काठमाडौं / नेपालका नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन ३० सदस्यीय प्रतिनिधिमण्डलका साथ काठमाडौं आएका पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासी काठमाडौंमा १९ घण्टा बिताएर स्वदेश फर्किएका छन् । अब्बासीको स्वागतमा प्रधानमन्त्री केपी ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेनन् । यसअघि समकक्षी नेता नेपाल आउँदा प्रधानमन्त्री नै स्वागतको निम्ति विमानस्थलमा पुग्ने परम्परालाई प्रधानमन्त्री ओलीले रुपान्तरण गरेका छन् । अब कुनै पनि देशको प्रधानमन्त्री वा राष्ट्रपति नेपाल आउँदा पाकिस्तानी प्रधानमन्त्रीकै जस्तो शैलीमा स्वागत गरिने विश्वास विश्लेषकहरुले गरेका छन् । ओलीले यसपटक सत्तारोहण गरेलगत्तै देखाएको यो स्वागतशैलीको सर्वत्र प्रशंसा गरिएको छ । यो शैलीलाई निरन्तरता दिएर प्रधानमन्त्री ओलीले आफ्नो क्रमभंगताको सन्देश दिनु आवश्यक रहेको सुझाव पनि विश्लेषकहरुले दिएका छन् ।
पाकिस्तानी प्रधानमन्त्री अब्बासीले नेपालका राष्ट्रपतिसँग शिष्टाचार भेट गरे भने प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डलाई छुट्टाछुट्टै भेट गरेका थिए । बालुवाटार स्रोतका अनुसार पाकिस्तानी प्रधानमन्त्री अब्बासीले प्रधानमन्त्री ओलीमार्फत नयाँ सरकारलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीसँगको भेटका क्रममा पाकिस्तानी प्रधानमन्त्रीले सार्कलाई सक्रिय बनाउने सवाललाई महत्व दिँदै सार्क सम्मेलन पाकिस्तानमै गर्ने इच्छा व्यक्त गरेका छन् । सन् २०१४ मा काठमाडौंमा सम्पन्न १८औं सार्क शिखर सम्मेलनपछि सार्कको अध्यक्ष राष्ट्रका रुपमा नेपाल रहेको छ । १९औं सार्क शिखर सम्मेलन पाकिस्तानमा हुने तय भइसकेकोमा भारतका कारणबाट सम्मेलन आयोजनाको तयारी भइसकेको सार्क सम्मेलन स्थगित भएको थियो । नेपालले अध्यक्ष राष्ट्रका हैसियतबाट सार्क सम्मेलन आयोजनाका निम्ति पहल गर्नुपर्नेमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीको विशेष अनुरोध रहेको बालुवाटार सूत्रले जनाएको छ ।
हुन त पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणलाई विभिन्न कोणबाट विश्लेषण पनि गरिएको छ । चीनसँग विशेष आत्मीय सम्बन्ध रहेको पाकिस्तानमार्फत् नेपालसँग विशेष सम्बन्ध बनाउन चीनकै पहलमा पाकिस्तानी प्रधानमन्त्री नेपाल आएको भनी विश्लेषण पनि गरिएको छ । पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणले दक्षिण एशियाली क्षेत्रीय संगठन सार्कलाई सक्रिय बनाउने काममा विशेष योगदान पु¥याउने विश्लेषण पनि धेरैले गरेका छन् ।
पाकिस्तानी प्रधानमन्त्री अब्बासीले ‘वान बेल्ट वान रोड इनिसिएटिभ’ (बीआरआई) मा नेपालले पनि हस्ताक्षर गरेको सन्दर्भ उल्लेख गर्दै यसबाट लाभ लिनुपर्नेमा जोड दिएको बालुवाटार सूत्रले जनाएको छ । ‘बीआरआईबाट नेपालले पनि लाभ लिने गरी प्रक्रिया अघि बढाउनुपर्ने सुझाव पाकिस्तानी प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्री केपी ओलीलाई दिएको स्रोतले जनाएको छ । बीआरआई चीनले अघि सारेको अवधारणा हो, यसमा नेपालले हस्ताक्षर गरेको छ तर, नेपालले अपेक्षाकृत लाभ लिन नसकेको कारण नेपालकै कमजोरी रहेको विश्लेषकहरुले दाबी गरेका छन् ।
स्मरणीय छ, बीआरआईमा भारतले हस्ताक्षर गरेको छैन । अमेरिका र जापानसँग मिलेर बीआरआईको विकल्प बनाउने भारतको प्रयास देखिन्छ । नेपालले लामो समयसम्म बीआरआईमा हस्ताक्षर गरेको थिएन । त्यसमा भारतीय पक्षकै दबावले काम गरेको थियो । पछिल्लो चरणमा भारतीय हस्तक्षेपकारी गतिविधिबाट नेपालले आपूmलाई फरक रुपमा प्रस्तुत गर्दै आएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बखत नेपालले ‘वान बेल्ट एण्ड वान रोड इनिसिएटिभ’मा हस्ताक्षर गरेको हो । पाकिस्तानी प्रधानमन्त्री अब्बासीले यो प्रसंगमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटमा विशेष कृतज्ञता व्यक्त गरेको स्रोतले जनाएको छ । अब्बासीले नेपाल बसाइँका क्रममा पाकिस्तान आतंकवादसँग लडिरहेको र बेलाबेला आतंकवाद भन्दै आफूलाई एक्ल्याउने प्रयास भइरहेको भन्दै त्यस्तो प्रक्रियामा नेपालले पाकिस्तानलाई असहयोग नगरोस् भन्ने अनुरोध पनि राखेका छन् ।
नेपालमा स्थिर सरकारको सम्भावना बलियो बन्दै गइरहेको परिप्रेक्ष्यमा नेपालप्रति विश्वको ध्यानाकर्षण बढेको छ । यो स्थितिमा पाकिस्तानले सार्क शिखर सम्मेलनलाई महत्व दिएर दक्षिण एशियाली क्षेत्रबाट नयाँ सन्देश दिन खोजेको बुझ्न सकिन्छ । प्रधानमन्त्री ओली र पाकिस्तानी प्रधानमन्त्री अब्बासीको भेटवार्ताले अरु कुनै देशलाई असर पु¥याउने ठान्नु आफैमा मूर्खता हो । पाकिस्तान र नेपालको सम्बन्धलाई आपसी सद्भाव र सहयोगमा आधारित बनाउनका लागि यस्तो भ्रमण आवश्यक हुने विश्लेषकहरुको ठहर छ । सार्कलाई सक्रिय बनाउनुपर्नेमा नेपाल र पाकिस्तान दुवै मुलुकको धारणा समान देखिएको छ । पाकिस्तानी प्रधानमन्त्री अब्बासीले नेपाललाई चीनसँग कनेक्टिभिटी बढाउन र फाइदा लिन सुझाव दिएका छन् । पाकिस्तानले चीनसँगको सम्बन्धबाट राजमार्ग नबनेका ठाउँमा राजमार्ग निर्माण सम्पन्न गर्न सकेको र रेल लाइन पु¥याउन सकिँदैन भनिएका ठाउँमा रेल लाइन पु¥याएको समेत उदाहरण प्रस्तुत गर्दै पाकिस्तानले चीनसँग १५०० किलोमिटर राजमार्गबाट १२ महिना व्यापारिक कारोबार गरिरहेको जानकारी गराए । नेपालले पनि यस्तो अवसर लिनसक्ने अब्बासीको सुझाव रहेको छ । कनेक्टिभिटीले पावरप्लान्ट, राजमार्ग, बन्दरगाह, विमानस्थल, रेललाइन आदिमा लगानी ल्याउन सकिने आफ्नो अनुभव सुनाउँदै प्रधानमन्त्री अब्बासीले नेपाल र पाकिस्तानबीच पनि व्यापार र जनस्तरको सम्बन्ध बढाउनुपर्नेमा विशेष जोड दिएका छन् । पाकिस्तानी प्रधानमन्त्रीले काठमाडौंस्थित सार्क सचिवालयको भ्रमणका क्रममा त्यहाँ वृक्षरोपणसमेत गरेर स्वदेश फिर्ता भएका छन् ।
(- जनधारणा साप्ताहिक)


















