गृहमन्त्री बादल तल्लो तहका प्रहरीसँग नजिकिंदै

169

काठमाडौं / दश वर्षे सशस्त्र युद्धको कमाण्डिङ गरेका चर्चित नेता रामबहादुर थापा ‘बादल’ देशका गृहमन्त्री भएका छन् । उनले गृह मन्त्रालय सम्हाले लगत्तैदेखि आपूm मातहतका निकायहरूमा छड्के भ्रमण गर्ने क्रम जारी राखेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्थादेखि लिएर सशस्त्र प्रहरी बल र नेपाल प्रहरीअन्तर्गतका निकायहरूमा गृहमन्त्री ‘बादल’ले भ्रमण गरिसकेका छन् ।

 
प्रहरीका हाकिमहरूसँग भन्दा तल्लो तहका प्रहरीहरूसँग राम्रो सम्बन्ध बनाउने गृहमन्त्री बादलको प्रयास देखिन्छ । प्रहरीहरूको साझा मेसमा अकस्मात खाना खान पुग्नेसम्मका गतिविधि बादलले देखाएपछि प्रहरीका उच्च पदस्थहरू सचेत बन्न थालेका छन् । कुनै पनि बेला गृहमन्त्रीको निशानामा पर्न सकिने त्रासमा जिम्मेवार पदाधिकारीहरू देखिन थालेका छन् । यसले गर्दा मातहतका तल्लो निकायमा काम गर्ने प्रहरीहरूको मनोबल बढ्ने र जिम्मेवारी बहन गर्न तत्पर रहने वातावरणको विकास हुनसक्ने विश्वास गृहमन्त्रीले गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

 
गृहमन्त्री बादल अस्ति मंगलबार खाना खाने समयमा महानगरीय प्रहरी वृत्त अनामनगर पुगेर प्रहरी मेचमा जवानहरूसँग बसेर खाना खाएपछि प्रहरीहरूबीच विभेद रहेको महसुस गरेका छन् । महानगरीय प्रहरी वृत्त अनामनगरको आकस्मिक निरीक्षण गर्न पुगेका गृहमन्त्री थापाले वृत्तको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष र भण्डार कक्षलगायतको निरीक्षण गरेका थिए । सबै निरीक्षण सकेपछि उनी मेस पनि हेर्नुप¥यो भन्दै वृत्तको मेसतिर लागे । खाना खाइरहेका प्रहरीहरू गृहमन्त्री आएको देखेर ज¥याकजुरुक उठ्न खोजे । तर, गृहमन्त्री थापाले उनीहरूलाई नउठ्न आग्रह गर्दै भान्सातिर लागे ।

 
भान्सामा पुगेर मन्त्रीले सोधे, ‘हामी पनि यहीं खाना खान्छौं, पुग्छ ?’ उनको प्रश्नमा भान्सामा रहेका जवानहरू सुरुमा त अल्मलिए । मन्त्रीले साँच्चिकै भनेको थाहा पाएपछि एक जवानले जवाफ दिए– पुग्छ हजुर ! ‘त्यसो भए हामीलाई पनि खाना ल्याउनुहोस् भन्दै मन्त्रीले खाना खाइरहेका प्रहरीहरूसँगै बसेर खाना खाए । आज भान्सामा दाल, भात, आलु र गोभीको तरकारी, साग र आलुको अचार बनेको रहेछ । ‘गृहमन्त्री आउने जानकारी पाएको भए मासु पनि पकाउन हुन्थ्यो,’ एक जवानले टिप्पणी गरे । अचानक आइपुगेका गृहमन्त्रीलाई वृत्तका प्रहरीले सलामीसमेत अर्पण गर्न पाएनन् । खाना खाएपछि मन्त्री थापाले प्रहरीहरूलाई जनताको जिउधनको सुरक्षाका लागि दत्तचित्त भएर लाग्न निर्देशन दिएका छन् । सुरक्षा निकायका अन्य अंगभन्दा नेपाल प्रहरीको रासनमा विभेद रहेकोबारे आफू जानकार रहेको भन्दै गृहमन्त्रीले त्यो असमानता हटाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दा त्यहाँ उपस्थित प्रहरीहरू खुशी देखिएका थिए ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here