राज्यलक्ष्मी शाक्य
भर्खरै ठूला कम्युनिष्ट पार्टीहरू एकीकृत हुने अभियान सुरु भएको छ । यो अभियानले सफलता पाओस् भन्ने सर्वप्रथम कामना गर्दछु । हाम्रो देशमा यतिबेला ठूलो संकट सृजना भएको छ । यो संकटको सामना गर्न नेपाली जनताले देखाएको धैर्यलाई सामान्य रूपमा लिनु हुँदैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय नाकाबन्दीका विरुद्ध लिएको अडानले नेपालमा ओलीको राजनीतिक छवि निकै माथि उठ्यो । देशभक्ति अडानले राजनीतिक व्यक्तित्वको उँचाइ धेरै माथि उठाउन सक्छ भन्ने प्रमाणित भएको छ ।
दुई पटक निर्वाचन सम्पन्न भई संविधानसभाको गठन भएको र संविधानसभाको दुईतिहाइ बहुमतबाट संविधान निर्माण गरी जारी भइसकेको र स्थानीय तहको निर्वाचन समेत सम्पन्न भइसकेको छ । यो संविधान जारी भएपछि नेपाल आर्थिक विकासको गतिमा अघि बढ्ने आशा सर्वत्र पलाएको छ । तर संविधान जारी भएपछि सीमांकनका विषयमा तराईमा चलेको आन्दोलनले नेपाललाई अस्थीर पनि बनाएको छ । तराईको आन्दोलनले पूरै देश प्रभावित बनायो । आन्दोलनका क्रममा तराईलाई टुक्र्याउनेसम्मका आवाज पनि उठे । राष्ट्रिय स्वाधीनता अत्यन्त कमजोर बन्न पुगेको अवस्थाबीच दुई ठूला कम्युनिष्ट पार्टीहरू एकीकृत हुँदा उत्साह जागेको छ । संविधान जारी भइसकेपछि प्रमुख दलहरूलाई फुटाउनेदेखि विशेष दूतमार्फत् मुख्य दलका शीर्ष नेताहरूलाई धम्क्याउने तथा अघोषित नाकाबन्दी, एउटा स्वतन्त्र, सार्वभौमसत्तासम्पन्न र स्वाभिमान मुलुकमा छिमेकी मुलुकले गर्नै नहुने निकृष्ट काममा भारत खुलेर लाग्यो । भारत बृटिश शासनबाट सन् १९४७ मा मुक्त भएदेखि नै नेपालप्रति बक्रदृष्टि राख्दै आएको छ ।
विगतमा कैयौं पटक नाकाबन्दी गरेर नेपाली जनतामाथि अमानवीय व्यवहार गर्दै आएको भारतले यसपटक नेपालको संविधान निर्माण प्रक्रियामाथि नै प्रश्न उठाएर नेपालको राष्ट्रिय स्वाधीनता आफ्नो मुठ्ठीमा रहेको सन्देश प्रवाह गर्न खोजेको थियो । भारतको यस्तो प्रवृत्तिप्रति झुक्दै भारतसँग राष्ट्रघाती सम्झौता गर्ने नेपाली नेतृत्वका कारण नेपालको स्वाभिमान कमजोर हुँदै आएको थियो भने नेपाली जनताले समेत आफ्नो स्वतन्त्र मुलुकप्रतिको हस्तक्षेपलाई टुलुटुलु हेर्नुबाहेक कुनै विकल्प थिएन । तर यसपटक परिस्थितिले केही कोल्टे फेरेको अवस्था छ । दुई कम्युनिष्ट घटकको एकीकरणलाई विस्तारवादी शक्तिले निश्चय पनि आफ्नो हितमा देखेको छैन । भारतीय भूमिबाट नेपाली सुरक्षाकर्मीहरूमाथि ढुंगामुढा गर्नेसम्मका काम भएका थिए । त्यस्तो ज्यादतिपूर्ण कामले छिमेकीको सुरक्षा र संरक्षण पाउनु निन्दनीय हो । नेपाली जनताले आफ्नै प्रतिनिधिले तयार पारेको नयाँ संविधान पाए पनि यो संविधानलाई लागू गर्न नपाउनु दुर्भाग्यपूर्ण हो । त्यो पनि संसारकै प्रजातान्त्रिक मुलुक भनेर चिनिएको भारत जस्तो छिमेकी मुलुकले गरेको अवरोधका कारणबाट संविधान कार्यान्वयन हुन निकै कठिन भयो । स्थानीय तहको तीन चरणमा निर्वाचन हुनुपर्ने अवस्था पनि छिमेकी देशकै कारणबाट भएको हो । यी सबै अवरोधहरूलाई चिर्दै वाम पार्टीहरू एकीकृत हुनु खुशीको कुरा हो ।
संविधान निर्माणपछिको पहिलो प्रधानमन्त्री बनेका केपी ओलीसामु छिमेकी मुलुकको तीव्र हस्तक्षेप, मुलुकभित्रकै विभिन्न समुदाय र क्षेत्रको असन्तुष्टि तथा लामो समयदेखि अस्थीर रहेको मुलुकलाई निकाश दिँदै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने चुनौतीहरू थपिएका थिए । ती सबैमा तल्लीन रहेर दुई वाम पार्टीको गठबन्धन सरकारले राम्रै काम गरेको थियो । दुर्भाग्यवश विभिन्न षड्यन्त्रबाट गठबन्धन टुटाउने काम भयो । ढिलै भए पनि दुई वाम फेरि एक ठाउँमा आइपुगेका छन् । यसले जनतालाई उत्साह बढाउनु स्वाभाविक हो । सबैले विश्वास गरेको कुरा के हो भने कम्युनिष्टहरू अरु राजनीतिक चिन्तकहरूभन्दा जनपक्षीय र देशभक्त हुन्छन् । (- जनधारणा साप्ताहिक)
















