मोहन र उर्मिलाको सफल जोडी

397

वैवाहिक जीवन आपसी समझदारीको सहयात्रा हो, जहाँ एकअर्काप्रति विश्वास र भरोसाको उत्तिकै आवश्यकता पर्दछ । एकअर्काप्रतिको लगाव, समझदारी, कमीकमजोरीलाई स्वीकार र प्रेमभावले नै वैवाहिक जीवन सफल हुन सक्दछ । यस्तै सफल दम्पतीमध्ये एक हो, काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत र शिक्षण पेशामा आबद्ध उर्मिला बस्नेतको जोडी ।

आजभन्दा करिब ३३ वर्षअघि विवाहबन्धनमा बाँधिएको यो जोडीको विवाह प्रसंग कम्ता रोचक छैन । काठमाडौंका स्थायी बासिन्दा मोहन बस्नेत आफ्नो जागिरको सिलसिलामा झापा पुगेका थिए । त्यहाँ उनको भेट उर्मिलासँग भयो । उर्मिला आफ्नो सोल्टिनीको घरमा पुगेकी थिइन् । त्यही पहिलो भेट नै उनीहरुको जीवन एकअर्कालाई सुम्पने दरिलो माध्यम बन्यो । कडा स्वभावकी उर्मिलाको घरपरिवार पनि कडा नै थियो । त्यसकारण उनले आफ्नो मातापिताले स्वीकार गरे मात्र आफूहरुको सम्बन्ध अघि बढ्ने जनाइन् । त्यसको केही दिनपछि मोहन उर्मिलाका अभिभावकसँग भेटघाट गर्न पुगे । एक जना अपरिचित केटाले आफ्नो छोरीको हात माग्न आउँदा परिवारले मान्ने त भएन नै । तर, अन्ततः छोरीको इच्छाअनुसार परिवारले उनीहरुको विवाह गरिदियो ।

 

विवाहकै दिन उनीहरु काठमाडौंका लागि बस चढे । यता, मोहनको घरमा कसैलाई यो विषयबारे जानकारी थिएन । सानैमा बुबा गुमाएका मोहनले आफ्नो मातालाई पनि यसबारे बताएका थिएनन् । त्यसैले उनी सरासर आफ्नी धर्मपत्नी लिएर एकजना साथीकोमा पुगे । त्यहाँ उनले साथीको आमाकोमा उर्मिलालाई छोडेर कोठा खोज्न लागे । केही समय कोठामा बसेपछि उर्मिलाले घर लैजानलाई आग्रह गरिन् । अन्ततः उनले घर लगे । घरमा गएपछि उर्मिलाले लगत्तै शिक्षण पेशा अँगालिन् । यता, मोहन पनि राजनीतिमा व्यस्त भए । उनीहरुको हाल एक छोरा र एक छोरी रहेका छन् ।
परिवारलाई समय दिनुपर्दा उर्मिलाले आफ्नो अध्ययनलाई बीचमै छोड्नुप¥यो । तर पनि उनले हिम्मत हारिनन् र सन्तानलाई हुकाउँदै उनले उच्च शिक्षा हासिल गरिन् । जीवनमा जस्तोसुकै परिस्थितिमा पनि हरेस मान्न नहुने धारणा राख्ने उर्मिला जीवनमा फलामको खुट्टाले टेक्नुपर्ने र विष पनि पचाउने क्षमता राख्ने बन्नुपर्ने भनाइलाई आफ्नो आदर्श मान्छिन् । उनलाई श्रीमान्झैं समाजसेवामा रुचि छ र आफ्नो जागिरपश्चात्को बाँकी जीवन समाजसेवामा नै बितोस् भन्ने चाहन्छिन् । श्रीमान् मोहन पनि आफूले समाजसेवाका लागि नै राजनीति अँगालिरहेको जनाउँछन् । नागार्जुन नगरपालिका क्षेत्रमा लोकप्रिय रहेका उनी जनताको समस्या समाधानका लागि जुनसुुकै समयमा उपलब्ध हुने नेताको रुपमा परिचित छन् । श्रीमान् मोहन आफ्नो राजनीतिक सफलताको जस आफ्नी श्रीमतीलाई दिन चाहन्छन् । उनी भन्छन्, ‘यदि उनको सहयोग नहुने हो भने आजको स्थानमा म कदापि हुने थिइनँ । उनले नै मेरो हरेक समस्यामा सहयोग गर्दै आएकी छिन् । त्यसकारण उनको अभावमा मेरो पदप्रतिष्ठाको कुनै अर्थ छैन । उनी मेरो जीवनसंगिनी भएदेखि मैले एउटा दरिलो साथ पाएको छु ।’

विवाहका पूर्वाद्र्ध समयमा परिवार, पेशा र सन्तानको हेरचाह र पठनपाठनमा बिताएको यो जोडीले विभिन्न देश र नेपालमै पनि घुमघाम गर्दाको विभिन्न अविस्मरणीय क्षण रहेको जनाए । आध्यात्मिक स्वभावकी उर्मिलाको सबैजसो बानी आफूलाई मन पर्ने श्रीमान् मोहन जनाउँछन् । श्रीमती उर्मिला भने घर अबेला आउने र मदिरापान गर्ने आफ्नो श्रीमान्को बानीमा सुधार आइदिए हुने जनाउँछिन् । यसबाहेक अन्य सबैजसो बानी मन पर्ने उनको भनाइ छ ।
आपसी समझदारी नै सफल वैवाहिक जीवनको आधार हो भन्ने यो जोडीको भनाइ छ । ‘वैवाहिक जीवनमा समयक्रमसँगै विभिन्न समस्याहरु आउँछन् । तिनलाई आपसी समझदारी र सरसल्लाहमा समाधान गर्नुपर्छ । एकअर्काप्रति विश्वास र भरोसा हुनुपर्छ । पुरुष र महिला आफ्नो परिवारप्रति उत्तिकै जिम्मेवार हुनुपर्छ । विवाहरुपी रथको पुरुष र महिला दुई पांग्रा हुन्, कुनै एक पांग्रामा समस्या आउनेबित्तिकै रथको सञ्चालनमा समस्या आउन सक्छ । त्यसकारण पुरुष र महिला दुवै आआफ्नो जिम्मेवारीप्रति गम्भीर रहन सके वैवाहिक जीवन सफल बन्छ,’ यो जोडीले बतायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here