चुनावपक्ष भन्दा बहिष्कारपक्ष बलियो भएको संकेत

186

काठमाडौं / संविधानसभाले निर्माण गरेको संघीय गणतन्त्र नेपालको संविधान कार्यान्वयनका चरणमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा भइरहेका गतिविधिले संसदवादी राजनीतिक दलहरूलाई ठूलो धक्का भइरहेको महसुस गर्न सकिन्छ । सरकारमा सम्मिलित राजावादी र नेपाली कांग्रेसलगायतका राजनीतिक दलहरूले दमनको नीति अख्तियार गरिरहेका छन् । प्रतिपक्षी पृष्ठभूमिमा रहेको नेकपा (एमाले) र नेकपा (माके)बीच चुनावी गठबन्धन बनेपछि सत्ताको हालीमुहाली गर्न पाएको कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी युद्धकालमा झैं चुनाव बहिष्कार अभियानमा लागेकाहरूलाई उत्तेजित बनाउने शैलीका गतिविधिहरू गरिरहेका छन् । यसक्रममा बहिष्कार अभियानमा संलग्न भएको आरोपमा दर्जनौं पत्रकारहरू गिरफ्तार गरिएका छन् भने विप्लव नेतृत्व नेकपाका हजारौं कार्यकर्ताहरू पनि गिरफ्तार गरिएका छन् ।
पहिलो चरणको निर्वाचनसम्म आइपुग्दा अत्यन्त सीमित संख्यामा देखिएका नेकपाका गतिविधिहरू दोस्रो चरणको निर्वाचनसम्म आइपुग्दा निकै शक्तिशाली साबित भएका छन् । राजधानी केन्द्रमै बम विस्फोट गर्नेसम्मको हैसियत उनीहरूले प्रदर्शन गरिसकेका छन् । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता गगन थापामाथि समेत बम प्रहार भएको छ । यसमा संलग्न भएको आशंकामा कांग्रेसकै १० कार्यकर्ता गिरफ्तार गरिएका छन् भने अन्य ३० जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
चुनावी घरदैलो अभियानमा रहेका बेला थापालाई लक्षित गरी काठमाडौंको चपली हाइटमा बम विस्फोट गराइएको थियो । विस्फोटबाट थापा सामान्य घाइते भएका थिए ।
त्यसअघि रुकुम र रोल्पामा माओवादी केन्द्रका नेताहरू जनार्दन शर्मा र वर्षमान पुनलाई लक्षित गरेर विस्फोट गराइएको थियो । विस्फोटका घटनाहरू तराईका जिल्लाहरूमा पनि केन्द्रित भए । कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियास्थित माओवादी नेता लेखराज भट्टको घरको अगाडि बम विस्फोट भएको जनाइएको छ । सो घटना गत मंगलबार बिहान ५ बजेतिर भएको थियो । माओवादी केन्द्रका ७ नम्बर प्रदेश इन्चार्जसमेत रहेका पूर्वमन्त्री भट्टको घरमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको नजिकै गेटमा बम विस्फोट भएको जनाएको छ । त्यसैगरी सोही दिन कैलाली जिल्लाकै गौरीगंगा नगरपालिकाको मालिका मावि चौमालाको मतदान केन्द्रमा नै सिलिण्डर बम विस्फोट भएको थियो भने धनगढीस्थित प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटल बाहिरसमेत बम विस्फोट भएको थियो ।

 
त्यस्तै माओवादी केन्द्रका नेता खगराज भट्ट चढेको गाडी डडेल्धुरामा एम्बुसमा परेको छ । भट्ट चढेको गाडी सोमबार राती ८ः३० बजे डडेलधुराको आलिताल गाउँपालिकास्थित मौरीखोलामा पुग्दा एम्बुसमा परेको थियो । एम्बुसमा परेका नेता भट्ट भने सकुशल रहेको जनाइएको छ । वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका भट्ट प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्दैछन् । भट्ट यस अघि पहिलो र दोस्रो संविधानसभा चुनावमा पनि शेरबहादुर देउवासँगै चुनाव लडेका थिए । यसअघि कांग्रेस नेता रमेश लेखकको घरमा पनि बम विस्फोट भएको थियो ।
यसैबीच नवलपरासीमा कांग्रेस नेता तथा महामन्त्री शशांक कोइरालाको गाडीमा आगजनी भएको छ । नयाँ संघीय संरचनाअनुसार नवलपरासी जिल्ला टुक्र्याएर बनाइएको नवलपुरबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका नेता कोइरालाको गाडीमा जिल्लाको देवचुली भन्ने ठाउँमा आगजनी भएको हो । कोइरालाले उक्त गाडी आफ्नो प्रचारप्रसारमा प्रयोग गरेका थिए ।

 
त्यसैगरी एमाले युवा नेता तथा पूर्व मन्त्री महेश बस्नेतको घरमा पनि बम फेला परेको छ । भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका बस्नेतको घरको गेटमा अज्ञात समूहले बम भेटिएको जनाइएको छ । गत आइतबार बेलुका ८ बजे बस्नेतको घरको बाहिरको गेटमा बम फेला परेको हो । प्रहरीले त्यसलाई निस्क्रिय बनाएपछि त्यो विस्फोट हुन पाएन ।

 
यसरी भइरहेका श्रृंखलाबद्ध बम विस्फोटका घटनाहरूले राजनीतिक स्थिरताको परिकल्पना गर्न सकिने अवस्था देखिंदैन । चुनावलाई असफल तुल्याउन प्रयासरत राजनीतिक शक्तिले आमूल रूपान्तरणका एजेण्डाहरू सम्बोधन नभएको भन्दै असन्तुष्टि सार्वजनिक गरिरहेको छ । दश वर्षसम्म सशस्त्र युद्धका दौरानमा प्रस्तुत गरिएका समाज रूपान्तरणसहितका राजनीतिक मागहरूप्रति बेवास्ता गरिएको भन्दै नयाँ संविधानलाई अस्वीकार गर्दै आएको यो शक्ति विस्फोटका गतिविधिमा सक्रियता देखाएपछि शान्तिप्रक्रिया असफल भएको सिद्ध भएको छ ।           (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here