कमरेड ओली ! यो अलि हजम भएन

236

–निमकान्त पाण्डे
चौध वर्ष जेल जीवन बिताएका केपी शर्मा ओली देशको शक्तिशाली प्रधानमन्त्री बन्नुभएको छ । यो बेला आम नेपाली जनमानसमा प्रधानमन्त्री ओलीप्रति आशा, भरोसा र विश्वास पलाएको छ । केपी ओली निःसन्तान भए पनि तीन करोड नेपालीका अभिभावक बन्नुभएको छ । नेपालीको छोराले पाउने सबैभन्दा ठूलो पद प्रधानमन्त्री नै हो । त्यो पद प्राप्त गरिसकेपछि अरु कुनै कुराको लोभ, लालच हुनुहुँदैन अथवा नहुुनुपर्ने हो भन्ने आम जनताको चाहना देखिन्छ, कमरेड ओलीप्रति । प्रधानमन्त्रीको कुर्सीमा धेरै जना बसिसकेका छन् । तर यसपटकको कमरेड ओलीको प्रधानमन्त्रीको कुर्सी नितान्त फरक छ, संघीय गणतन्त्रात्मक संविधान कार्यान्वयन प्रक्रियामा रहेका बेला पहिलो प्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गर्नुभएका कमरेड ओली यसअघिका प्रधानमन्त्रीहरूभन्दा फरक शैलीबाट प्रस्तुत हुनुपर्ने अपेक्षा आम नेपाली जनताको हुनु स्वाभाविक हो । परम्परागत शैलीका अभिव्यक्तिहरू र परम्परागत शैलीका शासन अभ्यास कमरेड ओलीबाट जनताले अपेक्षा गरेका छैनन् भन्ने कुरा ओली कमरेडले बुझ्नु जरुरी छ ।

 

चौध वर्ष जेल जीवन बिताउनु पर्नाको कारण के हो ? ओली कमरेड जेलमा बस्दा पनि देशमा अरु व्यक्तिहरू प्रधानमन्त्री थिए भन्ने कुरा भुल्नु हुँदैन । उनै पुराना प्रधानमन्त्रीहरूको शैलीमा अभिव्यक्ति दिने र त्यही शैलीमा शासन गर्ने हो भने फरक परिणाम दिन सकिने छैन । नेपाली जनताले केपी ओलीप्रति ठूला आशा गरेका छन् भन्ने कुरा बुझ्नु पर्दछ ।
पछिल्लोपटक युरोपियन संघले नेपालको आन्तरिक मामिलामा सार्वजनिक गरेको लिखित अभिव्यक्ति नेपालका लागि नितान्त आपत्तिजनक विषय हो । यो विषयमा नेपालको परराष्ट्र मन्त्रालयबाट अत्यन्त सामयिक प्रतिक्रिया आयो । परराष्ट्र मन्त्रालयबाट आएको प्रतिक्रिया स्वयं प्रधानमन्त्री केपी ओलीको प्रतिक्रियाको रूपमा बुझिन्छ । यो प्रतिक्रिया सार्वजनिक भइसकेपछि यही विषयमा प्रधानमन्त्री केपी ओलीले कुनै कार्यक्रममा भाषण गर्ने क्रममा बोल्नु आवश्यक थिएन । युरोपेली संघको टिप्पणीबारे सरकारले पटक–पटक प्रतिक्रिया जनाउनुभन्दा कठोर कदम चाल्नु बुद्धिमानी हुन्छ । कूटनीतिक मान्यता विपरीतका हर्कतप्रति कूटनीतिक मर्यादा देखाउन आवश्यक छैन । विगतको भारतीय नाकाबन्दीका विरुद्ध प्रस्तुत भएजस्तै देशभक्ति भावनाका साथ कठोर बन्न प्रधानमन्त्री ओलीले विलम्ब गर्नु उचित हुँदैन । यस्तो घातक विषयलाई लामो समयसम्म चर्चाको विषय बनिरहन दिनु पनि देशका लागि हानिकारक हुन्छ ।

 
कमरेड ओलीसँग अहिलेको अवस्थामा देशको ठूलो जनशक्ति साथमा छ । यो जनशक्तिलाई नै प्र्रयोग गरेर नेपाललाई अगाडि बढाउन नेतृत्व गर्ने अवसर ओली कमरेडलाई प्राप्त भएको छ । वैदेशिक सम्बन्ध बारेमा परराष्ट्र मन्त्रालयले बोलिसकेपछि प्रधानमन्त्रीको छुट्टै अभिव्यक्ति आवश्यक हुँदैन । त्यसैगरी देशको शान्तिसुरक्षा बारेमा गृहमन्त्रीको अभिव्यक्ति नै प्रधानमन्त्रीको अभिव्यक्ति मानिन्छ । प्रधानमन्त्री मातहतका कुनै पनि मन्त्रीले बोलिसकेपछि त्यही विषयमा प्रधानमन्त्री बोल्नु आवश्यक हुँदैन । प्रधानमन्त्रीका तर्पmबाट आफ्ना मन्त्रीहरूलाई अनुशासनमा राख्ने र बोल्ने कुरा निर्देशन गर्नु सबैभन्दा उत्तम व्यवहार हुन सक्दछ । प्रधानमन्त्रीले निर्देशन दिएका बाहेक कुराहरू मातहतका मन्त्रीहरूबाट बोलिन्छन् भने त्यस्ता विषयहरूमा प्रधानमन्त्रीको आन्तरिक प्रशिक्षण जरुरी हुन्छ । मन्त्रीहरूबारे टिप्पणी गर्दा पनि सार्वजनिक रूपमा नगर्नु ठीक होला । सार्वजनिक रूपमा आपूm मातहतका मन्त्रीहरूको टिप्पणी गर्नुभन्दा कोठामा बोलाएर आवश्यक निर्देशन दिनु उपयुक्त हुनेछ । फरक शैलीको शासनको अनुभूति जनतालाई गराउन आवश्यक छ, यो नै जनताको अपेक्षा हो ।

 
निकट भविष्यमा प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण हुँदै छ । भारत भ्रमण यसअघि पनि भएकै हो । भ्रमणको अनुभव प्रधानमन्त्री ओलीले गरिसक्नुभएको छ । यसअघि प्रधानमन्त्रीका हैसियतमा भारत भ्रमण गर्दा देश भारतको नाकाबन्दीमा परेको थियो । यतिबेला त्यो अवस्थाको नाकाबन्दी छैन । परन्तु भारत आफ्नो स्वार्थका लागि नेपालप्रति असहिष्णु छ भन्ने कुरा सर्वविदितै छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई सकेसम्म आफ्नो स्वार्थमा प्रयोग गर्ने भारत सरकारको प्रयास हुनेछ । यो स्वाभाविक पनि हो । भारत वा चीन अथवा अन्य कुनै देशका राष्ट्रपति वा प्रधानमन्त्रीहरू नेपालको भ्रमणमा आउँदा नेपालले आफ्नो स्वार्थलाई प्राथमिकतामा राख्नुलाई अन्यथा भन्न सकिंदैन । त्यसैगरी हाम्रा प्रधानमन्त्री कुनै देशको भ्रमणमा जाँदा त्यो देशले हाम्रा प्रधानमन्त्रीबाट आफ्नो स्वार्थ हासिल गर्न खोज्नु पनि स्वाभाविक हो । तर हाम्रा प्रधानमन्त्रीले आफ्नो देशको स्वार्थलाई प्राथमिकतामा राखेर छिमेकी देशको स्वार्थबाट आफ्नो देशलाई नोक्सानी पुग्न नपाओस् भन्नेतर्पm सावधानी अपनाउन जरुरी हुन्छ । यस्तो सावधानी विगतका प्रधानमन्त्रीहरूबाट नअपनाइएकाले नै नेपाल आजको अवस्थाबाट गुज्रिएको छ । कमरेड केपी ओलीले पहिलोपटक प्रधानमन्त्रीमा रहेका बेला लिएको देशभक्ति अडानका कारणबाट उहाँले देशको अहितमा कुनै पनि सम्झौता गर्नु हुने छैन भन्ने विश्वास नेपाली जनतामा रहेको छ । त्यो विश्वासमा कमरेड ओलीको अडानले वाम गठबन्धन सरकारको स्थायित्वलाई पनि निर्धारण गर्नेछ ।

 
नेपाली जनताले केपी ओलीलाई देशभक्त नेताको रूपमा देखिरहेका छन् । त्यसैले देशभक्ति अडानबाट कमरेड ओली एक इन्च पनि डगमगाउनु हुनेछैन भन्ने विश्वास नेपाली जनताले गरेका छन् । यो विश्वासलाई विश्वासघात हुन नदिन कमरेड ओलीले आपूmलाई दृढनिश्चयी बनाउन जरुरी छ । केपी ओली तीन करोड नेपाली जनताको अभिभावक हो भन्ने कुरा छिमेकी देशका शासकहरूले बुझ्ने गरी अडान देखाउन सक्नु पर्दछ । अडान कस्तो लिने ? यो सबैभन्दा महत्वपूर्ण कुरा हो । भारत भ्रमणमा जानुभन्दा पहिले सत्ता बाहिर रहेका खासगरी भारतलाई विस्तारवादी शक्तिको रूपमा आरोपित गर्दै आएका राजनीतिक दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै र सामूहिक रूपमा पनि भेटघाट र छलफल आवश्यक हुन्छ । उनीहरूका सुझाव लिएर भ्रमणको एजेण्डा तय गर्न सकियो भने ओली कमरेडको भ्रमण ओजनदार बन्ने निश्चित छ । त्यसैगरी प्रमुख प्रतिपक्षी राजनीतिक दलको नेतृत्वसँग पनि परामर्श लिएर अगाडि बढ्नु श्रेयस्कर हुनेछ ।
प्रधानमन्त्री ओलीले नेपालमा असाधारण शक्ति प्राप्त गर्नुभएको छ । यो असाधारण शक्ति कमरेड ओलीलाई नेपाली जनताले उपलब्ध गराएका हुन् । नेपाली जनताले दिएको शक्तिलाई विदेशीसामु शिर ठाडो गराउन सक्नु पर्दछ । हाम्रो देश नेपाल प्रशस्त विकासका सम्भावनाहरू रहेको देश हो । यो देशबाट छिमेकी देशहरूले लाभ हासिल गर्न खोज्नु स्वाभाविक मान्नु पर्दछ । परन्तु नेपालको हित पहिलो शर्त हो । छिमेकी देश भारतले नेपालको जलसम्पदालाई मुख्य निशाना बनाएको छ । जलसम्पदाको सदुपयोग गर्दा छिमेकी देशलाई नेपालमाथि निर्भर रहनुपर्ने गरी अधिकार नेपालसँग सुरक्षित राख्नु जरुरी हुन्छ । नेपाली जनताले कमरेड ओलीलाई छिमेकी देशसँग लम्पसार परेर सम्झौता गर्नका लागि म्याण्डेट दिएका छैनन् । नेपाली जनताले कमरेड ओलीलाई देशभक्त राजनेता देख्न चाहेका छन् । नेपाली जनताको यो चाहनामा ठेस नपु¥याउने गरी यतैबाट एजेण्डाहरू बोकेर भ्रमणको तालिका तय गर्न सकियो र सम्झौताहरू पारदर्शी गराउन सकियो भने ओली कमरेडका तस्बिरहरू प्रत्येक नेपालीका घर–घरमा सजाएर राखिनेछन् । आगे केपी ओली कमरेडलाई चेतना भया !

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here