परमाणु हतियार निर्मुल पार्न पहल गर्ने अन्तर्राष्ट्रिय समूह(आइक्यान)लाई यसवर्षको नोबेल शान्ति पुरस्कार

216

ओस्लो(एजेन्सी) । सन् २०१७ को नोबेल शान्ति पुरस्कार परमाणु हतियार निर्मुल पार्न पहल गर्दै आएको अन्तर्राष्ट्रिय समूह (आइक्यान) लाई प्रदान गरिने भएको छ।
नोबेल समितिकी अध्यक्ष बेरिट राइस एण्डरसनले आइक्यानले आणविक हतियार मानवीय विनासको कारक बन्नसक्नेतर्फ ध्यान केन्द्रित गर्दै यसखालका हतियार प्रयोग तथा निर्माणमा रोक लगाउन गरेको प्रयास नै पुरस्कारका लागि आधार बनेको बताइन्।
उनले परमाणु अस्त्र भएका राष्ट्रले आफ्ना हतियारलाई विस्तारै हटाउनका लागि वार्ताको पहल गर्न आह्वान गरिन्।
नोबेल समितिले विश्वमा बनिरहेका परमाणु अस्त्रको प्रयोगको सम्भावना वर्षौं यताको तुलनामा सबभन्दा उच्च रहेको बताएको छ।
यसै बर्षको जुलाईमा विश्वका १ सय २२ राष्ट्रहरुले सबै परमाणु अस्त्र प्रतिबन्ध गर्दै निर्मूल पार्नका लागि बनाइएको संयुक्त राष्ट्रसंघको सन्धिमा हस्ताक्षर गरेका थिए ।
यद्यपि बेलायत र अमेरिकासहितका विश्वका नौ वटा परमाणु शक्ति सम्पन्न राष्ट्रहरुमध्ये कसैले पनि त्यसमा हस्ताक्षर गरेनन्।
सयौं गैरसरकारी संस्थाहरु सम्मिलित आइक्यान १० वर्ष पुरानो संस्था हो र यसको मुख्यालय स्वीटजरल्याण्डको जेनेभामा रहेको छ।
एघार लाख डलर सहितको पुरस्कार आगामी डिसेम्बरमा हुने एक कार्यक्रमबीच प्रदान गरिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here