मिसन कर्णाली : लगानी, रोजगारी र सम्मान

215

 डा. दीपेन्द्र रोकाया

देखिँदा तथ्याङ्कहरूको अवलोकनबाट कर्णाली प्रदेश सबैभन्दा पछाडि छ । कडा मिहेनतबाट मात्र कर्णालीले आफ्नो पुरानो प्रतिकात्मक परिचय फेर्न सक्छ । औद्योगिक क्रान्तिका चार युग (वाष्प इञ्जिन आविष्कारको युग, विद्युत्, स्टिल, पेट्रोल आविष्कारको युग, कम्प्युटर प्रविधिको युग र कृत्रिम प्रज्ञा, यन्त्रमानव, नानो प्रविधिको युग) का उपलब्धि समेतलाई विचार गरी कर्णाली प्रदेशको बेरोजगारी अन्त्य गर्न र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न मूलतः ८ वटा विषयमा केन्द्रित हुन आवश्यक छ ।

१. सडक पूर्वाधार
विकास सडक भएर प्रवाह हुन्छ । कर्णाली प्रदेशले सुर्खेत–हिल्सा कर्णाली लोकमार्गलाई उच्च प्राथमिकता दिई एक वर्षभित्र जोड्ने संकल्प गर्नै पर्दछ । हर्क गुरुङले समेत उत्तर दक्षिण लोकमार्गलाई उहिल्यै उच्च प्राथमिकता दिनु भएको थियो । तर एक राज्य, दुई कालिकोट, जुम्लातिरका नेताहरूका कारण कर्णाली लोकमार्ग अल्मलिन पुग्यो । यसको मतलब जुम्लातिर सडक लिनु हुन्नथ्यो भन्ने बिलकुल होइन । कृषि, पर्यटन, उद्योग, व्यापार, जलविद्युत्, शिक्षा र स्वास्थ्यजस्ता सेवामा पहुँच बढाउने गरी यातायात सेवा विस्तार गर्न पर्दछ । अहिले चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने हिल्सा र त्यसपछि गमगढी–नाग्चे लाग्ना, दुनै–मोरिम्लामा यातायात सञ्जाल जोडी नाकाहरूको विकास, विस्तार तथा सुदृढीकरण गर्न पर्छ । हामीले हिल्सा नाकालाई जोड दिनुको पछाडि यो नाका पूर्वी युरोपसम्म
पहुँच विस्तार गर्ने ढोका हो भन्ने बुझ्नु पर्दछ । यस नाकालाई चिनियाँ वान वेल्ट वान रोडसँग जोड्न आवश्यक छ । कर्णालीका अरु जिल्लामा सडकको स्तरोन्नति गर्ने र कालोपत्रे गर्नेमा केन्द्रित हुनुपर्ने छ भने हुम्ला र डोल्पा जिल्ला सदरमुकाममा १ वर्षभित्र सडक पु¥याउनै पर्नेछ । कर्णाली प्रदेशका ८९ स्थानीय तहलाई छुने गरी सडक पु¥याउने लक्ष्य राख्नु पर्दछ । सडकका अलवा प्रदेश राजधानी सुर्खेतबाट सिधै काठमाडौं, अरु प्रदेश र प्रदेशभित्रका एयरपोर्टमा हवाई सेवा सुचारु गराउनु पर्दछ । सबै जिल्ला पुग्ने विद्युतीय रेलमार्ग निर्माण गर्ने, त्यो सम्भव नभएको उच्च हिमाली क्षेत्रका बस्तीमा केबुलकारको संभाव्यता अध्ययन गरी अगाडि बढ्ने सोच राख्न पर्दछ । कर्णाली र भेरी नदीमा जलयात्राको सम्भाव्यता अध्ययन गरी ¥याप्mिटङ सेवा सञ्चालनमा ल्याउनु पर्दछ ।

२. ऊर्जा
विकासलाई प्रभावकारी बनाउने हो भने ऊर्जा क्षेत्रको विकासले प्राथमिकता पाउनै पर्दछ । कर्णाली प्रदेशमा संसारकै सस्तो मानिएको माथिल्लो कर्णाली जलविद्युत आयोजना ९०० मेगावाट (वास्तविक ४२०० मेगावाट हो), भेरी ३ मा ४८० समेत गरी सुर्खेतमा १३८० मेगावाट, दैलेखमा २० मेगावाट, जाजरकोटको छेरा समेत गरी १५० मेगावाट, रुकुम लाहुखोला समेत गरी ५ मेगावाट, कालिकोट तिला १ र २, वान्चु १ र २ मा गरी ८०० मेगावाट र डोल्पाको ठूली भेरीसमेत गरी २०० मेगावाट विद्युत निकाल्ने कार्य भइरहेका छन् । यसका साथै संभाव्यता अध्ययन गरी अगाडि बढ्नु पर्दछ । आगामी ५ वर्षभित्र सबै घरहरू तथा चाहेको उद्योग व्यवसायमा विद्युत् पु¥याउने लक्ष्यका साथ विद्युत प्रसारण लाइन ३ वर्षभित्रै भूमिगत रूपमा सबै जिल्लामा पु¥याउन पर्दछ । यही स्प्रीडलाई पक्रेर निर्माणाधीन जलविद्युत् आयोजनाको काम आगामी ३ वर्षभित्र सम्पन्न गर्न लगाउनु पर्दछ । जलविद्युत् उत्पादनको कार्यमा हौसला मिलोस् भनी प्रदेशका हरेकजनलाई शेयर दिई जन्मँदैका लखपति बनाई गरिबीको रेखा मेट्ने आधार बनाउनु पर्दछ । निजी क्षेत्र र वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिई सहजीकरण गर्न सक्नु पर्दछ । आगामी ५ वर्षभित्रमा कर्णाली प्रदेशमा कम्तीमा ३ हजार मेगावाट विद्युत् उत्पादन गरी औद्योगिक क्षेत्र र सडकमा चौबीसै घण्टा विद्युत् उपलब्ध गराउन सक्नु पर्दछ । विद्युत्को चुहावट रोक्न र जोखिम न्यूनीकरण गर्न शुरुमै अत्याधुनिक प्रविधियुक्त सुरक्षित तार उपयोग गर्नुपर्ने हुन्छ । यसो भयो भने कर्णाली प्रदेशले औद्योगिक रूप लिई आर्थिक सम्वृद्धिको आधार बनाउन सकिन्छ ।

३. कृषि
सल्लोका कारण माटोको उत्पादकत्वमा ह्रास, कृषिमा यन्त्रीकरणको अभाव, कृषकहरूको बढ्दो लागत, आयातित सामग्रीहरूसँग प्रतिस्पर्धा, कृषि भूमिको अत्यधिक खण्डीकरण, जलवायु परिवर्तनजस्ता विषयले परम्परागत कृषि प्रणाली असफल हुँदै गएको छ । सुर्खेत मकै, सल्यान अदुवा, दैलेख सुन्तला र हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र पश्चिम रुकुम स्याउमा सम्भावित क्षेत्र रहेको देखिन्छ । भौगोलिक उत्पादकत्व क्षमता हेरी कृषि विकास गर्ने रणनीति बनाउन पर्नेछ । कृषि उत्पादनमा किसान प्रोत्साहन अनुदान लगानी गर्ने, कृषियोग्य जमीन आधुनिक फार्मको रूपमा विकास गरी माटो अनुकूल बाली उत्पादन गराउन भूगोलअनुसार औषधिजन्य अर्गानिक खाद्यान्न, पशुपालन, फलफूल र जडीबुटीको पकेट क्षेत्र निर्धारण गर्नुपर्ने हुन्छ । बीउ बैंक, प्रांगारिक मलखाद र सिँचाइको व्यवस्था गर्न सके उत्पादन बढाउन सम्भव हुन्छ । कृषि उत्पादन, भण्डारण र वितरणमा अत्याधुनिक प्रविधिको प्रयोग र बजारीकरणको व्यवस्था गर्नपर्छ । सबैखाले कृषि उत्पादन, पशुपक्षीपालन व्यवसायमा ‘कृषि व्यवसाय बीमा’को व्यवस्था गर्न सके आधारभूत खाद्यान्न, माछा मासु, अण्डा, दूध र फलफूलमा आत्मनिर्भर बनाउन सकिन्छ । श्रमको सम्मान हुने गरी श्रम समूहहरू निर्माण गरेर बेरोजगारी अन्त्य गराउन सकिन्छ ।

४. पर्यटन
कर्णाली प्रदेश प्राकृतिक, सांस्कृतिक, साहसिक, ऐतिहासिक तथा धार्मिक दृष्टिबाट विश्वकै आकर्षणको केन्द्र हो । यस आकर्षणको बजार निर्माण गर्ने पर्यटन उद्योगले पर्यटन गन्तव्यहरूको विविधीकरण गर्न सक्नु पर्दछ । दुई ठूला जनसंख्या भएका देशको बीचमा रहनुले पर्यटन प्रवद्र्धनका माध्यमबाट रोजगारीका अवसर वृद्धि गरी विद्यमान जीवनस्तरलाई उकास्न सकिन्छ । थोरै लगानीले देशी विदेशी मुद्रा आर्जन गर्न सकिने अवस्था पर्यटन व्यवसायमा रहेको छ । सिंजा, विराट, दुल्लु, खलंगा, जगतिपुर, श्रीनगर, मुसीकोट, वाफीकोटजस्ता पुराना दरवारहरू, महादेव लगायत बाह्रदेउका मारुहरू, कनकासुन्दरी, त्रिपुरासुन्दरी, कालिका, मालिका, खार्पुनाथ, भैरवनाथ, चनदननाथ, रल्लिङ, याल्बाङ, छायानाथ, वायु घट्ट, छाया क्षेत्र, देउती बजै जस्ता पुरातात्विक महत्वका स्थलहरू, रारा, से–फोक्सुण्डो, दुदेदह, स्यार्पु, वुलबुलेजस्ता ताल, पचाल, तल्छरीजस्ता झरना, गोरख, पातारासीजस्ता हिमाल र चाङ्ला, महाबु, चाखु¥या, चंखेली, माछा, वलिदानको लेकजस्ता भञ्ज्याङ जानलाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन पर्नेछ । हुम्लामा कैलाश दर्शन तथा बाह्रदेउ भ्यु टावर, प्राकृतिक हिमाली सुरुङ भीउदुलो अवलोकन, हिमाली पर्यटकीय कस्तुरी, नाउर, देव र गुरिल्ला पदमार्गहरू ंनिमार्ण गरी नयाँ गन्तव्यहरू स्थापना गर्न सकिन्छ । प्रत्येक नगरपालिका, गाउँपालिका र वडाले अपनत्व लिने गरी पर्यटकीय गन्तव्यलाई स्थापित गर्न सक्छन् । ग्रामीण पर्यटन, पर्या पर्यटन, खेल पर्यटन, कृषि पर्यटन, मौसमी पर्यटन मार्फत् कर्णाली प्रदेशमा प्राप्त लाभलाई जनस्तरसम्म पु¥याउन सकिन्छ । हरेक गाउँमा होम स्टेको व्यवस्था, संभावित डाँडाकाँडामा भ्यु रिसोर्ट, प्रत्येक गाउँमा साँस्कृतिक समूह निर्माण गर्नुका साथै लोकप्रियताको आधारमा पर्यटकीय सर्किट निर्माण गर्न सकिन्छ । विश्व पर्यटनको गन्तव्य नेपाल हो भने नेपालको पर्यटकीय गन्तव्य कर्णाली प्रदेश हो भन्ने मानक स्थापित गर्नैपर्छ । यस कार्यबाट धुवाँ नआउने उद्योगबाट कर्णालीका जनताले मनग्ये आम्दानी उठाउन सक्नु पर्छ । जोकोही पर्यटकले कम्तीमा ७ दिन बिताउन सक्ने र विदेशी पर्यटकले सरदर दैनिक १०० डलर खर्च गर्ने अवस्था सिर्जना त गराऔ । यसको शुरुवात रारा कर्णाली पर्यटन वर्षबाट होस् भन्ने हो ।

५. समुदाय, बस्ती र शहर विकास
हुम्ला नामाकरण हुनुको कारण हमलै हमला भएको केन्द्र हुनुले हुमला हुँदै हुम्ला नामाकरण भएको देखिन्छ । हिमवत्खण्डको हुम्ला क्षेत्रका महादेवले त्यतिखेरको द्वन्द्वलाई बाह्रदेउको पल्टनद्वारा ३३ कोटी जनसमुदायको सहयोगमा व्यवस्थापन गर्दै कैलाशलाई प्रतिकात्मक केन्द्र बनाएका थिए । यसको बुझ्नुपर्ने अर्थ हो, पूर्व ब्रह्मपुत्र, उत्तर सिन्धु, पश्चिम सत्तलज र दक्षिण कर्णाली नदीले चारवटा सभ्यता निर्माण गरेका छन् । यी चार सभ्यतामध्ये कर्णाली सभ्यतालाई ओझेल पार्दै मैदानी भागमा बस्ने धेरै मान्छेले सुगमताको व्याख्या गर्ने क्रममा कर्णाली सध्यताको सट्टा गंगा सभ्यता भन्ने गरेको पाइन्छ । यो सभ्यताको सही व्याख्या र विश्लेषणको खाँचो छ । यतिबेला संघीय संरचना निर्माण हुँदा करिब १६ लाख कर्णालीवासी छन् । आम जनसमुदायको समान रूपमा विकास होस् भन्ने हेतुले ‘बालबालिकालाई लगानी, युवालाई रोजगार र वृद्धवृद्धालाई सम्मान कार्यक्रम’ लागू गर्न पर्दछ । जीवन सुरक्षित भयो भने मात्र अरु उन्नति र प्रगतिका कुरा सोच्न सकिन्छ । भू–गर्भशास्त्रीहरूले कर्णाली प्रदेश विगत ५०० वर्षयता यस क्षेत्रमा भूकम्प नगएकाले ठूलो महाविपति आउने सम्भावना रहेको बताइरहेका छन् । यसैले कम्तीमा आगामी १०० वर्षको अनुमान गरी योजनाबद्ध रूपमा सबैका लागि सुलभ आवास उपलब्ध गराउन एकीकृत सुरक्षित बस्ती विकास गरी आधुनिकीकरणतर्फ लाग्नै पर्दछ । यस्ता बस्तीहरू स्वायक्त र निजी मोडलबाट निर्माण गरि उपलब्ध हुने स्थिति बन्यो भने मात्र सम्भव हुन्छ । जीवनोपयोगी प्रेरणादायी शिक्षा दिने गरी कर्णाली कला, साहित्य र संस्कृति प्रतिष्ठान, साँस्कृतिक नाचघर र संग्रहालय निर्माण गरी इतिहास चिनाउनु पर्छ, वर्तमानमा सिकाउनु पर्छ र भविष्य देखाउनु पर्दछ ।

६. शिक्षा
नेपाललाई विकासोन्मुख राष्ट्रको सूचीमा समावेश गराउन, सबै तह र विधामा समानतामूलक पहुँच सुनिश्चित गर्न, रोजगारीमूलक बनाउन र आर्थिक–सामाजिक लक्ष्यहरू हासिल गर्नका लागि शिक्षा अपरिहार्य माध्यम हो । यसैले शिक्षालाई निःशुल्क उपलब्ध गराउने, रोजगारी र उद्यमशीलता विकास गर्न ७० प्रतिशत प्राविधिक र व्यावसायिक शिक्षा तथा ३० प्रतिशत सैद्धान्तिक शिक्षा दिने आधार बनाउन आवश्यक छ । यसको व्यावहारिक रूपमा आमाबाबु विद्यालय, आधारभूत विद्यालय, राज्य विद्यालय र विश्वविद्यालयको अवधारणात्मक संरचनामा आवासीय अध्ययन गराई राज्य वा देशको आवश्यकताअनुसार जनशक्ति निर्माण गर्न आवश्यक छ ।

७. स्वास्थ्य
संविधानले स्वास्थ्यलाई मौलिक हकको रूपमा प्रत्याभूति गरेको अवस्थामा बाल मृत्यु दर, मातृ मृत्यु दर घटाउने र कुल प्रजनन दरबारे विचार गर्दै दिगो विकासको लक्ष्य हासिल गर्न आवश्यक छ । हाल प्रदेश राजधानी सुर्खेतको अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ चिकित्सकहरू उत्पादनमा जोड दिनु पर्दछ । हरेक नगरपालिकाले ५०, गाउँपालिकाले २५ शय्याको सुविधा
सम्पन्न अस्पताल र प्रत्येक वडामा स्वास्थ्य चौकी सञ्चालन गर्न पर्दछ । परम्परागत उपचार विधि तथा हुम्ला, मुगु र डोल्पामा स्थानीय सामुदायिक वनहरूसँग सहकार्य गर्दै हिमाली जडिबुटीको सम्वद्र्धन गरी औषधि उत्पादन गर्ने कम्पनीहरू निर्माण गर्न सकिन्छ । प्राकृतिक योग विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउन सकिन्छ । हरेक घरमा उचित व्यवस्थापन भएको धुवाँरहित चुलो र सौचालय हुनै पर्ने मापदण्ड बनाउन सकियो भने युवाकालमै वृद्ध अवस्था भोगेको देख्न पर्ने छैन ।

८. सञ्चार, विज्ञान र प्रविधि
सूचना, प्रविधि र विज्ञानका विकासहरूले समाजका हरेक क्षेत्रमा असंभव लाग्ने कुरा समेत सम्भव तुल्याउँदछ । यसको प्रयोग र विकासमा जोड दिन सकियो भने हिजो राजनीतिक क्रान्ति र अहिले सञ्चार, विज्ञान र प्रविधिको सहायताले आर्थिक विकास सम्भव तुल्याउन सक्तछ । सूचना प्रविधिको माध्यमबाट सुशासन कायम गर्नेदेखि भरपर्दो सुलभ सेवा प्रदान गर्न पर्दछ । सबै प्रकारका सञ्चारमाध्यमले सूचनाको
हक पूर्ण रूपमा प्रयोग गर्न सकेको खण्डमा समाजमैत्री भाव सम्प्रेषणको वातावरण निर्माण हुन जान्छ । आधुनिक सूचना र सञ्चार प्रविधिमा आम जनताको पहुँच स्थापित गर्न सकियो भने मात्र यसको विकासले सार्थकता पाउँछ । यसर्थ सञ्चार सिद्धान्तलाई सफलतापूर्वक उपयोग गर्न सकेमा यतिबेला देखिएको आशावादलाई नगदीकरण गर्न सकिने छ ।

निष्कर्ष
सबै जना विकासका पछि दौडिएका छन् । विकास हामै्र निम्ति हो भन्ने हेतुले आवश्यकता बोध गर्ने र त्यसको कार्यान्वयनका लागि संकल्प गर्नु, दृढ इच्छाशक्ति देखाउनु आजको आवश्यकता हो । त्यसैले एक जिल्ला एक परिचयको आधार बनाउनु पर्दछ । हरेक व्यक्तिलाई ५ वर्षमा लखपति र १० वर्षमा करोडपति बनाउने योजना उत्पादनका क्षेत्रबाट निर्माण गर्नुपर्दछ । यस्ता लक्ष्यका आधारमा स्रोत र साधन प्रयोग गर्नपर्छ । यसैले कर्णाली प्रदेश निर्माण महाअभियानमा विश्वभरका मित्रहरूको सक्रीय साथ र सहयोग खोजी गरी कर्णाली प्रदेश सरकारले प्राथमिकताको क्षेत्र निर्धारण गर्न सक्नु पर्दछ । [email protected]

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here