वाम एकीकरणपछि सच्चिएलान् त यी राष्ट्रघातहरू ?

162
aa

–निमकान्त पाण्डे–

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टीबीच चुनावी तालमेलको नाममा सुरु भएको एकीकरण प्रयासले देशको राजनीतिमा एक किसिमको तरंग उत्पन्न गराएको छ । कम्युनिष्ट पार्टीहरू विभाजित हुँदा चिन्तित हुनेहरूलाई यो एकीकरणको प्रयास निश्चय पनि सुखद सन्देश बन्न पुगेको छ । परन्तु यतिमा मात्रै सन्तुष्टि लिइहाल्नुपर्ने अवस्था भने देखिंदैन । २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको गठन भएदेखि कम्युनिष्ट पार्टीभित्र सुरु भएका विभाजनका श्रृंखलाहरू निकै अत्यासलाग्दा पाइन्छ । झापाबाट उठेको सशस्त्र आन्दोलनका कमरेड ‘उत्तम’ अर्थात केपी ओली र दश वर्षे जनुद्धका कमरेड ‘प्रचण्ड’ अर्थात पुष्पकमल दाहाल यतिबेला नेपालको कम्युनिष्ट आन्दोलनको चर्चित व्यक्तित्व हुनुहुन्छ । दुवैजना नेताले देशको प्रधानमन्त्रीको जिम्मेवारी पनि सम्हालिसक्नुभएको छ । सत्ताको स्वाद कस्तो हुन्छ भन्ने अनुभव दुवैजनाले गरिसक्नुभएको छ । दुवैजना आ–आङ्खना पार्टीका प्रभावशाली नेताका रूपमा चर्चित रहेको अवस्थालाई दुवै पार्टीलाई एकै ठाउँ राख्ने सहमति यी दुवै नेताबीच हुन पुग्नु निश्चय पनि खुशीको कुरा हो । दुवैजना नेतालाई देशका जनताले कम्युनिष्ट पार्टीका नेताका रूपमा स्वीकारेका छन् । दुवैजनाले कम्युनिष्ट आन्दोलनका निम्ति हतियार उठाएर जोखिमपूर्ण राजनीति गर्दै वर्गवैरीहरूसँग लडाइँ लड्दै आएका र ओजपूर्ण इतिहास बनाउन सफल भएको तथ्यलाई लुकाउन सकिंदैन । झापा आन्दोलन र माओवादी दशवर्षे जनयुद्धले नै दुवैजनालाई देशको शीर्ष राजनीतिक व्यक्तित्व बनाएको हो भन्ने कुरा यी दुवै नेताले बिर्सिएनन् भने यो एकीकरण निश्चय पनि नेपालको कम्युनिष्ट अन्दोलनमा ऐतिहासिक साबित हुने विश्वास गर्न सकिन्छ ।

कमरेड ‘उत्तम’ र कमरेड ‘प्रचण्ड’ संविधान निर्माण गर्न गठन भएको संविधानसभामा क्रमशः दोस्रो र तेस्रो राजनीतिक दलको हैसियतमा रहनु भएको थियो । यी दुवै नेताले चाहेको भए संविधानसभाबाट जनपक्षीय संविधान बनाउन सकिने अवस्था थियो । अझ संविधान सभाको चुनावलाई बहिष्कार गरेर बाहिर बसेका कम्युनिष्ट पार्टीहरूलाई समेत समेटेर अगाडि बढ्न सकेको भए संविधानलाई निश्चय पनि जनअपेक्षित रूपमा बनाउन सकिने थियो र एक किसिमले राजनीतिक आन्दोलन सफल भएको निष्कर्षमा पुग्न सकिने थियो । एकले अर्काको अस्तित्वलाई निमिट्यान्न पार्ने दूराकांक्षाकै कारणबाट संविधानलाई अत्यन्त विवादित बनाउने काम भयो । संविधानसभाबाट जनपक्षीय संविधान आउन सक्दैन भनेर दोस्रो संविधानसभाको चुनावी प्रक्रियाबाटै अलग भएको तत्कालीन वैद्य नेतृत्वको नेकपा–माओवादीले आङ्खनो अडानमा व्यापक समर्थन प्राप्त गरिरहेको थियो । दोस्रो संविधानसभाको चुनावमा सहभागी भई संविधानसभामा प्रतिनिधित्व गर्न पुगेका धेरैजसो दलहरू पनि संविधानसभाबाट बाहिरिएका थिए । संविधानसभाबाट जनपक्षीय संविधान देऊ भन्दै सडकमा पुगेका राजनीतिक दलहरूलाई संविधानसभा भित्रका दलहरूले निषेध गरेर अगाडि बढ्दा आजको अवस्था सृजना भएको हो । संविधानले संशोधनका श्रृंखलाहरू पार गर्नुपर्ने अवस्था सृजना गराइएको छ । अहिलेको वाम एकीकरणको नाममा सुरु भएको एकता प्रक्रियामा सामेल भएका एमाले र माओवादी केन्द्रबीच पनि संविधान संशोधनको सवालमा मतभिन्नता रहेको छ । त्यसैले यो एकतालाई संविधान संशोधनको पक्षमा प्रयोग गर्ने वा विपक्षमा प्रयोग गर्ने ? यो गम्भीर प्रश्नको जवाफ एकीकृत हुन प्रयास गरिरहेका दलका नेताहरूले जनतालाई दिनुपर्ने छ ।
नेपालको कम्युनिष्ट आन्दोलनमा निकै कठोर यात्रा सम्पन्न गरिसकेका केपी ओली अर्थात् कमरेड ‘उत्तम’ र पुष्पकमल दाहाल अर्थात् कमरेड ‘प्रचण्ड’ले आङ्खनो राजनीतिक जीवनमा आएको परिवर्तनलाई नै राजनीतिक उपलव्धिका रूपमा लिनुभयो भने नेपालको कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खाने छ । उहाँहरूले भूमिगत राजनीति गरिरहँदा जनताका झोपडीहरूमा बास बसेको सम्झना गर्नु जरुरी छ । जनताका झोपडीहरूमा च्यातिएका परालका सुकुलहरूमा पलेटी कसेर वसी खाना खाएको र फुटेका घैंटोबाट पानी निकालेर पिएको सम्झना अब उहाँहरूको मानसपटलमा आउनु पर्दछ । राजधानीमा आलिसान महलहरूमा बस्न पाएपछि र चौरासी व्यञ्जनहरूमा रमाउन पाएपछि जनताका घरका सुकुल र फुटेका घैंटाहरूलाई बिर्सिनु हुँदैैन ।
जनतालाई चासो भएको विषय भनेको फुटेको घैंटो फेरेर कहिल्यै नफुट्ने तामाको गाग्रीको व्यवस्था गर्ने हो । च्यातिएको सुकुलको ठाउँमा नच्यातिने वेञ्च र टेवुलको व्यवस्था हुनुपर्छ भन्ने जनताको चाहना हो । जनताले आफूलाई ज्वरो आएको बेला सजिलैसँग सिटामोल खान पाउने व्यवस्था चाहन्छन् । जनताले आफूलाई साँझ–विहानको छाक जुटाउन रोजगारी र आङ्खना सन्तानलाई पढ्न पाउने व्यवस्था चाहन्छन् । यस्ता जनताका चाहनाका निम्ति नै यी दुवै नेताहरूले हतियार उठाएर लामो संघर्ष गरेका हुन् । परन्तु हतियार उठाएर थालिएको क्रान्तिको उद्देश्यलाई बिर्सिएर छिमेकी देशको स्वार्थमा उपयोग हुने र आफ्नो सत्ता टिकाउने गलत प्रवृत्तिले दुवै नेतालाई सैद्धान्तिक र वैचारिक धरातलबाट धेरै तल पु¥याइसकेको छ । यस्तो अवस्थाबीच भएको एकीकरण प्रयासले सार्थकता पाउँदै राजनीतिक जीवनका प्रारम्भिक लक्ष्य प्राप्तिलाई दुवै नेताले आ–आफ्नो गन्तव्य बनाउन सके भने निश्चय पनि यो एकता नेपाली जनताका लागि ठूलो उपलब्धि ठहर्ने छ ।
यो एकताले विगतमा भएका छिमेकी देशहरूसँगका असमान सन्धि सम्झौताहरूलाई खारेज गर्ने अभियानको थालनी गर्नु जरुरी छ । एमाले पार्टीको नेतृत्व तहबाट महाकाली सन्धिमा भएको राष्ट्रघातलाई सच्याउन जरुरी छ । त्यसैगरी माओवादी नेतृत्वले सशस्त्र युद्धबाट शान्ति प्रक्रियामा आएलगत्तै माथिल्लो कर्णालीको सम्झौता भयो । त्यो सम्झौता गर्नुमा एमालेको नेतृत्वपंक्ति पनि दोषी छ । अब दुवैको सम्मिलनपछि माथिल्लो कर्णालीमा भएको गल्तीलाई पनि सच्याउन जरुरी छ । ४ हजार १ सय ८० मेगावाट विद्युत उत्पादन गर्न सकिने योजना भनेर विश्व बैंकले निरीक्षण प्रतिवेदन तयार गरिसकेको माथिल्लो कर्णालीलाई ९ सय मेगावाट मात्र उत्पादन गर्ने गरी भारतीय कम्पनीलाई दिनु गल्ती मात्र नभएर गम्भीर राष्ट्रघात हो । त्यस्तै अरुण तेस्रो आयोजना पनि भारतीय कम्पनीलाई नै दिएर नेपालको जलसम्पदामा आफ्नो स्वामित्व गुमाउने काम गरिएको छ । यस्ता राष्ट्रघाती कामहरू वामपन्थको आवरणमा किन भए ? यी प्रश्न नेपाली जनताले सोधिरहने छन् । आप्रवासीलाई नागरिकता दिने नाममा खुला सिमानाबाट नेपाल भित्रिएका लाखौं भारतीय नागरिकहरूलाई नेपाली नागरिकता दिने राष्ट्रघाती काममा एमाले र माओवादी पार्टीका नेतृत्वपंक्ति गम्भीर रूपले जिम्मेवार छन् । यो गल्तीलाई कसरी सच्याउने ?
नेपाली जनताका छोराछोरीले पढ्न पाइरहेका छैनन् तर राजधानीका विद्यालय र कलेजहरू शैक्षिक माफियाको रूपमा लूट मच्चाइरहेका छन् । नेपाली जनताका छोराछोरी स्वास्थ्य उपचार पाईरहेका छैनन् । तर सैंयौंको संख्यामा अस्पतालहरू खुलेर लूट मच्चाइरहेका छन् । जनताले रोजगारी पाईरहेका छैनन्, तर बैंक तथा वित्तीय संस्थाहरूले वर्षेनी अर्बाै मुनाफा गर्ने सूदखोरी काम गरिरहेका छन् । नेपालको अर्थ व्यवस्थालाई धराशायी बनाउँदै नेपाली उद्योगपतिको आवरणमा विश्व अर्बपति बनेका व्यक्तिबाटै देशबाट पुँजी पलायन गर्ने काम भइरहेको छ । यसले अरु व्यापारीलाई आकर्षित गर्ने खतरातर्पm ध्यान पुग्न सकिरहेको छैन । गाउँवस्तीहरूका बलिया पाखुरा सबै विदेशतिर पलायन भएका छन् । गाउँ वस्तीहरू अभाव, अनिकाल र असुरक्षाले पीडित छन् । संविधानसभाले निर्माण गरिरहेको संविधानमा गाउँले जनताका यस्ता समस्याहरू सम्बोधन हुन पनि सकेन । संविधान निर्माण नहुँदै बन्नुपर्ने एकता प्रयास धेरै ढिलो भएको छ । ढिलै सुरु भए पनि यसले सार्थकता पाओस् र नेपाल राष्ट्र र नेपाली जनताका चाहनालाई सम्बोधन गर्न एकीकृत शक्ति सफल होस् । शुभकामना !      (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here