भरत दाहाल
पञ्चायति व्यवस्था, संसदीय व्यवस्था, माओवादी युद्ध, राजतन्त्र, गणतन्त्र, एकात्मक शासन, संघीयता, धर्म निरपेक्षता, संविधानसभा, १ थान संविधान, संविधान संसोधन जस्ता विषयहरु न त नेपालका आधारभूत समस्याहरु थिए न नेपालको संकटको समग्र समाधान नै थिए भन्ने यथार्थता संविधान जारि भए पछि अझ उग्र बन्दै गएको अराजकताले स्पष्ट पारिसकेको छ । प्रजातन्त्र, क्रान्ति र लोकतन्त्रको आवरणमा जे चिजका लागि पञ्चायत कालदेखि आवाजहरु उठाईंदै आएका थिए, ति सबै प्राप्त भएका छन् तर नेपाल किन स्थिर बन्न सकेको छैन ?
संविधान जारी भएर सबै तहका चुनावहरु पनि सम्पन्न भैसकेको अवस्थामा अनेकथरि मुद्दाहरुलाई बहाना बनाएर कहिले संविधान संसोधन, कहिले लोकमान काण्ड, कहिले आईजिपी नियुक्ति प्रकरण, कहिले सुशिला कार्की महाभियोग त कहिले गोपाल पराजुली काण्डहरुका नाममा जुन प्रकारको अस्थिरता पैदा गर्न खोजिएको छ, यी बहुरुपि परिदृष्यहरुले देखाउादछन् कि नेपालीहरुलाई सडक उर्जाका रुपमा प्रयोग गर्नका लागि देशका मूख्य समस्या भनेर जेजे कुराहरु सडकमा ल्याईएका थिए ती सबै झुठ हुन् । मूख्य समस्या पर्दाभित्र लुकाईएको छ ।
०४७ सालपछि नेपाल भ्रष्टाचारको दलदलमा फसेको छ, अनपेक्षित द्वन्दहरु सिर्जना गरिएको छ, देशको दुईतिहाई सकृय जनशक्ति बेरोजगार भएर विदेश पलायन भएको छ, परिवार र समाजभित्रको सम्बन्ध नराम्ररि खल्बलिएको छ, राज्य व्यवस्था, प्रणालिप्रति आम नागरिकहरुको विश्वास टुटेको छ र ‘नेपाल बन्छ’ भन्ने मनोविज्ञानमा क्षयिकरण सुरु भएको छ । यी सबै नकारात्मक तस्विरका बाबजुद यस अवधिमा यदि कसैको उन्नति भएको छ भने त्यो विदेशी दूताबासहरु, गैससहरु, अन्तर्राष्ट्रिय माफिया सञ्जालहरु र लुटेरा शासक वर्गको भएको छ ।
जसको उन्नति भैरहेको हुन्छ, राज्य त्यसैले चलाईरहेको हुन्छ भन्ने कुरा सामान्य चेतनाको मानिसले पनि बुझ्न सक्ने कुरा हो । राज्य प्रणालिमा नागरिकहरुको पहुाच भएको भए वा शासन गर्ने वर्ग देशप्रति उत्तरदायि भएर कुर्सिमा पुगेको भए नेपालको विकास हुन्थ्यो र नेपालीहरु समृद्ध बन्ने प्रकृया आरम्भ हुन्थ्यो, यहााका कथित आन्दोलनहरु देश, समाज र नागरिकप्रति समर्पित भएको भए सामान्य प्रकारका मतान्तरहरु सहजै समाधान हुन्थे तर यस्तो केहि पनि हुने संभावना छैन । किनकि नेपालमा थोपरिएको समस्याको जरो लुकाईएको छ ।
नेपालको आधारभूत समस्या भनेको विदेशी नव–औपनिवेशिक दासत्व हो । राज्यको पराधिन संरचना, द्वि–पक्षिय एवं बहु–पक्षिय रुपमा विदेशीहरुसंग भएका असमान सन्धि–सम्झौताहरु, दलाल मेकानिज्म, आयातित स्कूलिङ र इण्डियासंगको खुला सिमाना नेपालको नव–औपनिवेशिकताका श्रोतहरु हुन् । ‘सुगौली–सन्धि’मा एउटा पराजित देशका रुपमा नेपालले जे जस्ता सर्तहरु मान्नु पऱ्यो र त्यसका आधारमा आजसम्म जे जस्ता प्रकारका सम्बन्धहरु विकास भए यीनैले राज्य–व्यवस्थालाई देश र नागरिकहरुप्रति उत्तरदायि बन्न दिएका छैनन् ।
नेपालमा आज देखापरेको खुल्ला विदेशी हस्तक्षेप र अस्थिरता माथि उल्लेखित समस्याहरुलाई उपयोग गरेर तय गरिएको साम्राज्यवादी रणनीतिको परिणाम हो, जो नेपालको भू–राजनीतिलाई दुरुपयोग गरेर यसलाई सामरिक इलाकाका रुपमा नियन्त्रण गर्ने र चीनका विरुद्धमा विद्रोह भड्काउने षडयन्त्रमा आधारित छ । संविधान निर्माण र चुनावपछि पनि विगत ११ बर्षदेखिको अस्थिरता र अराजकता रोकिने संकेत नदेखिनुका कारणहरुलाई यहि रणनीति कार्यान्वयनका लागि अघि बढाईएका योजनाहरु र त्यसभित्रका उद्देश्यहरुमा खोज्नु पर्दछ ।
आफ्नो अभिष्ट पूरा गर्नका लागि साम्राज्यवादी शक्तिहरुले पूर्वाधार निर्माणका रुपमा ३ वटा कुराहरुलाई मूख्य निशाना बनाएका छन् । ति निशाना हुन्– मानिस, राज्यका संरचनाहरु र प्रणालि (सिष्टम) । सबैभन्दा पहिले नेपालीहरुको चिन्तन पद्धति र मनोविज्ञानलाई क्षतविक्षत बनाउने योजना अघि बढाईएको छ । यो योजना मानिसहरुलाई परिवार ,राज्य, समाज सबैबिाट अलगथलग पार्ने, अलगावमा परेको मानिसमा निराशा पैदा गर्ने र निराश दिमागलाई खालि तथा सामथ्र्य विहिन बनाएर आफू अनुकूल प्रयोग गर्ने षडयन्त्रका रुपमा देखिन्छ ।
एउटै समयमा नव–उदारवाद र वैदेशिक रोजगारीको नीति यसैका लागि ल्याईएको थियो । पहिलो नीतिबाट बेरोजगारीलाई विकराल बनाएर सकृय जनशक्तिलाई बाहिर निकाल्ने बाटो दोश्रो नीतिबाट खोलिएको छ । यसका पछाडि ३ वटा उद्देश्यहरु देखिन्छन्– पहिलो हो, विदेशी हस्तक्षेपको प्रतिरोध गर्न सक्ने जनशक्तिलाई बाहिर निकालेर हस्तक्षेपलाई सहज बनाउने । दोश्रो हो, नेपाली अर्थतन्त्र ध्वस्त बनाएर बााच्नका लागि आफूप्रति निर्भर बनाउने । तेश्रो हो, मानिसहरुका बीचको पारिवारिक एवं सामाजिक सम्बन्धलाई समाप्त पार्ने ।
आफू जन्मे/हुर्केको परिवेशबाट पिडा बोकेर अनिच्छापूर्वक अलग हुनुपर्दा मानिसमा निराशा पैदा हुन्छ र उ सबैप्रति उदासिन बन्छ । हिंजोका मूल्य–मान्यताहरु प्रतिको विश्वास टुट्छ र मानिस सबै प्रकारका उत्तरदायित्वहरुबकाट च्युत हुन थाल्दछ । राष्ट्र/राष्ट्रियता, देश, समाज, परिवार, संस्कृति लगायतका सबै क्षेत्रमा बढ्दो उपेक्षा भावको कारण यहि हो । सोंच नभएको, लक्ष विहिन, कर्तव्यच्युत र आत्म–केन्द्रित मानिसको निर्माण सबैभन्दा खतरनाक कुरा हो । यहि खालिपन उपयोग गरेर विदेशीहरुले नेपालमा हस्तषेपलाई तिब्र बनाएका छन् ।
नेपालीहरुमा आशावादी मनोविज्ञानलाई निराशामा परिणत गरेर मानसिक सून्यता खडा गर्ने योजनाको अर्को भद्दा रुप दलाल राजनीतिक वृत्तहरुमा देखिंदै आएको छ । यसमा एउटा दलाललाई नेपालको सच्चा देशभक्तका रुपमा र नेपाली नागरिकहरुको वास्तविक प्रतिनिधिका रुपमा उचालिन्छ, त्यसका पक्षमा मिडिया प्रोपोगान्डा गरिन्छ, त्यसलाई भाग्य विधाताका रुपमा प्रस्तुत गरिन्छ र अन्त्यमा उस्तै दलालका रुपमा नंग्याएर त्यसमाथि भरोसा गरेका मानिसहरुमा निराशा पैदा गरेर देशभक्त कोहि छैन भन्ने मनोविज्ञान बनाउन खोजिन्छ ।
२०४७ सालपछि, कांग्रेसहरुलाई, २०५२ सालपछि माओवादीहरुलाई र पछिल्लो कालमा एमालेहरुलाई सुरुमा ठूलै देशभक्त र नागरिकहरुप्रति निकै उत्तरदायि शक्तिका रुपमा प्रस्तुत गरियो र नेपालीहरुमा यस्ता दलालहरुप्रति पलाएको आशावादमा चिसो पानी खन्याउन तिनीहरुलाई ‘सुसिको भव:’ अवतारमा सतहमा ल्याईयो । इण्डियाको नाकाबन्दिपछि देशभक्तिको प्रतिक बनाउन खोजिएको एमालेलाई अब जस्ताको तस्तै सक्कलमा खडा गरेर नेपालीहरुका देशभक्तिको मनोविज्ञानलाई उठ्नै नसक्नेगरि समाप्त पार्ने योजना अघि बढेको देखिन्छ ।
मानिसपछि दोश्रो चरणको साम्राज्यवादी निशानामा राज्य र समाजका संरचनाहरु परेका छन् । बनेका संरचनाहरुलाई विना विकल्प छिन्नभिन्न बनाउने अराजकता पैदा गरेर नयाा बन्न नदिने षडयन्त्र यसमा छ । राज्यको कथित पुनर्संरचना र ‘संघीयता’को बहानामा संविधानमा लिपिबद्ध गरिएका कुराहरुले जसरी विग्रहहरु बढाउन थालेका छन्, यो यसको उदाहरण हो । कर्तव्यको प्रश्न पूरै निषेध गरेर ‘अधिकार’लाई निरपेक्ष बनाउने र यसका आडमा राज्य, भूगोल, समाज सबैका संरचनाहरु विद्वेषपूर्ण बनाउने योजना लागु भैरहेको छ ।
नेपालीहरुको मानसिकताको विद्रुपिकरण गर्ने र संरचनाहरु भत्काउने षडयन्त्र धेरै अगाडि बढिसकेको छ । तेश्रो प्रकारको कदमका रुपमा अब सुरु भएको छ पद्धति (सिष्टम) विसर्जन गर्ने षडयन्त्र । लोकमानसिंको स्वेच्छाचारिता होस् वा गोपाल पराजुलीको माफियाहरुको पक्षमा गरिएको कार्वाहि होस् वा डा. गोबिन्द केसीको अनसन होस् यी सबै कृयाकलापहरु ग्याङहरु निर्माण गरेर सिष्टमलाइ तहसनहस पार्ने र त्यसमाथि व्यक्ति हावी बनाउने षडयन्त्रका उपजहरु हुन् । यो षडयन्त्रमा इण्डियन र पश्चिमाहरु नाङ्गो होडबाजिमा उत्रिएका छन् ।
सिष्टमका विरुद्धमा संगठित गरिएका पछिल्ला कृयाकलापहरु के कारणले साम्राज्यवादी षडयन्त्रका हिस्सा हुन् भने यी कुनैले पनि देशको आधारभूत समस्याका बारेमा मुख खोल्न चाहादैनन् । विदेशीहरुको नग्न हस्तक्षेप, समस्याहरुको निरन्तर पुनरुत्पादन गर्ने, नव–औपनिवेशिक राज्य संरचना, दलाल मेकानिज्म, गैससहरुको बिगबिगि, खुला सिमानाबाट भैरहेको जनसंख्या अतिक्रमण, इण्डिया अतिक्रमित जमिन र बााधबाट हुादै आएको तराई डुबानको समस्या, दलहरुको देश विरोधि मिशन, अविकास आदिका बारेमा कुनै पक्ष बोल्न चाहादैनन् ।
सबै रुपका विदेशी दलालहरुको समान प्रकारको उद्देश्य छ– सिष्टम गिजोल्ने, सकेसम्म आफूले कब्जा गर्ने र नसके भत्काउने । यीनीहरुको द्वन्द राज्यका निकायका मूख्य पदहरु विरोधि पक्षबाट खालि गराउने हो, कुनै अपराधमा कसैलाई कार्वाही गराउने होईन । लोकमानसिं प्रकरण, सुशिला प्रकरण र गोपाल पराजुली प्रकरणमा देखिएको राजिनामा केन्द्रित नाटकको निहितार्थ यहि हो । लोकमान र सुशिला कार्की विरुद्ध लगाईएका आरोप निजहरुको पदमुक्तिपछि जसरी फासफुस भएर गए, पराजुली काण्ड पनि त्यही रुपमा समापन हुनेछ ।
यसका लागि दलालहरुले अपनाएको कार्यनीति धुत्याईंपूर्ण छ । यीनीहरुले संकटको सारतत्वलाई लुकाउने र भ्रामक रुपलाई उछाल्ने, समस्याको कारणलाई आन्तरिक देखाउने र साम्राज्यवादी रणनीतिप्रति मौन भएर बस्ने, अंशलाई समग्रका रुपमा प्रस्तुत गर्ने र समग्रप्रतिको बुझाईमा अन्योल सिर्जना गर्ने यत्न गरिरहेका छन् । समस्या सिर्जना गर्नु र त्यसको गर्भमा अर्को समस्याको जन्माउनु, राज्यको नव–औपनिवेशिक चरित्रलाई बचाउनु र पात्रहरु बदल्नु, बाह्य आक्रमणको सामान्यीकरण गर्नु र आन्तरिक विग्रह चर्काउनु यीनीहरुको कार्यशैलि हो ।
मिडिया र कथित बौद्धिक हुल किनेर ग्वेवल्स शैलिमा आफ्नो योजनालाई अघि बढाउने मामिलामा इण्डियनहरुभन्दा पश्चिमाहरु निकै अगाडि छन् । तिनीहरु इण्डियाको केजरीवाल मोडेलमा एउटा संगठित शक्ति निर्माण गर्ने प्रयत्नमा धेरै पहिलेदेखि लागिरहेका छन् । साम्राज्यवादको ‘सेलिब्रिटी प्रोजेक्ट’का रुपमा देखापरेको यो प्रयत्नलाई मूर्त रुप दिनका लागि केहि बर्ष अगाडि ‘रमेश खरेल अभियान’ चलाईयो, कान्तिपुर प्रकाशनलाई प्रयोग गरेर गगन थापा र बाबुरामलाई नेपालका सबैभन्दा ‘जनप्रिय’ ब्यक्तिका रुपमा घोषणा गर्न लगाईयो ।
अन्ना हजारेको सत्याग्रहलाई भजाएर केजरीवाललाई पार्टी खोल्न लगाएझैं डा. गोबिन्द केसीको अनशनको बुई चढाएर पश्चिमी साम्राज्यवादीहरुले वैकल्पिक शक्तिका रुपमा उठाउन खोजेका तत्वहरुका बारेमा देशको दूर्दशा देख्ने सबै नेपालीहरु जानकार छन् । यस्तो प्रयासले कुनै एउटा राम्रो माल देखाएर कुहेको सबै पसल बेच्ने साम्राज्यवादी विज्ञापनभन्दा बढि अर्थ राख्दैन । अहिले इण्डियनहरुको जोड नेपालका सबै प्रमूख संस्थाहरु नियन्त्रण गर्ने कुरामा र पश्चिमाहरुको ध्यान ‘सेलिब्रिटी’ उठाएर त्यसलाई गिजोल्ने कुरामा केन्द्रित छ ।
पञ्चायत गयो, राष्ट्रिय हित र नागरीकहरुका पक्षमा झिंगो मरेन । बहुदल आयो, राष्ट्रिय हित र नागरीकहरुका पक्षमा झिंगो मरेन । माओवादी ‘क्रान्ति’ उठ्यो, राष्ट्रिय हित र नागरीकहरुका पक्षमा झिंगो मरेन । दिल्लीको १२ बुादेले कथित लोकतन्त्र ल्यायो, राष्ट्रिय हित र नागरीकहरुका पक्षमा झिंगो मरेन । संविधान आयो, राष्ट्रिय हित र नागरीकहरुका पक्षमा झिंगो मरेन । चुनाव भए, राष्ट्रिय हित र नागरीकहरुका पक्षमा झिंगो मरेन । १० जना गोबिन्द उफ्राईए पनि देशको आधारभूत समस्या तलमाथि हुने छैन भन्ने यथार्थता प्रष्ट छ ।
यी सबै खेलका पछाडिको कारण स्पष्ट छ; इण्डो–पश्चिमी साम्राज्यवादी शक्तिहरुले जेजस्ता उद्देश्यहरु बोकेर नेपालको भू–राजनीतिलाई दूरुपयोग गर्न आफ्ना योजनाहरुलाई संगठित गरेका थिए, ति सबै पूरा भएका छैनन् । यसलाई सफलताको बिन्दूसम्म पुऱ्याउनका लागि २ प्रकारका कामहरु जारी राख्नु परेको छ । एउटा हो– बाहिरि खेललाई आन्तरिक कचिङ्गलका रुपमा प्रस्तुत गर्न लगाउनु र अर्को हो– आफ्नो उद्देश्यमा ध्यान पर्न नदिन सहायक र आंशिक कुराहरु उछाल्न लगाएर नेपालीहरुलाई समाधानहिन गोलचक्करमा घुमाईरहनु ।
समस्या समाधानको अर्को पाटो साम्राज्यवादी शक्तिहरु र तिनका दलालहरुको रणनीति, कार्यनीति र कार्यशैलिलाई राम्रोसंग बुझेर अगाडि बढ्नु हो । परिचालित पात्रहरु उपयोग गरेर भ्रमको पर्दा खडा गर्ने, भ्रम सिर्जना गर्ने र भ्रममा खेल्ने रणनीति अपनाउनुको मूख्य कारण नेपालीहरुको चिन्तन प्रकृयालाई भ्रष्ट बनाउनु र त्यसको आड लिएर राज्य र पद्धतिलाई नष्ट गर्दै जानु हो । साम्राज्यवादको यो कुटिल षडयन्त्रमा त्यसले परिस्थिति र मानिसहरुको मनोविज्ञान हेरेर खडा गरेका पात्रहरुलाई कााध हाल्ने झोले प्रवृति साधक बनेर उभिएको छ ।
नेपाली समाजको पछौटे चेतना, तदर्थवादी प्रवृति र सतहि कार्यशैलिको दूरुपयोग गरेर भ्रममा खेल्ने रणनीति अपनाएका हुन्छन् तर यो तिनीहरुले सोंचे जस्तो सजिलो छैन । नेपालको जारी अवस्था सामान्य प्रकारको गत्यावरोधको अवस्था नभएर संकटको अवस्था हो र यसको समाधान नव–औपनिवेशिक राज्य व्यवस्थालाई जगैबाट भत्काएर मात्र हुन संभव छ । समस्यालाई समग्रतामा विचार गर्ने र यसको एकमुष्ट समाधान खोज्ने प्रयासले मात्र दशकौंदेखि चल्दै आएका यस प्रकारका षडयन्त्रहरुको कुशलतापूर्वक सामना गर्न सकिन्छ ।
















