चितवनबाट चुनाव लड्ने प्रचण्डको घोषणा

203

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट आउँदो संघको निर्वाचनमा उम्मेदवार बन्ने बताएका छन्।

पार्टीको वीरगञ्जमा सम्पन्न सचिवालय बैठकले आफूलाई चितवनबाट निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष प्रचण्डले बताए । प्रेस सेन्टर चितवनले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले जिल्लाको कुन क्षेत्रबाट निर्वाचनमा उठ्ने भन्ने विषयमा टुंगो नलागेको बताए ।

उनले भने, “पार्टीको जिल्ला तहबाट समन्वय गरेर क्षेत्र निर्धारण हुनेछ ।” देशका फरक÷फरक भूगोल र पृष्ठभूमिको उम्मेदवार बनेर अनुभव संलागेको बताउँदै उनले ती अनुभव र चितवनलाई केन्द्रीय राजनीतिमा जोड्नका लागि यहाँबाट निर्वाचन लड्न लागेको बताए ।

“माओवादी युद्धको उद्गमस्थल रोल्पा, राजधानी काठमाडौँ र तराईको प्रतिनिधित्व गर्दै सिराहाबाट यसअघि निर्वाचन लडेको थिएँ, अब आफ्नो कर्मभूमिबाट चुनाव लड्छु,” अध्यक्ष प्रचण्डले भने। आफू चितवनबाट निर्वाचन लड्दै गर्दा यहाँको विकास र राष्ट्रिय राजनीतिमा यस जिल्लाको महत्व झल्कने उनले भनाइ थियो ।

“मेरो राजनीतिक क्षेत्र चितवन हुनु यहाँका जनताका लागि महत्वपूर्ण हुने विश्वास लिएको छु,” अध्यक्ष प्रचण्डले भने । प्रदेश र संघको निर्वाचनमा समेत गणतन्त्र र लोकतन्त्रका पक्षधरसँग सहकार्य गर्ने उनले बताए । कांग्रेस, एमाले, मधेशवादी जोसँग पनि गठबन्धन हुनसक्ने प्रचण्डको भनाइ थियो ।

“अहिलेको समयमा सत्ता गठबन्धन काँग्रेससँग भएकाले काँग्रेससँगको तालमेललाई विशेष प्राथमिकतामा दिइएको हो,” उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here