राज्यलक्ष्मी शाक्य
आधुनिक समाजमा राज्यको अवधारणा समग्र जनतालाई विकासको समान र सन्तुलित प्रतिफल वितरण गर्ने उद्देश्यले निर्माण भएको हो । कुनै एक व्यक्तिको प्रयासभन्दा पनि समग्र राज्यको प्रणालीले गर्ने काम प्रभावकारी हुने भएकाले नै राज्यमा सरकार, मन्त्रालय, कर्मचारीतन्त्रको स्थापना भएको हो । कुनै व्यक्तिले चाहना गरे केही सीमित स्थानमा मात्र परिवर्तन गर्न सक्छ । तर, राज्यले आफ्नो सम्पूर्ण भूभागमा रहेका जनतालाई प्रभावित पार्ने किसिमले विकास निर्माण गर्न सामथ्र्य राख्छ । हालै मात्र पत्रकारिता क्षेत्रमा चर्चित र परोपकार क्षेत्रमा काम गरिरहेका रवीन्द्र मिश्रले राजनीतिमा पाइला चाले । उनले त्यसो गर्दा आफ्नै क्षेत्रबाट काम गरेर पनि देशमा विकास गर्न सकिन्थ्यो नि भन्ने प्रश्न आयो । उत्तरमा उनले भने, ‘मैले आफ्नो क्षेत्रबाट नै काम गर्ने हो भने केही व्यक्ति, क्षेत्रलाई बदल्न सक्छु होला, तर समग्र राज्यलाई परिवर्तन गर्न सक्दिना । त्यसकारण समग्र परिवर्तनको अपेक्षा गर्ने हो भने राजनीतिलाई हस्तक्षेप गर्नुपर्छ भनेर राजनीतिमा आएा ।’ तर, दुर्भाग्यवश भन्नुपर्छ नेपालमा राज्यले भन्दा व्यक्तिले गरेका काम प्रभावकारी, निर्धारित समयमै सम्पन्न र प्रशंसनीय बनेको छ । त्यसको उदाहरण हुन्, धुर्मुस–सुन्तली ।
धुर्मुस–सुन्तलीको कामको बारेमा कुनै पनि नेपालीलाई अब जानकारी गराइरहनु पर्दैन । हास्यक्षेत्रमा चर्चित यो जोडीले पछिल्लो समय गरेको सामाजिक कामको जति प्रशंसा गरे पनि पुग्दैन । यो जोडीले हालै मात्र रौतहटको सन्तपुरमा एकीकृत नमूना दलित बस्ती निर्माण नेतृत्वदायी भूमिका निर्वाह गरे । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको सन्तपुर एकीकृत नमूना दलित बस्तीको सााचो नमूना बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई हस्तान्तरण गरेकी छिन् । चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा निर्मित नमूना दलित बस्ती हस्तान्तरण समारोहमा राष्ट्रपति भण्डारीले कलाकारद्वय धुर्मुस–सुन्तलीले समुदायको विकासका लागि अतुलनीय काम गरेको जनाइन् । लोककल्याणकारी राज्यले जनताका आधारभूत आवश्यकता पूरा गर्न ध्यान दिनुपर्नेमा जोड दिादै उनले सभ्य र न्यायपूर्ण समाजका लागि जनसमुदायमा यस्ता खालका कार्यक्रम लैजानुपर्ने जनाइन् । सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न ४७ घर निर्माण भएको छ । गत असोज ४ गते शिलान्यास भएको सो नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लब, दृश्यावलोकनस्तम्भ निर्माण भएका छन् । गत साउनमा आएको बाढीले सो गाउाका दलित परिवारका घर डुबानमा परेको थियो । करिब रु. ५ करोड ९५ लाखको लागतमा निर्मित सो बस्ती निर्माणमा कलाकार कट्टेल दिनरात आफौ खटेका थिए । सो बस्ती विकलांगमैत्री, बालमैत्री, वातावरणमैत्री भएको धुर्मुस–सुन्तली फाउण्डेशनले जनाएको छ । फाउण्डेशसनको यो चौथो परियोजना हो ।
धुर्मुस–सुन्तलीले यसरी निरन्तर सामाजिक क्षेत्रमा योगदान दिादै गर्दा राज्य भने कतै हराइरहेको जस्तो भान भएको छ ।
यद्यपि, राज्यले जति गरेको छ, त्यो केही पनि गरेको छैन भन्ने खोजेको होइन । निश्चय नै एउटा व्यक्तिभन्दा राज्यले धेरै गरेको हुनसक्छ, किनभने राज्यसाग स्रोतसाधन पनि त्यतिकै मात्रामा हुन्छ । तर, राज्यको काममा ढिलासुस्ती हुनु, पीडितले समयमै सहयोग नपाउनु जस्ता अवस्था भइरहादा एउटा व्यक्तिले गरेको काम राज्यले गरेको कामभन्दा ठूलो लाग्न थाल्छ । धुर्मुस–सुन्तलीले भूकम्पीडित तथा बाढीपीडितको पक्षमा काम गरेर राज्यलाई ठूलो पाठ सिकाएका छन् । यदि व्यक्तिले चाहेमा त यतिसम्म गर्न सक्छ भने राज्यले चाह्यो भने के सम्म गर्न सकिन्छ भनेर छर्लंग पारेका छन् । उनीहरूले आफूहरूले गर्दै आएको काममार्फत राज्यलाई चुनौतीभन्दा पनि सहयोग हो भनेर बताइरहेका छन् । उनीहरूले आफ्नो कामबाट राज्यलाई झक्झक्याइरहेका छन् । ‘हेर हामीले यति गर्न सक्यौं गर्यौं, गर्न सकिन्छ, राज्यले अझ धेरै गर्न सकिन्छ, तर इच्छाशक्ति चाहियो,’ भन्ने पाठ धुर्मुस–सुन्तलीले आफ्नो कामबाट राज्यलाई सिकाएका छन् । अब राज्यले सिक्ने कि नसक्ने ? यो उच्चपदमा बस्नेहरूले सोच्न जरुरी छ । [email protected]
(- जनधारणा साप्ताहिक)
















