काठमाडौं । वाम गठबन्धन सरकार बने पनि यो सरकारप्रति अविश्वास गर्दै राष्ट्रियता र जनजीविकाका सवालहरूलाई प्रमुख मुद्दा बनाएर आन्दोलन उद्घोष गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरू देशव्यापी रूपमा गिरफ्तार भइरहेका छन् । हालै मात्र प्रदेश नम्बर १ का विभिन्न जिल्लाका स्थानीय तहमा विभिन्न स्थानीय निकायमा पत्राचार गरेर स्थानीय निकाय खाली गर्न निर्देशन दिएको नेकपाले स्थानीय निकायका जनप्रतिनिधि र कर्मचारीहरूलाई आतंकित बनाएको छ । प्राप्त जानकारीअनुसार चितवन नेकपाले भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाललाई राजीनामा नदिए कारबाही गर्ने चेतावनी दिएको छ भने मोरङको केराबारी गाउँपालिका खाली गर्न निर्देशन दिएको छ । त्यसैगरी सुनसरीको धरानमा पनि स्थानीय निकायका निर्वाचित प्रतिनिधिहरूलाई सोही प्रकृतिको पत्र पठाइएको थाहा भएको छ । मुलुकका विभिन्न स्थानका नवनिर्वाचित स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाअध्यक्षलगायतका जनप्रतिनिधिहरूलाई स्थानीय तह खाली गर्न विप्लव नेकपाको जनसरकार लिम्बुवान स्वायत्त प्रदेशले पत्राचार गर्ने क्रममा धरानका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई समेत पत्राचार गरिएको छ ।
नेकपाको लिम्बुवान स्वायत्त प्रदेश प्रमुख मनोज किरातीद्वारा हस्ताक्षरित पत्र धरान ५ का वडा अध्यक्ष सन्तोष लिम्बु र धरान १७ का वडा अध्यक्ष सूर्यकुमार भट्टराई (मनोज) लाई चैत १ गते नै पठाइएको थाहा भएको छ । उनीहरूले उमहानगर, वडा कार्यालय खाली गर्न अनुरोध गरेका छन् । पत्रमा लेखिएको छ– ‘दशवर्षे महान् जनयुद्ध र १९ दिने आन्दोलनको मुख्य उद्देश्य विपरीत बिसर्जनवादी, सम्झौतावादी, संशोधनवादी र अवसरवादीहरू जनतालाई नयाँ ढंगले भ्रम छर्न खोजिरहेको छ ।’
पत्रमा कार्यरत जनप्रतिनिधि तथा स्थानीय निकायका कर्मचारीहरूले कुनै पनि कार्य नगर्न, नगराउन र गाउँ, नगर, उपमहानगर खाली गर्न सम्बन्धित सबै पक्षलाई अनुरोध गरेका छन् र उक्त अनुरोधको गर्दै अवज्ञा गरे भौतिक कारबाहीको चेतावनीसमेत दिएका छन् ।
यसैबीच विप्लव नेतृत्वका नेकपाका केन्द्रीय सदस्य तथा मध्यकोशी ब्यूरो इन्चार्ज निशान राई र कोशी ब्यूरो सदस्य सागर लिम्बूसहितका दर्जनौं नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थाहा भएको छ । नेकपाको कोशी ब्यूरो बैठक बसिरहेको बेला गत सोमबार राति उनीहरूलाई धनकुटाको हिले बजारबाट पक्राउ गरिएको हो । चन्दा माग गर्दै चिठी आतंक मच्चाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको दावी छ ।
पक्राउ पर्नेमा नेकपाका संखुवासभा इञ्चार्ज समूल, सचिव दिव्य बराल, धनकुटा इन्चार्ज आकाश शर्मा, सचिव नवराज भट्टराई, तेह्रथुम सचिव कमला लिम्बू पनि छन् ।
















