चन्द्रप्रकाश बानियाँ
सायद नेपालको इतिहासमा यो हप्ताजस्तो ठूलो मानवीय क्षति यसभन्दा अघि कहिल्यै भएको थिएन होला । मृत्यु अनिवार्य छ । जन्मँदैदेखि प्रतीक्षा गरिने विषय हो– मृत्यु ! त्यसैले क्षण क्षण र पल पलमा मृत्युका घटना घट्नु अनिवार्य छ र जुनसुकै बेला जसको पालो पनि आउन सक्छ । तर सबै मृत्युका घटनाहरू उस्तै हुँदैनन् । डा. उपेन्द्र देवकोटाको मृत्यृु एउटा अन्यन्तै गह्रुङ्गो घटना हो । महाभूकम्पले हजारौं घरहरू भत्कायो तर चर्चा सर्वाधिक धरहराको भयो, हुँदै छ, हुँदै रहनेछ । यो हप्ताको अशुभ दोस्रो दिन नेपालको सन्दर्भमा अर्को एउटा भीमकाय धरहरा ढल्यो । भूकम्पले ढालेको भीमसेन स्तम्भ त फेरि कुनै दिन दुरुस्तै उस्तै आकारमा पुनर्निर्माण गर्न सकिनेछ, तर डा. उपेन्द्र देवकोटा फेरि जन्माउन सकिने छैन । सम्भव हुने विषय नै होइन । किनकि मानव मस्तिष्कको विकास एउटा नितान्त प्राकृतिक घटना हो र मस्तिष्क निर्माणको रहस्यको तहसम्म आधुनिक विज्ञानको पहुँच पुगिसकेको छैन । त्यसैले डा. देवकोटाको मृत्युबाट देशले ‘अपूरणीय क्षति’ व्यहो¥यो भन्नु केवल औपचारिकताका लागि औपचारिक शब्दावलीको औपचारिक प्रयोग मात्र होइन । एउटा शाश्वत वास्तविकता हो ।
डा. उपेन्द्र देवकोटाको प्रशंसा र गुणगानमा धेरै शब्द खर्च गर्नु ‘सूर्यलाई बत्ती देखाउनु’ भनेजस्तै हो । किनकि चिकित्सा क्षेत्रमा देवकोटाले स्थापना गरेको मानक नेपालको सन्दर्भमा अवर्णनीय, अतुलनीय र अनुलङ्घनीय छ भन्नु अतिशयोक्ति मानिने छैन । हार्दिक श्रद्धाञ्जली !
वर्ष २०६५ तिरको कुरा हो । घरमै बसेर अखबार पढ्दापढ्दै अचानक कम्मरको नशा च्यापियो । त्यसैको उपचारको सिलसिलामा डा. चक्र पाण्डे, डा. वसन्त पन्त, डा. पि.रेञ्जन (दिल्ली) हुँदै निकै लामो फन्को मारेर डा. उपेन्द्र देवकोटाकोमा समेत पुगेको थिएँ । देवकोटाकहाँ नपुगेसम्म मन शान्त भएन । कसैले तत्काल अपरेसन गर्नुपर्ने सल्लाह त कसैले अपरेसनलाई अन्तिम विकल्प मानेर फिजियो थेरापी गर्दै जाने सल्लाह दिएका थिए । मैले दोस्रो बाटो अवलम्बन गर्ने निधो गरिेसकेको थिएँ र फिजियोसँगै लेजरथेरापी गराउँदै थिए । देवकोटाकहाँ पुग्दासम्म अलिकता आरामको अनुभूति भइसकेको थियो । मेरो शारीरिक अवस्था र एमआरआईको रिपोर्ट हेरेपछि डा. देवकोटाले पनि थेरापीलाई नै निरन्तरता दिने सल्लाह दिएर पठाउनु भयो । हिँड्ने बेलामा ‘डा. साहेबले त मलाई सल्लाह दिएर मात्र पुग्दैन, क्षतिपूर्ति पनि दिनुपर्छ’ भनेर मैले ठट्टाको शैलीमा भनेपछि अनुहारमा जिज्ञासु आँखा लगाएर कुर्चीबाट उठिसकेको मलाई बस्ने इशारा गर्नुभयो । डा. साहेबले कुराको खुलासा गर्ने आग्रह गरेपछि मैले पुरानो घटना सुनाउँदै फिरादको शैलीमा बयान दिएँ, ‘डा. साहेबको सल्लाह मानेर जीवनको उर्बर सयम निष्क्रिय रहरै बिताएँ । आजसम्म म जस्ताको तस्तै मात्रै होइन, अझ स्वस्थ तम्दुरुस्त छु । विगत दुई वर्षयता त टाउको दुख्न पनि छोडेको छ । तपाईंको सल्लाह अनुसरण र अवलम्बन गर्नाले मेरो जीवनको महत्वपूर्ण र ऊर्जावान् समय खेर गयो । दिव्य १५/२० वटा वर्ष पूरै विश्राम गरेर खेर फालियो । विगत सम्झँदा पश्चाताप लाग्छ !?’
मीठो मुस्कानसहित मेरो पीठ थपथपाउँदै डा. साहेबले भन्नु भएको थियो, ‘मैले पढेको विद्या, मैल हासिल गरेको अनुभव र आधुनिक प्रविधिले दिएको सूचनाको आधारमा मैले सल्लाह दिएको हुँँ । म पनि मानिस नै हुँ, भगवान् होइन । मबाट पनि गल्ती हुनसक्छ । यदि मैले गल्ती नै गरेको रहेछु भने पनि विषयलाई अर्को पाटोबाट बुझ्दा पश्चातापको भावना आउँदैन । सन्तोष र शान्ति मिल्छ । व्यवसायमा लागेको भए कुस्त पैसा कमाउन सक्नुहुन्थ्यो होला, राजनीतिलाई निरन्तरता दिएका भए मन्त्री बन्नुहुन्थ्यो होला ! तपाईंले अधिकतम हासिल गर्ने कुरा त्यत्ति त हो । मेरो सल्लाह नमानेका भए तपाईंको जीवन नै दुर्घटनामा पर्न सक्थ्यो । मेरो सल्लाहको परिणाम नै अहिलेको तपाईंको स्वस्थता हुन पनि सक्छ । मैले मेरो लामो चिकित्सा अभ्यासको अनुभवबाट के भन्न सक्छु भने तपाईं बलियो मानसिकता भएको भाग्यमानी मानिस हो । कुनै दिन तपाईंको टाउको मेरै हातले खोल्नुपर्ने दिन आउनेछ भन्ने मलाई लागेको थियो । यतिका वर्ष टरेछ । यो रोगको प्रकृति छलकारी हुन्छ । जुनसुकै बेला अप्रत्याशित रूपमा सक्रिय हुनसक्छ । त्यसैले समस्या पूर्णरूपमा ट¥यो भनेर ढुक्क हुन सकिँदैन । मेरो सल्लाहले यतिखेर सम्म राम्रो सहयोग पु¥याएछ, । मेरो सल्लाह तपाईंका लागि रामवाण नै बनोस्, मेरो शुभकामना छ । मेरो सानो र स्वाभाविक सल्लाहले तपाईंलाई अकल्पनीय लाभ पु¥याएछ । यो नितान्त दुर्लभ घटना हो । खुशी लाग्यो ।’
घटना २०५० सालतिरको हो । इएन्टी स्पेसलिष्ट डा. सोमनाथ अर्यालको प्रेस्क्रिप्सनमा छाउनीस्थित सैनिक अस्पताल पु¥यायो । तिनताकासम्म एमआरआई गर्ने मेसिन त्यही अस्पताल एउटामा मात्रै थियो । एमआरआईले मस्तिष्कको थर्ड भेन्ट्रीकलमा ‘सिष्ट’ रहेको डाइनोग्सिस गरिदियो । डा. भरत प्रधानको फेक्टले मोडल अस्पतालको रूप लिइसकेको थिएन । बागबजारको साँघुरो ठाउँमा जम्मा हुने झण्डै दर्जनभर डाक्टरहरूको समूहले रिपोर्ट हे¥यो । पेसेन्टको मनोविज्ञानमा प्रतिकूल प्रभाव नपरोस् भनेर होला एमआरआईको रिपोर्टप्रति अविश्वास प्रकट गरियो । सिटिस्क्यान गरेर कन्फर्म गर्ने निर्णय लिइयो । सायद त्यो चेष्टा पनि विरामीलाई आश्वस्त बनाउने मनोवैज्ञानिक उपचारको तरिका थियो । कहिलेकहीँ एमआरआईले गलत रिपोर्ट दिन्छ भनेर सान्त्वना दिने सन्दर्भमा डा. प्रधानजीले ब्रेन टयूमरको अपरेसनको डेट लिएर थाइल्याण्ड पुगेको बिरामीको रिपोर्ट नै गलत प्रमाणित भएको कथा पनि सुनाउनु भएको थियो ।
भर्खर भर्खर डा. उपेन्द्र देवकोटा बेलायतबाट फर्केर वीर अस्पतालमा सेवा सुरु गरेको बेला थियो । एक दिन एमआरआईको रिपोर्ट बोकेर वीर हस्पिटल पुगो । एकजना गोरो नश्लको सहायक डाक्टरले रिपोर्ट हेरेर–‘प्रकृतिले दिएको शरीर चिरफार नगरेको राम्रो’ भन्ने सल्लाह दिएर फर्काए । डा. देवकोटासम्म पुग्नै दिएनन् । मनले मानेन । क. वाचस्पति देवकोटाको सहयोगमा अर्को कुनै दिन त्रिपुरेश्वरस्थित ब्लुक्रस हस्पिटलमा गएर डा. देवकोटालाई भेटेँ । डा. साहेबहरूले प्रदर्शन गरेको एमआरआईको रिपोर्टप्रतिको अविश्वासको वास्तविकता के हो भनेर जान्ने मेरो उत्कण्ठाको जवाफमा ‘प्रविधिलाई अविश्वास गरेर डाक्टरको पेशा चल्दैन । डाक्टरले पाएको ज्ञान ऋषिमुनिले तपस्या गरेर प्राप्त गरेको अन्तर्यामी दृष्टिजस्तो होइन । डाक्टरको न मन अन्तर्यामी हुन्छ न आँखामा एक्सरे क्षमता हुन्छ । शंका लाग्दा दोहो¥याएर हेर्ने कुरा अलग हो तर प्रविधिलाई अविश्वास गरेर उपचार गर्न सकिँदैन । गर्नु पनि हुँदैन । अरुले जेसुकै भनून्, म यो रिपोर्टलाई सम्पूर्णरूपमा विश्वास गरेर तपाईंको उपचार सुरु गर्छु । मेरा एक दुईवटा प्रश्नहरूको उत्तर बिल्कुल इमान्दारीपूर्वक नढाँटीकन दिनुहोस् ।’
डा. साहेबले करीब पाँच मिनेट इन्टरव्यु लिनु भो र करीब आधा घन्टा क्लास लिनु भो । उहाँको पहिलो प्रश्न थियो ‘टाउको कत्तिको दुख्छ र सिटामोलले दुखाई विसेक हुन्छ कि हुन्न ?’ र दोस्रो प्रश्न थियो, ‘पैत्रिक सम्पत्ति कति छ ?!’
विगत २०÷२५ वर्षको उमेरदेखि निरन्तर दिनहुँजस्तो टाउको दुख्थ्यो । डाक्टरलाई देखाउँदा ‘माइग्रेन’ भनिदिन्थे । तर मेरो टाउको दुखाइ माइग्रेनको जस्तो गम्भीर हुँदैनथ्यो । अर्थात् दुखाइले थला पार्दैनथ्यो । एस्प्रो, एस्पिरिन र सिटामोलजस्ता समान्य औषधिले निको हुन्थ्यो । डाक्टरको पहिलो प्रश्नको उत्तर सामान्य थियो । तर दोस्रो प्रश्न भने अनौठो थियो । झट्ट प्रश्न सुन्दा उपचार खर्च निकै ठूलो लाग्ने रहेछ कि भन्ने लाग्यो ! आफ्नो प्रश्नको कारण डाक्टर साहेबले फरक ढङ्गबाट प्रष्टयाउनु भयो । वामपन्थी राजनीतिमा लागेको गधापच्चिसे उमेरको मानिसको आफ्नो कमाइ त छैन होला । छोराछोरी होलान् । कमसेकम तिनीहरूको पढाइ लेखाइको खर्च जुटाउनु प¥यो । आफ्नो उपचार गर्नु प¥यो, घर व्यवहार चलाउनु प¥यो । त्यसका लागि बाबुको सम्पत्तिको भर पर्नुको विकल्प के हुन्छ र ? खर्चले धान्न सकिन्छ भन्ने लाग्छ भने कुनै बन्द व्यवसाय नगर्ने, मानसिक बोझ पर्ने गरी राजनीतिक सामाजिक संलग्नता पनि नराख्ने गर्दा राम्रो हुन्छ भन्ने आशय रहेछ । भर्खर चालिसे लागेको उमेर, बहालवाल सांसद, डा. साहेबको सल्लाह कार्यान्वयन गर्न कठिन थियो । तर त्यसो नगर्दा आफ्नो जीवनमा मात्रै होइन, सन्तान र परिवारको भविष्यसमेत संकटको भूमरीमा फस्न सक्ने सम्भावना हो भने डाक्टरको सल्लाह पालन गर्नुको विकल्प थिएन । डेरा फर्केपछि पहिलो काम जिल्ला कमिटीबाट जिम्मेवारी मुक्त गरिदिनका लागि तत्कालीन जिल्लापार्टी सचिव केशव पौडेललाई व्यक्तिगत पत्र लेखिपठाएँ । संयोगवश प्रतिनिधिसभा पनि विघटन भयो । मध्यावधि निर्वाचनमा पुनः उमेदवार बन्ने दौडमा लाग्ने कुरै भएन, लागिएन । घर फर्केपछि पनि गाउँमा बसेपछि ‘लाटो देशको गाँडो तन्नेरी’ भनेजस्तो सामाजिक कामहरूमा वाध्यतावश लतारिनुपर्ने सम्भावनाबाट जोगिन सकिँदैन भनेर गाउँमा बसिएन ।
यो हप्ता अरु विषयमा कलम चलाउन मनले मानेन । डा. साहेबसँग व्यवहारमा अन्तरङ्ग र घनिष्ट सम्बन्ध स्थापित भएको त होइन । जीवनमा केवल दुई पटक मात्र साक्षात्कार हुने अवसर मिलेको थियो । मेरा निमित्त डा. साहेबले खर्चेको करीब सवा घण्टाले मेरो जीवनको बाटो नै बदलिदिएको थियो । दुवै पटक शल्यक्रियाको लागि मानसिक रूपमा तयार भएर पुगेको बिरामीलाई वैरङ्ग फर्काएको त भन्न मिलेन तर औषधिको नाममा एक ट्याब्लेट सिटामोल समेत प्रेस्क्राइब नगरीकन रोगसँग लड्ने आत्मबल भरिदिन सक्ने क्षमता र कुशलता सबैमा हुँदैन । सम्भवतः डाक्टर साहेबको वचनभन्दा उहाँले आर्जन गरेको विश्वासले काम गरेको होला । त्यसयता १० वर्ष बेनीमा, ११ वर्ष काठमाडौंमा र ४ वर्ष पोखरा बिताइएछ । अर्थात् २५ वर्षदेखि स्वास्थ्य उस्तै छ । न सुधार र बिगार ! जीवन र व्यवहारप्रति बिल्कुल निस्पृह रहेर बस्ने बानी नै लागिसक्यो । म पूर्णरूपमा स्वस्थ नभए पनि ठीकै छु । अचम्म त के लागेको छ भने अरुलाई असाध्य रोगसँग लड्ने अदम्य आत्मबल भरिदिने डा. साहेब आफै कसरी लडाइँमा पराजित हुनु भयो कुन्नी ? पत्याउनै कठिन हुँदो रहेछ । वकिलहरू कानुनसँग र डाक्टरहरू रोगसँग अरुहरूभन्दा बेसी डराउँछन् भनेको साँच्चै हो रहेछ कि ?
(- जनधारणा साप्ताहिक)
















