काठमाडौं / गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले यातायातको सिन्डिकेटलाई भत्काउन सफलता हासिल गरेपछि अब मदिरा नियन्त्रण अभियानलाई अगाडि बढाउने संकेत गरेका छन् । मन्त्रालयले देशव्यापी रूपमा मदिरा नियन्त्रण अभियान सञ्चालन गर्ने तयारी गरेको जानकारी बादलले सार्वजनिक गरेपछि मदिरा व्यवसायीहरूमा एक किसिमको भय पैदा गराएको छ । गृह मन्त्रालयले देशभर निश्चित क्षेत्रमा निश्चित समयमा मात्रै मदिरा बिक्रीवितरण र प्रयोग गर्न पाउने गरी कार्ययोजना तयार गरिरहेको जानकारी प्राप्त भएको छ ।
गृहमन्त्री थापाले यस सम्बन्धमा सम्बद्ध निकायहरूसँग छलफल जारी राखेका छन् । समाज र परिवारमा द्वन्द र विखण्डनको प्रमुख कारण मदिरा रहेको भन्दै यसको नियन्त्रण गर्ने तयारी थालेको भन्दै यसमा रचनात्मक सुझाव र सहयोगका लागि गृहमन्त्री बादलले आग्रह गरेका छन् । पछिल्लो समय बढिरहेको महिला हिंसाको कारणसमेत मदिरा नै रहेको भन्दै मदिराबाट राज्यले पाउँदै आएको करभन्दा त्यसको प्रयोगले समाजमा ल्याएको विकृति कैयौँ गुणा घातक रहेको टिप्पणी गृहमन्त्री बादलले गरेका छन् । देशभर रहेका करिब छ हजार ५०० स्थानीय तहका वडाहरूमा विभिन्न राजनीतिक पार्टी आबद्ध महिला संगठनका प्रतिनिधि, जनप्रतिनिधि, आमा समूह, नागरिक समाज र सुरक्षाकर्मी रहने गरी समिति गठन गरी वडास्तरबाटै जनसहभागितामा मदिरा नियन्त्रणको अभियान सञ्चालन गर्ने गृह मन्त्रालयको तयारी रहेको मन्त्री बादलले जानकारी गराएका छन् ।
(- जनधारणा साप्ताहिक)
















