बच्चा प्रयोग नगर्न निर्वाचन आयोगको उर्दी

245

काठमाडौं / आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न दलहरूलाई कडा चेतावनी दिंदै यस्तो उर्दी जारी गरेको हो । प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न, नगराउन सबै राजनीतिक दलहरूलाई उर्दी जारी गर्दै पुनः सचेत गराएका हुन् ।

 
निर्वाचनमा बालबालिकाहरूको प्रयोग भइरहेको गुनासो बढ्दै गइरहेका बेला बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आयोग निर्वाचनमा बालबालिकाहरूलाई प्रयोग हुन नदिन सजग र सचेत रहेको पनि स्पष्ट पारे ।

 
प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न सबै राजनीतिक दलका शिर्ष नेतृत्वसँग पटक–पटक आग्रह गरिएको पनि स्मरण गराए ।
प्रमुख निर्वाचन आयुक्त यादवले जिल्ला जिल्लामा निर्वाचनमा बालबालिका प्रयोग नगर्न सरोकारवाला निकायलाई अभियान नै संचालन गर्न पनि आह्वान गरे । उनले सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयसँग समन्वय गरेर निर्वाचनमा बालबालिका प्रयोग नगर्न अभियाननै संचालन गर्ने व्यवस्था गरिएको पनि स्पष्ट पारे ।

 
निर्वाचन आयोगले निर्वाचनमा बालबालिकाको प्रयोग हुन नदिनेगरी विद्यालय र त्यसका अभिभावकसँग सम्बन्धित संघ संस्थासंग विभिन्न अभियान संचालन गर्न पटक–पटक आग्रह गर्दै आएको छ । निर्वाचन आचारसंहितामा पनि निर्वाचनमा बालबालिकाको प्रयोग गर्न नपाउने उल्लेख गरिएको छ ।

 (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here