सुमार्गी–सिरोहिया प्रकरण : पत्रकारिताको लज्जाजनक अभ्यास

606

–निमकान्त पाण्डे
नेपालको पत्रकारिता इतिहास निकै पुरानो भए पनि नेपाली पत्रकारितामा सर्वाधिक लोकप्रिय प्रकाशनका रूपमा स्थापित हुन सफल भएको कान्तिपुर दैनिकको प्रकाशन भने धेरै पुरानो हैन, यो नयाा नै हो । पञ्चायती व्यवस्थाको अन्त्यपछि प्रकाशन आरम्भ भएको कान्तिपुर पब्लिकेशनबाट प्रकाशित कान्तिपुर दैनिक र काठमाडौंपोष्ट नेपाली पत्रकारिताका लागि अनुकरणीय मानिन्छन् । परन्तु कान्तिपुर पब्लिकेशनले आफ्नो प्रकाशनमार्फत् पछिल्ला दिनहरूमा गरिरहेको समाचार प्रकाशनको शैलीलाई मध्यनजर गर्दा नेपाली प्रेसजगत्ले लज्जा अनुभूति गर्नुपर्ने अवस्था देखिन्छ । खासगरी एउटा कुनै निकायका विरुद्ध कान्तिपुर पब्लिकेशनले लगातार समाचार प्रकाशन गर्नुलाई आफ्नो पत्रकारिताको लडाइा सम्झने गरेको बुझ्न सकिन्छ । पत्रकारितामार्फत् गरिने लडाइा नैतिक रूपमा कति शोभनीय हुन्छ भन्ने कुरा छलफलको विषय बन्न पुगेको छ ।
केही समय पहिले कान्तिपुर पब्लिकेशनले नेपाली उद्यमीहरूमध्येमा उत्कृष्ट बैंकर्स मात्र नभएर नेपालमा रेमिट्यान्स भित्र्याउने निकाय समेतमा चर्चाको शिखरमा पुगेका आईएमई ग्रुपका चन्द्र ढकालद्वारा सञ्चालित चन्द्रागिरी केबलकारका विरुद्ध अत्यन्त नाङ्गो ढंगले समाचारहरू प्रकाशन गरेको थियो । चन्द्रागिरि केबलकारमा यात्रा गर्नेहरूको आकर्षण र त्यसक्षेत्रमा भइरहेको विकासले त्यो क्षेत्रका वासिन्दाहरूलाई प्रशस्तै लाभान्वित बनाएको छ । तर कान्तिपुर पब्लिकेशनले चन्द्रागिरि केबलकारको व्यवसायलाई समाप्त गर्ने लक्ष्यका साथ निरन्तर विरोधमा समाचारहरू प्रकाशन गरिरह्यो । सरकारको प्रत्येक निकायलाई चन्द्र ढकालविरुद्ध उकास्ने कामलाई कान्तिपुर पब्लिकेशनले पत्रकारिताको धर्म ठान्न पुगेको महसुस गरायो । पाठकहरूमा कान्तिपुरको समाचार ठीक हो अथवा चन्द्रागिरि केबलकार सञ्चालक चन्द्र ढकाल ठीक हो भन्ने द्विविधा पर्‍यो । समाचार सत्य नभए पनि समाचारको प्रभाव नकारात्मक पर्नजाने सम्भावनातर्फ कान्तिपुर पब्लिकेशनलाई चासो देखिएन । आखिर चन्द्र ढकालले सञ्चालन गरेको केबलकार सञ्चालनमा अवरोध कान्तिपुर पब्लिकेशनको दुराशय पूरा हुन सकेन । एकाएक समाचारको रफ्तार पनि बन्द भएको छ ।
पछिल्ला दिनहरूमा कान्तिपुर पब्लिकेशनले उद्यमी अजेय सुमार्गीविरुद्ध समाचारको नाममा अत्यन्त लज्जाजनक हर्कत देखाइरहेको छ । सुमार्गीविरुद्ध भइरहेको समाचारको आक्रमण पनि चन्द्र ढकाल विरुद्धको समाचारशैलीभन्दा फरक देखिंदैन । कान्तिपुरले थालेको यस्तो अभियानले आम पाठकपंक्तिमा प्रेसजगत्प्रतिको धारणामा कस्तो प्रभाव पार्ला ? यो गम्भीरतातर्फ नेपाली प्रेस जगत् संवेदनशील बन्न आवश्यक देखिएको छ ।
चन्द्र ढकालले विकास गरेको केबलकार सञ्चालनबाट आन्तरिक पर्यटन र बाह्य पर्यटनलाई समेत आकर्षण भएको छ । यो व्यवसायबाट केबलकार सञ्चालक ढकाललाई निश्चय पनि आर्थिक मुनाफा भएको होला । तर त्योभन्दा बढी त्यो क्षेत्रको विकास र आन्तरिक पर्यटनको विकासमा ढकालको योगदान सम्मानित देखिन्छ । मुनाफा र आन्तरिक पर्यटनको विकासमा गरेको योगदानको पक्षमा कान्तिपुर पब्लिकेशनले शब्द खर्च गर्न आवश्यक ठानेन । आफूलाई लाभ प्राप्त नभएसम्म लगातार समाचारका नाममा प्रहार केन्द्रित गरियो । अब चन्द्रगिरि प्रकरणमा कान्तिपुरको कलम बन्द भएको छ । कारण जेसुकै होस् कान्तिपुरलाई अवश्य आर्थिक लाभ भएकै ठहर सचेत पाठकपंक्तिले गरेको छ ।
अजेय सुमार्गीका विरुद्ध कान्तिपुरको प्रहार केन्द्रित प्रारम्भ भएदेखि कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया र सुमार्गीबीचको जग्गा लेनदेनको कारोबार निकै चर्चित बन्यो । सुमार्गीले सिरोहियालाई ‘ब्ल्याकमेलर’को गम्भीर आरोपसमेत लगाए । यो आरोप सिरोहियाले आफूविरुद्धको आरोप ठाने पनि नेपाली प्रेस जगतले नेपाली प्रेसमाथि लागेको कलंकको टीका मान्नुपर्ने देखिन्छ । जुन शैलीबाट कान्तिपुर पब्लिकेशनबाट प्रकाशित सञ्चारमाध्यमहरूमा समाचारहरू धाराप्रवाह आइरहेका छन्, यसबाट नेपाली प्रेसजगत्को प्रतिष्ठा खुम्चिएको छ । निर्लज्जतापूर्वक भइरहेको समाचार प्रकाशनले कान्तिपुर पब्लिकेशनको एउटा व्यवसायीप्रतिको दुराग्रहलाई छताछुल्ल बनाइदिएको छ । समाचार प्रकाशनबाट कुनै व्यवसायीलाई नै धराशायी बनाउने कुत्सित मनसाय देखिएपछि प्रेसजगत्प्रतिको आम धारणा कस्तो बन्ला ? यो गम्भीरतातर्फ प्रेसजगत्ले चासो राख्नुपर्दछ । यस्तो शैलीको प्रकाशनप्रति प्रेस काउन्सिलको पनि चासो नदेखिनु आश्चर्यजनक हो । राज्यको समेत ध्यानाकर्षण हुनुपर्ने यो विषयमा राज्य सञ्चालकहरू मौन भइदिनु पनि दुर्भाग्यपूर्ण हो । सुमार्गीले भित्र्याउन चाहेको रकम यदि अवैध हो भने अविलम्ब स्पष्ट पारिनु पर्दछ । रकम अवैध होइन भने त्यस्तो रकमलाई देशभित्र ल्याउन दिइनु पर्दछ । देशभित्र विभिन्न व्यवसायहरूमा लगानी गर्नका निम्ति घोषित रूपमा भित्र्याउन खोजिएको रकम अवैध हो भनेर एउटा कुनै पत्रिकाले समाचार प्रकाशन गरेकै भरमा राज्यका निकायहरू निर्णयविहीन भएर बस्नुपर्ने अवस्था हुनुहुादैन । समाचारको सत्यता प्रमाणित गर्नुपर्ने दायित्व नभएकाले प्रेसजगत् छाडा भइरहेको अवस्था विद्यमान छ । यो छाडापनको प्रहारमा एउटा व्यवसायी पिल्सिनुपर्ने अवस्थाप्रति राज्यको मौनता निन्दनीय छ ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here