डा. दीपेन्द्र रोकाया
गएको सोमवार नेपालमा धुमधामका साथ बुद्ध जयन्ती मनाएको देखियो । सबैले राजकुमार सिद्धार्थ गौतमले ज्ञानको खोजीमा गृह त्याग गर्नु परेको चर्चा गरेको देखियो, सुनियो र पढियो । त्यो ज्ञान खोजीको आधार विन्दु के हो ? भन्ने सन्दर्भमा रोगी मान्छे, वृद्ध मान्छे र मरेको मान्छे देखेको सन्दर्भलाई जोडेको पाइयो । सत्य कुरा त्यो भन्दा भिन्न छ जस्तो लाग्दछ । किनकि वैराग्य जीवन कतिखेर आउँछ ? एक्लोपन महसुस भएपछि हुने हो । दरवारमा उनी एक्ला थिएनन् । सिद्धार्थ गौतमसँग उनको रूपवती श्रीमती यशोधारा पनि त थिइन् । यशोधारालाई एकजना अर्को उम्मदवारसँग मल्ल युद्धमा जितेर सिद्धार्थले आफ्नो श्रमती बनाउन पाएका थिए । जतिबेला उनको छोरो राहुल जन्मेको थियो, यस्तो खुशीको क्षणमा अर्थात् २९ वर्षको लक्का जवान हुँदा कोही किन त्यतिकै घर छोड्छ ?
माथिका भनाईहरूले यसको चित्तबुझ्दो जवाफ दिन सक्तैन । हुन त भन्नेहरूले सिद्धार्थ गौतमलाई नपुंसक थिए पनि भन्न भ्याएका छन् । फ्रान्सेली लेखक सिल्भाँ लेभीले सिद्धार्थ गौतमले आफ्नो जीवन कालमै आफ्नो र आफ्नो प्रतिमामा पुजा गर्नुका सट्टा पुरै नाङ्गो महिलालाई पुजा गर्न सके शक्ति प्राप्त हुने सन्दर्भ समेत उल्लेख गरेका छन् । यहाँ सवाल कुन कारणले उनले गृहत्याग गरे ? त्यसबाट के कुरा प्राप्त भयो, जसलाई बुद्धत्व प्राप्त भयो भनिन्छ भन्ने गरिन्छ ?
यो कुरा बुझ्नका लागि तत्कालीन समयको द्धन्द्धका विषयहरू अध्ययन गर्नपर्ने हुन्छ । सामाजिक भू–बनोट र चालचलन बुझ्नपर्ने हुन्छ । अनुमान पनि गर्न पर्ने हुन्छ कि कुन कुरा जिम्मेवार कारण हुन सक्छ ? उनको जन्म कपिलवस्तु शाक्य गणतन्त्रका राजन ( राजा नभई सभामुख वा प्रमुखलाई प्रयोग गरिएको शब्द हो) शुद्धोधन र कोलीय गणराज्यकी राजकुमारी मायादेवीको कोखबाट भयो । सिद्धार्थ गौतम जन्मेको सात दिनपछि मायादेवीको मृत्यु भएपछि उनको पालनपोषण सौतेनी आमा महाप्रजापति गौतमीबाट भएको थियो । अध्ययनबाट थाहा हुन्छ कि उनको वाल्यकाल ऐयासी र विलाशितामा वितेको थियो । कतिपय कुरामा उनी विरक्तिएको प्रशंगहरू पनि पाइन्छन् । विभिन्न प्रशंगले उनलाई उद्देलित बनाएका सन्दर्भहरू पनि देखा पर्दछन् ।
तर त्यसभन्दा महत्वपूर्ण कुरा राजनीतिक कारण देखा पर्दछ । संसारमा जे जति द्धन्द्ध चलेका छन्, तिनको कारण खोतल्दा आगो, पानी, बतास, जमीन, सत्ता, महिला आदिलाई कारणका रूपमा उठान गरेको पाइन्छ । यसो हुनुको मुल कारण उत्पादनसँग जोडिएर हुने गरेको हो । सिद्धार्थ गौतमको गृहत्यागको सन्दर्भमा कपिलवस्तु र कोलीय राज्यको द्धन्द्ध रोहिणी नदीको पानीको बाँडफाडको विषय प्रमुख रूपमा उठेको देख्न पाइन्छ । यस नदीको पानीलाई सिद्धार्थ गौतमले ६० प्रतिशत कपिलवस्तु गणराज्य र ४० प्रतिशत कोलीय गणराज्यले उपयोग गर्न पाउने गरी बाँडफाँट गर्नुपर्ने शान्तिपुर्ण प्रस्ताव गरेका थिए । यस प्रस्तावको विरोधमा ५०० जना गणसंख्यामा २६० मत विरोधमा देखा परेको थियो । उनलाई यो गणराज्यमा बसेर अर्को गणराज्य अर्थात् मावलीको पक्ष लिएको आरोप जवरजस्त रूपमा लागेको थियो । यसले के देखाउँछ भने यस विरोधका अगाडि देशमा बसीरहनु भनेको मृत्युदण्ड स्वीकार गर्न पनि तयार हुनुजस्तै थियो । यसैले उनलाई तत्कालीन परिवेशमा बाँचेरै केही गर्न सकिन्छ भन्ने लागेकाले गृहत्याग गर्नु परेको थियो । यसलाई राजनैतिक रूपमा भन्नु पर्दा यो देश निकालाको घटना नै थियो ।
त्यसपछि उनले अनुकेमेन भन्ने स्थानमा गई पँहेलो वस्त्र धारणा गरी सन्यासी जीवन धारण गरेका थिए । आलार कालामका तीन सय शिष्य र उद्दक रामपुत्रको सात सय शिष्यसँग योग, ध्यान सिके तर सन्तुष्टि प्राप्त नभएपछि मगधको बोधगया नजिकै कठोर तपस्या गर्न पुगे । प्राण रक्षाका लागि जल मात्र ग्रहण गर्ने समेत गरे । तर त्यसबाट कुनै लाभ भएन । एक दिन पिपलको बोटमुनी ध्यानमा बसेको बेला बुद्धत्व प्राप्त भयो, त्यो भनेको ज्ञान हो । उनले पत्ता लगाएको कुरा भनेकै अज्ञानता नै दुःखको कारण हो । उनले सारनाथमा पाँच जना भिक्षुलाई राखी पहिलो उपदेश दिए । त्यसपछि ८० वर्षको उमेरसम्म उपदेश दिने र मानव कल्याणका विचार सम्प्रेषण गरे ।
बुद्धको यो वास्तवितका अघि उनका अनुयायी तथा उनका दर्शनबाट प्रभावित नेपाली मनुवाहरूको कार्य व्यवहार हेर्दा लाग्दैछ, बुद्धलाई अर्कै रूपमा ग्रहण गर्दैछौ । बुद्ध मानव हुन् । उनीसँग रहेको मानवता हाम्रो आर्दशपन हो । आजकल बुद्धसँगै उनको श्रीमती यशोधाराले गृह त्याग नगरीकन पनि बुद्धत्व प्राप्त गरेको चर्चा पनि हुन थालेको छ । यसो हो भने थाहा पाउनु पनि दुःखको कारण हो भन्ने अनुभव हामीसँग प्रशस्तै छन् । यसो भएकाले ऐतिहासिक घटनाक्रमलाई समय सापेक्षित भई हेर्ने र बुझ्न सके हामी नेपालीका विभूति गौतम बुद्धबारे यर्थाथ सम्प्रेषण गर्न सक्थ्यौ कि ? यसैगरी केही विदेशी हुटिट्याउँहरूले छर्न खोजेको भ्रम चिर्न सकिन्थ्यो ।
(- जनधारणा साप्ताहिक)















