एमाले र माओवादी केन्द्रभित्र नैतिक रूपमा प्रधानमन्त्रीको दाबी गर्न सक्ने म जत्तिको नेता अरु छैन
बर्दियाको चुनावी माहोल कस्तो छ ?
बर्दियामा चुनावी माहोल गरमागर्मी छ । वामपन्थी उम्मेदवाहरूले जित्ने पक्का भइसक्यो ।
वामपन्थी उम्मेदवारले जित्ने आधार के छ ?
वाम गठबन्धनप्रति जनताको लहर आएको छ । त्यसैले चुनाव जित्छौँ ।
तपाईंको अवस्था के छ ?
मैले चुनाव जित्नेमा कुनै शंका छैन । मैले चुनाव जितिसकेको छु ।
तपाईंलाई एमालेका कार्यकर्ताले भोट हाल्छन् ?
यस्तो पनि प्रश्न हुन्छ ?
एमालेका कार्यकर्तालेसमेत मलाई भोट हाल्छन् भनेर सञ्जय गौतमले प्रचार गर्नुभएको छ नि ?
एमालेका कार्यकर्ता कांग्रेसका उखरमौला कार्यकर्ता जस्ता हुन् र ? सञ्जय गौतमले पैसा दिएको भरमा हाम्रा ब्यानर च्यात्ने काम कांग्रेसका कार्यकर्ताले गरेका छन् । एमालेका कार्यकर्ता यस्ता छैनन् ।
केन्द्रमा माओवादीसँग गठबन्धन भए पनि तल्लो तहमा माओवादीका कार्यकर्ताले एमालेलाई मतदान गर्छन् त ?
शतप्रतिशत गर्छन् । यस्तो पनि कसैले कुरा गर्छ ? यो त कांग्रेसको दिमागमा आएको सपनाको पुलाउ हो । हामीले त जितिसक्यौँ । कांग्रेसले त कति ठाउँमा हाछौँ भनेर गनिरहेका छन् ।
नेताहरूको टाउको मिलेर मात्रै हुन्छ र ? जनस्तरमा मिल्नुपर्दैन ?
एकता भन्ने तपाईंलाई के थाहा छ ? मलाई थाहा छ । मैले २० वटा पार्टी एकता गराइसकेको छु । आज पनि मेरै कारणले एमाले र माओवादी एकता हुन लागेको हो । एकता कसरी गर्नुपर्छ मलाई थाहा छ । ऋषि धमला र अरुलाई थाहा छैन ।
नेपाल अब साम्यवादको बाटोमा गएको हो ?
हो । गयो ।
नेपाली कांग्रेसले त तपाईंहरू अधिनायकवादतिर जाँदै हुनुहुन्छ भन्ने आरोप लगाएका छन् नि ?
त्यो आरोप गलत छ । कम्युनिष्टलाई आरोप लगाएर कांग्रेस नै अधिनायकवादतिर गइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताविपरीत काम गरिरहेका छन् । आयोगलाई टेरेका छैनन् । यही हो अधिनायकवाद । तर जनताले अहिले उल्ट्याउँदै छन् । कांग्रेस अहिले पागल भएको छ ।
राष्ट्रपतीय शासन ल्याउने तपाईंहरूको योजना हो ?
अहिले घोषणापत्रमा लेखेका छैनौँ । तर पछि आवश्यकताअनुसार राष्ट्रपति शासनमा जान्छौँ । नेपाली जनताले चाहे भने प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासनमा जान सक्छौँ ।
वाम गठबन्धनको दुई तिहाइ बहुमत आउँछ ?
आउँछ । यसपटक एमाले र माओवादी केन्द्रको गठबन्धनले दुईतिहाइ बहुमत आउँछ ।
कांग्रेसले दुईतिहाइ ल्याउन दिँदैनौँ भनेको छ नि ?
कांग्रेसले त वाम गठबन्धनलाई सिध्याउने प्रयास गरिरहेको छ नि । हेरौं जनताले कसलाई साथ दिन्छन् । हामी त जनताको चाहना अनुसार चल्ने पार्टी हो । शेरबहादुर त संविधान विरोधी हुन् । संविधान पढेका पनि छैनन् । पढे पनि दिमागमा राखेका छैनन् ।
अबको प्रधानमन्त्री को हो ?
त्यो त चुनाव सकिएपछि निर्णय हुन्छ । म पनि प्रधानमन्त्रीको दाबेदार हुँ । म प्रष्ट रूपमा प्रधानमन्त्रीको उम्मेदवार हुँ । एमाले माओवादीभित्र नैतिक रूपमा प्रधानमन्त्रीको दाबी गर्न सक्ने म जत्तिको नेता अरु छैन ।
केपी ओली र प्रचण्डले तपाईलाई समर्थन गर्नुहुन्छ त ?
गर्नुहुन्छ ।
पार्टी एकता हुँदा अध्यक्ष को बन्छ ?
त्यो पनि पछि थाहा हुन्छ । केपी ओली कि प्रचण्ड भन्ने हामी विचार पु¥याएर निर्णय गछौँ । अहिले हामी बोल्दैनौँ ।
पार्टी एकता कहिले हुन्छ ?
चुनाव सकिएको तीन महिनाभित्र पार्टी एकता हुन्छ ।
तपाईं अहिले बर्दियाबाट चुनाव लडे पनि अर्कोपटक यहाँ नआउने हो कि भन्ने आशंका जनताले गरेका छन् नि ?
म यसपटक पनि जुनसुकै ठाउँबाट चुनाव लड्न सक्थेँ । तर म बर्दिया नै किन आएँ ? किनकि बर्दिया मेरो कर्मथलो हो । पार्टी निर्माण गर्ने र संसदीय संघर्षमा महत्वपूर्ण भूमिका खेलेको हुनाले पार्टीले मलाई यहाँ पठाएको हो ।
तपाईंले विगतमा पनि चुनाव जित्नुभयो । मन्त्री बन्नुभयो । तर बर्दियामा कुनै परिवर्तन गर्न सक्नुभएन नि ?
अरु ठाउँका जनताको मुहार जस्तो छ, त्यस्तै बर्दियाका जनताको मुहार छ । मेरो आलोचना गर्नेहरूले यहाँका जनताको मुहार मलिनो छ भन्छन् । तर म यहाँबाट जितेर गएपछि नेपालमा अरु कसैले गर्न नसकेको काम गरेको छु । बबइ सिँचाई योजना, भेरी डाइभर्सनको सुरु गरेँ । मैले पार्टीको नेतृत्व गरेका बेला आफ्नो गाउँ आफैँ बनाउ भन्ने अभियान सुरु गरेँ । बर्दियामा जति पनि मोटरबाटो बनेका छन्, ती सबै मैले नै गरेको हुँ । सुकुम्बासी समाधान आयोग बनाएर ८४ हजार सुकुम्बासीलाई घर घडेरी दिलाउने काम मैले नै सुरु गरेको हुँ । यि सबै योजना बर्दियामा पनि लागू भएको छ । सामाजिक सुरक्षा भत्ता कार्यक्रम मैले सुरु गरेर नेपाली कांग्रेसको मुखमा बुजो मैले नै लगाएको हुँ । अहिले बर्दियामा मोटर बाटो नपुगेको ठाउँ नै छैन । देशभरी बनेका ८१ हजार किलोमिटर सडक एमालेले नै बनाएको हो ।
तपाईंको प्रतिस्पर्धी सञ्जय गौतमले त वामदेव गौतमले केही पनि काम गरेनन् भन्ने आरोप लगाएका छन् नि ?
वास्तवमा सञ्जय गौतम कांग्रेस होइनन्, जमिन्दार हुन् । उनी जमिन्दारी शासन देखाउन चाहन्छन् । उनले भन्छन् नि यहाँ नजन्मेकाहरू चुनावमा उठ्नै पाउँदैनन् । बर्दियामा केही काम भएको छ भने बामदेव गौतमले गर्दा नै भएको छ । संजयले त एउटा सिन्को भाँचेका छैनन् । मैले बनाएको सडकमा एउटा ढुङ्गा हाल्ने काम पनि उनले गरेका छैनन् । कांग्रेसले विकास विरोधी काम मात्रै गर्छ ।
बबइ सिँचाई आयोजनामा बजेट आफूले पारेको दाबी सञ्जय गौतमले गर्नुभएको छ ?
उनले एक पैसा पनि पारेका छैनन् । यो सबै भ्रम हो । संविधान जारी भएपछि एमाले र माओवादीको नेतृत्वको सरकारले बजेट ल्याएको हो । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि त बजेट नै आएको छैन नि ।
बर्दियाका जनताले के खोजेका छन् ?
बर्दियाका जनताले सडक पिच खोजेका छन् । चुनावपछिको २ वर्षभित्रमा सबै सडक पिच हुन्छन् । पाँच वर्षभित्र बबई नदीलाई नियन्त्रण गछौँ । यसका लागि डिपिआर बनिसकेको छ । बर्दियाका सुकुम्बासी वा घरबार नभएकालाई घर बनाइदिन्छौँ ।
(- जनधारणा साप्ताहिक)

















