काठमाडौं / वाम गठबन्धनबाट बाहिरिएर कांग्रेससँग चुनावी गठबन्धन बनाएका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई गोरखामा आफ्नो क्षेत्रको चुनावी अभियान सकाएर काठमाडौं फर्किएपछि व्यापारीहरूप्रति गुनासो पोखेका छन् । दोस्रो चरणको चुनावको तयारीका लागि काठमाडौं आइपुगेका भट्टराईले नेपालको राजनीतिक भविष्य अँध्यारोतिर लागेकोमा चिन्ता व्यक्त गरेका छन् । माओवादी जनयुद्धका एकजना डिजाइनरसमेत रहेका भट्टराई कम्युनिज्मबाट देश अगाडि बढ्न नसक्ने निष्कर्षमा पनि पुगेका छन् । जुनसुकै गठबन्धनले बहुमत ल्याए पनि देश अस्थिरतातिरै पुग्ने बाबुरामको दावी छ ।
बाबुरामले राजनीति गतिशील हुने बल्ल आएर बुझेको उल्लेख गरेका छन् । लेनिनले भनेजस्तै राजनीति सिधा रेखामा नगएर बाङ्गोटिङोमा जाने कुराद्द बाबुरामले बल्ल आएर बुझेको उल्लेख गरेका छन् । नेपालमा २००७ सालदेखिको लोकतान्त्रिकरण प्रक्रिया पूर्ण नभएको र पुरानो शक्तिसँग सम्झौता गर्दै फेरि अर्को चरणमा जाने स्थिति आइपुगेको ठहर पनि बाबुरामले गरेका छन् । २००७ साल, २०४६ साल हुँदै २०६२/६३ सालको संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा एउटा चरण औपचारिक त पूरा भयो । तर, आर्थिक, सामाजिक, सांस्कृतिक आधारका विविधतापूर्ण संरचनामा चुनौती भने बाँकी रहेको निष्कर्ष पनि बाबुरामको छ । उदारवादी लोकतन्त्र र समाजवादी धार जो पछि गएर कम्युनिष्ट नाममा स्थापित भएको ठहर पनि बाबुरामको छ । बाबुरामले कांग्रेस र कम्युनिष्ट भनेर दुई वटा ब्राण्ड राख्नुभन्दा अब वाम लोकतान्त्रिक समुन्नत समाजवादी नयाँ धार निर्माण गर्न आवश्यक रहेको विचार व्यक्त गरेका छन् ।
बाबुरामले नेपालका व्यापारी स्वतन्त्र छैनन् । राज्यसँग नै कमिसन लिएर नेताहरूलाई दिने गर्छन् भन्दै सत्तामा छँदा आफैं बुझाउन आउँथे तर अहिले फोन गर्दा फोन नै उठाउँदैनन् भनेर गुनासो पनि व्यक्त गरेका छन् ।
(- जनधारणा साप्ताहिक)


















