रान्तिको सफलताको पहिलो चरण हो ।
राजतन्त्रको अन्त्य भएको, समाजवादउन्मुख संविधान कार्यान्यनमा आइसकेकोले सामन्तवाद नष्ट भई पुँजीवादमा मुलुक प्रवेश गरिसकेको छ । यद्यपि पुँजीवाद दलाल पुँजीवाद, तस्कर पुँजीवाद र दुई नम्बरी पुँजीवादको रुपमा रहेकाले औद्योगिक पुँजीवादको पूर्ण अवस्था प्राप्त भएको छैन । यसैले कतिपयले पुँजीवादी जनवादको शास्त्रीय नारालाई छोड्न सकेको देखिँदैन । यसैगरी मुलुकमा सामन्तवादी अवशेषलाई पूर्ण सामन्तवाद देख्दै एकीकृत क्रान्तिको कसरत भइरहेको छ । अहिलेको अवस्थामा प्रधान अन्तरविरोध, पुँजीवाद हुनुपर्नेमा कम्युनिष्टहरुबीच नै सत्ता पक्ष र प्रतिपक्षको रुपमा एकअर्काबीच लडाइँ लडेर आफ्नै मौलिकताको आधारमा समाजवादी क्रान्तिको चरणसम्म पुग्न सकेकाहरुले जग हँसाउने काम जुन गरिरहेका छन्, त्यो साह्रै दुखदायी अवस्था रहेको छ ।
एमाले पार्टीले जनताको बहुदलीय जनवाद भनी संसदीय प्रतिस्पर्धाबाट सत्तामा पुग्ने टिटोवादी सिद्धान्तलाई अगाडि बढाएपछि उसले जतिसुकै उग्रनारा दिए पनि वास्तवमा लोकतान्त्रिक समाजवादको आर्थिक र राजनीतिक सिद्धान्तलाई बोकेर अगाडि बढिरहेको हो । यसका पछि लाग्ने केही कम्युनिष्ट घटकहरुले पनि आफूमा रहेको कुण्ठा र पार्टीका नाममा गुठियार बन्ने सोनामधारी नेताहरुको चलाखीपूर्ण कुराले जनतालाई अलमलाउने गरेको देखिएको छ ।
पुँजीवादमा वास्तविक अन्तरविरोध, पुँजीवाद विचारको कट्टर नीति लिएको, नेपाली कांग्रेस र उसका वरिपरिका दलहरु नै रहेका छन् । अहिले मुलुकभर मात्र होइन, तराईमा समेत कम्युनिष्ट प्रशिक्षितहरु र पुँजीवादी प्रशिक्षितहरुका बीचमा ध्रुवीकरण देखिएकोले यो स्थिति प्रष्ट हुँदै गएको छ । यी दलहरुको निकटता पूर्वराजा, हिन्दूवादी चिन्तन समेतको निकट हुने क्रम समेत बढेकोले मुलुकमा पूर्णतः कम्युनिष्ट पार्टी र गैरकम्युनिष्ट पार्टीहरुको ध्रुवीकरण तीव्र भएको अवस्था छ ।
यतिबेला पनि कम्युनिष्टहरु विभिन्न धारमा विभाजित भएर होइन, कम्युनिष्ट क्रान्तिहरुबीच एकताबद्ध भएमा मात्र समाजवादी क्रान्तिको लागि आवश्यक तयारी गर्न सकिने छ । अझ खासगरी एउटै सिद्धान्त र उद्देश्य लिएका माओवादीका विभिन्न घटकहरुबीच एकताबद्ध हुनु र आफूमा रहेका भ्रमहरु चिर्नु प्रमुख आवश्यक भएको छ । क्रान्ति मुखले बोलेर वा चिताएर वा ठूलो स्वर गरेर मात्र हुँदैन । यो क्रान्ति भन्ने कुरा निरन्तर अभियान चलाइरहने कुरा हो । शास्त्रीय मान्यता राख्ने वा आयातित मानसिकताले क्रान्ति सम्पन्न हुँदैन ।
अहिलेका कम्युनिष्टहरुको मुख्य कार्यभार भनेकै आपसमा रहेको अविश्वासलाई हटाएर सिद्धान्तलाई पूर्ण संगठित र परिमार्जित गरी नयाँ परिस्थितिअनुसार रणनीति र कार्यनीति अपनाएर समाजवादी क्रान्तिको लागि तयार हुनु हो । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ६९ वर्षपछि आएर बुझ्नुपर्ने कुरा के छ भने मुलुकलाई फेर्ने चाहनाले कम्युनिष्ट भएको हो भने सर्वप्रथम आफूलाई नै फेर्न सक्नुपर्दछ । आफू फेरिएपछि मात्र मुलुक र विश्वलाई नै फेर्न सकिन्छ । यसका लागि सबै वाम एक ठाउँ आई कम्युनिष्ट केन्द्र निर्माणमा लाग्दा कसो होला ?


















